विकासन्युज

आठ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

भरतपुर । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन । पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुईपटक भत्किएका कारण ढिला भएको बताए । उनले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गरे । ‘निर्माण समितिका तर्फबाट पटक–पटक दबाब दियौँ’, उनले भने, ‘प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझ्यौँ तर पुल निर्माणले गति लिन सकेन ।’ उनले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरुको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताए । पौडेलले कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा उत्रने उनले चेतावनी दिए । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापरबाही गरिएको बताए । उनले पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताए । देवघाट–५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताए । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासीनता भएको उनले बताए । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ । चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८।५ मिटर फराकिलो र दुई सय २० मिटर लामो छ । डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०/४० मिटरका तीनवटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ । त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र २०७४ कात्तिक १९० मा पुल बन्नुपथ्र्यो । तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यो बीचमा चार/पाँचपटक म्याद थप गरिसकिएको छ । सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताए । उनले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताए । ‘भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर प¥यो’, उनले भने, ‘यो विचमा दुई पटक भत्किएर तत्काल काम गर्नसक्ने अवस्था भएन । सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रुपैयाँ रहेकामा अहिले बढेर २१ करोड ६८ लाख रुपैयाँ पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ’ । रासस

नबिल इक्विटी र नबिल ब्यालेन्स फण्डको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी र नबिल ब्यालेन्स फण्डको लाभांश घोषणा भएको छ । असोज २५ गते बिहान बसेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेको हो । जसमध्ये नबिल इक्वीटी फण्डका इकाईधनीलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गरिने प्रस्ताव रहेको छ । त्यसैगरी, नबिल ब्यालेन्स फण्ड २ का इकाईधनीलाई आव २०७८/७९ को नाफाबाट करसहित ७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । उक्त लाभांश प्रयोजनको लागि कार्त्तिक १८ गते एकदिन बुक क्लोज हुने भएको छ ।

नबिल इक्विटी र ब्यालेन्स फण्डको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नबिल इक्विटी र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का गरिदिएको छ । नेप्सेले बुधबार मात्रै यी फण्डको कारोबार रोक्का गरिदिएको हो । लिस्टिङ विनियम २०७५ को पालना नगरेको भन्दै नेप्सेले उक्त दुई फण्डको कारोबार रोकिएको छ ।

दक्षिण कोरियामा अहिले पनि दैनिक तीस हजार भन्दा बढी कोरोना सङ्क्रमित

सोल । दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको हो । अघिल्लो २४ घन्टामा यहाँ त्यो सङ्ख्यामा सङ्क्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरुले समाचारमा जनाएका छन् ।यहाँ अघिल्लो दिन अर्थात् सोमबारका तुलनामा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो हप्ता यहाँ ३४ हजार भन्दा बढी सङ्क्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्यो भन्दा कम देखिएको बताइएको छ । गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा सङ्क्रमितहरु देखिने गरेका थिए । त्यसका तुलनामा अहिले पुनः सङ्क्रमितहरु बढ्न थालेका पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ पछिल्ला दुई दिनमा १५ जना सङ्क्रमितको ज्यान गएको छ । यो समेतगरी यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २७ हजार सात सय २३ पुगेको छ । कारोना भाइरसको सङ्क्रमण सुरु भएदेखि यहाँ दुई करोड ५० लाखभन्दा बढी नागरिकमा सङ्क्रमण भएको बताइएको छ ।

नवलपरासीमा बसपार्क नहुँदा समस्या

त्रिवेणी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुर हालसम्म बसपार्क निर्माण हुन सकेको छैन । देशकै मध्यभागमा पर्ने र पूर्वपश्चिम राजमार्गले करिब ६५ किलोमिटर छुने यहाँ दैनिक सयौँ सवारी आवतजावत गर्छन् । स्थानीय तथा लामो दूरीका सवारी विभिन्न क्षेत्रबाट छुट्ने गर्दछन् । तर अझैसम्म जिल्लमा भने एउटा पनि बसपार्क निर्माण हुन सकेको छैन् । बसपार्क नहुँदा अव्यवस्थित पार्किङको समस्या निम्तिएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा बसपार्क नहुँदा झनै पार्किङको समस्या बढ्दो रहेको छ । वर्षेनी यातायातको सङ्ख्या बढ्दै गए पनि बसपार्कको व्यवस्था नहुँदा राजमार्ग छेउछाउमा अव्यवस्थित पार्किङको समस्या बढ्दो रहको छ । यो समस्या भित्री सडकहरूमा समेत देखिन थालेको छ । बसपार्क नहुँदा सडक छेउछाउमा हुने अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिमसमेत निम्ताएको छ । जिल्लामा राजमार्गसँग जोडिएका क्षेत्रहरू कावासोतीसहित दलदले, चोरमारा, प्रगतिनगर, गैँडाकोटमा सवारीको चाप थप बढ्दो रहेको छ । सबै क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या रहेको छ । पालिकाले आवश्यकताका आधारमा साना, ठूला सवारीका लागि बसपार्कको अवधारणा बढाउनुपर्ने सरोकारवालाको भनाइ छ । ‘सबै क्षेत्रमा आवश्यकता पहिचान गरी ठूलो नभए पनि पार्किङ गर्न मिल्ने गरी बसपार्कको अवधारणा बढाउनुपर्छ, मुख्य बजार कावासोतीमा भने यसको अभाव खड्किन थालेको छ’, स्थानीय रुपेश गिरीले भने । कावासोती जिल्लाको केन्द्र भएकाले यहाँ तत्काल बसपार्क निर्माण गर्नुपर्ने उनको भनाइ छ । पूर्वपश्चिम राजमार्गबाहेक जिल्लाको पहाडी क्षेत्र, पूर्वी पाल्पा, नवलपुरसँग जोडिएका तनहुँका केही क्षेत्रका बासिन्दासमेत नवलपुरको बाटो हुँदा आवतजावत गर्ने गर्दछन् । राजमार्गसँग जोडिएका विभिन्न बजारबाट त्यसतर्फ जिपहरू छुट्ने गर्दछन् । गिरीका अनुसार ती सवारी कहाँ राख्ने भन्ने चालकलाई चिन्ता भए जस्तै यात्रुलाई समेत कुन रुटका लागि कहाँ सवारी पाइन्छ भन्ने समस्यामा पर्ने गरेका छन् । उनले भने, ‘बिभिन्न भित्री गाउँमा जानेलाई सवारी कहाँ पाइन्छ भन्ने चिन्ता हुन्छ, राति अलि अबेर आए कहीँ सवारी भेटिँदैनन्, कमसेकम बसपार्क भए त सवारी हुन्छ, विकल्प हुन्छ ।’ जिल्ला बसपार्कको आवश्यकता रहेको र यसका लागि पालिकाहरूले पहल गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताए । पालिकासँगै सम्बन्धित यातायात व्यवसायीले यसको विषयमा पहल गर्नुपर्ने र बसपार्क भए राजमार्ग छेउमा हुने अव्यवस्थित पार्किङको समस्या हट्ने उनको भनाइ छ । जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालिकाले व्यवस्थित बसपार्क निर्माणको योजना बनाएको कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । बसपार्कको आवश्यकता महसुस गरी कावासोती–१६, बसपार्क निर्माणको योजना रहेको उनले बताए । सहरी विकास तथा भवन निर्माण आयोजनाको सहकार्यमा बसपार्क निर्माणको काम अघि बढाउने तयारी गरिएको उनको भनाइ रहेको छ । ‘जिल्लामै बसपार्क छैन, त्यसमा पनि हामी सदरमुकामको पालिका, यहाँ बसपार्कको आवश्यकता छ, त्यही आवश्यकता महसुस गरी बसपार्क निर्माणको योजना बनाएका छौँ’, नगरप्रमुख भुसालले भने । रासस

निरन्तरको वर्षाले पर्वतमा धान उत्पादन घट्ने

पर्वत । बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकामा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताए । असारको सुरुआततमै रोपिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला गरी रोपिएको ठाउँमा धानको फूल लाग्ने बेला वर्षाले असर गर्ने उनको भनाइ छ । भारी वर्षा हुँदा धानमा लागेको फूल झर्दा परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा डुबेको अवस्थामा बाला कुहिने भएकाले औसतभन्दा कम धान उत्पादन हुन सक्ने अनुमान गरिएको हो । उनका अनुसार विश्वमा करिब तीन चौथाइभन्दा बढी फूल फुल्ने बिरुवालाई परागसेचनको आवश्यकता पर्दछ । करिब ७५ प्रतिशतभन्दा बढी फूलहरूको परागसेचन कुनै न कुनै जीवजन्तु वा कीराहरूले गर्ने गर्दछन् । जिल्लाका कतिपय कृषकहरूले वर्षासँगैको हावाहुरीले धान ढलाएको बताएका छन् । वर्षा भइरहेको बेलामा सामान्य हावासमेत चलेका कारण डाँडामा रहेको खेतमा लगाइएको धान ढलेको कृषकको भनाइ छ । पसाइसकेको धान ढलेको भएमा त्यसको बाला कुहिने भएकाले धान उत्पादनमा कमी आउन सक्ने कार्यालय प्रमुख थापाको भनाइ छ । ‘ठाडो अवस्थामा रहेको र फूल खेल्ने बेलाको धानको फूल झर्दा परागसेचनको अभावले उत्पादनमा कमी आउँछ । पसाइसकेको धान भएमा ढलेको धानको बाला पानीमा डुब्दा बोटमा नै बाला कुहिन्छ’, उनले भने, ‘कतिपय कृषकहरूले वर्षाका कारण धानमा प्रभाव परेको छ । दसैँको बेला पनि भएकाले सबै विवरणहरू आइसकेका छैनन् ।’ कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीका अनुसार ११ जिल्ला रहेको गण्डकीका नौ धान उत्पादन हुने गरेको छ । मुस्ताङ र मनाङमा भने धान खेती हुने गरेको छैन । सबै जिल्लामा गरेर यस वर्ष कूल एक लाख तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती लगाइएको अनुमान छ । देशभर नै एकनासले वर्षा भएका कारण सबै जिल्लाको धान खेती वर्षाका कारण प्रभावित भएको उनले बताए । निर्देशक रेग्मीका अनुसार गण्डकीमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यु।एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बुढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बुढो, गुर्जा, लुम्ले, माछापुच्छे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातका धान लगाउने गरिएको छ । रासस

अब पठाओ प्रयोगकर्ताले डिजिटल वालेट छिटो पैसाबाट भुक्तानी गर्न सक्ने

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ । पठाओ नेपाल प्रालिका निर्देशक शशांक समशेर थापा र छिटो पैसा प्रालि (डिजिटल वालेट) का सहसंस्थापक प्रविन रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त वालेट एप प्रयोग गर्दा सेवाग्राहीले सजिलै राइडर, फुडम्यान र क्याप्टेनलाई सोही एपमार्फत रकम भुक्तानी गर्ने र राइडर, फुडम्यान र क्याप्टेनले पनि सोही एपबाटै पठाओलाई दिनुपर्ने रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले ४ वर्षे यात्रा पूरा गरेको छ । काठमाडौं उपत्यकामा निकै लोकप्रिय भएको पठाओले चितवनमा पनि सेवा सुरु गरेको छ । पठाओले बाइकबाहेक ट्याक्सी सेवा र फुड डेलिभरीको सेवा पनि दिँदै आएको छ ।

खुल्यो ३ दिनदेखि अवरुद्ध सिस्नेरी–दक्षिणकालिका सडकखण्ड

मकवानपुर । पहिराका कारण तीन दिनदेखि अवरुद्ध मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदखि यातायात पुनः सञ्चालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिराका कारण गत आइतबारदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ठूलो पहिरो खसेका कारण यातायात सञ्चालनमा ल्याउन समय लागेको हो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको थियो । हाल त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथलगायत सबै स्थानबाट सावरीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।