विकासन्युज

सुदूरका तीन जिल्लामा खाद्यान्न सञ्चित

डोटी । आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटी जिल्लामा मात्रै खाद्यान्न सञ्चित बचत रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्ला र सात पहाडी जिल्लामध्ये पहाडमा डोटी मात्र खाद्य सञ्चित गर्ने जिल्लाका रूपमा रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने, धान, मकै, गहुँ, जौँ, कोदो र फापरको उत्पादनका आधारमा खाद्यान्न वासलात निकाल्दा सुदूरका तीन जिल्ला मात्र खाद्य सञ्चित जिल्लाको रुपमा रहेको बताएका छन् । कृषि ज्ञान केन्द्र डोटीले दिएको जानकारीअनुसार प्रतिवर्ष प्रतिव्यक्ति आवश्यक खाद्यान्न तराईमा एक सय ८१ केजी, मध्य पहाडमा एक सय ९१ केजी र उच्च पहाडमा दुई सय एक केजी रहेको छ । सोहीअनुरुप जनसङ्ख्यालाई आधार मानी जिल्लाको उत्पादित खाद्यान्नलाई तुलना गरिएको थियो । जिल्लाको खाद्य उत्पादित तथा सञ्चितको अवस्थाअनुसार कञ्चनपुर जिल्लामा एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ९३ हजार छ सय ९३ मेट्रिक टन थियो जिल्लामा एक लाख ४५ हजार नौ सय ८१ मेट्रिक टन उत्पादित हुँदा ५२ हजार दुई सय ८८ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । कैलाली जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न एक लाख ६० हजार पाँच सय ५२ मेट्रिक टन थियो । जिल्लामा एक लाख ७६ हजार तीन सय ४९ मेट्रिक टन उत्पादित हुँदा १७ हजार सात सय ९७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । डोटी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३९ हजार दुई सय ८५ मेट्रिक टन थियो जिल्लामा ४३ हजार आठ सय ३२ मेट्रिक टन उत्पादित हुँदा चार हजार पाँच सय ४७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । अन्य पहाडी जिल्लामा भने आवश्यकताभन्दा कम उत्पादन भएको पाइन्छ । तथ्याङ्कानुसार बैतडी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ४६ हजार छ सय ८० मेट्रिक टन थियो । जिल्लामा ३५ हजार आठ सय ५१ मेट्रिक टन उत्पादित हुँदा १० हजार तीन सय ७२ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको जनाइएको छ । अछाम जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ५५ हजार आठ सय ३८ मेट्रिक टन थियो जिल्लामा ५० हजार दुई सय १३ मेट्रिक टन उत्पादित हुँदा पाँच हजार छ सय २५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । डडेलधुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २६ हजार छ सय २९ मेट्रिक टन थियो । जिल्लामा २६ हजार तीन सय ४८ मेट्रिक टन उत्पादित हुँदा दुई सय ८१ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको बताइएको छ । बाजुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २७ हजार नौ सय ३९ मेट्रिक टन थियो । जिल्लामा २४ हजार तीन सय चार मेट्रिक टन उत्पादित हुँदा तीन हजार छ सय ३५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । बझाङ जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३८ हजार आठ मेट्रिक टन थियो जिल्लामा ३६ हजार सात सय आठ मेट्रिक टन उत्पादित हुदाँ एक हजार तीन सय एक मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । दार्चुला जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३७ हजार एक सय ४६ मेट्रिक टन थियो जिल्लामा २२ हजार एक सय ७० मेट्रिक टन उत्पादित हुँदा चार हजार नौ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको सम्बन्धित कार्यालयको भनाइ छ । समग्रमा सुदूरपश्चिम प्रदेशको खाद्यान्न र आपूर्तिको अवस्था हेर्दा ४८ हजार चार सय ४१ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गरिएको लकडाउन र नाकाबन्दीका समयमा अधिकांश नेपालीले कृषिको महत्व थाहा पाउनुका साथै कृषि पेशामा व्यावसायिक रुपमा युवाहरुको आकर्षण बढ्नुका साथै अधिकांश युवाले खाद्यान्नलगायत अन्य नगदेबाली, तरकारी खेती, फलफूल खेती तिर पनि व्यवसाय गर्दै आइरहेको ज्ञान केन्द्र प्रमुख पनेरुले बताए । पछिल्लो समयमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले कृषिमा लगानी गर्नुका साथै अनुदानका कार्यक्रमलाई पनि प्राथमिकता दिएको पाइन्छ । रासस

नवलपरासीमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए । घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए । उनकाअनुसार घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।रासस

धर्मशालामा व्यापार गरेपछि मारवाडी सेवा समिति लखेट्दै पशुपति क्षेत्र विकास कोष

काठमाडौं । धर्मशालाभित्र व्यापार गर्न थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपाललाई गौशलाबाट हटाउने तयारी गरेको छ । मारवाडी सेवा समितिले तत्काल गल्ती स्वीकार गरेर अबैध कृयाकलाप बन्द नगर्ने हो भने कोषले समितिलाई दिएको ९ रोपनी जग्गा खाली गराउने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । पशुपति क्षेत्रको स्वामित्वमा रहेको ९ रोपनी जग्गा मारवाडी सेवा समिति नेपालले बिक्रम संम्वत १९९७ देखि भोगचलन गर्दै आएको छ । हिन्दुहरुले लक्ष्मीमाताको रुपमा पुज्दै आएको गाई पालन गर्ने मुल कार्यको लागि पशुपति क्षेत्रले मारवाडी सेवा समितिलाई ९ रोपनी जग्गा भोगचलन गर्न दिएको थियो । गाइपालन गर्ने भएकोले उक्त क्षेत्रलाई गौशाला भनिन्छ । पछि समितिले उक्त क्षेत्रमा धर्मशाला पनि चलाउँदै आएको थियो । पछिल्लो समय मारवाडी सेवा समितिले धर्मशाला क्षेत्रभित्र अस्पताल पनि सञ्चालन गरेको छ । हस्पिटलभित्र स्वास्थ्य सेवा बिक्री भइरहेको जानकारी पाएपछि पशुपति क्षेत्र विकास कोषले त्यस्तो कार्य बन्द गराउन लागेको कार्यकारी निर्देशक खतिवडाले बताए । ‘गौशालामा मुलतः गाईपालन गर्ने, खाना, बस्न नपाएका गाई गोरुलाई यहाँ पालन गर्ने सहमतिको आधारमा ९ रोपनी जग्गा मारवाडी सेवा समितिलाई कोषले उपलब्ध गराएको हो । तर यहाँ सेवाभन्दा व्यापार बढी हुन थाल्यो । कोषसँग भएका सहमति विपरित भौतिक संरचनाहरु बनाइएको छ’ खतिवडाले भने–‘पशुपति क्षेत्र धर्म संस्कृत प्रवद्र्धन गर्ने कार्य मात्र गर्न पाइन्छ । घाटसेवा, कृयापुत्री सेवा गर्न पाइन्छ । अन्य काम गर्न निषेध गरिएको छ ।’ गौशलामा पालिएको गाई र गोरुको अवस्था पनि नाजुक रहेको कार्यकारी निर्देशक खतिवडाले बताए । ‘गाई–गोरुले खान पाएका छैनन् । उनीहरु दुब्ला र खानै नपाएर थलिएको अवस्थामा छन् । सरसफाई पनि भएको छैन । गाईहरु हिरोमा ढुबेर बाँचेका छन्’ उनले भने । अध्यक्ष गाेयल गौशलामा पालिएका गाई गोरुको अवस्थाबारे फोटो र भिडियो खिच्न गएको विकासन्युज प्रतिनिधिलाई उक्त क्षेत्रभित्र प्रवेश गर्न दिइएन । उक्त क्षेत्रभित्र फोटो, भिडियो खिच्न निषेध गरिएको भन्दै कर्मचारीले रोक लगाएको विकासन्युजका फोटो पत्रकार रिसब चौधरीले बताए । फाेटाेपत्रकारलाई धर्मशालाकाे मुल गेटबाट भित्र प्रवेश गर्नै नदिएकाे उनले बताए । मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले यस विषयमा कुराकानी गर्न चाहेनन् । ‘तिहारभित्रै हामीले सुधारका काम गर्दैछौं । तिहारपछि यस विषयमा बोल्छु’ उनले भने । बास्तुस्थितिको फोटो खिच्न नदिएको विषयमा उनले भने–‘तिहारपछि फोटो खिच्न पनि दिउँला ।’ कानुनी रुपमा नै गर्न नपाइने काम मारवाडी सेवा समितिले गरेको पाइएकोले ती काम बन्द गर्न, सम्झौता र मापदण्डा विपरित बनेको संरचना हटाउन कोषले निर्देशन दिएको छ । निर्देशनसहित कोषले ३५ दिने सूचना पनि पत्रिकामा प्रकाशित गरेको छ । यसअघि पशुपति क्षेत्र भित्र बतास समूहले क्रियापुत्री सेवाको नाममा होटल चलाएर व्यापार गर्न थालेपछि बतास ग्रुपलाई पशुपति क्षेत्र विकास कोषले बतास समूहसँगको सबै सम्झौता भंग गरी व्यवसायिक कारोबार बन्द गराएको थियो ।

सयपत्री फूल प्रतिथुङ्गा चार रुपैयाँमा बिक्री

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन् । तिहारका समयमा उनलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनीमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । ‘गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ’, उनले भनिन्, ‘माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।’ उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गरेकी छिन् । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन् । ‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो’, उनले भनिन्, ‘फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।’ फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ । ‘गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ’, उनले भनिन् । तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ । ‘तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन”, श्रेष्ठले भनिन्, ‘तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ ।’ गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ । ‘यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ’, किसान श्रेष्ठले भने । उनले प्रतिथुङ्गा चार रुपैयाँमा फूल बिक्री गर्दै आएकी छिन् । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै आएको उनले सुनाइन् । ‘मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचार–प्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिदिएको छ’, उनले भनिन् । सरकारले केही दिन अगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ । सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भनिन्, ‘विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ । नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ ।’ भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिकरूपमा फूलखेती लगाएका छन् । तिहार नजिकिँदै गरेको ७० प्रतिशतमात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताए । विकले भने, ‘बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्याउनुपर्छ ।’ वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लाग्नुभएका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताए । फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताए । सोही ठाउँका गोविन्द अधिकारीले विगत केही वर्षदेखि फूलखेती गर्दै आएका छन् । स्थानीयस्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या रहँदै आएको उनको गुनासो छ । तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या हुँदै आएको उनी बताउँछन् । रासस  

लालपुर्जाकाे माग गर्दै काभ्रेपलाञ्चोकका बासिन्दा

काभ्रेपलाञ्चोक । सत्तारुढ गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं २ र यसअन्तर्गतको दुई प्रदेशसभा क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसहितको टोली चार दिनदेखि भुम्लु गाउँपालिकामा ‘घरदैलो’ अभियानमा छ । भुम्लुमा स्थानीयसँग भेटघाटका क्रममा फलाँटे र भुम्लुटार दुई वडाका स्थानीयले उम्मेदवारसँग ४६ वर्षदेखिको आफूहरूको लालपुर्जाको समस्या समाधान गरिदिन माग गरेका छन् । ‘हामीलाई अरु केही चाहिन्नँ, हाम्रो अड्किएको लालपुर्जा दिलाइदिनुस्’, स्थानीय सन्त तामाङले उम्मेदवारसँगको भेटघाटमा भने । उनले अघिल्लो सरकारले पनि आशा देखाएकाले ‘आशावादी’ मात्रै नबनाउन आग्रह गरे । उम्मेदवारको टोलीले स्थानीयसँग भेटघाटसँगै भए गरेका विकासका काम तथा अबको आवश्यकताका बारे चासो दिइरहेको छ । लापुर्जाबारे फलाँटेमा प्रतिनिधिसभा क्षेत्र नं २ का शिवप्रसाद हुमागाईँसहितको टोलीले शनिबार दिनभर स्थानीयसँग छलफल नै गरेको थियो । स्थानीयका एउटै माग लालपुर्जा दिलाइदिनुनै रहेको थियो । हुमागाईँ र प्रदेशसभा का उम्मेदवार लक्ष्मण लम्सालले आफूहरू लालपुर्जाको समस्याप्रति निकै गम्भीर रहेको र स्थानीयलाई ढुक्क भएर बस्न आग्रह गरे । स्थानीय पूर्णबहादुर श्रेष्ठले लालपुर्जा दिलाइदिन प्रतिबद्ध उम्मेदवारलाई मात्रै मत हाल्ने बताए । छयालीस वर्षदेखि फलाँटे र भुम्लुटारका एक हजार दुई सय स्थानीय लालपुर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हँुदा तत्कालीन नापी टोली फर्किएको थियो । त्यसयता सरोकारवाला निकायबाट विभिन्न चरणमा समस्या समाधानार्थ प्रयास भए पनि हालसम्म कसैले लालपुर्जा पाउन सकेका छैनन् । नेपाली कांग्रेसका पूर्व सांसदसमेत रहेका हुमागाईँले घरदैलो कार्यक्रममा अधुरा काम आफूले पूरा गर्ने बताउँदै आएका छन् । निर्वाचन आयोगका अनुसार यही कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन् । आयोगको आचासंहिताअनुसार आफू घरदैलोमा केन्द्रित रहेको उनले बताए । छयालीस वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहेपछि स्थानीयले जग्गाधनीबारे छानविनमा थप समस्या उत्पन्न भएपछि छुट्टै नीतिको माग गर्दै आएका छन् । लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानविनमा सकस भएको बताइन्छ । यसपछि गाउँपालिकाको ७ र ८ नं वडामा जमिनबारे स्थलगत छानविन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली गत असारमै फिर्ता आएका थिए । लालपुर्जा नहुँदा स्थानीयले भूकम्पपछि आवास निर्माणलगायत विभिन्न समस्या झेल्दै आएका थिए । हाल मालपोतको टोली कार्यालयमै फिल्डबुक अध्ययन गरिरहेको जनाइएको छ । तर मालपोत र नापी कार्यालयका अधिकारीले लालपुर्जा समस्या छुट्टै नीति बनाएरमात्रै समाधान हुने जनाउँदै आएका छन् । हाल पनि रसिदका आधारमा जग्गा किनबेच भइरहने हुँदा छानविनका बेला एकको नाममा र पुर्जा बन्ने बेला बिक्री भई अर्काको नाममा गइसक्ने समस्याले झन् कठिन भइरहेको फिल्डमा खट्नुभएका नापी अधिकृत लवप्रसाद कुइँकेलले बताए । उनका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुने सकेको छैन । टोलीले स्थलगतरूपमा गरेको छानविन र मालपोतको रेकर्डमा कतिपय जग्गाधनीको नाम फरक–फरक भएका कारण थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । ‘मालपोतको फिल्डबुकमा लगत मिल्दैन, यसअघि लालपुर्जा नहुँदासमेत रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरक–फरक आइरहेको छ, त्यसैले हाल थप समस्या उत्पन्न भएको छ’, उनले भने । भुजेलले भुम्लुको लालपुर्जा समस्याबारे सरोकारवाला निकायले छुट्टै नीति नबनाएसम्म समाधान हुनसक्ने बताए । उनका अनुसार गाउँपालिकाका पदाधिकारीसहितको टोलीले भुम्लुको लालपुर्जाको समस्या समाधानार्थ जिल्लास्थित मालपोत कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि आयोगमासमेत हालै आग्रह गरिएको छ । तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा नौ सय ३२ र ८ नम्बरमा तीन सय १७ निवेदनसमेत दर्ता गरेका थिए । रासस

सिन्धुली अस्पताललद्वारा सेवा विस्तार

सिन्धुली । सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताए । विपन्न नागरिक आकस्मिक तथा उपचार कोष स्थापना गरी कोषको रकम विपन्न नागरिकको उपचारमा उपयोग गरिने उनको भनाइ छ । तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यानसर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ । जनआन्दोलनका घाइतेको निःशुल्क उपचार हुने भएको छ । जनआन्दोलनबाट घाइते भनी सम्बन्धित निकायबाट परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई राष्ट्रिय बीमा बोर्डले तोकेबमोजिम उपचार सिन्धुली अस्पतालले प्रदान गर्ने जनाएको छ । १६ वर्षभन्दा माथिका हर्निया भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने उनले पत्रकार सम्मेलनमा बताए । सो अवसरमा सन्तान जन्माउन इच्छा पूरा भएका पुरुष तथा महिलालाई निःशुल्क बन्ध्याकरण सेवा उपलब्ध गराइनुको साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले स्वास्थ्य सेवा सर्वसाधारणलाई महँगो बन्दै गएकाले सर्वसुलभ सेवा बनाउनुपर्ने जनाउँदै अस्पतालका सेवा विस्तारै निःशुल्क सेवातर्फ अघि बढाइने उनले बताए । अस्पतालले विगतको तुलनामा विशेषज्ञ सेवा प्रदान गर्दै आएको र जिल्लामा विशेषज्ञ चिकित्सकको समयअगावै सरुवा गर्ने तर दरबन्दीअनुसार चिकित्सक नपठाउने गर्दा समसया बल्झँदै आएको बताए । सिन्धुली अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, ओसिएमसी सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको मेडिकल सुपरिटेण्डेन्ट डा उमेश प्रधानले जानकारी दिए । अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए । विशेषज्ञ सेवा निरन्तरताका लागि दरबन्दी सिर्जना गरी दुई विशेषज्ञ चिकित्सक थप गर्नुपर्ने, बिरामीको चाप बढेकाले चिकित्सकको दरवन्दी वृद्धि गर्नुपर्ने बर्ताए । सिन्धुली अस्पतालमा नाक, कान, घाँटी तथा छाला रोगको उपचारका लागि दरबन्दी नभएकाले दरबन्दी थप गर्न पहल गरे सर्वसाधारणलाई अस्पतालमा सबै विशेषज्ञ सेवा प्रदान गर्न सकिने बताए । रासस

आज काग तिहार मनाइँदै

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । रासस

सिटिजन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७३ रुपैयाँसम्म पाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट कात्तिक ४ गते स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ८२ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४९० वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ११२ वटा बीमालेख बिक्री गरेको छ । सावधिक (रेगुलर) जीवन बीमालेख सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ९४३ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका २१८ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार ७११ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३२१ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ६ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिका २ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावाधिक बीमालेख यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ४४६ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ८३० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३७ हजार ४१८ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ११ हजार ७४ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका १५१ वटा र ३० वा सोभन्दा माथि अवधिका ५८ वटा बीमालेख बिक्री गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ३५ रुपैयाँ बोनसदर तोकेको छ । कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३६१ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार ८३१ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका १० हजार ४२ वटा बीमालेख बिक्री गरेको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन सारथी जीवन बीमा योजना) सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ५७ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १६६ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ८५८ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ८ हजार २९६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ६ हजार ६१९ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २३४ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ५५ वटा बीमा लेख बिक्री गरेको छ ।