सुदूरपश्चिममा प्रसारण लाइन नहुँदा बिजुली बिक्री संकटमा
काठमाडौं । जलविद्युत विकास, प्रसारण लाइन विस्तार र लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले अझै संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले लगानी तथा विकास सम्मेलनको तयारीकै क्रममा ऊर्जा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर छलफल गरिएको स्मरण गर्दै प्रसारण लाइन अभाव अझै प्रमुख समस्या रहेको बताए । ‘जलविद्युत उत्पादन गरे पनि प्रसारण लाइन नहुँदा बिजुली बिक्री कसरी गर्ने भन्ने समस्या त्यतिबेलादेखि नै उठेको थियो, अहिले पनि उस्तै छ,’ उनले भने । ऊर्जा मन्त्रालयका सहसचिव सुरेन्द्र घिमिरेले विद्युत विकास विभागमार्फत सेवा सहजीकरणको प्रयास भइरहेको जानकारी दिए । नयाँ सरकार गठनपछि फाइल ट्र्याकिङ र टेबल क्लियर प्रणाली लागू गरिएको उनले बताए । साथै १६ मन्त्रालय र ३६ विभागका कामलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने विषयमा छलफल भइरहेको तर कार्यान्वयनमा जटिलता रहेको उनको भनाइ छ । उनले सुदूरपश्चिम क्षेत्रको पूर्वाधार अवस्था अझै कमजोर रहेको उल्लेख गर्दै अधिकांश जिल्लामा डबल लेन सडकको अभाव, ढुवानी महँगो हुनु र स्थानीय बजारको कमीले आयोजना निर्माणमा समस्या भइरहेको बताए । ‘धनगढीबाटै सामग्री लैजानुपर्ने अवस्था छ,’ उनले भने । घिमिरेले आयोजना प्रभावितको नाममा अनावश्यक दाबी गर्ने प्रवृत्ति पनि देखिएको उल्लेख गर्दै रुख कटान अनुमति लिनसमेत पटक–पटक मन्त्रिपरिषद् पुग्नुपर्ने बाध्यता रहेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले हाल विद्युत उत्पादनमा निजी क्षेत्रको ८५ प्रतिशत योगदान सकारात्मक भए पनि थप पारदर्शिता आवश्यक रहेको बताए। उनले सरकारी आयोजनाले वर्षौंसम्म रुख कटान अनुमति नपाउँदा निजी कम्पनीले छिटो अनुमति पाएको उदाहरण प्रस्तुत गर्दै नीतिगत असमानता औंल्याए । थापाका अनुसार विकास आयोजनामा वन सम्बन्धी कडा प्रावधान जस्तै एक रुख काट्दा १० रुख रोप्नुपर्ने र जग्गा सट्टा भर्ना-विकासमुखी नभएको गुनासो छ । सडक विभागले बालुवा झिक्न समेत वर्षौं अनुमति नपाएको उदाहरण उनले दिए । उनले देशको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै खर्चभन्दा आम्दानी करिब ३०० अर्ब रुपैयाँ कम रहेको र सो घाटा आन्तरिक ऋणमार्फत पूर्ति गर्नुपर्ने अवस्था रहेको बताए । ‘अब बजेट कनिका छरेजस्तो बाँडिने छैन, छिटो सम्पन्न हुने आयोजनामा मात्रै केन्द्रित गरिनेछ,’ उनले भने । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपालको जलविद्युत सम्भावना ठूलो भए पनि उत्पादन निकै कम रहेको बताए । ‘१८ हजार मेगावाट क्षमतामध्ये १५९ मेगावाट मात्रै उत्पादन हुनु ०.९४ प्रतिशत हो,’ उनले भने । उनले जलविद्युत आयोजनाले विकाससँगै पूर्वाधार निर्माणमा योगदान पुर्याउने उल्लेख गर्दै सुदूरपश्चिममा अझ ठूलो सम्भावना रहेको बताए । ‘दार्चुलामा उत्पादन गरेर धार्चुलामै बेच्न सकिन्छ,’ उनले भने । डाँगीले २०५१ सालमा २५० मेगावाट उत्पादन रहेको अवस्थामा निजी क्षेत्रको प्रवेशपछि हाल करिब ४१०० मेगावाट पुगेको उल्लेख गर्दै अब प्रसारण र विद्युत व्यापारमा पनि निजी क्षेत्रलाई खुला गर्नुपर्ने माग गरे । ‘आगामी १० वर्षमा निजी क्षेत्रले ठूलो मात्रामा विद्युत निर्यात गर्न सक्छ,’ उनले भने । कार्यक्रममा सहभागी वक्ताहरूले जलविद्युत क्षेत्रको दिगो विकासका लागि प्रसारण लाइन विस्तार, नीतिगत सुधार, पूर्वाधार विकास र निजी क्षेत्रलाई थप अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
काठमाडौं । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसद्बाट पारित यस कानूनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ । धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले ‘धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य होइन, अपरिहार्य प्रक्रिया बनिसकेको’ प्रतिक्रिया दिए । उनले यस कदमलाई सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि निर्णायक उपलब्धि ठानेका छन् । सुर्तीजन्य पदार्थ र भेपसम्बन्धी विधेयकअनुसार डिसेम्बर ३१, २००८ पछि जन्मिएका व्यक्तिहरूलाई जीवनभर चुरोट किन्न नपाउने व्यवस्था गरिनेछ । यसले हालको उमेर–आधारित सीमा हटाएर हरेक वर्ष न्यूनतम उमेर बढाउँदै लैजाने प्रणाली लागू गर्नेछ, जसका कारण अहिलेका किशोर–किशोरीहरू भविष्यमा पनि चुरोट खरिद गर्नबाट वञ्चित रहनेछन् । कानून प्रभावकारी हुनुअघि बेलायती राजा चाल्र्स तृतीयको औपचारिक स्वीकृति आवश्यक रहनेछ, जुन सामान्यतया औपचारिक प्रक्रिया मात्र मानिन्छ । त्यसपछि सरकारले सुर्तीजन्य पदार्थ, भेपिङ उपकरण र निकोटिनजन्य उत्पादनहरूको स्वाद, प्याकेजिङ र वितरणमा कडा नियमन लागू गर्न सक्नेछ । हाल बेलायतमा १८ वर्षभन्दा कम उमेरकालाई चुरोट, सुर्तीजन्य वस्तु वा भेप बेच्न प्रतिबन्ध छ । तर नयाँ कानूनले यस व्यवस्थालाई अझ कठोर बनाउँदै दीर्घकालीन रूपमा धूम्रपानको अन्त्यतर्फ उन्मुख गरेको छ । यही कारणले बेलायत अब विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक बनेको छ । यसअघि सन् २०२२ मा न्युजिल्यान्डले पनि यस्तै प्रकृतिको कानून ल्याएको थियो, तर पछिल्लो सरकारले त्यसलाई खारेज गरेको थियो । बेलायतको कदम भने दीर्घकालीन नीतिगत प्रतिबद्धताको रूपमा प्रस्तुत गरिएको छ । आँकडाअनुसार सन् १९७० को दशकयता बेलायतमा धूम्रपान गर्नेहरूको सङ्ख्या करिब दुई तिहाइले घटिसकेको छ । तर अझै करिब ६४ लाख मानिस, अर्थात् कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशतले धूम्रपान गरिरहेका छन् । सरकारी तथ्याङ्कले हरेक वर्ष करिब ८० हजार जनाको मृत्यु धूम्रपानका कारण हुने देखाएको छ, जसले यसलाई मृत्यु, अशक्तता र खराब स्वास्थ्यको सबैभन्दा ठूलो रोकथामयोग्य कारण बनाएको छ । स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले नयाँ कानूनले बेलायतका बालबालिकालाई ‘पहिलो धूम्रपान–मुक्त पुस्ता’ बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार यसले भावी पुस्तालाई जीवनभरको लत र त्यसबाट हुने गम्भीर स्वास्थ्य जोखिमबाट जोगाउनेछ । रासस
फेरि सार्वजनिक यातायातको भाडा बढ्ने, छलफलमा सरकार
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा पुनः वृद्धि गर्ने गृहकार्य सुरु गरेको छ । वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन भएको दुई साता नबित्दै यातायात व्यवस्था विभागले भाडा बढाउने प्रस्ताव तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको हो । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विभागबाट प्राप्त प्रस्तावमाथि अहिले मन्त्रालयमा छलफल भइरहेको छ र सम्भवतः आगामी केही दिनभित्रै नयाँ भाडादर कायम हुनेछ । फेरि सवारीसाधनको भाडा बढाउने तयारी रहेको ती अधिकारीले विकासन्युजसँग बताए । यसअघि सरकारले गत चैत २५ गते मात्रै वैज्ञानिक प्रणालीका आधारमा २२ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । सो समयमा यात्रुवाहक सवारीको १६.७१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीको २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको १५.७५ प्रतिशतले भाडा बढाइएको थियो । तर, पछिल्लो समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर ५५ रुपैयाँसम्म भारी वृद्धि भएपछि विभागले पुनः भाडा बढाउन प्रक्रिया अगाडि बढाएको हो । चैतमा भाडा समायोजन हुँदा डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ रहेकोमा हाल त्यो बढेर २३७ रुपैयाँ पुगेको छ । वैज्ञानिक भाडा समायोजनसम्बन्धी कार्यविधिअनुसार भाडा निर्धारण गर्दा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र अन्य १३ वटा सूचक (बीमा, कर, बैंक ब्याज, पार्टपुर्जा, टायर, लुब्रिकेन्ट आदि) को ६५ प्रतिशत योगदान रहने गर्दछ । कार्यविधिमा इन्धनको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढी उतारचढाव आउँदा स्वचालित रूपमा भाडादर परिवर्तन गर्ने व्यवस्था छ । गत चैत २५ गतेको तुलनामा हाल डिजेलको मूल्यमा करिब ३० प्रतिशतले वृद्धि भइसकेकाले सरकार पुनः भाडा बढाउने निष्कर्षमा पुगेको हो ।
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज बस्दै, दलका लिखित धारणामाथि छलफल हुने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्द्र) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बिहीबार (आज) बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आज अपरान्ह ३ बजेका लागि बैठक आह्वान गरिएको छ । आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले बुझाएका लिखित धारणाहरूका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूमाथि प्रारम्भिक छलफल हुने जनाइएको छ । साथै कार्यदलले आफ्नो आगामी कामकारबाही र प्रस्तावित कार्ययोजनाको विषयमा पनि ठोस निर्णय लिने कार्यसूची रहेको छ । संविधानलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक सुझावहरू संकलन गरी बहसपत्र तयार पार्ने जिम्मेवारी यो कार्यदललाई दिइएको छ ।
काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ । एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् । 'अहिले वर्षा नभएर सुक्खा बढ्दो अवस्थामा छ, यसले धुलो र धुवाँ वायुमण्डलमा थुप्रिन सहयोग गरेको छ', उनले भने, 'वर्षा भएमा हावामा रहेका कणहरू जमिनमा बस्छन् र प्रदूषण घट्छ, तर अहिले त्यो अवस्था छैन ।' उनका अनुसार सम्बन्धित निकायलाई दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ । यस्तै, जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने सङ्केत देखिएको जानकारी दिए । “वर्षा नहुँदा वायुमण्डल सफा हुन सक्दैन, जसले प्रदूषण थप बढाउने सम्भावना रहन्छ”, उनले भने । विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई पर्ने जनाइएको छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाइएको छ ।
मध्यान्हमा बस्दै मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्। बैठक बिहीबार (आज) मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । बैठक महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । समुद्री सतहबाट छ हजार ५६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुद्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाका अनुसार सो ताल करिव ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । तर तालको गहिराइको मापन भने अझैसम्म गरिएको छैन । कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने १९८ मिटर अग्लो छहरा आकर्षण थपेको छ । पर्यटक यहाँको प्राकृतिक सुन्दरतासँग आकर्षित पर्दछन् । यहाँबाट सम्मुख जुगल हिमशृङ्खला पर्दछ । प्राकृतिक रुपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ । अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ । विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच हुने गर्दछ । विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । तत्कालीन जङ्गबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ । भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोरमकोर हुँदै पनि पुग्न सकिने स्थानीय वीना रोक्का अधिकारी बताउँछन् । यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किवंदन्तीे छ । महादेवको उग्ररुपअर्थात् भैरव सम्हारकर्ताका रुपमा मानिन्छ । भगवान् शिवको क्रिडास्थलका रुपमा भैरवकुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने गरेको हो । भैरवकुण्ड नजिकै अर्को प्रख्यातस्थल देउढुङ्गा पनि रहेको छ । कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुङ्गा पुगिन्छ । यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन् । किंवदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुङ्गाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड पुग्छन् । आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् । आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे । यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका स्थानीय बुद्ध श्रेष्ठको भनाइ छ । तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौँको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरु देख्न सकिन्छ । भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ । चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो । त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो । हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको सङ्ख्या बढ्दो छ । यात्राका क्रममा विभिन्न बाधा, अड्चन अनि अभाव छिचोलेर यहाँ पुग्ने गरिन्छ । बीचमा चौँरीका गोठहरुमा बास बस्नुपर्ने हुन्छ । पर्यटकहरुलाई थप सहजताका लागि अब भने बाटामा पानी, तथा बासका लागि पाटीको निर्माण गर्ने योजना ल्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । पदमार्गको व्यवस्थापनका साथै सडकले जोड्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभई सिङ्गो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । रासस
सुनचाँदीको मूल्य बिहीबार पनि घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २० कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १३० मा कारोबार भएको थियो । गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस