विकासन्युज

मर्जर प्रस्ताव पारित गर्न सूर्या लाईफको साधारणसभा कार्तिक २८ गते

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा कार्तिक २८ गते, होटल हैरिसन प्यालेस बिराटनगरमा बिहान ९ बजे बोलाएको हो । कम्पनीको सभाले कम्पनी ज्योति लाईफ इन्स्योरेन्ससँग मर्जरमा जाने विशेष प्रस्ताव समेत पारित गर्नेछ । दुवै कम्पनी मर्जरपश्चाते सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट बीमा व्यवसाय गर्नेछन् । डीडीए रिपोर्ट अनुसार दुवै कम्पनी १ः८२४५ स्वाप रेसियोमा मर्ज हुने भएको छ । सूर्या लाइफको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता कायम हुनेछ । सोही प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । इन्स्योरेन्स कम्पनीको सेयर कारोबार असार १३ गतेदेखि रोक्का रहेको छ । त्यसैले यसअघि नेप्सेमा कायम सेयरधनीहरु सभामा सहभागी हुन सक्नेछन् ।

नेपाल लाईफको साधारण सभा मंसिर ८ गते हुने, १५.७८ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजे बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

९० करोड ९४ लाख रुपैयाँ लाभांश पारित गर्न निफ्रा बैंकको साधारणसभा आह्वान

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश वित।ण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंक संचालक समितिको कार्तिक ४ गतेको बैठकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजे बोलाएको हो । बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हालको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। साथै, सभाले आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन बारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ । बैंकले लाभांश वितरण तथा सभा प्रयोजनार्थ मंसिर १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १ गतेभन्दा अगाडी नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

महुली लघुवित्त नाफा घटेपछि ईपीएस २९.७७ रुपैयाँले गिरावट

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७८ प्रतिशत घटेर ५८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ६८ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत घटेर ७ करोड ३३ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६७ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.३९ प्रतिशत घटेर ९ करोड ९६ लाख ४३ हजार रुपैयाँ र इम्पेरमेन्ट चार्जमा २ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस्तै लघुवित्तको सञ्चालन मुनाफा ७८.६८ प्रतिशत घटेर ८३ लाख २६ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष १.७५ प्रतिशत बढेर ३२ करोड ६३ लाख ६३ हजार रुपैयाँ, सापटी ३.५२ प्रतिशत बढेर १ अर्ब ६९ करोड ८३ लाख ६० हजार रुपैयाँ र कर्जा ७.७३ प्रतिशत बढेर ४ अर्ब ८५ करोड ४४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ २६ पैसामा सिमित भएको छ । । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३८ रुपैयाँ ३ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात १२८.४१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड १०.३७ प्रतिशत र खराब कर्जा २.२५ प्रतिशत रहेको छ ।

निर्वाचन आयोगद्वारा निर्वाचन लक्षित टिकटक प्रतियोगिताको आह्वान, पुरस्कार ५० हजार दिइने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ ।

दाङमा नुहाउन गएका दुई किशोरी बेपत्ता

दाङ । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए । तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए । दङ्गीशरण–२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन् । दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताए। स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।

नौ महिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड

एजेन्सी । ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् । स्टेचरमा बाँधिएका कोलले इशा मसीहलाई केही क्षण सम्झिएका थिए । त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो । दश बजेर १२ मिनेट जाँदा उनी बहोस भइसकेका थिए । त्यसपछि पनि मृत्यु कक्षमा उनी घुरेको आवाज सुनिएको थियो । अन्ततः कारागार प्रशासनले १० बजेर २२ मिनेटमा उनलाई मृत घोषणा ग¥यो । कोलले सन् २००२ मा आफ्नी नौ महिनाकी छोरी ब्रायना कोललाई जबरजस्ती पछाडि झुकाएर उनको मेरुदण्ड भाँच्नका साथै रक्त धमनी च्यातेर मारेका थिए । गम्भीर रूपमा मानसिक बिरामी उनले उक्त अपराध गरेको उनका वकिलहरूले स्वीकार गरेका छन् । मृत्युदण्डबाट बचाउन राज्यको क्षमादान समितिसमक्ष गरिएको अपिलका पक्षमा एक मत परेका थियो भने विपक्षमा तीन जनाले मतदान गरेका थिए । नवजात शिशुको हत्याबाट पीडित भएका परिवारका सदस्यले समितिसमक्ष क्रुर हत्याका निम्ति कोलले मृत्युदण्ड पाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए । भिडियो गेम खेलिरहेका बेला छोरी रोएपछि आक्रोशित भएका उनले शिशुको ज्यान लिएका थिए । अभियोजकहरूले पनि कोल गम्भीर मानसिक बिरामी नभएका र संविधान तथा न्यायशास्त्रमा उनको मृत्युदण्ड रोक्ने कुनै व्यवस्था नभएको बताएका छन् ।

अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी जुम्लाका दुर्गाबहादुर

पोखरा । सन् २०१० मा बङ्गलादेशको ढाकामा हुन लागेको ११औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपालले तयारी गर्दै थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जुम्लामा रहेका दुर्गाबहादुर बुढालाई बन्द प्रशिक्षणका लागि काठमाडौँ आउन खबर पठायो । बन्द प्रशिक्षण अवधिभर खेलाडीको खान बस्ने खर्च राखेपले ब्यहोर्ने भयो । तर जुम्लादेखि काठमाडौँ पुग्न बुढा आफैँलै खर्चको जोहो गर्नु पथ्र्यो । थौरै खर्चले नपुग्ने भयो । जुम्ला काठमाडौँ ओहरदोहर गर्न झण्डै ५० हजारभन्दा बढी खर्च लाग्थ्यो । बुढाले त्यसका लागि हिम्मत गर्न सकेनन् । उनको परिवार खेती किसानीमै निर्भर थियो । अन्ततः खर्चको जोहो गर्न नसकेपछि बुढाले ११औँ सागको बन्द प्रशिक्षण मन मानेर त्यागे । यो १२ वर्षअघिको कुरा थियो । त्यतिबेला जुम्ला काठमाडौँ बसको सुविधा थिएन । जहाजमै यात्रा गर्नुपर्दथ्यो । जहाज भाडा तिर्न बुढाका लागि सम्भव थिएन । विसं २०६५ मा काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा बुढा पाँच हजार मिटर र १० हजार मिटर दौडमा तेस्रो भएका थिए । यसबाट उनको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ढोका खुलेको थियो । ‘मेरा लागि त्यो ठूलो अवसर थियो, कुनै न कुनै पदक देशका लागि जित्थे, ममा आत्मविश्वास थियो’, बुढा विगत सम्झिन्छन्, ‘आर्थिक अवस्था निकै कमजोर थियो, अवसर पाएर मन मार्नु प¥यो ।’ सागमा सहभागी हुन उनी प्रारम्भिक छनोटमाा परेका थिए । त्यतिबेला जुम्लाबाट सुर्खेतम्मको जहाज भाडा सात हजार तथा सुर्खेतदेखि काठमाडौंको १३ हजार थियो । यो उनका लागि असम्भव थियो । खेतीकिसानीबाट यती धेरै आम्दानी गर्नसक्ने उपाय थिएन । ‘धेरैतिर रकमको जोहो गर्न हार गुहार गरे, कोही दाता भेटिएनन्’, बुढाले त्यतिबेलाको पीडा सुनाए । मुश्किलले साग खेल्न प्राप्त भएको अवसर हातबाट निस्केपछि बुढा एकदमै निराश बने । उनी खेल जीवन त्याग्ने मनस्थिति बनाएर जुम्लाको कन्कासुन्दरी गाउँपालिका ३ स्थित घरमा बसे । ‘अब खेलमा कहिल्यै फर्किन्न जस्तो लागेको थियो’, बुढाले भने । तर एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया भने बुढालाई त्यसरी हिम्मत हारेर बस्न दिने वाला थिएनन् । किनकि उनले बुढाको क्षमता चिनेका थिए । एउटा प्रतिभा जन्माउन कति मुश्किल हुन्छ त्यो प्रशिक्षक रोकायालाई थाहा थियो । रोकायाले बुढाको ध्यान अल्ट्रा म्याराथनतर्फ मोडे । प्रशिक्षक रोकायालाई पनि उनको खेल जीवनमा अल्ट्रा म्याराथनका लागि प्रस्ताव पटकपटक आएको थियो । रोकायाले आफ्ना चेला बुढालाई अब त्यतैतर्फ केन्द्रित गर्न लगाए । सन् २००९ मा सोलुखुम्बुमा तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन हुने भयो । प्रशिक्षक रोकायाले यो खबर थाहा पाए । उनले बुढालाई त्यसका लागि तयार पारे । प्रतियोगिता खर्चिलो थियो । एक लाख ६० हजार एक्लैले जुटाएर बुढालाई लिएर रोकाया अल्ट्रा म्याराथनमा भाग लिन सोलुतर्फ लागे । उक्त प्रतियोगितामा विदेशी नागरिकसहित एक सय ६४ जनाले भाग लिएका थिए । बुढाले सातौँ स्थान ल्याए । नेपालकै फुर्वा तामा पहिलो भए । यसबाट बुढा र प्रशिक्षक रोकाया उत्साहित भए । रोकायाले बुढाबाट गरेको आशा निराशामा परिणत भएन । दुवै जना उच्च मनोबलका साथ जुम्ला फर्किए । लगत्तै राखेपले सहायक प्रशिक्षकका लागि तालिम खुलायो । बुढा पनि त्यसमा सहभागी भए । ‘म त्यतिबेला छ महिना काठमाडौँमै बसे’, उनले भने । पन्ध्र वर्षपछि राखेपले उक्त तालिम खुलाएको थियो । ‘तालिम लिनेमा म सबैभन्दा कम उमेरको थिए’, उनले भने । तर बुढालाई के थाहा तालिम लिँदैमा नेपालमा खेल प्रशिक्षकको जागिर सहजै पाइन्न भनेर । प्रशिक्षकका लागि तालिम खुल्छ, तर अवसर नपाइने देशको सधैँको समस्या थियो । स्थिति अहिले पनि त्यस्तै छ । अवस्था फेरिएको छैन । उनी भारी मन बनाएर जुम्ला नै फर्किए । अब भने बुढालाई खर्च जुटाउन धौधौ पर्न थाल्यो । उनलाई जागिर खुवाउन रोकायाले पनि सक्दो पहल गरे । खासमा रोकाया आफ्नो चेला खेल क्षेत्रबाट पलायन भएको हेर्न चाहन्नथे । प्रशिक्षक रोकायाको मनमा नयाँ जुक्ति आयो । उनले बुढालाई लिएर भारतको बनारसतर्फ लागे । भारतीय ‘भारतीय सेनामा भर्नाका लागि छनोटको आधार त्यही अल्ट्रा म्याराथनकै प्रमाणपत्र बन्योे, ती प्रमाणपत्र देख्नेबित्तिक्कै भारतीय सैनिक अधिकारी भर्ना लिन तयार भए’, उनले भने । पहिलो पटकमै बुढा भर्ना हुन सफल भए । यो सन् २०११ को कुरो थियो । छनोटका बखत उनलाई दौडाइयो । दुई हजार चार सय मिटर दौड बुढाले चार मिनेट ३७ सकेण्डमा पूरा गरे । यसबाट त्यहाँ छनोट समितिका सैनिक अधिकारी बुढाबाट प्रसन्न भए । ‘खासमा डिउटी केही हुन्न । जताजता खेल प्रतियोगिता त्यतैत्यतै गएर खेल्नुपर्ने मात्र हुन्छ’, बुढाले सुनाए । उनले हालसम्म यही गर्दै आएका छन् । बुढा जस्तै भर्ना भएका भारतीय सेनामा धेरै नेपाली छन् । खेलको कदर गर्दै उनीहरूलाई भर्ना लिने गरिएको छ । भारतीय सेनाको जागिरले बुढा आर्थिकरुपमा सबल भए । खासमा खेल्न खेलाडीका लागि आर्थिक अवस्था चुनौतीपूर्ण बनेको छ । ‘धेरै प्रतिभाको जीवनमा आर्थिक पक्ष तगारो बन्दा खेलबाट सन्यास लिएका छन्’, उनी भन्छन्, ‘गाउँगाउँमा राम्राराम्रा प्रतिभा छन्, भविष्य सुनिश्चित नहुँदा उनीहरु खेल जीवन त्याग्न बाध्य छन् ।’ बुढाले बिदामा बसेको समयमा मात्र नेपालमा प्रतियोगिता खेल्ने गरेका छन् । ‘सकेसम्म नेपालमा हुने कुनै पनि प्रतियोगिता छुटाउँदिन’, उनले भने । भारतीय सेनामा भर्नापछि २०७२ सालमा उनले बाँकेको नेपालगञ्जमा तेस्रो धारा म्याराथन खेले । यो उनको नेपालमा खेलेको पहिलो म्याराथन थियो । निर्धारित दूरी दुई घण्टा २६ सेकेण्डमा पूरा गर्दै उनी पहिलो भए । लगत्तै झापामा भएको १५ हजार मिटर दौडमा पनि उनी पहिलो भए । धनगढीमा भएका जेसिज म्याराथनमा त बुढा चार पटक पहिलो भएका छन् । बुढाले चार वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्व गर्दै १० हजार मिटर दौडमा भाग लिए । उनले स्वर्णपदक जिते । पाँच हजार मिटर दौड र म्याराथनमा उनले रजत पदक प्राप्त गरे । ‘लगातार दौडिनुपर्दा पाँच हजार मिटर दौड र म्याराथनमा सोचे जस्तो परिणाम ल्याउन सकिएन’, उनले भने । आठौँ राष्ट्रिय खेलकुदमा पनि कर्णालीले दुई वटा मात्र स्वर्ण जितको थियो । त्यतिबेला कर्णालीले तीन रजत जितेको थियो । जसमा बुढाका नाममा एउटा स्वर्ण र दुई वटा रजत थियो । यसपटक गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि बुढाले एउटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे । उनी कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा पहिलो हुँदै पोखरा आएका थिए । तीन हजार मिटर दौडमा उनले स्वर्ण जिते । पाँच हजार मिटर दौडमा भने बुढा सेकेण्डले मात्र स्वर्ण पदकबाट चुके । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ उसुको नान छ्वान राउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्ण पदक जितेका छन् । बुढाले एथ्लेटिक्सको तीन हजार मिटर स्टेपल चेजमा स्वर्ण जित्दा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्लबले विरोध गरे । बुढा भारतीय सेनाको जागिरे भएको र भारतमा समेत प्रतियोगिता खेल्दै आएकाले नेपालमा खेल्न नपाउने भन्दै तीनवटै क्लबले विरोध गर्दै उजुरी हाले । बुढाले भारतीय टोलीको नेतृत्व गर्दै एशियन च्याम्पियनसिप खेलेका थिए । यही कारण देखाउँदै विभागीय टोली बुढालाई यसपाली खेल्नबाट रोक्ने प्रयासमा थिए । विरोधका बाबजुद मैदानमा उत्रिएका उनले विभागीय खेलाडीलाई उछिने । बुढाले कीर्तिमानी स्वर्णपदक जिते । उनले एपिएफका अजित यादव र आर्मी क्लबका सुवास कार्कीलाई पछि पारे । बुढाले उक्त दौड आठ मिनेट ५५ दशमलव १९ सकेण्डमा पूरा गरेका थिए । यस्तै एपिएफका यादवले सो दौड नौ मिनेट २१ दशमलव १० सेकेण्ड तथा आर्मीका कार्कीले नौ मिनेट २२ दशमलव १५ सकेण्डमा पूरा गरे । बुढाले १८ वर्षअघि धावक राजेन्द्र भण्डारीले बनाएको ८ मिनेट ५७ दशमलव ३० सेकेन्डको कीर्तिमान तोडेका हुन् । भण्डारीले सन् २००४ मा पाकिस्तानको इस्लामवादमा उक्त कीर्तिमान बनाएका थिए । ‘लामो समयदेखि देशका लागि खेल्दै आएको छु । यसपाली मेरो सहभागितालाई लिएर किन यतिसारो विरोध भयो, बुझ्न सकिरहेको छैन’, बुढाले भने, ‘म जता भए पनि आवश्यक पर्दा मेरो प्रदेश र देशका लागि खेल्दै आएको छु । देशका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु । मेरा लागि विदेशमा गएर जागिर खानु बाध्यता हो । मैले वर्षौं आफ्नै देशमा रोजगारीका लागि प्रयास गरे । निकै तड्पिए । खेल जीवन नै त्याग्ने अवस्थामा पुगे ।’ अहिलेसम्म जितेका पदकका लागि उनी प्रशिक्षक रोकायालाई श्रेय दिन्छन् । ‘रोकाया गुरुको ढाडसले मात्र म खेल जीवनमा छु, नत्र गुमनाम हुन्थे’, बुढाले भने । राज्यले नेपालमै बसेर खेल्ने वातावरण बनाए जस्तोसुकै त्याग गर्न बुढा तयार छन् । उनी भन्छन्, ‘खेल्नुभन्दा अघि बाँच्न जरुरी छ, म खेलाडीका रुपमा जीवित रहनकै लागि अर्काको देशमा गएको हुँ । भविष्यमा म आफ्नै देशमा खेल्न र खेलाडी उत्पादन गर्न चाहन्छु ।’ बत्तीस वर्षीय बुढा परिवारका कान्छो सन्तान हुन् । खेलकुदमा परिवारका अरु कोही पनि छैनन् । उनले चार कक्षासम्म सुर्खेतमा पढे । त्यतिबेला उनका बुबा विद्यालयमा पढाउँथे । बुढा पाँच कक्षादेखि पढ्न जुम्ला नै उक्लिए । बुढा सुर्खेतमै जन्मिएका हुन् । जुम्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथबाट १० कक्षा उत्तिर्ण गरेका उनले त्यसपछि १२ कक्षासम्म जुम्ला बहुमुखी क्याम्पसमा पढे । सुर्खेतबाट जुम्ला उक्लिएपछि बुढा खेलप्रति आकर्षित भए । सुर्खेतमा त्यो वातावरण थिएन, जुन उनले जुम्लामा पाए । ‘प्रशिक्षक रोकायाका कारण खेलप्रति आकर्षित भएको हुँ’, उनले भने । रोकायाको नाम दुर्गम गाउँगाउँसम्म खुब प्रचलित थियो । सबै जुम्ली हरि रोकाया बन्न चाहन्थे । जोसुकैको पनि इच्छा खेलमा लागिसकेपछि हरिजस्तै बन्ने हुन्थ्यो । बुढाले पहिलो पटक जिल्लास्तरीय प्रतियोगितामा रोकायालाई देख्न पाए । रोकाया नै बुढासँग नजिकीए, जब उनले १५ सय मिटर दौडमा स्वर्णपदक जिते । रोकायाले उनलाई रु तीन सय पुरस्कार दिए । यो तीन सय पुरस्कारले बुढामा निकै ऊर्जा थप्यो । बुढा पहिलो पटक यसरी प्रतियोगितामा दौडिएका थिए । त्यतिबेला उनी १० कक्षामा पढ्थे । खलङ्गामा बुढा डेरामा बस्थे । रोकाया उनको खेलबाट प्रभावित भएर बुढालाई आफ्नै घरमा बस्न बोलाए । बुढाका लागि रोकायाको प्रस्ताव ढुङ्गा खोज्दा देउता मिले झैँ भयो । अहिले पनि रोकायाले नयाँ प्रतिभालाई आफ्नै घरमा राखि अभ्यास गराउँछन् । रोकायाको प्रशिक्षण पाएर क्षेत्रीय प्रतियोगिता खेलेका बुढाले पहिलो पटकमै १५ सय मिटर, पाँच हजार मिटर र १० हजार मिटर दौडमा कर्णालीका लागि स्वर्णपदक जिते । हालसम्म पनि उनी रोकायाकै प्रशिक्षणमा प्रतियोगिता खेल्दै आएका छन् । ‘रोकाया गुरुको प्रशिक्षणबिना मेरो सफलता सम्भव थिएन’, खुसी व्यक्त गर्दै कीर्तिमानी स्वर्ण पदकधारी बुढाले भने । एउटा असल खेल प्रतिभा मर्नबाट मात्रै जोगाएको ठान्छन् प्रशिक्षक रोकाया । ‘उसले (बुढा) देशकै लागि खेलिरहेको छ । विदेशमा जागिर खानु बाध्यता हो । बुढा मात्र होइनन् अरु धेरै प्रतिभा नेपालमा खेल्ने वातावरण नहुँदा विदेशिन बाध्य छन् ।’ प्रतिभा पलायन हुनबाट रोक्न राज्यको कुन निकायले के योजना बनाएका छन् यसबारे आफू अनविज्ञ रहेको रोकाया बताउँछन् । खेलकुद विभागीय टोलीको भरमा छोडेकामा प्रशिक्षक रोकायाको मन खिन्न छ । ‘आर्मी, पुलिस र एपिएफ क्लबको जिम्मा मात्र लगाउने भए राज्यले किन खेलकुदमा यतिधेरै पैसो खेर फालिरहेको छ’, उनको प्रश्न छ । विभागीय टोलीबाहेक अरु प्रदेशको खेलस्तर खस्किँदै गएकामा प्रशिक्षक रोकाया चिन्तित् छन् । ‘म एउटा प्रशिक्षकले मात्र चिन्ता गरेर केही नहुने रहेछ । मैले त रात दिन दुर्गममा खेलाडी उत्पादन गरिरहेकै छु’, २७ वर्षदेखि कर्णालीको दुर्गम जुम्लामा खेलाडी उत्पादन गर्दै आएका गिनिज बुक अफ वल्र्ड कीर्तिमानी रोकायाले भने । प्रशिक्षक रोकायाले सन् २००० मा विश्वकै अग्लो ठाउँमा एभरेष्ट म्याराथनमा विश्व कीर्तिमान राखेका थिए । तीन घण्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गराएका हुन् । रोकाया आफ्ना खेलाडीका लागि खेल सामग्री आफैँ जुटाउँदै आएका छन् । भन्छन्, ‘राज्यको भर परे नयाँ खेलाडी उत्पादन गर्नै सकिन्न । रासस ।