गुण्डा नाइके गिरी कारागारबाट भत्ता असुल्थे, घरबाटै पक्राउ

काठमाडौं । मोरङ कारागारको कैदीबन्दीहरूसँग पैसा असुलेको आरोपमा अभिषेक गिरी पक्राउ परेका छन् । शनिवार बिहान ४८ वर्षीय गिरीलाई मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाट नियन्त्रणमा लिएको हो ।
गिरी विराटनगर महानगरपालिका वडा ८ मा बसोबास गर्थे ।

उनले मोरङ कारागार विराटनगरमा रहेका कैदी बन्दीहरुलाई अनुचित प्रभावमा पारी अवैध रकम असुली गर्ने गरेक थिए । अवैध रकम असुली गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनको घरमा समेत प्रहरीले बिहान खानतलासी गरेको थियो । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको मिश्रले बताए ।

गिरीले कुनै समय मोरङ तथा पुर्वी नेपालमा गुण्डागर्दी पहिचान बनाएका थिए । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भएका थिए । गिरी फाउण्डेसनमार्फत समाजसेवा पनि गर्दै आएका थिए ।

खोलाको क्रसर तथा विभिन्न ठेक्कामा उनले हात हालेका थिए । यसअघि सम्पत्ति शुद्धीकरणमा समेत तानिएका थिए । पछि विशेष अदालतले सफाइ दिएको थिए । 

Share News