व्यावसायिक भेडापालनमा युवाको बढ्दो आकर्षण, १० लाख रुपैयाँ भन्दा बढी वार्षिक आम्दानी

<p>खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन् । तीन वर्षअघि आधिकारिकरुपमा व्यावसायिक फार्म मुन्धुम भेडापालन फार्म दर्ता गरेर भेडापालन शुरु गरेका लक्ष्मणको फार्ममा अहिले २५० वटा भेडा छन् । २० लाख [&hellip;]</p>

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन् ।

तीन वर्षअघि आधिकारिकरुपमा व्यावसायिक फार्म मुन्धुम भेडापालन फार्म दर्ता गरेर भेडापालन शुरु गरेका लक्ष्मणको फार्ममा अहिले २५० वटा भेडा छन् । २० लाख रुपैयाँमा एक सय ८० वटा भेडाको मल्ला खरिद गरेर व्यावसायिक भेडापालन सुरु गरेका उनको फार्मबाट वार्षिक आम्दानी १० लाख रुपैयाँ भन्दा बढी हुने गरेको बताइएको छ ।

विसं २०५८ देखि राजनीतिमासमेत सक्रिय रहेका लक्ष्मण अहिले ३७ वर्षको भए । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्म भएका लक्ष्मण अहिले नेकपा माओवादी केन्द्र केपिलासगढी गाउँपालिका कार्यसमितिका सचिव पनि छन् ।

‘राजनीतिलाई पेशा हैन, सेवा गर्ने माध्यम बनाउनुपर्छ’, भन्ने सन्देश युवा पुस्तालाई दिनुहुने लक्ष्मणलाई आफ्नै दुई भाइलेसमेत सहयोग गर्दै आएका छन् । बुबा तीर्थमणि र आमा गोरी साम्पाङका जेठा छोरा लक्ष्मणलाई २८ वर्षीय भाइ किशोर २२ वर्षीय भैराज साम्पाङले सहयोग गर्दै आएका हुन् । किशोरले एसएलसी र भैराजले एसइई उत्तीर्ण गरेका छन् ।

भेडापालनबाट राम्रो आम्दानी हुने देखेपछि पछिल्लो समय युवा पुस्तामा विदेश जानुभन्दा यहीँ बसेर व्यवसाय गर्ने सोच बढ्न थालेको छ । उनीहरु तीन दाजुभाइसँगै फेदीकै स्थानीयवासी २५ वर्षीय तीलबिक्रम राई र १९ वर्षीय कल्याण राईसमेत पछिल्लो समय उक्त फार्ममा आवद्ध भएर व्यावसायिक भेडापालनमा लागेका छन् ।

उनीहरु पाँचैजना अहिले पालैपालो भेडीचोकमा बसेर आफ्ना भेडाको हेरचाहमा जुट्ने गरेका छन् । उनीहरुको भेडीचोक हिउँदको समयमा बेँसी क्षेत्रको रावा फाँट तथा स्थानीय बासिन्दाको खेतबारी र वर्षाको समयमा लेकाली क्षेत्र मयुङका फाँटहरुमा चरनका लागि पु¥याउने गरिएको छ ।

भेडीचोक बेँसी झरेको समयमा आफ्नो खेतबारी मल्नका लागि भेडीचोक राख्न स्थानीय बासिन्दाले तछाडमछाड गर्ने गर्दछन् । भेडाको मल अरुको भन्दा कडा र मलिलो हुने भएकाले लेकाली क्षेत्रमा राखिएका भेडीचोकहरुमा पुगेर स्थानीय बासिन्दाले भेडाको बर्कुलासमेत ल्याएर आफ्नो खेतबारीमा लगाउने गरेका छन् ।

भेडापालनका लागि जिल्लाको वातावरण उपयुक्त तथा पर्याप्त मात्रामा घाँसे मैदानहरु रहेकाले आधिकारिकरुपमा फार्म दर्ता गरेर व्यावसायिक भेडापालन शुरु गरिएको लक्ष्मण बताउँछन् । ‘भेडाको साँढ, पाठापाठी, ऊन र घ्यू चोकबाटै बिक्री हुन्छ । अन्य पशुपालनभन्दा भेडा पाल्न सजिलो र छिटो समयमै राम्रो आम्दानीसमेत दिन्छ’, लक्ष्मणले भने, ‘श्रम अर्थात व्यवसाय गर्न कुनै पनि सजिलो भने छैन । श्रमलाई सम्मान र आफूले गरेको पेशा तथा व्यवसायमा आत्मा सन्तुष्टि लिन सक्नुपर्छ ।’

स्नातकोत्तर गरेको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमा चाहना रहेपनि उनीहरुको चाहना विपरीत आफू भेडापालन व्यवसायमा लागेको लक्ष्मणले बताए । ‘सानै उमेरदेखि राजनीतिमा लागियो । म स्वतन्त्रतामा रमाउने मान्छे । सरकारी जागिरमा स्वतन्त्रता हुँदैन’, उनले भने । अहिले धेरै व्यक्तिले राजनीतिलाई पेशा बनाएकामा असन्ुतष्टी जनाउँदै उनी भन्छन्., ‘राजनीति पेशा हैन, सेवा गर्ने माध्यम हो । सेवा गर्नलाई आर्थिक अवस्था राम्रो हुनुपर्छ । कुनै पनि व्यक्तिको आर्थिक आम्दानी राम्रो नभई राजनीति सम्भव छैन । राजनीतिलाई अगाडि बढाउन जो सुकैको पनि आम्दानी स्रोत हुनैपर्छ । भेडापालन व्यवसायबाट आएको आम्दानी घर खर्च र राजनीतिमा लगानी गर्दै आएको छु ।’

जिल्लामा एउटा भेडाको साँढ ५० हजार रुपैयाँसम्म, मासु प्रतिकेजी आठ सय रुपैयाँ, ऊन प्रतिकेजी पाँच सय रुपैयाँसम्म र घ्यू प्रतिकुरुवा चार हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादित भेडाको साँढ, ऊनबाट बनेका विभिन्न प्रकारका राडीपाखी र घ्यू जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । भेडाको घ्यू औषधिजन्य प्रयोजनमा समेत उपयोग गर्ने गरिन्छ ।

फेदीकै पृथीराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रवीण गुरुङ, सोही नगरपालिका–१० खार्मीका शशिकुमार राई, वडा नं १२ जापलाका इन्द्रमान राई, वडा नं १३ नुनथलाका गोपाल राईलगायतका युवाले पनि जिल्लामा व्यावसायिकरुपमा भेडापालन सुरु गरेका छन् । खार्मीका ३६ वर्षीय शशिकुमारले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर पाँच वर्षपछि गाउँ फर्किएपछि व्यावसायिकरुपमा भेडापालन सुरु गरेका हुन् ।

विदेशमा अरुको खटनमा बसेर श्रम गर्नुभन्दा आफ्नै देशमा स्वतन्त्रतापूर्वक परिश्रम गर्ने सोचले विदेशबाट फर्किएर आएपछि भेडापालन व्यवसाय सुरु गरेको शशिकुमारले बताए । ‘अरुको देशमा जत्तिको दिनरात नभनी खट्ने हो भने, आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘विदेशमा सिकेको सीप तथा समयको महत्वलाई व्यवहारमा उतार्न आफ्नै देशमा आएर भेडापालन व्यवसाय सुरु गरेको हुँ । आफ्नो देशमा स्वतन्त्रतापूर्वक आफ्नो अनुकूलमा श्रम गर्न पाउँदा गर्व लागेको छ । सोचेभन्दा आम्दानी पनि बढी नै भइरहेको छ ।’

जिल्लामा भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्थामा पछिल्लो समय युवा पुस्ताले यस व्यवसायलाई व्यावसायिक रुप दिन थालेपछि आशा जागेको छ । परम्परागत प्रणालीमा पालिँदै आइएको भेडापालन व्यवसायलाई युवापुस्ताले आधुनिक रुप दिएका छन् । उनीहरुले भेडाका लागि भेडीचोक .भेडा तथा आफू बस्ने ठाउँ सुधार, भेडाका लागि आवश्यक औषधि उपचारको व्यवस्था, नश्ल सुधार उन्नत जातका पाठापाठी उत्पादन गर्न अपनाइने विधि तथा भेडाको बीमासमेत गर्ने गरेका छन् । यतिमात्र नभई उनीहरुले व्यावसायिक भेडापालन गर्दा अपनाउनुपर्ने विधि तथा सावधानीलगायतका विषयमा विभिन्न ठाउँ पुगेर विज्ञबाट तालिमसमेत लिएका छन् ।

जिल्लामा यसअघिसम्म गुरुङ समुदायले मात्र व्यावसायिकरुपमा भेडापालन गर्दै आएकामा अहिले सबै जातजातिले पाल्न थालेका छन् । थोरै सङ्ख्यामा रहेको गुरुङ समुदायका युवा पुस्ता वैदेशिक रोजगारीको सिलसिलामा विदेश पलायन हुनुका साथै बुढापाकाहरुको हातखुट्टा चल्न छाडेपछि भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको थियो ।

चरन क्षेत्रको अभावका कारण अधिकांशले भेडापालन व्यवसाय छाडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृष्ण गुरुङले बताए । “हाम्रा पुर्खाहरुले लेकाली क्षेत्रको हिमालपारीसम्म तथा उदयपुरको चारकोसे झाडीसम्म भेडीचोक पु¥याउने गर्थे”, कालिका मावि नेर्पाका शिक्षकसमेत रहनुभएका गुरुङले भने, ‘पछिल्लो समय सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जले चरन क्षेत्र प्रतिबन्ध गरेको छ । चरन अभावकै कारण अधिकांशले आफ्नो पुख्र्यौली पेशा छाड्दै गएका छन् । पछिल्लो समय आफ्नो संस्कार जोगाउनका लागि मात्र एक/दुई वटा भेडा पाल्ने गरिएको छ ।’

व्यावसायिक भेडापालनका लागि जिल्लाका मयुङ, टेम्के, सेल्मे, रुपाकोट, मेरुङ, रावाढाप, साप्सुढाप, गर्जुरेढाप, मुडे, तावाभञ्ज्याङ, खिदिमाको माथिल्लो भाग, कपासेभञ्ज्याङ लगायतका ठाउँहरु उपयुक्त मानिन्छन् । ती ठाउँहरु जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलसमेत भएकाले त्यस क्षेत्रमा पालिएका भेडाका बथानहरु त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको माध्यमसमेत बन्ने गरेको छ ।

पर्यटकीयस्थलका चरण क्षेत्रहरुमा चर्दै गरेका भेडाका बथानले आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउने गर्दछ । भेडीचोकमा हुर्कँदै गरेका भेडाका साना पाठापाठी खेलाउन पाउँदा जो कोहीको मन फुरुङ्ग हुने गर्छ ।

व्यावसायिक भेडापालनमा लागेका जिल्लाका कृषकले आफूहरुको व्यवसायलाई प्रवद्र्धन गर्न अहिलेसम्म राज्यको कुनै चासो नरहेको बताएका छन् । उनीहरुले आफूहरुको भेडापालन व्यवसायका लागि बीमामा छुट, चरनका लागि खर्क भेडा चराउने ठाउँमा तिर्दै आएको खर्चरी शुल्कमा छुट तथा औषधि उपचारमा राज्यको सहयोग आवश्यक रहेको बताएका छन् ।

व्यावसायिक पशुपालन तथा कृषि व्यवसायमा लागेका युवालाई प्रोत्साहन गर्न जिल्लाका दशवटै स्थानीय तहले चालू आर्थिक वर्षमा नीति तथा कार्यक्रमसमेत ल्याएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेट क्षेत्र नै निर्धारण गरेर कृषि व्यवसाय तथा पशुपालनका क्षेत्रमा लगानी गर्ने तयारी गरेको छ ।

लेकाली भेगका स्थानीय बासिन्दाका लागि भेडा, खसीबाख्रा, गाईभैँसी लगायतका पशुपालन, कछाडका लागि तरकारी तथा फलफूल र बेँसी क्षेत्रका स्थानीय बासिन्दाका लागि अन्नबाली उत्पादनमा आवश्यक सहयोग गर्नेगरी पकेट क्षेत्र निर्धारण गरिएको यस नगरपालिकाका उपप्रमुख विशन राईले बताए । ‘नगरपालिकालाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षबाटै नितरन्तरता दिने गरी नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेका छौँ’, उनले भने, ‘रोजगारीको सिलसिलामा विदेश पलायन हुने युवा पुस्तालाई पशुपालन तथा कृषि उपज उत्पादनमा लगाएर गाउँमै रोजगारी सिर्जना गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । यो नीति तथा कार्यक्रम चालु आर्थिक वर्षबाटै कार्यान्वयन हुनेछ ।’

कृषि तथा पशुपालन पकेट क्षेत्र विकासका लागि नगरपालिकाबाट चालु आर्थिक वर्षमा खर्च गर्ने गरी एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । नगरमा उत्पादित कृषिउपज तथा मासु र दूधजन्य पदार्थ बाहिरी जिल्लासमेत निर्यात गर्ने नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

Share News