विकासन्युज

वैदेशिक रोजगारीमा जाने नेपाली १७.३ प्रतिशत घटे, कुन देश कति गए ?

काठमाडौं । मध्यपूर्व युद्धबाट खाडी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १७.३ प्रतिशतले घटेर ३ लाख ३५ हजार ५१० मा झरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४ लाख ५ हजार ६१० थियो । अमेरिका-इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वमा उत्पन्न अस्थिरताले खाडी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो । चालु आवको वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, माल्दिभ्स, साउदी अरेबिया, कुवेत, बहराइन, कतार, लेबनान र जापान जाने नेपालीको संख्या घटेको छ । सबैभन्दा धेरै यूएई जानेको संख्या ५०.१४ प्रतिशतले घटेर ८० हजार १४५ मा झरेको छ । अफगानिस्तानका लागि समीक्षा अवधिमा कुनै पनि नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छैनन् । गत वर्षको सोही अवधिमा भने ७ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, दक्षिण कोरिया ४१.२७ प्रतिशत घटेर ६ हजार ६१६, माल्दिभ्स ३८.३३ प्रतिशत घटेर ४ हजार ११७, साउदी अरेबिया ३१.९१ प्रतिशत घटेर ४३ हजार ९२३, कुवेत ३०.४५ प्रतिशत घटेर २२ हजार ५१४, बहराइन २२.९२ प्रतिशत घटेर ४ हजार ३४०, कतार १८.४७ प्रतिशत घटेर ३३ हजार ५१, लेबनान १०.५२ प्रतिशतले घटेर १७ तथा जापान १०.३८ प्रतिशत घटेर १३ हजार ६६४ जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन् ।  समग्रमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या घटेको भएपनि साइप्रस, जोर्डन, माल्टा, रोमानिया, इजरायल, ओमान, पोल्याण्ड, टर्की, मलेसियाका लागि भने बढेको देखिन्छ । समीक्षा अवधिमा मलेसिया जाने नेपालीको संख्या सबैभन्दा धेरै १ हजार ७५२ प्रतिशतले बढेर ५० हजार १७६ पुगेको छ । त्यस्तै, टर्कीमा २९९.२७ प्रतिशतले बढेर ४ हजार ४२०, पोल्याण्डमा १३८.४९ प्रतिशतले बढेर ६०१, ओमानमा ६४.४३ प्रतिशतले बढेर ६ हजार ८११, इजरायलमा ६२.११ प्रतिशतले बढेर ९०३, रोमानियामा २१ प्रतिशतले बढेर २२ हजार ६४१, माल्टामा १७.७३ प्रतिशतले बढेर २ हजार ५५६, जोर्डनमा ११.१५ प्रतिशतले बढेर १ हजार ७५४ र साइप्रसमा ८.७५ प्रतिशतले बढेर ६ हजार ३८८ पुगेका छन् । पुनः श्रम स्वीकृति लिने १६.४ प्रतिशत बढे  चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या १६.४ प्रतिशतले वृद्धि भई ३ लाख २६ हजार ३६४ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या २ लाख ८० हजार ३१४ रहेको थियो ।  तथ्याङ्कअनुसार अफगानिस्तान, पोल्याण्ड, मलेसिया, साइप्रस, माल्टा, जोर्डन, जापान, माल्दिभ्स, लेबनान, इजरायल, टर्की, रोमानिया, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र कतारमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बढेको छ । सबैभन्दा धेरै अफगानिस्तानमा १५६ प्रतिशतले वृद्धि भई १९२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यस्तै, पोल्याण्डमा १३८.१९ प्रतिशतले बढेर १ हजार ६३४, साइप्रसमा ७२.८३ प्रतिशतले बढेर २ हजार ५५१, माल्टामा ६०.१० प्रतिशतले बढेर २ हजार ५२८, जोर्डनमा ४७.२९ प्रतिशतले बढेर २९९, जापानमा ४५.९९ प्रतिशतले बढेर ५ हजार ३६४ तथा माल्दिभ्समा ४४.३३ प्रतिशतले बढेर २ हजार ४०६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । त्यस्तै, लेबनानमा ४३.३३ प्रतिशतले बढेर ४३ जना, इजरायलमा २६.६३ प्रतिशतले बढेर ६१८, टर्कीमा २६.५१ प्रतिशतले बढेर २२९, रोमानियामा २४.८० प्रतिशतले बढेर ६ हजार ४७, युएईमा २१.१४ प्रतिशतले बढेर ७४ हजार ८५५, ओमानमा ७.४७ प्रतिशतले बढेर ३ हजार ७६ र कतारमा १.६६ प्रतिशतले बढेर ७७ हजार १५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। मलेसियामा मात्रै ५४ हजार ८१० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।  यद्यपि, साउदी अरेबिया, कुवेत, बहराइन र दक्षिण कोरियामा पुनः श्रम स्वीकृति लिनेको संख्या भने गत वर्षको तुलनामा घटेको छ । दक्षिण कोरियामा १७.३२ प्रतिशतले घटेर ३३४ जना, बहराइनमा ११.३२ प्रतिशतले घटेर ३ हजार ९४० जना, कुवेतमा १०.५८ प्रतिशतले घटेर १५ हजार ६९५ जना र साउदी अरेबियामा २.२२ प्रतिशतले घटेर ६३ हजार ७८१ जनामा सीमित भएको छ ।

म्याग्दीको सरस्वती विद्यालयमा २८ लाखको लागतमा नयाँ भवन निर्माण

म्याग्दी ।  बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो ।       विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले २८ लाख ६३ हजार रुपैयाँको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिए । उनका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले २४ लाख ७५ हजार सहयोग गरेको छ भने बाँकी रकम विद्यालयले श्रमदान र नगद लगानीबाट गरेको छ ।       पुरानो भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ । प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ जना विद्यार्थी अध्ययनरत छन् । 

गुण्डा नाइके गिरी कारागारबाट भत्ता असुल्थे, घरबाटै पक्राउ

काठमाडौं । मोरङ कारागारको कैदीबन्दीहरूसँग पैसा असुलेको आरोपमा अभिषेक गिरी पक्राउ परेका छन् । शनिवार बिहान ४८ वर्षीय गिरीलाई मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाट नियन्त्रणमा लिएको हो । गिरी विराटनगर महानगरपालिका वडा ८ मा बसोबास गर्थे । उनले मोरङ कारागार विराटनगरमा रहेका कैदी बन्दीहरुलाई अनुचित प्रभावमा पारी अवैध रकम असुली गर्ने गरेक थिए । अवैध रकम असुली गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र कुमार मिश्रले जानकारी दिए । उनको घरमा समेत प्रहरीले बिहान खानतलासी गरेको थियो । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको मिश्रले बताए । गिरीले कुनै समय मोरङ तथा पुर्वी नेपालमा गुण्डागर्दी पहिचान बनाएका थिए । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भएका थिए । गिरी फाउण्डेसनमार्फत समाजसेवा पनि गर्दै आएका थिए । खोलाको क्रसर तथा विभिन्न ठेक्कामा उनले हात हालेका थिए । यसअघि सम्पत्ति शुद्धीकरणमा समेत तानिएका थिए । पछि विशेष अदालतले सफाइ दिएको थिए । 

५० वर्ष पूरा गरेको नाडाको स्वर्ण उत्सव सुरु, पूर्वअध्यक्षहरू सम्मानित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण उत्सव समारोह सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार काठमाडौंमा स्वर्ण उत्सवको उद्घाटन गरिएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा अटोमोबाइल क्षेत्रको पाँच दशक लामो यात्राको समीक्षा गर्दै आगामी योजनाबारे पनि चर्चा गरिएको थियो । २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले स्थापना गरेको नाडाले स्वर्ण जयन्तीको अवसरमा राजधानीसहित सातै प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने जनाएको छ । उत्सवको पहिलो दिन दशरथ रंगशालादेखि होटल याक एन्ड यतिसम्म वाकाथन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नाडाका पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि, विभिन्न विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । यस अवसरमा नाडाले संस्थाका पूर्वअध्यक्षहरूलाई सम्मान पनि गरेको छ । स्वर्ण उत्सवअन्तर्गत असार १३ देखि १९ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । नाडाले हालसम्म २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन् । संस्थाले नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री, नाडा अटो न्यूज तथा नाडा अटो ड्राइभ क्यालेन्डर नियमित रूपमा प्रकाशन गर्दै आएको छ । साथै, आगामी भदौमा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारीसमेत भइरहेको जनाएको छ । नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय विपद्का समयमा सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ । कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए । 

एमजीका २ मोडलमै ८७ प्रतिशत आम्दानी, कारोबार ३ अर्ब ८६ करोड रुपैयाँ

काठमाडौं । नेपालमा एमजी ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा २ अर्ब ४० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ६.३० प्रतिशत अर्थात् २६ करोड रुपैयाँ कम हो । अघिल्लो आव २०८०/८१ मा कम्पनीले ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ८७ प्रतिशत हिस्सा एमजी-४ र एमजी एस-५ दुई मोडलबाट मात्रै आएको थियो । यसअघि आव २०७९/८० मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ४७ करोड रुपैयाँ, आव २०७७/७८ मा ७१ करोड ३० लाख रुपैयाँ, आव २०७६/७७ मा ७९ करोड ४० लाख रुपैयाँ र आव २०७५/७६ मा २७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१६ अगस्टमा स्थापना भएको प्यारामाउन्ट मोटर्सले चीनको एसएआईसी मोटर कर्पोरेसनसँग सम्झौता गरी नेपालमा एमजी ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री-वितरण सुरु गरेको थियो । पछि कम्पनीले मार्च २०२० मा जापानको माज्दा मोटर कर्पोरेसनसँग सम्झौता गरी माज्दा ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी पनि पायो । त्यस्तै, मार्च २०२४ देखि चीनको वुलिङ ब्रान्डका विद्युतीय यात्रुवाहक सवारीसाधन पनि बिक्री-वितरण गर्दै आएको छ । काठमाडौंको नक्सालमा प्रधान कार्यालय रहेको कम्पनीले हाल देशभर आफ्नै तीनवटा बिक्री केन्द्र तथा १५ वटा आधिकारिक बिक्रेतामार्फत सवारीसाधन बिक्री-वितरण गरिरहेको छ । नयाँ मोडल र व्यवसाय विस्तारमा जोड कम्पनीले सन् २०२५ मार्चमा सार्वजनिक गरेको एमजी एस-५ मोडलले मात्रै गत आर्थिक वर्षको कुल आम्दानीमा करिब ४२ प्रतिशत योगदान दिएको छ । हालै बजारमा आएको एमजी एस-६ ले पनि आगामी दिनमा बिक्री बढाउने अपेक्षा गरिएको छ । यस्तै, कम्पनीले चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड वुलिङसँग थप नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरेको छ । तीमध्ये चार ढोका भएको सानो विद्युतीय सवारीसाधन पनि समावेश रहेको छ, जसमा उन्नत विशेषता रहने र बजारमा प्रतिस्पर्धा सीमित हुने अपेक्षा गरिएको छ ।  त्यसैगरी, कम्पनीले व्यवसाय विस्तारअन्तर्गत नेपालमा मर्सिडिज बेन्ज ब्रान्डका सवारीसाधनका लागि नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालन गर्ने योजना पनि अघि बढाएको छ । यसले आगामी वर्ष कम्पनीको आम्दानी बढाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।  बढ्दो प्रतिस्पर्धाले नाफामा निरन्तर दबाब नेपालमा विद्युतीय सवारीसाधन बजारमा नयाँ-नयाँ ब्रान्डको प्रवेश र विस्तारसँगै मूल्य प्रतिस्पर्धा तीव्र बन्दै जाँदा नाफामा निरन्तर दबाब परेको कम्पनीले जनाएको छ । यसकारण कम्पनीको सञ्चालन नाफा मार्जिन अघिल्लो वर्ष ६.८ प्रतिशत रहेको गत वर्ष घटेर ५.२ प्रतिशतमा झरेको छ । यद्यपि, मौज्दातमा रहेका सवारीसाधन बिक्री बढाउने अभियान सञ्चालन गरेपछि चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सञ्चालन नाफा मार्जिन केही सुधार हुँदै करिब ६ प्रतिशत पुगेको छ ।  बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले कर्जाको ब्याजदर अपेक्षाकृत कम भए पनि सञ्चालन नाफामा निरन्तर परेको दबाब र ऋणभार बढ्दै जाँदा कम्पनीको ब्याज भुक्तानी क्षमता कमजोर बनेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको छ ।  कम्पनीको तरलता अवस्था अझै दबाबमा रहेको छ । सवारीसाधन बिक्री-वितरण व्यवसाय स्वभवतः कार्यशील पुँजी बढी आवश्यक पर्ने क्षेत्र भए पनि कम्पनीले मौज्दात उल्लेख्य रूपमा बढाएपछि कार्यशील पुँजीमा थप दबाब परेको हो । गत वर्षको अन्त्यतिर कम्पनीले ठूलो परिमाणमा सवारीसाधन मौज्दात राखेका कारण कार्यशील पुँजीमा गरिएको लगानी उल्लेख्य रूपमा बढेको छ । त्यसको प्रभावस्वरूप सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात गत वर्ष ५६ प्रतिशत रहेकोमा चालु आवको ९ महिनामा बढेर ६६ प्रतिशत पुगेको छ । प्यारामाउन्ट मोटर्सको कारोबार अझै पनि सीमित सवारी मोडलमा अत्यधिक निर्भर रहेको छ । गत वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ८७ प्रतिशत हिस्सा एमजी-४ र एमजी एस-५ दुई मोडलबाट मात्रै आएको जनाएको छ । यसरी थोरै मोडलमा अत्यधिक निर्भर रहँदा ती सवारीको मागमा आउने कमी वा बजारको परिवर्तनले कम्पनीको कारोबारमा प्रत्यक्ष असर पार्न सक्ने जनाएको छ ।  त्यसैगरी, नेपालमा विद्युतीय सवारीसाधन बजारमा नयाँ-नयाँ ब्रान्डको प्रवेश, स्थापित कम्पनीहरूको विस्तार तथा प्रतिस्पर्धी मोडल सार्वजनिक भइरहेका कारण बजार प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा प्रतिस्पर्धी कम्पनीहरूले आकर्षक मूल्य र नयाँ सुविधा भएका सवारी बजारमा ल्याउँदा प्यारामाउन्ट मोटर्सको आम्दानी तथा बजार हिस्सा प्रभावित हुन सक्नेछ ।

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि दुई प्रतियोगितामा लगातार दुई खेल बराबर गोल गरेको बेल्जियमले पहिलो जितसँगै पाँच अङ्क जोड्दै समूह ‘जी’को विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले समान एक–एक गोल गरेका छन् ।  ट्रोसार्डले खेलको २८औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले ५०औँ मिनेटमा  दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि डे ब्रुएनाले ६६औँ मिनेटमा तथा लुकाकुले ८६औँ मिनेटमा गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा सेलेमेकर्सले अर्को गोल थपे ।   न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । आजै भएको अर्को स्पर्धामा इजिप्ट र इरानले १–१ गोलको बराबरी खेलेका छन् ।  यससँगै समूह ‘जी’मा बेल्जियम पाँच अङ्कसहित समूह विजेता बन्यो भने समान पाँच अङ्क भए पनि गोलअन्तरका आधारमा इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ  ।  इरान तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा एक अङ्क मात्र जोड्न सफल न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।     

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो ।      पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ । त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए ।      रोग नियन्त्रणका लागि पशुसेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालनसमेत गरेको छ ।   विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डा. दाहालले जानकारी दिए । सङ्क्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ । विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ ।      यसैगरी, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ ।   

अशान्त विश्वमा अन्तर्राष्ट्रिय सहयोग र बडापत्रको पालना अपरिहार्य : महासचिव गुटेर्रेस

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले वर्तमानको अशान्त विश्वमा अन्तर्राष्ट्रिय सहयोग र ऐक्यवद्धता नै एकमात्र यथार्थपरक मार्ग भएको बताएका छन् । संयुक्त राष्ट्र संघको बडापत्र दिवस (यूएन चार्टर डे) का अवसरमा आयोजित महासभाको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहकार्यको महत्त्वमा जोड दिएका हुन् ।  महासचिव गुटेर्रेसले साझा खतराहरूले घेरिएको वर्तमान विश्वमा सहकार्य गर्नु निर्दोषिता नभई स्पष्ट वास्तविकता भएको उल्लेख गरे । कतिपयले वर्तमानको उथलपुथलबाट बच्न सीमाहरूभित्र खुम्चने वा एक्लै सङ्कटको सामना गर्न सकिन्छ भन्ने भ्रम पालेको उल्लेख गर्दै महासचिवले त्यस्तो सोच गलत रहेको स्पष्ट पारे । महासचिव गुटेर्रेसले राष्ट्र संघको बडापत्रका सिद्धान्तहरू ऐच्छिक वा सम्झौतायोग्य नहुने स्पष्ट पारे । उनले बडापत्रलाई आ ला कार्ट मेनु (इच्छाअनुसार छान्न मिल्ने सूची) सँग तुलना गर्दै यसका आधारभूत सिद्धान्तहरूको पालना सबैले अनिवार्य रूपमा गर्नुपर्ने बताए । जब यी आधारहरू कमजोर हुन्छन्, तब प्रत्येक राष्ट्रको सुरक्षा जोखिममा पर्ने उनको तर्क थियो । उनले अन्तर्राष्ट्रिय मानवीय कानुन लगायत बडापत्रका उद्देश्य र सिद्धान्तहरूको सम्मान गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे ।  सम्बोधनका क्रममा उनले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न संयुक्त राष्ट्र संघमा सुधारको आवश्यकता रहेको औंल्याए । तर त्यस्तो सुधारले संस्थालाई कमजोर बनाउने नभई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । कूटनीति र क्षेत्रीय ऐक्यवद्धतालाई बलियो बनाउँदै दिगो विकासका कार्यहरूलाई तिब्रता दिनुपर्ने आवश्यकतामा महासचिवको जोड थियो । उनले शान्ति, मानवीय मर्यादा र अवसरहरू एकअर्काका पूरक भएको बताए ।  अन्तमा, महासचिव गुटेर्रेसले बहुपक्षीयतामार्फत नै जनताका लागि ठोस नतिजा निकाल्न सकिने र आपसी विश्वास पुनस्र्थापना गर्न सकिने विश्वास व्यक्त गरे । विपद्को समयमा जन्मिएको राष्ट्र संघको बडापत्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणका लागि हामी जनता भएर लाग्नुपर्ने उनले आह्वान गरे ।