बीमा तथ्याङ्कलाई विश्वसनीय र एकरूप बनाउन प्राधिकरणको जोड
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले बीमकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा शुक्रबार आयोजित कार्यक्रममा बीमकहरूले बुझाउने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कलाई एकरूप, गुणस्तरीय र विश्वसनीय बनाउने विषयमा छलफल भएको थियो । साथै, आइआरएमआइएसमा गरिएको डाटा रिपोर्टिङसम्बन्धी परिवर्तन र त्यसक्रममा देखिएका समस्याको समाधानका उपायबारे पनि विमर्श गरिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको शुद्धता, एकरूपता र विश्वसनीयता सुनिश्चित गर्नुपर्ने बताए । उपनिर्देशक पुष्पा कुँवरले तथ्याङ्क प्रणालीमा देखिएका समस्या समाधानका लागि प्राधिकरण सहकार्य र आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी दिए । कार्यक्रममा सहायक निर्देशक सुन्दर प्रसाद शर्माले बीमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका क्रममा देखिएका समस्या, चुनौती र अवसरबारे प्रस्तुति दिएका थिए । उनले अनुसन्धानका लागि आवश्यक तथ्याङ्क समयमै उपलब्ध हुनुपर्ने, तथ्याङ्कमा एकरूपता कायम गरिनुपर्ने, बीमकहरूले अनुसन्धानसम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने, अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने तथा त्यसका लागि आवश्यक स्रोत–साधन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । त्यस्तै, प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले बीमकहरूबाट सङ्कलन गरिने तथ्याङ्कका आधार, सङ्कलन प्रणालीमा गरिएको सुधार तथा बीमकहरूले पेश गर्ने तथ्याङ्कप्रति प्राधिकरणको अपेक्षाबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका तथ्याङ्क, अनुसन्धान र सूचना प्रविधि शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणकी सहायक प्रथम कमला घर्तीले गरेकी थिइन् ।
शुभ इन्टरनेशनलले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी र सञ्चालक प्रशान्त तातेडको पनि उपस्थिति थियो । शुभ इन्टरनेशनल हस्पिटालिटीले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । भारतको प्रतिष्ठित होटल व्यवस्थापन समूहसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित उक्त होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमलाई लक्षित गर्दै अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराइरहेको छ । आधुनिक सुविधा, अन्तर्राष्ट्रिय सेवा मापदण्ड र व्यावसायिक व्यवस्थापनमार्फत पूर्वी नेपालको पर्यटन, आर्थिक गतिविधि तथा आतिथ्य उद्योगको विकासमा योगदान पुर्याउने लक्ष्य कम्पनीको छ । कम्पनीले आगामी दिनमा क्यासिनो सञ्चालन गर्ने योजना पनि रहेको जनाएको छ ।
साताभरि नै सेयर बजार राताम्मे, नेप्से झर्यो २६४९ अंकमा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता लगातार पाँचै दिनको कारोबार ओरालो लागेको छ । साताको सुरुवात सोमबार २ हजार ७००.६५ अंकबाट भएको बजार अन्तिम कारोबार दिन शुक्रबार २ हजार ६४९.५१ अंकमा बन्द भएको छ । यो साता बजार ५१.१४ अंक घटेको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से १.४६ अंकले घटेको थियो । त्यसपछि मंगलबार सबैभन्दा ठूलो गिरावट देखिँदा परिसूचक २६.१६ अंकले ओरालो लाग्यो । बुधबार १४.४५ अंक, बिहीबार ८.५० अंक र शुक्रबार थप २ अंकले घटेपछि बजार लगातार पाँच दिन नै नकारात्मक रह्यो । साताभर नेप्सेमा करिब १८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पाँच कारोबार दिनमा करिब ३ करोड ६१ लाख कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी ४ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै सोमबार ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ, मंगलबार ४ अर्ब १७ करोड ६३ लाख रुपैयाँ, बिहीबार २ अर्ब ८० करोड ५० लाख रुपैयाँ र शुक्रबार २ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साताको अन्तिम दिन शुक्रबार ५७ लाख ७ हजार ५०८ कित्ता सेयर ३८ हजार ७७२ पटक किनबेच हुँदा २ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
११ महिनामा २७७ अर्ब निर्यात, सबैभन्दा धेरै सोयाबिन तेल
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि जेठ मसान्तसम्ममा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अवधिमा सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा १ खर्ब १३ अर्ब १८ करोड ३२ लाख रुपैयाँको मात्रै सोयाविन तेल निर्यात भएको तथ्यांक छ । नेपालबाट भारतमा उक्त रकम बराबरको सोयाविन तेल निर्यात भएको देखिन्छ । दोस्रो धेरै निर्यात हुने वस्तुमा अलैंची रहेको छ । जेठसम्ममा नेपालबाट १२ अर्ब ७ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । अलैंची पनि नेपालबाट भारतमा नै निर्यात हुने गरेको छ । त्यस्तै, तेस्रो धेरै निर्यात हुने वस्तुमा सूर्यमूखीको तेल रहेको छ । ११ महिनाको अवधिमा नेपालबाट ७ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको सोयाविन तेल भारतमा निर्यात भएको देखिन्छ । त्यसैगरी, ६ अर्ब १४ करोड २ लाख रुपैयाँको पाम तेल निर्यात भएको छ । नेपालबाट भारतमा नै पाम तेल निर्यात हुने गरेको छ । पामतेलपछि नेपालबाट धेरै निर्यात हुने वस्तुमा गलैंचा देखिन्छ । साउनदेखि जेठ मसान्तसम्ममा ६ अर्ब ७ करोड रुपैयाँको गलैंचा निर्यात भएको छ । गलैंचापछि जुट वा अन्य वनस्पतिबाट बनेको ब्लिच नगरिएको बुना कपडा रहेको छ । ११ महिनाको अवधिमा नेपालबाट ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको सो वस्तु निर्यात भएको देखिन्छ । त्यस्तै, ११ महिनामा ४ अर्ब ४० करोड रुपैयाँको मिक्स जुस, ४ अर्ब ३८ करोड रुपैयाँको एक धागो, ३ अर्ब ७५ करोड रुपैयाँको कुकुर र बिरालोको खाना र ३ अर्ब ६७ करोड रुपैयाँको अन्य धागो निर्यात भएका छन् ।
लगातार तेस्रोपटक प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । शुक्रबार (आज)का लागि तय गरिएको बैठक शनिबारका लागि बोलाइएको थियो । उक्त बैठक पनि संसद् सचिवालयले सूचना टाँस गर्दै स्थगित गरेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक अब आइतवार बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको छ। बैठक स्थगित हुनुको कारणबारे विस्तृत जानकारी नदिइए पनि संसद् सचिवालयले विशेष कारण उल्लेख गर्दै बैठक सारिएको जनाएको छ। यसअघि पनि दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको थियो । पछिल्लोपटकको स्थगनसँगै प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक प्रभावित भएको हो ।
महाराजगञ्जमा दिपलको नयाँ सोरुम, पहिलो दिनमै २० इभी डेलिभरी
काठमाडौं । दिपल ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको महाराजगञ्जमा नयाँ ‘स्टेट अफ द आर्ट’ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले एपोलो मोटर्सलाई काठमाडौंको नयाँ अधिकृत डिलर नियुक्त गर्दै दिपल इभीको पहुँच थप विस्तार गरेको जनाएको छ । नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले नेपाली विद्युतीय सवारी (इभी) बजार परिवर्तनको चरणमा रहेको र दिपलले त्यसको नेतृत्व गरिरहेको बताए । उनले दिपललाई दीर्घकालसम्म विश्वासिलो र स्थापित ब्रान्डका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै देशका विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गरिने जानकारी दिए । कार्यक्रममा अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगसमेत प्रदर्शन गरिएको थियो । कम्पनीका अनुसार यसले चांगानको कृत्रिम बौद्धिकता (एआई) र स्वचालन प्रविधिप्रतिको दृष्टिकोणलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेको थियो । एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको काठमाडौंस्थित अधिकृत डिलर बन्न पाएकोमा खुसी व्यक्त गर्दै नयाँ सोरुम केवल गाडी बिक्री गर्ने स्थान नभई ग्राहकले दिपलका आधुनिक इभी मोडलको अनुभव लिन सक्ने केन्द्रका रूपमा विकास गरिएको बताए । कम्पनीले उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपलका विद्युतीय सवारी हस्तान्तरण गरेको छ । ब्रान्ड एम्बेसेडर पारस खड्का, अध्यक्ष विष्णु अग्रवाल र विनोदराज ज्ञवालीले संयुक्त रूपमा ग्राहकलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए ।
भदौ २३–२४ पछि एउटै मञ्चमा सहभागी हुँदै चार पूर्वप्रधानमन्त्रीहरू
काठमाडौं । गत वर्षको भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि चार पूर्वप्रधानमन्त्रीहरु पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उभिने भएका छन् । जननेता मदन भण्डारीको जन्मदिन पारेर मदन भण्डारी फाउण्डेशनले आइतबार (असार १४ गते) आयोजना गर्न लागेको कार्यक्रममा चारै प्रधानमन्त्रीहरु एउटै मन्चमा आउन लागेका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी हुने कार्यक्रम तय भएको हो । उनीहरूले कार्यक्रममा अतिथि वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको फाउण्डेसनले जनाएको छ । त्यस्तै, पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि वक्ताका रूपमा सहभागी हुने फाउण्डेशनले जनाएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन, भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद र समसामयिक राजनीतिक विषयमा विचार विमर्श हुने जनाइएको छ । भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि प्रमुख कम्युनिष्ट धारका शीर्ष नेताहरू पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उपस्थित हुन लागेकाले उक्त कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण भेटका रूपमा हेरिएको छ ।
सहकारीका ठूला सेयर सदस्यको सम्पत्ति खोजिँदै
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका ठूला सेयरधनी, वास्तविक धनी (बेनेफिसियल ओनर), सञ्चालक तथा उच्च व्यवस्थापनमा रहने व्यक्तिहरूको विस्तृत विवरण अनिवार्य रूपमा संकलन तथा अध्यावधिक गर्न निर्देशन दिएको छ । अब उनीहरूले नेपालबाहेक विदेशमा रहेको सम्पत्तिको विवरणसमेत खुलाउनुपर्ने भएको छ । प्राधिकरणले सहकारी ऐन, २०७४ को दफा १०३ (ज) ले दिएको अधिकार प्रयोग गर्दै जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय (दोस्रो संशोधन) मापदण्ड–२०८२’ बमोजिम यस्तो निर्देशन जारी गरेको हो । निर्देशनअनुसार सहकारी संस्थाले सम्बन्धित व्यक्तिको व्यक्तिगत विवरण, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण नियमित रूपमा अध्यावधिक गर्नुपर्नेछ । साथै सम्बन्धित व्यवसायसँग सम्बन्धित कानुनी मापदण्ड पालना गरेको स्वघोषणासमेत अनिवार्य गरिएको छ । प्राधिकरणले नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए वा नभएको घोषणा, संलग्न भएको भए त्यसको विस्तृत विवरण तथा हालको अवस्था, कुनै मुद्दा, अनुसन्धान, वैकल्पिक विवाद समाधान वा न्यायिक तथा प्रशासनिक प्रक्रियामा रहेको भए त्यसको विवरण पनि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । यस्तै, अदालत वा अधिकारप्राप्त निकायको आदेशअनुसार तिर्नुपर्ने राजस्व वा सरकारी बाँकी बक्यौता भए–नभएको विवरण, नेपाल वा विदेशमा कर्जा सम्बन्धी कालोसूचीमा परेको वा नपरेको अवस्था तथा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था भए–नभएको जानकारी पनि खुलाउनुपर्नेछ । निर्देशनको महत्वपूर्ण व्यवस्थाअनुसार सम्बन्धित व्यक्ति नेपाली नागरिक भए नेपाल बाहिर कुनै सम्पत्ति रहेको वा नरहेको, अथवा विदेशमा रहेको कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भएको वा नभएको घोषणा पनि गर्नुपर्नेछ । यसका अतिरिक्त सम्बन्धित व्यक्तिले विगतको कार्य अनुभव, संलग्न संस्था, पाएको जिम्मेवारी, पुरस्कार, सजाय, कार्यसम्पादनका उपलब्धि तथा वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरणसमेत पेश गर्नुपर्नेछ । प्राधिकरणले यी विवरण निश्चित अवस्थामा अनिवार्य रूपमा बुझाउन पनि निर्देशन दिएको छ । दर्ता अनुमति वा इजाजतपत्रका लागि निवेदन दिँदा, चुक्ता पुँजीको पाँच प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजी लगानी वा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पदमा नियुक्ति वा मनोनयन गर्दा तथा पाँच प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा सम्बन्धित विवरण प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको यो व्यवस्थाले सहकारी क्षेत्रमा स्वामित्व संरचनाको पारदर्शिता बढाउने, वास्तविक लगानीकर्ता पहिचान गर्न सहज बनाउने तथा सम्पत्ति लुकाउने, स्वार्थको द्वन्द्व र वित्तीय अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।