नेपाल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षकाे मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा समितिको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोसन सेयर र ०.९८ प्रतिशत अर्थात् ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कूल १०.९८ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयधरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ५०० रुपैयाँले र चाँदी ४५ रुपैयाँले बढेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र चाँदी १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अरु पार्टी प्रतिस्पर्धा गर्न योग्य छैनन्, हाम्रो प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताएका छन् । आईतबार काठमडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० लगायतका पार्टीहरु १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको जिकिर गरे । अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने बताए । आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने उनको भनाइ छ । उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए ।
१३ म्युचुअल फण्डको लाभांश : ३ वटाको २० प्रतिशत बढी, अन्य कुनको कति ?
काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ । अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल फण्डको राम्रो आम्दानी भएको थियो । आम्दानी बढेसँगै फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफिल दिएका थिए । गत वर्ष भने सेयर बजार घटेको कारण म्युचुअल फण्डको लाभांश घटेको मर्चेन्ट बैंकर्स बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २८ म्युचुअल फण्ड सूचीकृत छन् । हालसम्म १३ वटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । लाभांश घोषणा गरेका अधिकांश फण्डको घटेको छ । तर एउटा फण्डको भने लाभांश बढेको छ । एनएमबि हाइब्रिड फण्ड एल–१ को भने लाभांश वृद्धि भएको छ । हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले अघिल्लो वर्षको तुलनामा बढी घोषणा गरेको हो । उक्त फण्डले २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । यसअघि उक्त फण्डले इकाईधनीहरुलाई २० प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । लक्ष्मी क्यापिटलका दुई वटा म्युचुअल फण्डको प्रतिफल दोहोरो अंकबाट एकल अंकमा झरेको छ । लक्ष्मी इक्विटी फण्डले अघिल्लो वर्ष ३५ प्रतिशत वितरण गरेको गत वर्षका लागि भने ५ प्रतिशत मात्रै वितरण गरेको छ । लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशत लाभांश वितरण गरेको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत मात्रै वितरण गरेको छ । यस्तै, नलिब ब्यालेन्स्ड फण्ड–२ ले ७ प्रतिशत, नबिल इक्विटी फण्डले ५ प्रतिशत, एनआईविएल प्रगति फण्डले ४.३ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डले २२ प्रतिशत प्रतिफल वितरण गरेको हो । यस्तै, एनएमबि फिफ्टीले २१.०५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डले १२ प्रतिशत मात्रै प्रतिफल इकाईधनीहरुलाई वितरण गरेका हुन् । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको र एनआईसी एशिया ग्रोथ फण्डको लाभांश पनि दोहो अंकमाबाट घटेर एकल अंकमा झरेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १३/१३ प्रतिशत प्रतिफल वितरण गरेको हो ।सानिमा इक्विटी फण्डको लाभांशमा पनि गिरावट आएको छ । सो फण्डले २२ प्रतिशत प्रतिफल वितरण गरेको छ ।
तिहार सुरुभएसँगै पालैपालो रोटी पकाउन व्यस्त महिला
टीकापुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उनको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् । उनीरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । ‘हामी हरेक वर्ष तिहारमा रोटी पकाउँछौँ, सबै जना मिलेर पालैपालो पकाउँछौँ, यसरी पकाउँदा सजिलो र रमाइलो हुन्छ’, जैसीले भनिन्, ‘तिहारमा देउसीभैलो खेल्नेलाई खानेकुरा दिन, भाइलाई कोसेली दिन र छिमेकीलाई बाँड्नका लागि पनि धेरै रोटी पकाउनुपर्छ’, उनले भनिन्, ‘एउटै घरमा पाँच किलोदेखि १० किलोसम्म पिठोको प्रयोग हुन्छ । अन्य मीठाइका परिकार पनि बन्छन् ।’ तिहारमा धेरैजसो नेपालीका घरमा सेल रोटी, फिनी रोटी, अनरसा अनिवार्य नै पाक्छ । यसबाहेकका अन्य मीठाइ र रोटीका परिकार पनि तिहारमा पकाउने गरिन्छ । लम्कीचुहाकी झरना विक र उहाँका छिमेकी पनि तिहारको रोटी पकाउन जुटेका छन् । उनीहरूले पनि पालैपाले पकाउन थालेका छन् । ‘तीन घरमा पकाएर सक्यौँ, अब तीन जनाको घरमा पकाउन बाँकी छ’, उनले भनिन्, ‘मैले पनि पाँच किलो मैदा किनेकी छु । विभिन्न किसिमका गुलिया र चिल्ला रोटी बनाउने गरिन्छ । तिहारलाई रोटीको पर्व भनेर चिन्छौँ ।’ यसरी हुनेखानेले तिहार तथा पर्वमा खर्च गर्दा नहुनेलाई भने पीडा हुन्छ । टीकापुरको एकतानगर शिविरकी रुपा विकलाई भने सबैले तिहारमा चहलपहल गर्दा पीडा हुन्छ । ‘छिमेकीहरू रोटी पकाउन थाले, किनमेल गर्छन्, मानिसको आउजाउ बढेको छ’, उनले भनिन्, “हामीलाई छाक टार्नै मुस्किल छ । कसरी थरिथरिका रोटी पकाउने होला ? छोराछोरीले सताएका छन् ।” रुपा आर्थिक अवस्था कमजोर हुुनेका लागि चाडपर्वले निकै पीडा दिने बताइन् । ‘छिमेकीजस्तै गर्न नसक्दा पीडा हुन्छ, बालबालिका पनि मान्दैनन्’, उनले भनिन्, ‘तिहारको दिन सेलरोटी पकाएर केटाकेटीको तिहार मनाइदिने योजना छ । थरिथरिका रोटी पकाउन त रकम छैन ।’ जोशीपुरकी झुमा शर्मा पनि तिहार नजिकिएपछि व्यस्त हुनुहुन्छ । हरेक वर्ष तिहारमा भाइलाई टीका लगाउन माइत जाने तयारीमा रहेकी झुमा किनमेल र विभिन्न थरिका रोटी पकाउन व्यस्त छिन् । ‘चार दाजुभाइ छन्, सधैँ माइतीमै टीका लगाउने गर्छौँ, चार भाइका लागि चार पोका कोसेली तयार गर्दैछु’, उनले भनिन्, ‘चिल्ला रोटी नपकाए कोसेली के लैजाने भन्ने समस्या हुन्छ । रोटी त पकाउनैपर्छ ।’ तिहारमा खाइने रोटीमा गुलियो र चिल्लोको मात्रा बढी हुन्छ । तर कतिपयले तिहारलाई सरल तरिकाले समेत मनाउन थालेका छन् । टीकापुरकै सरिता साउद भने सामान्य तवरले तिहार मनाउँछिन् । ‘तिहारमा अनावश्यक चिल्ला रोटी पकाउँदैनौँ, तिहारमा आवश्यक मसला भाइलाई कोसेलीका रूपमा दिन्छाँै, कोसेलीमा काजु, बदाम, नरिवल, फलफूल दिइन्छ’, उनले भनिन्, ‘देउसीभैलो खेल्नेलाई पनि फलफूल प्रसादका रूपमा दिने गर्दछौँ, पाके पनि सेलरोटीसम्म पाक्छ । नभए चिल्ला र गुलिया रोटी प्रयोग घटाएका छौँ ।’ यसरी चिल्ला र गुलिया खानेकुराले मधुमेह, उच्च रक्तचापलगायतका समस्या भएकाले गुलियो र चिल्लो खानेकुरा नखाएकै राम्रो हुने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा सम्वाद खरेल गुलियोले शरीरमा ग्लुकोजको मात्रा बढाउने, चिल्लोले ग्याष्ट्रिकको समस्या निम्त्याउने भएकाले यस्ता खानेकुरा कम प्रयोग गर्न सल्लाह दिन्छन् । ‘हरेक चाडपर्वमा बढी खानेकुरा खाइन्छ, यसले मानिसको स्वास्थ्यमा असर पार्छ’, उनले भने, ‘खानपानमा ध्यान दिनुपर्छ । चाडपर्वमा धेरै चिल्ला र गुलिया खानेकुरा कम बनाउने, कम खाने, खाइहालेमा पनि फलफूल र सागपात पनि खाने गर्नुपर्छ ।’ रासस
एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्न बोलायो साधारणसभा
काठमाडौं । एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्ने मंसिर २ गते साधारणसभा बोलाएको छ । कुमारी बैंकसँगको मर्जर र गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न बैंकले साधारणसभा बोलाएको हो । बैंकले गत आवका मुनफाबाट ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद रहेको छ । कुमारी बैंक र एनसीसी बैंक बराबरी हैसियतमा गाभिँदै छन् । मर्जरको लागि दुवै बैंकबीच प्रारम्भिक सम्झौता भइसकेको छ ।
सोलुखुम्बुमा १७१ मेगावाटको आयोजना निर्माण हुने
काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्रणालीमा बिजुलीसमेत जोडिसकेका छन् । आयोजनाले सुख्खायाममा दुई सय ९५ र वर्षायाममा छ सय ८८ गिगावाट घण्टा गरी वार्षिक रुपमा कूल नौ सय ८४ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । दूधकोसी नदी किनारै किनार भएर आयोजना स्थलको पहुँचमार्ग निर्माण हुनेछ । मुख्य संरचना ‘डाइभर्सन वेयर’, ‘अन्डरस्लुइस’, ‘ग्राभेल ट्र्याप’, ‘सेटलिङ’, ‘बेसिन’, ‘हेडरेस पाइप’, ‘हेडरेस टनेल’, ‘सर्ज ट्याङ्क’ र ‘अडिट टनेल’ जस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । सोलुखुम्बुको पासाङल्हमु गाँउपालिका ३ मा निर्माण हुने सो आयोजनाको ‘नेट हेड’ तीन सय ६७ मिटर रहेको छ । आयोजनाको विद्युत् गृह भूमिगत रहनेछ । तीन वटा ‘फ्रान्सिस टर्बाइन’ रहने आयोजनाबाट उत्पादित बिजुली दुई सय २० केभी क्षमताको ६३ किलोमिटर लामो प्रसारणलाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सवस्टेशनमा जोडिनेछ । आयोजनाको कूल लागत ३० अर्ब ८० रुपैयाँ करोड बराबर रहनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको उक्त प्रतिवेदन सार्वजनिक गर्दै सम्बन्धित निकाय वा प्रभावित क्षेत्रका बासिन्दालाई राय सुझाव दिन आग्रह गरेको छ । आयोजनाले कूल आठ दशमबल तीन हेक्टर जग्गा प्राप्त गर्नुपर्नेछ । आयोजनाको निर्माण अवधिमा पाँच सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । जैविक वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाले १३ करोड ७५ लाख २९ हजार रुपैयाँ बराबरको रकम छुट्याएको छ । रासस