पुस पन्ध्रमा तीन नेपाली चलचित्र ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’ पदर्शन हुने
आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन । यही काक्तिक ४ गते दुई चलचित्र के घर के डेरा र नालापानी प्रदर्शन हुँदा मङ्सिरमा प्रदर्शन नहुनुलाई निर्वाचनको रौनक बढेसँगै चलचित्रका गतिविधि छायाँमा पर्ने डर हुनसक्ने निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताए । उनले आफू निर्मित चलचित्र ‘महापुरुष’ लाई कात्तिकमै प्रदर्शन गर्नाको कारण आउँदो निर्वाचनसँगै विश्वकप फुटबल रहेको जानकारी दिए । ‘जाडोको समय, चुनावी रौनक लगत्तै विश्वकप फुटबलका साथै आउँदो डिसेम्बर र जनवरी महिनामा ठूला विदेशी चलचित्र आउने भएकाले पनि नेपाली चलचित्र प्रदर्शन तय नगरिएको हुनसक्छ’, निर्माता बानियाँले भने। नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गरेको पाइएको लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले बताए । उनले भने, ‘यस अगाडि पनि विश्वकपको समयमा धेरै चलचित्र रिलिज भएका थिएनन् । साथै यसपटक छिमेकी मुलुक भारतका ठूला चलचित्रहरू पनि छन् ।’ आउँदो पुस १५ मा भने तीन चलचित्र प्रदर्शन गरिने घोषणा गरिएको छ । बलिउडको चलचित्र नआउने भएपछि ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’को प्रदर्शन गर्ने घोषणा भइसकेको छ । शिर्षकमै कथा जोडिएकोले आफ्नो चलचित्र ‘डिसेम्बर फल्स’ लाई डिसेम्बरकै अन्तिम साता प्रदर्शन गर्न लागिएको निर्माता रामप्रसाद रिजालले बताए। ‘हाम्रो छायांकनलाई कोरोनाका कारण भएको लकडाउनले असर गरेको थियो । अहिले काम सकाएपछि नामसँगै मिल्दोजुल्दो प्रदर्शन मिति तय गरेका हौं’, निर्माता रिजालले भने, ‘सस्पेन्स र थ्रीलर कथामा आधारित चलचित्र तयार भएको छ ।’ ऋचा शर्माले आफू अभिनित तथा निर्मित चलचित्र ‘कौसीद’ ऋणको चपेटामा परेको पात्रको जीवनको भोगाइ देखाइएको बताइन्। उक्त चलचित्रमा उनीसँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईले अभिनय गरेका छन्। हरर थ्रिलर कथामा ‘चि मुसी चि’ निर्माण भएको निर्देशक मार्ना जेम्सले जानकारी दिए। ‘यश सैनीसँग मिलेर मैले फिल्म निर्देशन गरेकी छु । सहायक हुँदै निर्देशनमा डेब्यु गरेकी हुँदा यो चलचित्र मेरा लागि खास छ’, निर्देशक जेम्सले भने । उक्त चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ । नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए । ‘हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन । अगाडि पछाडिको शुक्रबार खाली हुँदा हुँदै पुस १५ मै तीन चलचित्र प्रदर्शनको घोषणा गर्नु विदेशी चलचित्र नभएको कारण हुनसक्छ”, महसचिव महर्जनले भने ।
मौसम खुलेसँगै पर्वतीय उडानमा आकर्षण बढ्यो
काठमाडौं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खलेलुको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ । अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरुपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ । पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ का लागि अहिले उपयुक्त मौसम पनि हो । यो सिजनमा पर्वतीय उडान बढी हुन्छ । पर्यटकीय सिजन चलिरहेको र मौसमले पनि साथ दिएकाले अहिले पर्वतीय उडान उत्साहवद्र्धकरुपमा चलिरहेको एयरलाइन्सले जनाएका छन् । निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् । मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहवद्र्धकरुपमा चलिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। ‘पर्वतीय उडान ह्वात्तै बढेको छ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ, योक्रम बढ्ने विश्वासमा छौँ’, उनले भने । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले यो सिजनमा पर्वतीय उडानमा आकर्षण बढेको बताए । उनले भने, ‘मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र जाडो मौसममा बादल कम हुने र निलो आकाशमुनि हिमशृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।’ बुद्ध एयरले आज मात्रै चार वटा पर्वतीय उडान गरेको छ । अघिल्लो शनिबार आठ उडान गरेको थियो । यती एयरलाइन्सले दैनिक दुईभन्दा बढी उडान गरिरहेको छ । पर्वतीय उडान हरेक दिन हुन्छ । अक्टोबर, नोभेम्बर र डिसेम्भर महिनाका लागि उपयुक्त मौसम हो । बादल खुलेकाले हिमाल स्पष्टरुपमा देख्न सकिन्छ । मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालायित तुल्याउँछ । हिमाल स्पष्ट देखिने र यो सिजनमा धेरै सङ्ख्यामा विदेशी घुम्न आउने भएकाले पनि एयरलाइन्स, होटल र पदयात्राको विजनेश राम्रो भएको छ । पर्यटकीय सिजनमा अहिले गन्तव्य आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ रहेको होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए। उनले भने, ‘यो सिजनमा आन्तरिक पर्यटन एकदमै राम्रो छ, अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।’ सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न पर्यटक औधी रुचाउँछन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको हो । पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा गन्तव्यमा गएका छन् । प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा पछिल्ला वर्षमा नेपाली हिमाल अवलोकन गर्न औधि रुचाएका छन् । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरु हुने यो उडानमा सरगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायी बताउँछन् । बुद्ध एयरले पर्वतीय उडानका लागि १५ हजार भाडा तोकेको छ । यो मूल्य नेपाली र भारतीयलाई हो । अन्य मुलुकका विदेशी नागरिकलाई दुई सय ३० अमेरिकी डलर कायम गरिएको छ । यती एयरलाइन्सले पनि १५ हजारमा पर्वतीय उडान गर्दै आएको छ । अहिले एयरलाइन्सले यात्रुको मागबमोजिम दैनिक पर्वतीय उडान सञ्चालन गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले मौसमले पनि साथ दिएकाले पर्वतीय उडानमा आकर्षण बढेको छ । पर्वतीय उडान दैनिकरुपमा सञ्चालन हुँदै आएको छ । यो विमानस्थल भएर अहिले ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । दैनिक दुईतर्फ सरदर १८० उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।
राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै
एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ। सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । यो सँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदैछन् ।
यसकारण ओलीको चुनाव लड्ने प्रस्ताव अस्वीकार गरें : डा. स्वर्णिम वाग्ले
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन् । अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताए । शनिवार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए । उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए । उनले युवाहरुसँग घुलमिल हुने कार्यक्रम आफूले शनिवारबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट शुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने आफ्नो योजना रहेको बताए । उनले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको टिकटको आकांक्षी भएपनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने बताए । उनले भने, ‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाब नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छाँै, धेरै कुराहरु सीमा, बन्धन, नियममा रहनुपर्छ । अहिले म यही फ्रेमवर्क भित्र नै सक्रिय हुन्छु । तत्कालमा जनमत बनाउने, युवाहरुसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौं ४ बाट शुरु गरेर देशव्यापी रुपमा छलफल म लैजान्छु । निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु । टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । यो कुरा म आज भन्नसक्छु । काठमाडौं ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ काँग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो । रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो । कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्शन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न । मेरो तीन पुस्ते काँग्रेस नै हो ।’ अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली काँग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको बताए ।
डिजिटल भुक्तानीमा कारोबार बढ्यो, भदौ महिनामा मात्रै झण्डै ३ खर्बको कारोबार
काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षितरुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालु आवको दोस्रो महिनामा मात्रै विद्युतीय माध्यम प्रयोग गरी ४९ खर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ महिनामा मात्रै दुई खर्ब ९२ अर्ब ५४ करोड ५० लाखभन्दा बढी रकम कनेक्ट आइपिएसमार्फत कारोबार भएको छ । कनेक्ट आइपिएसको माध्यमबाट अघिल्लो आवको भदौ महिनामा दुई खर्ब ३२ अर्ब ५४ करोड ३० लाखको कारोबार भएको थियो । त्यस्तै चालु आवको भदौ महिनामा मोबाइल बैंकिङ प्रयोग गरी एक खर्ब ४६ अर्ब १४ करोड ३० लाख बराबरको कारोबार भएको देखिन्छ । सो माध्यमको प्रयोग गरी अघिल्लो आवको भदौमा ७४ अर्ब ३१ करोड बराबरको कारोबार भएको थियो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार गत भदौ महिनामा विभिन्न वालेट प्रयोग गरी १७ अर्ब ६३ करोड ५० लाखको कारोबार भएको देखिन्छ जुन अघिल्लो वर्षको भदौमा १४ अर्ब ४२ करोड ७० लाख बराबरको थियो । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ र क्युआर कोडजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गरेको देखिन्छ । गत आवको भदौ महीनाको तुलनामा चालु आवको भदौमा क्युआर कोड प्रयोग गरेर कारोबार भएको देखिन्छ । बैंकका अनुसार गत आवको भदौमा पाँच अर्ब ८५ करोड ७० लाख बराबरको भुक्तानी भएको थियो भने चालु आवको भदौ मसान्तसम्ममा १५ अर्ब दुई करोड ८० लाख बराबरको भुक्तानी भएको छ । त्यस्तै भदौमा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब १९ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ । गत भदौमा यसको प्रयोग गरी १३ अर्ब ५० करोड चार लाखभन्दा बढीको कारोबार भएको थियो । यसअनुसार अघिल्लो आवको समीक्षा महिनाभन्दा चालु आवको भदौमा इन्टरनेट बैंकिङको प्रयोगबाट हुने कारोबार रकममा भने एक अर्ब ३१ करोडले कमी आएको छ । यसैगरी गत आवको भदौमा एटिएमको प्रयोगबाट ७० अर्ब १३ करोड बराबरको कारोबार भएकामा चालु आवको भदौमा कारोबार वृद्धि भई ७५ अर्ब ७४ करोड ६० लाख पुगेको छ ।
यसुदाको १५ औ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जिवन शहज बनाउने उद्देश्यका साथ १५ बर्ष पहिले स्थापना भएको यसुदा ब्रान्ड विगत लामो समयदेखी नेपालको उत्कृष्ट होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको छ । यस ब्रान्डले विगत १५ बर्ष देखी घरायसी जिवन सहज बनाउने ४० भन्दा वढी हजारौ उत्पादनहरु बिक्री वितरण गदै आएको छ । ब्रान्डको स्थापना देखी यसुदा क्यालकुलेटर ,इमरजेन्सी लाइट, राइसकुकर जस्ता उत्पादनहरु आम नेपालीको मन मस्तिस्कमा रहीरहेको छ । यसुदा ब्रान्डको वासिङ्ग मेसिन, टेलिभिजन, एसी, फ्रिज, माइक्रो ओभन ,इन्डक्सन जस्ता उत्पादनलाई पनि उपभोक्ताहरुले अत्यधिक माया र बिश्वास गरेकोले नै यसुदा नेपालको नम्बर १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । यसुदाका हरेक उत्पादनहरु गुणस्तरलाई ध्यानमा राखेर गरिने भएकोे र नविनतम प्रविधि मार्फत आफ्ना उत्पादन लाई समय र उपभोक्ताको आवश्यकता अनुसार निरन्तर अपडेट गर्दै अएकोले पनि यसुदा हरेक नेपालीको मन मस्तिष्कमा रहन सफल ब्रान्ड भएको छ । कम्पनीको दाबी छ । व्यवसायिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वका लागी प्राथमिकतामा राखेर पन्ध्रौ बर्ष प्रवेश गरेको उपलक्ष्यमा वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ । आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा निरन्तर यसुदालाई नेपालको नम्बर १ होम एप्लाइन्सेस ब्रान्ड बनाउन सहयोग गर्ने आम उपभोक्ता ,विक्रेता ,संचारकर्मी,कर्मचारी तथा सुभचिन्तकहरुले ब्रान्ड प्रती दर्शाएको विश्वास तथा सदभाव प्रती कृतज्ञता प्रकट गदै आगामी दिनमा अझ बढी सुलभ,सरल र आधुनिक होम एप्लाइन्सेसका उत्पादनहरु लिएर आउने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ ।
टेलिकमको नयाँ अफर सार्वजनिक, २९४ मा २० जीबी डाटा
काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । डाटा प्याक अन्तर्गत २९४ मा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । टेलिकमका अनुसार अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । २०० देखि ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टी सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भ्वाइस ओभर एलटिई सेवा पनि उपलब्ध गराइएको छ ।
नेपाली बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ केजीसम्म सुन कारोबार
काठमाडौं । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए । उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमि भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गरे । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताए । अध्यक्ष शाक्यले दशैँपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताए । उनले धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास रहेको बताए । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखेपनि चासो नदिएको गुनासो गरे । अध्यक्ष शाक्यले सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने बताए । उनले भने, ‘चाडपर्वहरु एकपछि अर्को आएता पनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरु मारमा रहेका छन् । सुनचाँदीका गरहगहना बनाउने कच्चा पदार्थको अभाव भइरहेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि सुन आयातमा कटौती गरेको छ । पहिला २० देखि २५ केजी सुन आयात भइरहेको थियो । अहिले १० केजी सुन मात्रै आयात भइरहेको छ ।’ अध्यक्ष शाक्ले धार्मिक परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पुजा गर्ने प्रचलन रहेको बताए । उनले धार्मिक आस्था अनुसार मानिसहरुको धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताए । शाक्यले धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु मनपर्ने भएकाले विशेष गरेर यो दिन धनतेरसको दिन सुनभन्दा चाँदीमा बढी बिक्री हुने बताए । उनले अहिले दैनिक २ सयदेखि ३ सय किलासम्म चाँदीको कारोबार भइरहेको बताउँदै १ हजार किलोसम्म कारोबार हुने बताए । उनले भने, ‘नेपालीहरुको दोस्रो महान पर्व तिहारको यमपञ्चकको दिनदेखि पाँच दिनसम्म श्रद्धाका साथ धनको पूजा गरिन्छ । पुजा गर्ने क्रममा घरमा भएका धनका विभिन्न साधनहरुलाई पूजा गर्ने चलन रहेको छ । धनको कमी नहोस् । त्यसैको प्रतिक स्वरुपमा लक्ष्मी पूजाको दिन लक्ष्मीको पूजा गरिन्छ । सुनले सबै मानवलाई सधैँ आकर्षण गरेको छ । धार्मिक आस्था अनुसार मानिसहरुको धन प्रतिको लगावका कारण धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास छ ।’ सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरशको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरुसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ ।