विकासन्युज

बागलुङकाे बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र छन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राखे । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उनको बारी बाझिँदै थियो । तर बारीलाई बाँझै राख्न उनलाई पटक्कै मन लागेन् । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेबारी पाएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका लामिछानेले अहिले भने त्यही बाझिँन थालेको बारीबाट लाखौँ कमाइ गर्न थालेका छन् । काठेखोला गाउँपालीका–७ रेशमा रहेको उनको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । ‘चार–पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ’, लामिछानेले भने, ‘वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो’, लामिछानेले दुई रोपनी बाँझो बारीमा ४५ वटा किवीका बिरुवा लगाएका छन् । तिनै बिरुवामा यो वर्ष सात सय किलो किवी फलेको लामिछानेले बताए । ‘दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्’, उनले भने, ‘बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौँ’, पाँच सय रुपैयाँ प्रतिगोटा खरिद गरेका ४५ वटा बिरुवाले गत वर्ष नै लगानी उठाएको उनले बताए । बगानमा किवीको बिरुवालाई आडदिन गत वर्ष ७० हजार खर्चेर उनले टहरा बनाएका छन् । लामिछानेको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो दुई सय ५० रुपैयाँमा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उनकी श्रीमती कमला लामिछानेले बताइन् । ‘बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर बिचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने’, लामिछानेले भनिन्, ‘हामी आफैले उपभोक्तालाई दिँदा उनीहरूले रोजेर लैजान पाएका छन्, मूल्य पनि सस्तो पर्छ ।’ यो वर्षमात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उनले बताए । वहुबर्षे बाली भएकाले बेला–बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उनको भनाइ छ । त्यही बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभव समेत लामिछानेसँग छ । ‘हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ’, लामिछाने भन्छन्, ‘पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।’ लामिछानेले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस

बुधबार १२.८१ अंकले घट्यो नेप्से, तीन कम्पनीको सेयरमा सर्किट

काठमाडौं । बुधबार सेयर बजार १२‍‍‍.८१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार १२ दशमलब ८१ अंकले ओरालो लाग्दा अभियान लघुवित्तको सेयरमा सर्किट लागेको छ । यस्तै, सयपत्री हाइड्रोपावर र सिटिजन म्युचाल फण्डको सेयर पनि ९.९९ र ९.९४ अंकले वृद्धि भएको छ । बुधबार २१ लाख ५१ हजार ७१४ कित्ता खरिद बिक्री हुँदा ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको छ ।

कालिका मन्दिरमा एक महिनामा ३५ लाख आम्दानी

बलेवा । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार आठ सय ४९ रुपैयाँ भेटी सङ्कलन भएको जानकारी दिइएको छ । आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा १९ लाख ४० हजार ६ सय ६० रुपैयाँ खर्च भएको जनाएको छ । गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि पाँच लाख दुई हजार रुपैयाँ, बिद्युत महशुलमा १८ हजार रुपैयाँ अतिथि सत्कारमा १४ हजार रुपैयाँ, आर्थिक दान १० हजार रुपैयाँ, पूर्वाधार निर्माणमा १२ लाख आठ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ४४ हजार पाँच सय रुपैयाँ, मर्मत सम्हारमा १४ हजार सात सय ४३ रुपैयाँ तथा सांस्कृतिक कार्यक्रममा एक लाख २२ हजार पाँच सय रुपैयाँ खर्च भएको छ । अन्य खर्चमा ६ हजार रुपैयाँ देखाइएको छ । आम्दानीतर्फ भेटीमा मात्रै  १९ लाख २२ हजार सङ्कलन भएको हो भने चामल बिक्रिबाट ८५ हजार रुपैयाँ, बोकाको टाउकोबाट दुई लाख १३ हजार रुपैयाँ, कुखुराबाट १७ हजार रुपैयाँ, राँगोबाट पाँच हजार आठ सय रुपैयाँ र घरभाडाबाट तीन लाख ८२ हजार रुपैयाँ सङ्कलन भएको हो । विवाह गरेको १३ हजार रुपैयाँ, आर्थिक सहयोगबाट एक लाख ७६ हजार रुपैयाँ तथा परेवाबाट ६ लाख ७६ हजार रुपैयाँ सङ्कलन भएको बताइएको छ । असोज महिनाभरमा भक्तजनले चाँदीको औँठी एक थान, चाँदीको सिक्का एक थान, चाँदीकै घोडा एक थान र सुनको टीका दुई थान भेटी चढाएका थिए । त्यस्तै चाँदीको पाउजु दुई जोर, सुनको मुन्द्रा एक वटा, सुनको तिलहरी एक तथा सुनको टुक्रा एक र चाँदीको ताज एक वटा अन्दाजी पाँच तोलाको चढाएको जानकारी गराइएको छ । रासस

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा महशुस भएको छ ।

१६ वर्षिय सोहनले साढे १ लाख रुपैयाँमा बनाए विद्युतीय मोटरसाइकल

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उनको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लागेको हो । नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी आमा बसन्तीलाई मोटरसाइकल अवलोकन गर्न आउनेलाई स्वागत गर्न भ्याइनभ्याइ छ । व्यवस्थापन विषयमा अध्ययनरत १६ वर्षीय कैनीलाई घरमा पुग्नेलाई आफ्नो प्रतिभाबारेमा जानकारी दिन निकै व्यस्तता छ । सोहनको प्रतिभालाई अनाैठो मान्दै त्यहाँ पुग्नेहरुले प्रशंसा गरिरहँदा बसन्तीमा खुसीको सीमा नै थिएन । उनले भने,’छोराले गरेको कामलाई मान्छेले अर्नाँठो मान्दै स्यावासी दिँदा आफूलाई गौरवको अनुभूति भइरहेको छ’, उनले थपे, ‘सानो कक्षामा पढ्दा उनले घरमै पनि विद्युत् आपूर्ति बन्द भएको बेला पनि ब्याट्री र तारको प्रयोग गरेर बिजुली बत्तीको उज्यालो बनाउने र पङ्खा चल्ने बनाउँथ्यो, यसबाहेक धातुका टुक्रा जम्मा गरेर कहिले खेलौना आकारको गाडी बनाइरहन्थ्यो ।’ सोहनले एसइई परीक्षा दिइसकेपछिको खाली समयमा ग्यारेजमा मोटर मर्मतसम्बन्धी काम सिकेका थिए । कोरोनाको महामारीको समस्या बढ्दा पूरा समय काम सिक्न नपाएको समस्या बताउँदै उनले भने,’आफै घरमा नेट इन्टरनेटको प्रयोगबाट अहिले यो विद्युतीय मोटरसाइकल आविष्कार गर्न सफलता मिल्यो ।’ कमजोर आर्थिक अवस्थाका कारण विद्युतीय मोटरसाइकल बनाउन चाहिने पाटपूर्जा र अन्य सामग्री जुटाउन सोहनलाई आर्थिक समस्या थियो । कमजोर आर्थिक अवस्थाका कारण मोटरसाइकल आविष्कारको कामका लागि आर्थिक समस्या देखिँदा आमा बसन्तीले ऋण खोजेर भए पनि छोराको योजना सफल बनाउने जुक्ति निकालिइन् । फलस्वरुप महिला समूहबाट एक लाख ५० हजार रुपैयाँ ऋण निकालेर छोरा सोहनको योजनालाई साथ दिए । ‘घरमा पैसाको अभाव हुँदा वडा सदस्य माया ताम्राकारको सहयोगमा महिला समूहबाट ऋण निकालेर छोराको कामलाई सघाउन सके’, बसन्तीले भने, ‘मोटरसाइकल आविष्कारमा सफलता पाएपछि वडा कार्यालयले ५० हजार रुपैयाँको सहयोग गर्ने बचन दिएको छ ।’ सोहनकी बज्यै गौरीदेवी ताम्राकारले मोटरसाइकल आविष्कार गर्न नाति सफल हुँदा आफ्नो जीवनमा सबैभन्दा खुसी भएको बताए । जाइँ गाउँका झङ्र ओडले विद्युतीय मोटरसाइकल आविष्कार गर्ने कुरा देशका लागि ठूलो उपलब्धिको विषय भएको बताए । कैनीलाई यो मोटरसाइकल तयार गर्न दुई महिना लागेको थियो । लागत एक लाख पचास हजार रुपैयाँ परेको छ । ओडले भने,’पेट्रोलबाट चल्ने मोटरसाइलमा पर्ने मूल्यसँग प्रतिस्पर्धा गर्नसक्ने गरी यसलाई अझैँ स्तरीय बनाउन सकेमा देशकै लागि ठूलो उपलब्धि हुनसक्छ ।’ आफूले पहिलो पटक मोटरसाइकल चलाउन सिक्दै गर्दा आफै मोटरसाइकल बनाउनुपर्छ र अरुले बनाएको मोटरसाइकल किन चलाउने भन्ने सोच आएको कैनीले बताए । अहिले बजारमा पाउँने मोटरसाइकल ‘सेल्फ स्टार्ट’ प्रविधीका रहे पनि कैनीले बनाएको मोटरसाइकलमा फ्रिङ्गर प्रिन्ट प्रयोग गरेर चाबी अन गर्दा स्टार्ट हुन्छ । यो मोटरसाइकल चलाउन फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्छ । मोटरसाइकलका लागि सोरुममा पाउने पाङ्ग्रा लगायतका पाटपूर्जा र विद्युतीय तार प्रयोग गरिएको छ । मोटरसाइकलमा एक देखि एक सय २७ फिङ्गर प्रिन्ट एड गर्न सकिने कैनीले बताए । १२ भोल्टेजका चार वटा ब्याट्री जडान गरिएको छ । जसका कारण एक पटक ब्याट्री रिचार्ज गर्दा ५५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने जनाइएको छ । एकपटक ब्याट्री रिचार्ज गर्दा ६० देखि ६५ किलोमिटरको दूरीसम्म चल्न सक्ने बनाइएको छ । विद्यार्थी कैनीले आगामी योजनाबारे भने, ‘सहयोग पाएमा आगामी दिनमा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ह्वील चियर बनाउने सोच बनाएको छु, देशमा उपलब्धता हुन नसकेको साधन बनाउने प्रयासमा छु ।’ दुई दिनअघि धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालले मोटरसाइकल आविष्कार गर्ने कैनीलाई बधाई दिँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । पेट्रोलियम पदार्थको मूल्य महिनैपच्छिे बढ्दै गएको बेला यसको खपत घटाउन र विद्युत्को उपयोग बढाउन कनैले गरेको आविष्कारको सबैतिर प्रशंसा भइरहेको छ । रासस

धनतेरसको दिन एनआईबिएलको फण्डमा लगानी गर्नेलाई आधा तोला सुनको सिक्का

काठमाडौं । एनआईबिएल एस क्यापिटलले हरेक वर्ष झै यस वर्षको धनतेरसको अवसरमा लगानीकर्ताको लागि सोहि दिन पारि लगानी गर्न सक्ने अवसर ल्याएको छ । लगानीको लागि शुभ दिन मानिने धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ । सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताले सोहि दिन बिहान ११ बजेदेखि अपरान्ह ५ बजे सम्मका लागी विशेष कारोबार सत्र संचालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ । यस अफर अन्तर्गत ३० हजार वा सोभन्दा बढि बराबर लगानी गर्नुहुने १ भाग्यशाली लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्ताहरुलाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्राप्त गर्नसक्ने छन् । यस्तै, १० हजार देखि ३० हजारसम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्ताले समेत २ तोला चाँदीको सिक्का उपहार स्वरुप पाउनेछन् । विजेताहरुको चयन फेसबुक लाईभ गरी गोलाप्रथा मार्फत गरीने कम्पनीले जानकरी दिएको छ । यस क्यापटिल एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड ९खुलामुखी योजना० को योजना व्यवस्थापक रहेको छ ।  

कञ्चनपुर २ मा इन्जिनियर अवस्थीको स्वतन्त्र चुनौती, यस्ता छन् चुनाव जित्ने आधार

कञ्चनपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर शुक्लाफाँटाका इन्जिनियर जगदिश अवस्थी चुनावी मैदानमा उत्रिएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अवस्थीले निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएर यतिबेला चुनावी प्रचार–प्रसारको कार्यलाई तिव्रता दिइरहेका छन् । वर्तमान राजनीतिक दलको विकल्पमा राजनीतिक संगठनको अभ्यास गरेका अवस्थी स्वतन्त्र तथा वैकल्पिक शक्तिको सुदूरपश्चिमका प्रदेश संयोजकको रुपमा समेत सक्रिय रहँदै आएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका एनपी साउँद र नेकपा एमालेका नरबहादुर धामी चुनावी मैदानमा छन् । उमेरले ३८ वर्ष भएका अवस्थीले २०७८ सालमा नेपाली कांग्रेसमा संगठित भएर सक्रिय राजनीतिको प्रारम्भ गरेका थिए । उनले नेपाली कांग्रेसको शुक्लाफाँटा नगर समिति सदस्य र नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए । अवस्थीले पछिल्लो समय देशको लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भएको महशुस गरेर सो पार्टी छाडेका थिए । नेपाली कांग्रेस र एमालेको भिन्दाभिन्दै गठबन्धन रहेको पेचिलो प्रतिस्पर्धामा आफूलाई आममतदाताले विश्वास गर्नेमा उनले अपेक्षा गरेका छन् । ‘जनताले यस पटक मलाई विश्वास गर्नेमा आशावादी छु,’ उनले भने । छोटो समयमा नै नेपाली काग्रेसमा बौद्धिक व्यक्तित्वको पहिचान बनाएका अवस्थीले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सक्रिय भूमिका खेलेका थिए । नेपाली कांग्रेसका लागि शुक्लाफाँटा नगरपालिकाको घोषणापत्र निर्माण गरेका अवस्थीले अपेक्षाअनुसार पार्टी सञ्चालन नहुने अनुमान गरेर पार्टी परित्याग गरेका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नर बहादुर धामी ३३ हजार २२० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेस नेता एनपी साउँदले २४ हजार आठ सय ९३ मत ल्याएका थिए । सो निर्वाचन क्षेत्रमा पर्ने कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको देखिन्छ । राजनैतिक र प्राविधिक हिसाबले क्षमता भएका अवस्थी धेरै क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका छन् । उनले सिभिल इन्जिनियरिङ्ग र भूगोलमा बिए उत्तिर्ण गरेका छन् । अवस्थीसँग ०६२ सालदेखि विभिन्न क्षेत्रमा प्राविधिक परामर्शदाता, मिडिया म्यानेज्मेन्ट, गैरसरकारी सँस्था र सहकारीमा काम गरेको अनुभव छ । उनले साहित्य तथा संगित क्षेत्रमा पनि आफूलाई जोड्दै आएका छन् । राजनीतिक एजेण्डाहरु निती निर्माण तहमा इमानदार ब्यक्तिहरुको प्रवेश नभएको उनको भनाइ छ । उनले निती निर्माण तहमा इमानदार ब्यक्ति जाने व्यवस्था मिलाउने जनताको दायित्व भएको बताए । उनले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा ठूलो समस्या भनेको भूमिविहीन र आरक्ष पिडितहरुको हो । सरकारले आरक्ष पिडितका समस्या समाधान गर्ने भनेर ३१ वटा आयोग निर्माण गरेको थियो । तर, उनीहरुको समस्या समाधान नभएको उनको गुनासो छ । आफू निर्वाचित भएपछि भूमिविहीन र आरक्ष पिडितहरुको समस्या समाधान गर्ने उनले बताए । ‘मैले उम्मेदावरी दिएको क्षेत्र नम्बर २ को सबैभन्दा ठूलो समस्या भूमिहिन र आरक्षपिडीतहरुको हो, सरकारले आरक्ष पिडितहरुको समस्या समाधान गर्ने भनेर ३१ वटा आयोग बनायो, ती ३१ वटा आयोगले ६२ अर्ब रुपैयाँ खर्च गर्याे तर जो पिडित मान्छे हुन् उनीहरुको समस्या समाधान हुन सकेन,’ उनले भने, ‘भूमिहिनलाई जग्गाको मालिक बनाउने भनेर धेरै वर्षदेखि भूमिसम्वन्धि समस्या समाधान आयोग बनायो तर ती आयोगले पनि समाधान गर्न सकेन, सरकारले तोकेको करको दायरमा जग्गाको मालिक हुने अवस्था छैन, उचित करको व्यवस्थापन गरेर भूमिहिनलाई जग्गाको मालिक बनाउने र आरक्ष पिडितहरुको समस्या समाधान गर्ने मेरो मुख्य एजेण्डा हो ।’ साथै उक्त क्षेत्रमा अर्काे मुख्य समस्या भनेको नदि कटानको रहेको छ । वर्षेनी नदि कटानले जनताहरुको विचल्ली बनाएको छ । आफूले पानीको सहि व्यवस्थापन गरेर जनतालाई राहत तुल्याउने उनको मुद्धा रहेको छ । महाकाली सिँचाई परियोजनालाई पनि सहि व्यवस्थापना गर्ने उनको भनाइ छ । क्षेत्र नम्बर २ मा नदि कटान र (वाटर म्यानेजमेन्ट) पानीको समस्या छ । पानी जम्ने र पानीको व्यवस्थापन नभएको अवस्था छ । निती निर्माण तहबाट महाकाली सिँचाई परियोजनाअन्तर्ग कमाण्ड एरिया प्रडक्सनका कामहरु ब्लक भएका छन् । उक्त कार्यलाई तत्काल कार्यान्वयन गर्ने गरी आफ्नो एजेण्डा रहेको उनले बताए । क्षेत्र नम्बर २ मा नदि कटानका समस्यालाई एउटै गरु योजना बनाएर लागू गर्ने उनको धारणा छ । उनले पुर्वाधारहरु सिक्वेन्स मिलाएर अघि बढ्ने बताए । ‘औधोगिक क्षेत्र कुन ठाउँमा, धार्मिक क्षेत्र कुन ठाउँमा, पर्यटकीय क्षेत्र कुन ठाउँमा, खेतियोग्य जमीन कता हुने भनेर वर्गीकरण गरेर अघि बढ्ने गरी उनले राजनीतिक एजेण्डा बनाएका छन् । उनले कर प्रणालीलाई डिजिटल्ली बनाउने बताए । सबै जनताले घरबाटै कर तिर्ने गरी सिस्टम तयार पार्ने उनको भनाइ छ । राष्ट्रिय समस्याको रुपमा रहेको शिक्षा प्रणालीलाई उनले ब्यापक सुधार गर्ने बताए । आफू निर्वाचित भएपछि नेपालको भूगोल सुहाउँदो शिक्षा प्रणाली लागू गर्न पहल गर्ने उनको भनाइ छ । ‘जनताका जनजीविकाका सामान्य समस्याहरु छन्, जस्तै कर तिर्नु छ भने कार्यालयमा गइरहनु पर्ने बाध्यतालाई हटाउँछु, कर तिर्दा समयको खर्च र अन्य खर्च गरेर कार्यालयमा नगएर घरबाटै तिर्ने व्यवस्था मिलाउँछु,’ उनले भने, ‘राष्ट्रिय समस्या शिक्षा प्रणालीमा सबैभन्दा धेरै अभ्यास गर्नुपर्नेछ, नेपालको माटो सुहाउँदो शिक्षा र टिपिकल विषय सबै हटाएका छन्, विदेशी शक्तिको प्रभावमा परेर नेपालको पुर्व व्यावसायीक शिक्षा, नैतिक शिक्षा, नेपाली समाजमा भिजेका सबै कहानी कथाहरु समाप्त पारे, शिक्षा क्षेत्रमा धेरै सुधार गर्छाैं ।’ कर्मचारीहरुमा समेत समानता हुनु पर्ने उनको बुझाइ छ । इन्जिनियर अवस्थीले आफू निर्वाचित भएर संसदमा पुगेपछि शिक्षक र निजामतिलाई हेर्ने दृष्टिकोणमा समानता ल्याउने बताए । सरकारी विद्यालयमा पढ्ने विद्यार्थी र निजी विद्यालय (बोर्डिङ) मा पढ्ने विद्यार्थी हरुको एउटै स्तर बनाउनु पर्ने मुद्धा आफूसँग रहेको उनको भनाइ छ । ‘क्षेत्र नम्बर २ को सबैभन्दा ठूलो समस्या युवा दुव्र्यशन हो, बेलौरी नाकाबाट दैनिक १३ करोड रुपैयाँ बराबरको कारोबार हुन्छ, नेपालबाट १३ करोड रुपैयाँ कलकत्ताबाट भारतमा रहेका ब्यापारीको खातामा जान्छ, त्यो १३ करोड बराबरको लागुऔषध नेपालमा दैनिक भित्रिन्छ, सरकारले अहिलेसम्म कुनै चिन्ता नै गरेको छैन, दुव्र्यशिनेले युवाहरुको अवस्था कमजोर बनायो, हाम्रो लक्ष्य भनेको ३ वटै नगरपालिकामा रिह्याबिटेसन सेन्टर र लागू औषधी आउनबाट बन्द गर्नेछ,’ उनले भने । आर्थिक मुद्धाहरु आर्थिक मुद्धाहरुमा उत्पादनमुलकमा बढावा दिने रहेको छ । जमीनलाई वर्गीकरण गरेर कृषिमा आधुनिकीकरण गर्ने हो । कुन जमीनमा के उत्पादन हुन्छ अध्यन गरी सोही उत्पादन गर्ने उनको भनाइ छ । ‘यहाँ सम्भावित कुराहरुमा तरकारी खेति, अध्ययन गरेर जमीनलाई वर्गीकरण गरेर कहाँ के के उत्पादन हुन्छ कृषिमा धेरैको संलग्नता बढाउँछौं, यहाँ धान धेरै फल्ने गर्छ, त्यो जमीनमा अन्य के उत्पादन हुन्छ त्यसलाई छुट्याँछौं, औधोगीकीकरण गर्ने भनेर सरकाले घोषणा गरेको छ, तर कुनै अवधारणा छैन, हामी त्यसलाई कार्यान्वयन गरेर देखाउँछौं,’ उनले भने । उनले गाँजाबाट कपडा बनाउन गरी उद्योगहरु संचालन गर्ने वातावरण मिलाउने र आर्थिक क्रियाकलपसँथै रोजगारी पनि श्रृजना गर्ने उनले बताए । चुनाव जित्ने आधार उनका अुनसार पुराना अर्थात् यसअघि निर्वाचित नेताहरुलाई जनताले रिपिट गर्न चाहेका छैनन् किनभने उनीहरुले खुसीको चूचक नै धेरै तल झरेको छ । यसअघिका नेताहरुले केही काम गर्न सक्नु भएको छैन । जनताले अहिले परिवर्तन खोजेका छन् । घरदैलो गर्दा सचेतना दिइरहेका छौं । यसपटक राजनीतिक पार्टी र पुराना ब्यक्तिह रिपिट हुँदैनन् । चुनाव जित्ने आधार भनेको आफ्ना एजेण्डा रहेको उनले बताए । राजनीतिक पार्टीबाट जितेको ब्यक्तिले कमिसन र पार्टीको स्वार्थमा काम गर्छन् । उनीहरुले जनताका मुद्धाहरुमा काम गर्न नसक्ने उनले बताए । उनले आफूहरुलाई त्यस्तो कुनै दबाव नरहेको उनको भनाइ छ । बैदेशिक शक्ति र कार्यकर्ता पाल्नु पर्ने दबावमा नभएकाले आफू जनताका लागि काम गर्न सक्ने क्षमता भएको ब्यक्ति रहेको उनको दाबी छ । अहिलेसम्म गरेका योगदान उनले दिपज्योती ग्रामीण सहकारी संस्थाको अध्यक्ष भएर जनताको काम गर्ने अवसर प्राप्त गरेका थिए । उनले संस्थाको विकाससँगै जनताका लागि काम गरेका थिए । विजुली नपुगेका ठाउँमा विजुली पुर्याए, पुर्वाधार निर्माणमा सहयोग गरे, ट्रान्सफर्मर बिग्रेकका बेला मर्मतको काम उनले गरे । लोडसेटिङ भइराख्ने समस्यालाई समाधान गरे । साथै उनी प्रगतिशिल सेवाको अगुवा ब्यक्ति भएर उक्त क्षेत्रका जनतालाई सहयोग गरे । समाजकल्याण परिषदमा दर्ता भएको उक्त संस्थाले थुप्रै कामहरु गरेको उनको भनाइ छ । संस्थाका लागि आवश्यक भवन निर्माण गरेर सामाग्रीहरु समेत खरिद गरेको उनले बताए । उनी दिपनगर आधारभूत विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष पनि हुन् । १ कक्षादेखि सुरु भएको विद्यालयलाई ८ कक्षासम्म पठनपाठन हुने अवस्थामा उनले पुर्याए । विद्यालयको १२ वटा कोठा भएको भवन निर्माणमा उनले ठूलो योगदान गरेका छन् । राष्ट्रिय स्तरको कोठा भएको भवन निर्माणमा योगदान गरेका उनले ५० लाख लागतको वाल पनि निर्माण गरेको उनले बताए । ‘आफ्नो पहलमा कोरोना महामारीको समयमा क्षेत्र नम्बर २ मा पहिलो आइसोलेसन स्थापना गरे, कोरोना महामारीका बेला आफ्नै खर्चमा राहत वितरण गरेको थिए, इन्जिजियर क्षेत्रको ब्यक्ति हुँदा डिजाइनमा समेत सहयोग गरेको छुँ, भम्केस्वर पर्यटकीय स्थलको डिपीआर, आर्यघाट निर्माण, विभिन्न सडकहरु, विभिन्न संरचनाहरुमा मैले महत्वपूर्ण भूमिका खेलेको छु,’ उनले भने । हेभिवेट उम्मेदवारलाई हराउने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका एनपी साउँद र नेकपा एमालेका नरबहादुर धामी चुनावी मैदानमा छन् । जनताले निर्वाचित गरेर पठाउने हुँदा आफ्नो लागि हेभिवेटले खासै प्रभाव नपार्ने उनको दाबी छ । ‘हेभि गर्ने भनेको पब्लिकको मतले हो, यसपाली हेभिवेट उम्मेदवारको हैसियत निर्वाचन पछि नै देखिन्छ, केशव स्थापित भनेको एशियाको टप मेयर हो, अहिले बालेनले गरेको काम र उहाँले गरेको कामको तुलनामा केही पनि होइन, उहाँले पनि धेरै काम गरेको होनी, जतिसुकै ठूलो मान्छेलाई पनि जनताले जिताउने हो, उहाँहरुले जनतालाई दिएका बाचाहरु कुनै पनि पुरा गर्नु भएको छैन, उहाँहरु गाउँमा छिर्नुनै भएको छैन,’ इन्जिनियर अवस्थीले भने ।

इमर्जिङ नेपालको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त

काठमाडौं । इमर्जिङ नेपालको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् । कम्पनीको असोज ३१ गते बसेको संचालक समितीको बैठकले बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यसका साथै समितीले उनलाई कम्पनीको सहायक कम्पनी होटल एलिश द वण्डर इन लिमिटेडको संचालकको लागि सिफारिस समेत गरेको छ । बेलबाशे यसअघि कम्पनीको निमित्त कार्यकारी अधिकृत थिए ।