काठमाडौं । गत वर्षको भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि चार पूर्वप्रधानमन्त्रीहरु पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उभिने भएका छन् ।
जननेता मदन भण्डारीको जन्मदिन पारेर मदन भण्डारी फाउण्डेशनले आइतबार (असार १४ गते) आयोजना गर्न लागेको कार्यक्रममा चारै प्रधानमन्त्रीहरु एउटै मन्चमा आउन लागेका हुन् ।
नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी हुने कार्यक्रम तय भएको हो ।
उनीहरूले कार्यक्रममा अतिथि वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको फाउण्डेसनले जनाएको छ ।
त्यस्तै, पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि वक्ताका रूपमा सहभागी हुने फाउण्डेशनले जनाएको छ ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन, भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद र समसामयिक राजनीतिक विषयमा विचार विमर्श हुने जनाइएको छ ।
भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि प्रमुख कम्युनिष्ट धारका शीर्ष नेताहरू पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उपस्थित हुन लागेकाले उक्त कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण भेटका रूपमा हेरिएको छ ।