काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो सिटिजन्स बैंकको । नेपाली बैंकिङ क्षेत्रमा विभिन्न बैंकहरुका आ–आफ्नै व्यवसायिक रणनीति र योजनाहरु छन् । तर, सबैको लक्ष्य, उद्देश्य र प्राथमिकता गुणस्तरीय छिटो तथा छरितो सेवा र सेयरधनीलाई राम्रो र नियमित प्रतिफल हो । अहिले सबै बैंकहरुको प्रतिस्पर्धा यसैमा नै हो ।
वित्तीय सूचकहरुलाई मजबुद बनाएर बैंकिङ इण्ड्रस्टीमा ‘राज’ गर्ने चाहना सबै कम्पनीको हुन्छ । तर, कतिले योजना र रणनीति अनुसार काम गर्छन् भने कतिपयले बिचैमा बाटो बिराउँछन् । सिटिजन्स बैंकको पनि महत्वपूर्ण प्राथमिकता हो नियमित प्रतिफल र सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय सेवा । यसको अतिरिक्त बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका नीति नियमहरु अनुसरण तथा अवलम्बन अग्रणी रुपमा गर्ने ।
सिटिजन्स बैंक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बन्यो । विगतका वर्षहरुमा पनि अन्य वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंक दशैं अगावै लाभांश घोषणा गर्ने बैंकमा पर्छ । सेयरधनीहरुको चाहना पनि आफूले लगानी गरेको कम्पनीले दशैं अगावै लाभांश दिए हुन्थ्यो भन्ने हुन्छ । तर, केही बैंकहरुले मात्रै दशैं अगावै लाभांश वितरण गर्दै आएका छन् । जसमध्ये सिटिजन्स बैंकले प्रत्येक वर्ष दशैंमा सेयरधनीहरुलाई दशैं खर्च रुपमा लाभांश वितरण गर्ने गरेको छ । यसपटक पनि यस बैंकले दशैं र तिहारको बिचमा सेयरधनीलाई लाभांश वितरण गदैछ । सिटिजन्स बैंकका सेयरधनीले दिपावलीमा प्रतिफल पाउँदैछन् ।
यसपटक दशैं छिटो परेको र राष्ट्र बैंकले पनि एजीएम क्लियरेन्स ढिला गरेर स्वीकृति दिएका कारण लाभांश वितरणमा केही समय ढिला भएको सिटिजन्स बैंकका प्रवक्ता नारायण अधिकारी बताउँछन् । दशैंमा सेयरधनीलाई खुसी पार्न नसकिएपनि तिहारलाई समेटर लाभांश वितरण गर्ने तयारी रहेको उनी बताउँछन् ।
‘लाभांश घोषणा गर्ने पहिलो बैंक सिटिजन्स नै हो, दशैं अगावै लाभांश वितरण गर्ने हाम्रो परम्परा हो, दशैं अगाडि नै सेयरधनीहरुलाई लाभांश वितरण गर्नु पर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यसपटक पनि हामीले दशैं अघि नै तयारी गरेका थियौं तर, दशैं चाँडै परेको र राष्ट्र बैंकबाट स्वीकृत आउन ढिलाइ भएको हो, दशैंमा नभएपनि तिहार अघि नै वितरण गर्न पाउने गरी स्वीकृति आएको छ, दुई वटा ठूला चाडमध्ये तिहार चाडलाई समेट्ने गरी स्वीकृत पाएका छौं ।’
बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बिहीबार बसेकोसञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंकका सीईओ पोखरेलसहितको उच्च व्यवस्थापन ।
बैंकको हालको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजीको १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी कात्र्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा बिहान ११ बजे काठमाडौंमा हुनेछ ।
सर्वाेत्कृष्ट सेवाका लागि परिचित अग्रपंक्तिको बैंकका रुपमा स्थापित हुने लक्ष्य रहेको बैंकको उद्देश्य भने उत्कृष्ट सेवासुविधाहरु परिकल्पना र प्रदान गरी व्यक्ति तथा संस्थाहरुका लागि प्रगतिपथमा भरपर्दाे साझेदार बन्ने रहेको बैंकले जनाएको छ । गत बैशाखमा १५ वर्षको यात्रा पुरा गरी बैंक १६औं वर्षमा प्रवेश गरेको छ । १५ बर्षको अवधिमा बैंकले झण्डै १४ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । स्थापनाकालमा ४४ जना कर्मचारी रहेकोमा हाल १ हजार ६ सय जना कर्मचारीले रोजगारी पाएको बैंकले जनाएको छ ।
मर्जरमा छैन दबाब
२०औँ वाणिज्य बैंकका रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक वि.सं.२०६४ बैशाख ७गते स्थापना भएको थियो । यस बैंकले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्था गरी कूल ६ वटालाई प्राप्ति गरेको छ । बैंकले १५ बर्षको अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सृजना फाइनान्स प्राप्ति गरेको छ ।
बैंकले पिपुल्स फाइनान्स र नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सलाई २०७२ बैशाख २५ गते, प्रिमियर फाइनान्सलाई २०७३ साउन २ गते, सहयोगी विकास बैंकलाई २०७७ असार २० गते, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई २०७७ चैत १४ गते र श्रृजना फाइनान्सलाई २०७८ असार २६ गते एकीकृत कारोबार गरेको थियो । बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाण्डौंमा छ । बैंकको हाल १८० वटा शाखाहरु तथा १३२ वटा एटीएमहरुबाट ग्राहकलाई सेवा दिइरहेको छ ।
प्रवक्ता अधिकारीका अनुसार बैंकलाई मर्जरको दबाब छैन । बैंकको रणनीति साना कम्पनीलाई प्राप्ति गर्ने रहेको उनको भनाइ छ । बेलाबेला केही बैंकहरुसँग मर्जरको कुरा चलेको भएपनि अहिले नै मर्जरमा गैहाल्नु पर्ने दबाब भने बैंकलाई नभएको उनले बताए ।
‘बैंकलाई मर्जरको दबाब छैन, बैंकले स–साना कम्पनीलाई लिएर अघि बढिरहेको छ, बैंकको प्राथमिकतामा मर्जरमा जाने भन्ने छैन, साना कम्पनीलाई अक्वायर गरे अघि बढ्ने हो, अहिले पनि अघि बढिरहेका छौं,’ उनले भने, ‘बीचमा केही बैंकसँग मर्जरमा जाने चर्चा चलेको हो, कुराकानी हुन्छ नै तर प्राथमिकतामा मर्जर छैन ।’
बैंकमा सामान्य व्यक्तिदेखि व्यापारिक, औद्योगिक घरानालगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ । बैंकलाई उच्च व्यवसायिक तथा अनुभवी समूहले सञ्चालन गरिरहेको छ । हाल बैंकलाई राजन सिंह भण्डारीले अध्यक्षको रुपमा र गणेशराज पोखरेलले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिरहेका छन् ।
सेयरधनीको हात रित्तो नराख्ने उद्देश्य
बैंकले १५ बर्षको इतिहासमा १४ बर्ष सेयरधनीलाई लाभांश वितरण गरेको छ । बैंकले प्रत्येक बर्ष निरन्तर रुपमा सेयरधनीलाई लाभांश वितरण गर्दै आईरहेको छ । बैंकले धेरै लाभांश वितरण नगरेपनि सेयरधनीको हात भने कुनै वर्ष रित्तो गरेको छैन ।

सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीसहितको सञ्चालक समिति ।
बैंकले हालसम्म १८६ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ५९ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने १२० प्रतिशत बोनस सेयर वितरण गरेको बैंकले जनाएको छ । बैंकले प्रत्येक वर्ष बोनस सेयरलाई प्राथमिकतामा राखेको भएपनि यसपटक भने नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कोरोनाको समयमा बोनस सेयरलाई बढी जोड दिइएको भएपनि यसपटक नगद लाभांशमा जोड दिएको प्रवक्ता अधिकारीले बताए । यसअघि नगद लाभांश नपाएका सेयरधनीलाई हाल नगद वितरण गर्दा उत्साहित हुनु पर्ने उनको बुझाइ छ ।
‘यसअघि सेयरधनीले नगद नपाउँदा उत्साहित थिएनन्, यसपटक खुसी हुनुहुन्छ होला,लाभांशमा प्रतिशत कम भएपनि ठूला लगानीकर्तालाई नगद राम्रो हो, बोनस वितरण गर्दा पूँजी मात्रै बढ्दै गयो,कतिपय बैंकको कोर क्यापिटल नै नपुगेका कारण लाभांश वितरण गर्न नसक्ने स्थितिमा छन्, प्राथमिक क्यापिटल नपुगेका बैंकलाई लाभांश वितरणमा रोक नै लगाएको छ,’उनले भने ।
मध्यम लेभलका बैंकले बोनस सेयर वितरण गर्दा पूँजी बढ्ने भएकाले सोही अनुसार प्रतिफल दिन गाह्रो पर्ने उनले बताए । बैंकले धेरै वर्षपछि एकल अंकमा लाभांश वितरण गरेको उनको भनाइ छ । १६ वर्षमा १४ वर्ष लाभांश वितरण गरेको हुँदा प्रत्येक वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको उनको भनाइ छ ।
राष्ट्र बैंकको नजरमा अनुशासित बैंक
सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकका विभिन्न नीति नियमहरु सहज रुपमा कार्यान्वयन गरेकै कारण विभिन्न समयमा राष्ट्र बैंकबाट हुने काम सहज सजिलै र छिट्टै पाउँछ । अन्य बैंकहरुलाई वित्तीय विवरण स्वीकृति गराउनै सकस भइरहेको बेला सिटजन्स बैंकले भने सहजै स्वीकृति पाउँछ । यस वर्ष मात्रै होइन विगतका वर्षहरुमा पनि सिटिजन्सले सबैभन्दा अगाडि नै एजीएम क्लिरियन्सको स्वीकृति पाउँदै आएको थियो ।
यस बैंकले गरेका विभिन्न नीतिगत व्यवस्था कार्यान्वयनमा सिटिजन्स नम्बर वान बैंक भएको पनि राष्ट्र बैंककै अधिकारीहरु स्वीकार्छन् । नेपाल राष्ट्र बैंकले ९० प्रतिशतको कर्जा–निक्षेप (सीडी रेसियो) अनुपात कायम गरेको छ । धेरै बैंकहरुलाई यो सीमा कायम गर्न एकदमै सकस छ । तर, गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सिटिजन्स बैंकले असार मसान्तसम्म ८५.२० प्रतिशतमा सीडी रेसियो कायम गरेको छ । यस्तै, बैंकको खराब कर्जा १.८७ प्रतिशत मात्रै छ । यसले पनि बैंकले प्रवाह गरेको कर्जा सुरक्षित छ भन्ने पुष्टि गर्छ ।
अहिले अधिकांश बैंकले प्राथमिक पुँजी कोष, पुँजी कोष तथा पुँजी प्रयाप्तता अनुपात कायम नगरेकै कारण गत वर्षको नाफाबाट लाभांश वितरण गर्न नसक्ने अवस्था छ । तर, यस बैंकले भने ती सबै सूचकहरु सहजै अवलम्बन गरेर सबैभन्दा अगाडि लाभांश प्रस्ताव गरेको छ । बैंकको पुँजी प्रयाप्तता अनुपात पनि १२.९३ प्रतिशत छ ।
राष्ट्र बैंकले प्राथमिकताका साथ हेर्ने अर्को महत्वपूर्ण सूचक भनेको प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको ऋण हो । नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्रहरु तोकेर ती क्षेत्रमा निश्चित कर्जा लगानी गर्नु पर्ने सीमा नै तोकेको छ । तर, अधिकांश बैंकहरुले ती क्षेत्रमा कर्जा लगानी गर्न कन्जुस्याईं गरेको देखिन्छ । नाफाकै मोहमा जाँदा अधिकाशं बैंकको प्राथमिकतामा व्यवसायिक घराना तथा बढी नाफा हुने क्षेत्र परेका छन् तर सिटिजन्स बैंकले भने ती सबै क्षेत्रमा राष्ट्र बैंकको तोकेको भन्दा बढी कर्जा लगानी गरेको देखिन्छ ।
राष्ट्र बैंकले कृषिमा १२ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था गरेकोमा यस बैंकले १२.१६ प्रतिशत, जलविद्युतमा ६ प्रतिशत लगानी गर्नु पर्ने भएकोमा यस बैंकले ६.१३ प्रतिशतर पर्यटन क्षेत्रमा ११ प्रतिशत लगानी गर्नु पर्नेमा यस बैंकले ११.१३ प्रतिशत लगानी गरेको छ । राष्ट्र बैंकका यी विभिन्न महत्वपूर्ण कम्प्लायन्सहरु सहज रुपमा कार्यान्वयन गरेकै कारण राष्ट्र बैंकको नजरमा सिटिजन्स बैंक अनुशासित बैंकका रुपमा चिनिएको छ । राष्ट्र बैंकका अधिकारीहरु पनि सिटिजन्स बैंक विभिन्न नीति नियम कार्यान्वयन गर्ने एक अग्रणी बैंक भएको बताउँछन् ।
बैंकका आगामी योजना
पछिल्लो समय प्रविधिले ठूलो फड्को मारिसकेको छ । बैंकहरुले आफ्नो भौतिक सेवालाई डिजिटलमा परिणत गरिरहेका छन् । सोही अनुसार बैंकले पनि डिजिटल बैंकलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाएको उनले बताए । बैंकलाई आधुनिकीकरण गरेर लैजाने बैंकको आगामी योजना रहेको उनको भनाइ छ ।