पहिलो त्रैमासमा बैंकहरुलाई रिकभरीको दबाब, सीईओहरुलाई खराब कर्जा बढ्ने चिन्ता

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा बैंकहरुलाई लोन रिकभरी (कर्जा असुली)को दबाब देखिएको छ । पहिलो त्रैमासको अन्तिममै लामो विदा परेका कारण ऋण असुलीमा समस्या भएको हो । विदाको समय परेकोले धितो पनि नबिक्न र सावाँ ब्याज पनि असुल हुन नसक्ने अवस्था रहेकोले रिकभरीमा समस्या देखिएको बैंकरहरु बताउँछन् । हुन त बैंकिङ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा बैंकहरुलाई लोन रिकभरी (कर्जा असुली)को दबाब देखिएको छ । पहिलो त्रैमासको अन्तिममै लामो विदा परेका कारण ऋण असुलीमा समस्या भएको हो । विदाको समय परेकोले धितो पनि नबिक्न र सावाँ ब्याज पनि असुल हुन नसक्ने अवस्था रहेकोले रिकभरीमा समस्या देखिएको बैंकरहरु बताउँछन् ।

हुन त बैंकिङ प्रणालीमा लामो समयदेखि तरलताको अभाव छ । बैंकहरुले लगानीयोग्य पुँजी नभएकै कारण कर्जा प्रवाह गर्न सकेका छैनन् । अहिले बैंकहरुलाई पुरानो कर्जा असुलीमा पनि समस्या देखिएको हो ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संकटमा परेको व्यवसाय र वर्तमान रुस–युक्रेनबीचको युद्धले समस्या हुँदा अर्थतन्त्रमा समस्या भइरहेको बेला त्यसको प्रत्यक्ष मार बैंकहरुलाई पर्दा रिकभरीमा पनि समस्या भइरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै दशैं र लगत्तै तिहार पर्वको छुट्टी हुँदा बैंकहरुलाई रिकभरीको समस्या भएको हो ।

रिकभरी नहुँदा प्रोभिजनिङ पनि बढ्ने अनुमान बैंकरहरुको छ । बैंकहरु आर्थिक वर्षको सुरुवातसँगै पहिलो त्रैमासलाई पनि राम्रै बनाउने प्रयास गर्छन् । सकेसम्म कर्जा असुलीमा ध्यान दिएर पहिलो त्रैमासमा बढी नै नाफा गर्ने योजना अधिकांश बैंकहरुको हुन्छ । तर, यस पटक भने दशैं छिटो पर्दा पहिलो त्रैमास सोचे जस्तो नहुने अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको धारणा छ ।

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले अहिले बैंकहरुलाई रिकभरीको समस्या रहेको बताए । उनले यस पटक एक साता लामो सार्वजनिक छुट्टी हुँदा बैंकहरुलाई कर्जा असुलीमा समस्या भएको र यसले प्रोभिजन बढाउनु पर्ने बाध्यता हुने धारणा राखे ।

‘अहिले दशैं लगत्तै पहिलो त्रैमासको वित्तीय विवरण तयार पार्नु पर्ने अवस्था छ, कात्तिक पहिलो सातातिर वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ, त्यही समयमा फेरि तिहार परेको छ, यो बिचमा धेरै विदा हुँदा कर्जा असुलीमा समस्या हुन्छ, ग्राहकहरुले पनि चाडपर्वमा बढी नै खर्च गर्छन्, बैंकको ऋण तिर्नुभन्दा पनि उहाँहरु चाडपर्वमा रमाउन खोज्छन्, त्यसैले पनि बैंकहरुको कर्जा असुलीमा केही दबाब आउँछ कि भन्ने हाम्रो अनुमान छ, कर्जा असुली नभएपछि प्रोभिजन बढी गर्नु पर्ने हुन्छ, बढी प्रोभिजन गरेपछि नाफामा केही संकुचन आउँछ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले दिएको सहुलियत र ब्याजदर समेत बढेको कारण खराब पनि बढ्ने प्रवल सम्भावना छ । नेपाल राष्ट्र बैंकले यस पटकको वित्तीय विवरण वास्तविक ल्याउन पनि बैंकहरुलाई भनिसकेको छ । त्यसैले पनि बैंकहरुको एक किसिमको दबाबमा छन् ।

यस्तै, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल यस पटक दशैं पहिलो त्रैमासको क्लोजिङमै परेको कारणले पनि बैंकहरुलाई एक किसिमको दबाब रहेको बताए । उनले सार्वजनिक विदा पनि धेरै भएकोले क्लोजिङमा बैंकहरुलाई केही दबाब हुने धारणा राखे ।

‘क्लोजिङकै समयमा धेरै सार्वजनिक विदा परेकोले रिकभरीमा समय दिनु पर्ने हुन्छ, वित्तीय विवरण तयार पार्नु पर्ने हुन्छ, यस पटक रिकभरीमा केही दबाब हुन्छ कि भन्ने मेरो पनि अनुमान छ,’ उनले भने ।

अघिल्ला वर्षहरुमा असार मसान्तमा ऋण लिएर किस्ता तथा ब्याज तिर्ने प्रवृति यो वर्ष दोहरिने सम्भावना नरहेको बैंकरहरु बताउँछन् । बैंकहरुले प्रकाशित गरेको गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार औसतमा खराब कर्जा २ प्रतिशतको हाराहारीमा थियो । पहिलो त्रैमासमा पनि सोही हाराहारीमा हुने बैंकरहरुको अनुमान छ ।

सानिमा बैंकका सीईओ निश्चलराज पाण्डेय भने पहिलो त्रैमासमा खासै नाफामा संकुचन नआउने बताउँछन् । उनले चालु आर्थिक वर्षको पहिलो त्रैमास यस अघिका त्रैमास जस्तो नै हुने धारणा राखे ।

बैंकरहरुका अनुसार अटोलोन, निर्माण व्यवसाय र पर्यटन क्षेत्रमा प्रवाह भएको केही कर्जा बाहेक अन्य क्षेत्रमा प्रवाह भएको कर्जा राम्रै असुल भएको छ । सरकारले गाडी आयातमा केही कडाइ गरेको कारण व्यवसायीहरुले राम्रो ब्यापार गर्न सकेका छैनन् । त्यसैले पनि सो क्षेत्रमा सोच अनुरुपको ऋण असुली भइरहेको छैन भने निर्माण र पर्यटन क्षेत्रको अवस्था पनि त्यस्तै छ ।

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् ।

Share News