कञ्चनपुर २ मा इन्जिनियर अवस्थीको स्वतन्त्र चुनौती, यस्ता छन् चुनाव जित्ने आधार

<p>कञ्चनपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर शुक्लाफाँटाका इन्जिनियर जगदिश अवस्थी चुनावी मैदानमा उत्रिएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अवस्थीले निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएर यतिबेला चुनावी प्रचार–प्रसारको कार्यलाई तिव्रता दिइरहेका छन् । वर्तमान राजनीतिक दलको विकल्पमा राजनीतिक संगठनको अभ्यास गरेका अवस्थी स्वतन्त्र तथा वैकल्पिक शक्तिको [&hellip;]</p>

कञ्चनपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर शुक्लाफाँटाका इन्जिनियर जगदिश अवस्थी चुनावी मैदानमा उत्रिएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अवस्थीले निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएर यतिबेला चुनावी प्रचार–प्रसारको कार्यलाई तिव्रता दिइरहेका छन् ।

वर्तमान राजनीतिक दलको विकल्पमा राजनीतिक संगठनको अभ्यास गरेका अवस्थी स्वतन्त्र तथा वैकल्पिक शक्तिको सुदूरपश्चिमका प्रदेश संयोजकको रुपमा समेत सक्रिय रहँदै आएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका एनपी साउँद र नेकपा एमालेका नरबहादुर धामी चुनावी मैदानमा छन् ।

उमेरले ३८ वर्ष भएका अवस्थीले २०७८ सालमा नेपाली कांग्रेसमा संगठित भएर सक्रिय राजनीतिको प्रारम्भ गरेका थिए । उनले नेपाली कांग्रेसको शुक्लाफाँटा नगर समिति सदस्य र नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए ।

अवस्थीले पछिल्लो समय देशको लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भएको महशुस गरेर सो पार्टी छाडेका थिए । नेपाली कांग्रेस र एमालेको भिन्दाभिन्दै गठबन्धन रहेको पेचिलो प्रतिस्पर्धामा आफूलाई आममतदाताले विश्वास गर्नेमा उनले अपेक्षा गरेका छन् । ‘जनताले यस पटक मलाई विश्वास गर्नेमा आशावादी छु,’ उनले भने ।

छोटो समयमा नै नेपाली काग्रेसमा बौद्धिक व्यक्तित्वको पहिचान बनाएका अवस्थीले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सक्रिय भूमिका खेलेका थिए । नेपाली कांग्रेसका लागि शुक्लाफाँटा नगरपालिकाको घोषणापत्र निर्माण गरेका अवस्थीले अपेक्षाअनुसार पार्टी सञ्चालन नहुने अनुमान गरेर पार्टी परित्याग गरेका थिए ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नर बहादुर धामी ३३ हजार २२० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेस नेता एनपी साउँदले २४ हजार आठ सय ९३ मत ल्याएका थिए । सो निर्वाचन क्षेत्रमा पर्ने कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको देखिन्छ ।

राजनैतिक र प्राविधिक हिसाबले क्षमता भएका अवस्थी धेरै क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका छन् । उनले सिभिल इन्जिनियरिङ्ग र भूगोलमा बिए उत्तिर्ण गरेका छन् । अवस्थीसँग ०६२ सालदेखि विभिन्न क्षेत्रमा प्राविधिक परामर्शदाता, मिडिया म्यानेज्मेन्ट, गैरसरकारी सँस्था र सहकारीमा काम गरेको अनुभव छ । उनले साहित्य तथा संगित क्षेत्रमा पनि आफूलाई जोड्दै आएका छन् ।

राजनीतिक एजेण्डाहरु

निती निर्माण तहमा इमानदार ब्यक्तिहरुको प्रवेश नभएको उनको भनाइ छ । उनले निती निर्माण तहमा इमानदार ब्यक्ति जाने व्यवस्था मिलाउने जनताको दायित्व भएको बताए । उनले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा ठूलो समस्या भनेको भूमिविहीन र आरक्ष पिडितहरुको हो । सरकारले आरक्ष पिडितका समस्या समाधान गर्ने भनेर ३१ वटा आयोग निर्माण गरेको थियो । तर, उनीहरुको समस्या समाधान नभएको उनको गुनासो छ । आफू निर्वाचित भएपछि भूमिविहीन र आरक्ष पिडितहरुको समस्या समाधान गर्ने उनले बताए ।

‘मैले उम्मेदावरी दिएको क्षेत्र नम्बर २ को सबैभन्दा ठूलो समस्या भूमिहिन र आरक्षपिडीतहरुको हो, सरकारले आरक्ष पिडितहरुको समस्या समाधान गर्ने भनेर ३१ वटा आयोग बनायो, ती ३१ वटा आयोगले ६२ अर्ब रुपैयाँ खर्च गर्याे तर जो पिडित मान्छे हुन् उनीहरुको समस्या समाधान हुन सकेन,’ उनले भने, ‘भूमिहिनलाई जग्गाको मालिक बनाउने भनेर धेरै वर्षदेखि भूमिसम्वन्धि समस्या समाधान आयोग बनायो तर ती आयोगले पनि समाधान गर्न सकेन, सरकारले तोकेको करको दायरमा जग्गाको मालिक हुने अवस्था छैन, उचित करको व्यवस्थापन गरेर भूमिहिनलाई जग्गाको मालिक बनाउने र आरक्ष पिडितहरुको समस्या समाधान गर्ने मेरो मुख्य एजेण्डा हो ।’

साथै उक्त क्षेत्रमा अर्काे मुख्य समस्या भनेको नदि कटानको रहेको छ । वर्षेनी नदि कटानले जनताहरुको विचल्ली बनाएको छ । आफूले पानीको सहि व्यवस्थापन गरेर जनतालाई राहत तुल्याउने उनको मुद्धा रहेको छ । महाकाली सिँचाई परियोजनालाई पनि सहि व्यवस्थापना गर्ने उनको भनाइ छ ।

क्षेत्र नम्बर २ मा नदि कटान र (वाटर म्यानेजमेन्ट) पानीको समस्या छ । पानी जम्ने र पानीको व्यवस्थापन नभएको अवस्था छ । निती निर्माण तहबाट महाकाली सिँचाई परियोजनाअन्तर्ग कमाण्ड एरिया प्रडक्सनका कामहरु ब्लक भएका छन् । उक्त कार्यलाई तत्काल कार्यान्वयन गर्ने गरी आफ्नो एजेण्डा रहेको उनले बताए । क्षेत्र नम्बर २ मा नदि कटानका समस्यालाई एउटै गरु योजना बनाएर लागू गर्ने उनको धारणा छ ।

उनले पुर्वाधारहरु सिक्वेन्स मिलाएर अघि बढ्ने बताए । ‘औधोगिक क्षेत्र कुन ठाउँमा, धार्मिक क्षेत्र कुन ठाउँमा, पर्यटकीय क्षेत्र कुन ठाउँमा, खेतियोग्य जमीन कता हुने भनेर वर्गीकरण गरेर अघि बढ्ने गरी उनले राजनीतिक एजेण्डा बनाएका छन् ।

उनले कर प्रणालीलाई डिजिटल्ली बनाउने बताए । सबै जनताले घरबाटै कर तिर्ने गरी सिस्टम तयार पार्ने उनको भनाइ छ । राष्ट्रिय समस्याको रुपमा रहेको शिक्षा प्रणालीलाई उनले ब्यापक सुधार गर्ने बताए । आफू निर्वाचित भएपछि नेपालको भूगोल सुहाउँदो शिक्षा प्रणाली लागू गर्न पहल गर्ने उनको भनाइ छ ।

‘जनताका जनजीविकाका सामान्य समस्याहरु छन्, जस्तै कर तिर्नु छ भने कार्यालयमा गइरहनु पर्ने बाध्यतालाई हटाउँछु, कर तिर्दा समयको खर्च र अन्य खर्च गरेर कार्यालयमा नगएर घरबाटै तिर्ने व्यवस्था मिलाउँछु,’ उनले भने, ‘राष्ट्रिय समस्या शिक्षा प्रणालीमा सबैभन्दा धेरै अभ्यास गर्नुपर्नेछ, नेपालको माटो सुहाउँदो शिक्षा र टिपिकल विषय सबै हटाएका छन्, विदेशी शक्तिको प्रभावमा परेर नेपालको पुर्व व्यावसायीक शिक्षा, नैतिक शिक्षा, नेपाली समाजमा भिजेका सबै कहानी कथाहरु समाप्त पारे, शिक्षा क्षेत्रमा धेरै सुधार गर्छाैं ।’

कर्मचारीहरुमा समेत समानता हुनु पर्ने उनको बुझाइ छ । इन्जिनियर अवस्थीले आफू निर्वाचित भएर संसदमा पुगेपछि शिक्षक र निजामतिलाई हेर्ने दृष्टिकोणमा समानता ल्याउने बताए । सरकारी विद्यालयमा पढ्ने विद्यार्थी र निजी विद्यालय (बोर्डिङ) मा पढ्ने विद्यार्थी हरुको एउटै स्तर बनाउनु पर्ने मुद्धा आफूसँग रहेको उनको भनाइ छ ।

‘क्षेत्र नम्बर २ को सबैभन्दा ठूलो समस्या युवा दुव्र्यशन हो, बेलौरी नाकाबाट दैनिक १३ करोड रुपैयाँ बराबरको कारोबार हुन्छ, नेपालबाट १३ करोड रुपैयाँ कलकत्ताबाट भारतमा रहेका ब्यापारीको खातामा जान्छ, त्यो १३ करोड बराबरको लागुऔषध नेपालमा दैनिक भित्रिन्छ, सरकारले अहिलेसम्म कुनै चिन्ता नै गरेको छैन, दुव्र्यशिनेले युवाहरुको अवस्था कमजोर बनायो, हाम्रो लक्ष्य भनेको ३ वटै नगरपालिकामा रिह्याबिटेसन सेन्टर र लागू औषधी आउनबाट बन्द गर्नेछ,’ उनले भने ।

आर्थिक मुद्धाहरु

आर्थिक मुद्धाहरुमा उत्पादनमुलकमा बढावा दिने रहेको छ । जमीनलाई वर्गीकरण गरेर कृषिमा आधुनिकीकरण गर्ने हो । कुन जमीनमा के उत्पादन हुन्छ अध्यन गरी सोही उत्पादन गर्ने उनको भनाइ छ ।

‘यहाँ सम्भावित कुराहरुमा तरकारी खेति, अध्ययन गरेर जमीनलाई वर्गीकरण गरेर कहाँ के के उत्पादन हुन्छ कृषिमा धेरैको संलग्नता बढाउँछौं, यहाँ धान धेरै फल्ने गर्छ, त्यो जमीनमा अन्य के उत्पादन हुन्छ त्यसलाई छुट्याँछौं, औधोगीकीकरण गर्ने भनेर सरकाले घोषणा गरेको छ, तर कुनै अवधारणा छैन, हामी त्यसलाई कार्यान्वयन गरेर देखाउँछौं,’ उनले भने । उनले गाँजाबाट कपडा बनाउन गरी उद्योगहरु संचालन गर्ने वातावरण मिलाउने र आर्थिक क्रियाकलपसँथै रोजगारी पनि श्रृजना गर्ने उनले बताए ।

चुनाव जित्ने आधार

उनका अुनसार पुराना अर्थात् यसअघि निर्वाचित नेताहरुलाई जनताले रिपिट गर्न चाहेका छैनन् किनभने उनीहरुले खुसीको चूचक नै धेरै तल झरेको छ । यसअघिका नेताहरुले केही काम गर्न सक्नु भएको छैन । जनताले अहिले परिवर्तन खोजेका छन् । घरदैलो गर्दा सचेतना दिइरहेका छौं । यसपटक राजनीतिक पार्टी र पुराना ब्यक्तिह रिपिट हुँदैनन् ।

चुनाव जित्ने आधार भनेको आफ्ना एजेण्डा रहेको उनले बताए । राजनीतिक पार्टीबाट जितेको ब्यक्तिले कमिसन र पार्टीको स्वार्थमा काम गर्छन् । उनीहरुले जनताका मुद्धाहरुमा काम गर्न नसक्ने उनले बताए । उनले आफूहरुलाई त्यस्तो कुनै दबाव नरहेको उनको भनाइ छ । बैदेशिक शक्ति र कार्यकर्ता पाल्नु पर्ने दबावमा नभएकाले आफू जनताका लागि काम गर्न सक्ने क्षमता भएको ब्यक्ति रहेको उनको दाबी छ ।

अहिलेसम्म गरेका योगदान

उनले दिपज्योती ग्रामीण सहकारी संस्थाको अध्यक्ष भएर जनताको काम गर्ने अवसर प्राप्त गरेका थिए । उनले संस्थाको विकाससँगै जनताका लागि काम गरेका थिए । विजुली नपुगेका ठाउँमा विजुली पुर्याए, पुर्वाधार निर्माणमा सहयोग गरे, ट्रान्सफर्मर बिग्रेकका बेला मर्मतको काम उनले गरे । लोडसेटिङ भइराख्ने समस्यालाई समाधान गरे ।

साथै उनी प्रगतिशिल सेवाको अगुवा ब्यक्ति भएर उक्त क्षेत्रका जनतालाई सहयोग गरे । समाजकल्याण परिषदमा दर्ता भएको उक्त संस्थाले थुप्रै कामहरु गरेको उनको भनाइ छ । संस्थाका लागि आवश्यक भवन निर्माण गरेर सामाग्रीहरु समेत खरिद गरेको उनले बताए ।

उनी दिपनगर आधारभूत विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष पनि हुन् । १ कक्षादेखि सुरु भएको विद्यालयलाई ८ कक्षासम्म पठनपाठन हुने अवस्थामा उनले पुर्याए । विद्यालयको १२ वटा कोठा भएको भवन निर्माणमा उनले ठूलो योगदान गरेका छन् । राष्ट्रिय स्तरको कोठा भएको भवन निर्माणमा योगदान गरेका उनले ५० लाख लागतको वाल पनि निर्माण गरेको उनले बताए ।

‘आफ्नो पहलमा कोरोना महामारीको समयमा क्षेत्र नम्बर २ मा पहिलो आइसोलेसन स्थापना गरे, कोरोना महामारीका बेला आफ्नै खर्चमा राहत वितरण गरेको थिए, इन्जिजियर क्षेत्रको ब्यक्ति हुँदा डिजाइनमा समेत सहयोग गरेको छुँ, भम्केस्वर पर्यटकीय स्थलको डिपीआर, आर्यघाट निर्माण, विभिन्न सडकहरु, विभिन्न संरचनाहरुमा मैले महत्वपूर्ण भूमिका खेलेको छु,’ उनले भने ।

हेभिवेट उम्मेदवारलाई हराउने

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका एनपी साउँद र नेकपा एमालेका नरबहादुर धामी चुनावी मैदानमा छन् । जनताले निर्वाचित गरेर पठाउने हुँदा आफ्नो लागि हेभिवेटले खासै प्रभाव नपार्ने उनको दाबी छ ।

‘हेभि गर्ने भनेको पब्लिकको मतले हो, यसपाली हेभिवेट उम्मेदवारको हैसियत निर्वाचन पछि नै देखिन्छ, केशव स्थापित भनेको एशियाको टप मेयर हो, अहिले बालेनले गरेको काम र उहाँले गरेको कामको तुलनामा केही पनि होइन, उहाँले पनि धेरै काम गरेको होनी, जतिसुकै ठूलो मान्छेलाई पनि जनताले जिताउने हो, उहाँहरुले जनतालाई दिएका बाचाहरु कुनै पनि पुरा गर्नु भएको छैन, उहाँहरु गाउँमा छिर्नुनै भएको छैन,’ इन्जिनियर अवस्थीले भने ।

Share News