सेती नदीमा १८ मेगावाटको हाइड्रो बन्ने, २०८७ मा सम्पन्न गर्ने

काठमाडौं । केसीज होटल्स एण्ड मल्टिपल इन्डष्ट्रिजले १८ मेगावाट क्षमताको ‘सुप्रिम मध्य सेती जलविद्युत आयोजना’ निर्माण गर्ने भएको छ । पोखरा महानगरपालिका-१४, २७, २९ र ३३ नम्बरमा अवस्थित विजयपुर खोला र सेती नदीको पानी उपयोग गरी नदी बहावमा आधारित प्रविधिमा आयोजना निर्माण गरिने भएको हो ।

केसीज होटल्सले विद्युत ऐन, २०४९ को दफा ४ तथा विद्युत नियमावली, २०५० को नियम १२ बमोजिम आवेदन दिएको र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र सन् २०२३ मा अद्यावधिक गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आयोजना प्रक्रिया अगाडि बढाइएको हो । 

आयोजनाको जडित क्षमता १८ मेगावाट रहनेछ । डिजाइन बहाव ४४.१४ घनमिटर प्रतिसेकेन्ड र समग्र हेड ५० मिटर रहनेछ । यस आयोजनाबाट वार्षिक औसत १०९.३३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ । साथै, विजयपुर–२ जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानीसमेत उपयोग गरिने जनाइएको छ ।

आयोजनाका संरचनात्मक पक्षमा सेती नदीमा करिब ९० मिटर लामो र ४ मिटर उचाइको बाँध निर्माण गरिनेछ । बाँधको बायाँ किनारबाट पाँच वटा साइड इन्टेकमार्फत पानी ग्राभेल ट्र्यापमा लगिनेछ । त्यहाँबाट पानी ७५० मिटर लामो नहर हुँदै दुई च्याम्बरयुक्त डिस्यान्डिङ बेसिनमा पुर्याइनेछ ।

त्यसपछि पानी विभिन्न क्यानालमार्फत कलेक्सन पोखरीमा संकलन गरिनेछ र २ हजार ७७ मिटर लामो हेडरेस क्यानाल हुँदै फोरबेमा पुर्याइनेछ । त्यहाँबाट १ हजार ५७ मिटर लामो पाइपमार्फत सर्ज स्याफ्ट हुँदै १८० मिटर पेनस्टकमार्फत विद्युतगृहमा पानी पुर्याइनेछ ।

विद्युतगृहमा तीनवटा भर्टिकल स्याफ्ट फ्रान्सिस टर्बाइन र तीनवटा तीन-फेज जेनेरेटर जडान गरी १८ मेगावाट विद्युत उत्पादन गरिनेछ । उत्पादन भएको विद्युत ४.५ किलोमिटर लामो प्रसारण लाइनमार्फत लेखनाथ सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

विद्युत उत्पादनपछि पानी ३२० मिटर लामो टेलरेस क्यानालमार्फत पुनः सेती नदीमा प्रवाह गरिने व्यवस्था मिलाइने जनाएको छ । साथै विद्युतगृह नजिकै आउटडोर स्विचयार्ड पनि निर्माण गरिनेछ ।

पर्यावरणीय पक्षलाई ध्यानमा राख्दै आयोजना क्षेत्रभित्रका जलचर, वनस्पति तथा अन्य जीवजन्तुको संरक्षणका लागि न्यूनतम आवश्यक पानी निरन्तर रूपमा तल्लो तटीय क्षेत्रमा छाडिने प्रस्ताव कम्पनीले गरेको छ ।

यो आयोजना वि.सं. २०८७ असार (सन् २०३०) भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

Share News