विकासन्युज

खुल्यो ३ दिनदेखि अवरुद्ध सिस्नेरी–दक्षिणकालिका सडकखण्ड

मकवानपुर । पहिराका कारण तीन दिनदेखि अवरुद्ध मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदखि यातायात पुनः सञ्चालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिराका कारण गत आइतबारदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ठूलो पहिरो खसेका कारण यातायात सञ्चालनमा ल्याउन समय लागेको हो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको थियो । हाल त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथलगायत सबै स्थानबाट सावरीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कर्णालीबाट प्रतिनिधिसभामा महिला उम्मेदवार दुई, प्रदेशसभामा शून्य

कर्णाली । कर्णालीमा प्रतिनिधिसभाका १२ क्षेत्रमध्ये दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जुम्लाबाट नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवर र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट दैलेख १ बाट कुन्ती शाही उम्मेदवार बनेकी हुन् । दुवै जना तत्कालीन संविधानसभामा समानुपातिक सभासद थिए । कुँवरको प्रतिस्पर्धा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग हुँदैछ । जुम्लाको तातोपानी गाउँपालिका–४ मा जन्मीएकी कुँवर तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा सहभागी हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् । पशुपक्षी विकास राज्यमन्त्री भइसकेकी उनले गठबन्धनको सहयोगमा आफूले चुनाव जित्ने बताइन् । ‘प्रत्यक्ष चुनाव लड्न पाउनु खुसीसँगै चुनौती पनि हो’, उनले भनिन्, ‘महिलाले जित्न सक्दैनन् भन्ने भ्रम छ, त्यसलाई तोड्न सफल हुनेछु ।’ शाही हाल राप्रपाको केन्द्रीय महामन्त्री छिन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घको अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिइन् । विसं २०७४ मा छ महिना स्थानीय विकास र तीन महिना सहरी विकास राज्यमन्त्री बनिन् । दैलेखी जनताले नयाँ अनुहार खोजेकाले आफ्नो उम्मेदवारी परेको बताउँदै उनले भनिन्, ‘लामो समयदेखि उही अनुहार दोहोरिने गरेको अवस्था छ, त्यसलाई यसपटक दैलेखी जनताले तोड्ने विश्वास लिएकी छु ।’ उनीसँग सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा क्षेत्रमा शून्य सत्ता गठबन्धन दल र एमालेले कर्णाली प्रदेशसभाका २४ क्षेत्रमा प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई टिकट दिएनन् । विसं २०७४ को निर्वाचनबाट कर्णाली प्रदेशसभामा १३ महिला सदस्य थिइन् । उनीहरु सबै समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएकी हुन् । प्रत्यक्षतर्फ शून्य उम्मेदवारी हुँदा यसपटक पनि समानुपातिकबाट प्रदेशसभामा महिला प्रतिनिधित्व हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक बाध्यता रहेको छ । रासस

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जेलामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उम्मेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।

गगन थापाले चुनाव जितेर देशको प्रधानमन्त्री बन्न कति सम्भव ?

काठमाडौं । नेपाली कांग्रेशका महामन्त्री गगन थापाले पटक–पटक विभिन्न मञ्चमार्फत् आँफूलाई आगामी प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्ने गरेका छन् । थापाले आगमी मंशिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ४ बाट उम्मेद्वारी दर्ता गरिसकेपछि आगामी सरकारको नेतृत्व गरेर मुलुक हाँक्ने प्रतिक्रिया दिएका थिए । ‘ड्राइभिङ सिटमा अब आफैँ बस्ने हो । अब आउने पाँच वर्ष आफैँ ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले बताएका थिए । थापाले निरन्तर बिजय हासिल गर्दै आएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएर आगामी प्रधानमन्त्री हुने बाटो तय गर्न कति सहज होला ? २०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा महामन्त्री गगन थापाले २१ हजार ५ सय ५८ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले हराउँदै बिजयी भएका थिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर चारमा काठमाडौं महानगरका वडा नं. १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा यस क्षेत्रमा पर्छन् । ०७४ र ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने वडाहरुमा भएको मत परिवर्तनलाई हेर्दा काठमाडौंका वडाहरुमा कांग्रेश विस्तार हुँदै गएको देखिन्छ । तर, बुढानिलकण्ठ नगरपालिकामा भने ०७४ देखि अहिलेसम्म एमालेले आफ्नो बिरासत कायम राख्न सकेको देखिन्छ । ०७४ सालको निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ पर्ने काठमाडौं महानगरको वडा नम्बर १, ७ र ८ मा एमालेले निर्वाचन जितेको थियो भने वडा नम्बर ३० मा नेपाली कांग्रेशले जितेको थियो । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा आइपुग्दा निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौंका वडाहरुमध्ये वडा नम्बर १ मा मात्रै एमालेले जित हासिल गर्यो भने नेपाली कांग्रेशले मत समेत बढाउँदै ७, ८ र ३० मा बिजय हासिल गर्न सफल भयो । त्यस्तै सोही निर्वाचन क्षेत्रमा पर्ने बुढानिलकण्ठका नगरपालिकाका वडाहरुमा ०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट प्राप्त परिमाणलाई भने एमालेले गत बैशाखमा भएको निर्वाचनमा आफ्नो बिरासत भत्काउन दिएन । गगनको प्रधानमन्त्री कार्डले थप भोट ल्याउला ? काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष बिमलकुमार होडाले गगन थापा आफ्नै पार्टीभित्र सभापतिलाई प्रतिस्पर्धाको चुनौती दिने र अरु नेतृत्वले समेत स्वीकार गरिसकेको व्यक्ति भएकाले जनताले सो अनुसार बुझेर बिजय गराउने बताउँछन् । ‘गगनजीको उम्मेद्वारी प्रधानमन्त्रीकै लागि हो, हुनत हाम्रो पार्टी सभापति उम्मेद्वारको रुपमा देखिनुहुन्छ अहिले, तर म के भन्छु भने उहाँको विरुद्धमा उठ्ने उम्मेद्वार गगन थापा हो’, होडाले भने, ‘यति धेरै जनताले शेर बहादुर देउबालाई मन पराएको छैन हुँदैन भन्ने आवाज आइरहेको छ भने गगन थापाको उम्मेद्वारीलाई स्वीकार गरेर शेरबहादुर देउबालाई हराउने पक्षमा जनता होलान की भन्ने मेरो अनुमान छ ।’ निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठले भने गगन थापाले प्रधानमन्त्रीको कार्ड फालेको भएपनि यसपटक सो क्षेत्रका जनताले जनप्रतिनिधि परिवर्तन गर्न चाहेको बताएका छन् । उनले बिगतका कार्यकालमा गगन थापाले सो क्षेत्रमा उल्लेखनीय काम नगरेको र एमसीसी र नागरिकता लगायतका विषयमा खेलेको भूमिकाको कारण जनताले उनलाई अस्वीकृत गर्ने बताए । ‘प्रधानमन्त्री बन्नलाई पहिला उनी निर्वाचित हुनुपर्छ, दोस्रो पार्टीको बिधानअनुसार पार्टीले उनलाई संसदीय दलको नेता बनाउनुपर्यो’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘यी दुईटा नै पार नगरीकन मनको लड्डु घिउसित खा भनेजस्तो म आगामी प्रधानमन्त्री हुँ भन्ने कुरा उनको स्वइच्छाको कुरा हो ।’ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तहमा खसेको मत परिणामलाई हेर्दा र सोही समयमा भएको संघीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा मतदाताहरुले संघीय र स्थानीय तहमा दलगत मत बद्लेको देखिन्छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भन्दा ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा एमालेको दबदबा बढी थियो । तर, सो समयमा एमालेका उम्मेद्वार राजन भट्टराइलाई हराउँदै गगन थापाले बिजय हासिल गर्न सफल भएका थिए । त्यति मात्रै नभएर ०७४ सालको संघीय तहको निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण बामगठबन्धनको पक्षमा राष्ट्रिय माहोल सिर्जना भएको थियो । तरपनि सो अवस्थामा नेपाली कांग्रेशका उम्मेद्वार थापाले बिजय हासिल गरेका थिए । काठमाडौं निर्वाचन क्षेत्रमा संघीय र स्थानीय तहमा देखिएको विगतकै मतदानको प्रवृत्ति कायम रहेमा र गठबन्धनको तर्फबाट हुनसक्ने योगदानले केही थप सहयोग गरेमा मात्रै यसपटकको प्रतिस्पर्धामा गगनलाई सफलता हासिल गर्न सहज हुने अनुमान गर्न सकिन्छ । अन्यथा स्थानीय तहको मतको संघीय चुनावमा प्रभाव पर्ने र गगनको व्यक्तिगत लोकप्रियताको ग्राफ घटेको अवस्था हुन पुगेको छ भने उनलाई निर्वाचन चुनौतिपूर्ण हुने देखिन्छ । प्रधानमन्त्री बन्ने सम्भावना कति ?  आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचन जित्न सफल भएमा पनि गगन थापालाई मुलुकको प्रधानमन्त्री बन्न भने सजिलो देखिँदैन । मुलुकको प्रधानमन्त्री बन्नको लागि थापाले नेपाली काँग्रेसको बिधानअनुरुप संसदीय दलको नेतामा विजय हासिल गर्न सक्नुपर्छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसमा गुटअनुसारको टिकट बाँडिएको छ । जसमा काँग्रेसको भागमा परेको सिटमा देउबा पक्षले ५१ जनालाई टिकट दिएको छ । यो संख्या काँग्रेसले पाएको कूल सिट संख्या ९१ को ५६ प्रतिशत हो । यसैगरी काँग्रेसमा अर्को समूहको नेतृत्व गरेका शेखर समूहले २२ सिटका लागि टिकट पाएको छ । त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहले ६, प्रकाशमान सिंह समूहले ५, रामचन्द्र पौडेल समूहले ४ र शशांक कोइराला समूहले ३ सिट पाएको छ । पछिल्लो समयमा गगन थापा शेखर कोइरालाको समूहमा रहँदै आएका छन् । आगामी निर्वाचनका लागि शेखर समूहले नेपाली काँग्रेसले प्रतिनिधिसभा उम्मेदवारका लागि बाँडेको सिटको २४ प्रतिशत मात्रै प्राप्त गरेको छ । समानुपातिक तर्फको बन्द सूचीमा पनि देउबा पक्षको नै हाबी रहेको छ । त्यसैले आगामी निर्वाचनमार्फत् आउने परिणाममा अहिलेको सिट बाँडफाँडको अवस्थालाई हेर्दा देउबा पक्षले नै बहुमत ल्याउने देखिन्छ । देउबा बाहेक शेखर कोइराला लगायत अन्य सबै समूहको जोड्दा पनि बहुमत पुग्न नसक्दा गगन थापालाई पार्टीको बिधानअनुरुप संसदीय दलको नेता बन्न नै कठिन हुने स्वभाविक अनुमान गर्न सकिन्छ । त्यस्तै, प्रधानमन्त्री बन्नका लागि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्ने वा नेपाली सत्ता समिकरण नेपाली काँग्रेसको पक्षमा बन्नुपर्ने भएकाले निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनले समेत त्यसमा प्रभाव पार्ने हुँदा गगन थापाले आफूलाई आगामी प्रधानमन्त्री बनाउने भन्ने कुरा निकै चुनौतिपूर्ण रहेको छ ।

‘प्रतिस्पर्धाका आधारमा ब्याजदर निर्धारण हुनु पर्ने, सहकारीको नियमन बढाउनु पर्ने’

काठमाडौं । अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरि सुझाव दिन गठन गरेको समितिले प्रतिस्पर्धाका आधारमा ब्याजदर निर्धारण हुनु पर्ने राय दिएको छ । उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिले अर्थमन्त्रालयलाई सुझाव दिँदै प्रतिस्पर्धाका आधारमा ब्याजदर निर्धारण हुनु पर्ने सुझाव दिएको हो । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको नेतृत्वमा १० सदस्यीय अध्ययन समितिले अर्थमन्त्री जनार्दन शर्मालाई अध्ययन प्रतिवेदन बुझाउँदै सो सुझाव दिएको हो । तरलता अभाव चर्किंदै गर्दा बैंकहरूले ब्याजदर बढाएसँगै उद्योगीहरु आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री शर्माले सार्वजनिक रूपमै जसरी पनि ब्याजदर घटाउने बताउँदै आएका थिए । तर, उनले गठन गरेको समितिले बैंक ब्याजदर निर्धारणमा हस्तक्षेप गर्न नहुने निष्कर्श निकालेको हो ‘वर्तमान आर्थिक परिवेशमा मुद्रास्फीतिलाई ७.० प्रतिशतभित्र सीमित गर्ने लक्ष्य उपयुक्त नै देखिएकोले बैंक तथा वित्तीय संस्थाहरूमा कार्यकुशलता कायम गरी प्रतिस्पर्धामा आधारित ब्याजदर कायम गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । यस्तै, चालु पूँजी कर्जा सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी मार्गदर्शनको ‘भेरिएसन’ सम्बन्धी व्यवस्था लागू हुने अवधि एक वर्ष पछि सरेकोले यसलाई क्रमागत रूपमा सुधार गर्नुका साथै कार्यान्वयनमा लैजान सकिने र आर्थिक स्थायित्व सहितको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तरलता व्यवस्थापनको तत्कालीन, मध्यमकालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्नु पर्ने समितिको राय छ । यस्ता छन् समितिका सुझाव : -आर्थिक वृद्धि सम्बन्धमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिवेशलाई मध्यनजर गरी उपयुक्त नीतिगत प्रयास र समन्वयबाट विद्यमान चुनौतीको सामना गर्नुपर्ने । -समष्टिगत आर्थिक स्थायित्व सहितको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तरलता व्यवस्थापनको तत्कालीन, मध्यमकालीन र दीर्घकालीन उपायहरू अवलम्वन गर्नु पर्ने, वर्तमान आर्थिक परिवेशमा मुद्रास्फीतिलाई ७.० प्रतिशत भित्र सीमित गर्ने लक्ष्य उपयुक्त नै देखिएकोले बैंक तथा वित्तीय संस्थाहरूमा कार्यकुशलता कायम गरी प्रतिस्पर्धामा आधारित व्याजदर कायम गर्नु पर्ने । -चालु पुँजी कर्जा सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी मार्गदर्शनको Variation सम्बन्धी व्यवस्था लागू हुने अवधि एक वर्ष पछि सरेकोले यसलाई क्रमागत रूपमा सुधार गर्नुका साथै कार्यान्वयनमा लैजान सकिने । -साथै, मौद्रिक र वित्तीय क्षेत्रमा संस्थागत सुधारका कार्यहरु गर्ने, औद्योगिक र व्यवसायिक क्षेत्रमा कार्यकुशलता बढाउने, संस्थागत निक्षेपका सम्बन्धमा प्रतिस्पर्धात्मक विधि अपनाई खुला बोल कबोलको माध्यमबाट गर्ने, वाणिज्य बैंकहरूको वित्तीय स्वास्थ्यमा सुधार गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको नियमनलाई सुदृढ बनाउने, सहकारी संस्थाहरूको नियमनलाई प्रभावकारी बनाउने, समयवद्ध रूपमा Bank Lending Survey गर्ने, औद्योगिक परिदृश्य सम्बन्धी समयवद्ध सर्भेक्षण गर्ने, नियमनकारी निकायहरुको संस्थागत क्षमता विकास गर्ने तथा अध्ययन, अनुसन्धान, नेतृत्व र नियमन क्षमता जस्ता विषयहरूमा सुधार गर्नुपर्ने जस्ता सुझावहरु दिएको छ ।

धादिङमा सिटामोल अभाव भएपछि अन्य औषधि दिइँदै

धादिङ । डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् । डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन । धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन् । निजी मेडिकलमा सिटामोल अभाव भएको छ । धादिङबेँसीस्थित रुपा मेडिकलमा सिटामोल मङ्गलबार नै सकिएको छ । सिटामोल किन्न आउनेलाई यत्तिकै फर्काउनुपरेको छ । सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पुर्जा बोकेर बिरामी बजार–बजार चहार्न थालेका छन् । डेङ्गुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ । धादिङमा गत साउन १ गतेयता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन् । रासस

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडाैं । महालक्ष्मी विकास बैंककाे शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेकाे छ । यस्तै, बैंकको आबुँखैरेनी शाखाले श्री आबुँखैरेनी क्याम्पसलाई १५ थान पङ्खा हस्तान्तरण गरेकाे छ । त्यसैगरी, बैंकको नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेकाे छ । साथै, बैंकको मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिरमा सि. सि. क्यामेरा जडान गर्दिएकाे छ ।  आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

टीकापुर । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र सुत्केरी, तीन सय २० पाँच वर्षमुनिका बालबालिका, चार सय पाँच वर्षमाथिका बालबालिका, ५५ ज्येष्ठ नागरिक, २० अपाङ्गता भएका व्यक्ति र नौ अन्य बिरामी रहेका नगरपालिकाले जनाएको छ । बाढीका कारण नागरिक समस्यामा परेकाले विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्राथमिकताका आधारमा राहत दिने निर्णय गरेको छ । नगरपालिकालाई बाढीपीडितका लागि तत्काल टेन्ट, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, खानेपानी, तयारी खाना, गुन्द्रीलगायतका सामान आवश्यक पर्ने भएकाले त्यसको जोहोका लागि सरोकारवालासँग छलफल गरिएको छ । बाढीका कारण टीकापुर नगरपालिका सबै वडा प्रभावित भएका छन् । बाढीले बढी क्षति वडा नं ५, ६, ७, ८ मा पु¥याएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि कतिपय ठाउँमा नदी ओभरफ्लो भएर बस्तीमा पसेको छ भने कतिपय ठाउँमा नदी फुटेर बस्तीमा पसेको हो । टीकापुर–८ को वनगाउँमा कर्णाली नदी फुटेर बस्तीमा पस्दा त्यहाँ ठूलो क्षति भएको छ । बाढीले नागरिक प्रभावित मात्र नभई धानबाली सडेर बोटमै उम्रन थालेको छ । फुल्न थालेको धान पनि सखाप भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । ‘पाकेको धानबाली सबै हावा तथा पानीले ढलेर नास भइसकेको छ । फुलिरहेको धान पनि डुबान तथा पटानले सकियो, नदी बस्तीमा पसेपछि धानबाली रहने त कुरै भएन’, उनी भन्छन्, ‘प्रभावित नागरिक राहतभन्दा पनि दीर्घकालीन समाधानको माग गर्छन् । त्यहाँ भोकमरी सुरु हुने भएको छ ।’ वडा नं ५ का वडाध्यक्ष बलवीर चौधरी पनि आफ्नो वडामा धानबाली खेतमै उम्रिसकेको बताउँछन् । ‘अझै जलमग्न छ । धान खेतमै सडिसक्यो’, उनले भने, ‘घरमा पानी पस्यो, घरका सबै सामान नोक्सान भए, खेतमा रहेको धानबाली पनि सखाप भयो । हामीले कसरी स्थानीयवासीलाई सान्तवना दिनु ‘ बाढी प्रभावितलाई नगद सहायता कैलालीका यी दुई पालिकामा विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता गरेको छ । पूर्वानुमानमा आधारित सूचनाअनुसार गत वर्षको बाढीपछि सङ्कलन भएको तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई प्रतिपरिवार रु १५ हजारका दरले नगद सहायता गरिएको छ । विश्व खाद्य कार्यक्रमअन्तर्गत टीकापुरका दुई हजार नौ सय १६ र जानकीका एक हजार दुई सय परिवारलाई नगद सहयोग प्रतिपरिवार रु १५ हजारका दरले वितरण भइरहेको नेपाल रेडक्रस कैलालीका हेमराज उप्रेतीले जानकारी दिए । ‘प्रभावित क्षेत्रका नागरिकको खातामा नगद सहायता पठाउने काम भइरहेको छ । उनीहरूको नाममा रकम गएको छ । रकम झिक्नका लागि हामी विभिन्न ठाउँमा सहायता कक्ष बनाएर बसिरहेका छौँ’, उनले भने, ‘नगद सहायता अहिले ८० प्रतिशत प्रभावितले पाउनुभएका छन् । बाँकी २० प्रतिशतले एक महिनाभित्र पाइसक्नु हुनेछ ।’ जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी नगद सहायता बाढीकै समयमा दिँदा र पछि दिँदाको प्रभावबारे जानकारी पाउन र विपद्मा परेकालाई सहयोग हुने भएकाले गत वर्षको तथ्याङ्कानुसार नगद पाइरहेका बताए । ‘पालिकाले पनि प्रभावितलाई राहत, समस्या भएकालाई उद्धारजस्ता कार्य गरिरहेका छौँ’, उनले भने, ‘बाढीले भत्किएका बाटाघाटा मर्मतलगायतका कार्यसमेत भइरहेका छन् ।’ टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले यहाँ कर्णाली मुख्य समस्या भएको बताउँछन् । ‘कर्णालीकै कारण सबै क्षेत्र डुबानमा परे, कर्णालीमा तटबन्धलगायतका कार्य गरेर यसलाई बस्तीमा पस्नबाट जोगाएमा बाढीको दीर्घकालीन समस्या समाधान हुन्छ’, शाहीले भने, ‘प्रभावितलाई राहत दिने कुरामा प्राथमिकता हेरेर दिन्छौँ, महिला, बालबालिका, ज्येष्ठ नागरिक वा समस्यामा रहेकालाई पनि प्राथमिकता दिएर पालिकाले हेर्छ । राहत एकद्धार प्रणालीमार्फत जान्छ ।’ टीकापुरका नगरप्रमुख रामलाल डगौरा थारूले विभिन्न ठाउँमा डुबान भएकाले तथ्याङ्क लिने काम भइरहेकाले सबैको सल्लाह लिएर जोखिमअनुसार राहत दिने, समस्यामा परेकालाई उद्धार गर्ने गरी सहकार्य गर्न सङ्घसंस्थालाई आग्रह गरे । ‘सहयोगी सङ्घसंस्था हामीलाई आवश्यक सामग्रीमा सहयोग गरे’, उनले भने, ‘केही परिवारलाई नगद सहायता गएको छ । छुटेका परिवारलाई प्राथमिकता राखेर राहतका कार्यक्रम हुनेछन् ।’ उता भजनी नगरपालिकामा भने बाढीले हजारौँ प्रभावित भएका छन् । सयौँ परिवार एक सातादेखि सडक तथा खुला ठाउँमा बसिरहेका छन् । भजनीमा भने बाढी प्रभावितको अवस्था कष्टकर छ । रासस