काठमाडौं । आइतबर एभरेष्ट बैंकको सेयर लाभांश घोषणा भएसँगै लाभांश घोषणा गर्ने बैंकको संख्या ९ पुगेको छ । कात्तिक २० गतेसम्ममा लाभांश घोषणा गर्नेमा एक पूर्वाधार बैंकसहित ८ वटा वाणिज्य बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, ग्लोबल आइएमई, कुमारी, एनसीसी, सानिमा र नेपाल इन्फ्रास्ट्रकचर बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने प्रकृया अघि बढाएका हुन् जसमा सिटिजन्स बैंकको भने पारित भइसकेको छ ।
हालसम्म लाभांश घोषणा गर्नमा अफ काठमाण्डू सबैभन्दा धेरै लाभांश घोषणा गर्ने बैंकमा परेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यद्यपि यो लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनश सेयर र १२.५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश घोषणा गरको थियो ।
बढी लाभांश घोषणा गर्ने दोस्रो बैंकमा एभरेष्ट बैंक देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको शुक्रबार, कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सर्वाधिक लाभांश घोषणा गर्ने बैंकको तेश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश दुई वर्ष यताकै उच्च हो । बैंकले यसअघि १० प्रतिशत बोनश सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, चौथो स्थानमा ग्लोबल आइएमई बैंक छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३।६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश) घोषणा गरेको हो ।
सर्वाधिक लाभांश घोषणा गर्ने पाँचाैं बैंकमा कुमारी रहेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले कार्त्तिक २१ गते साधारण सभा बोलाएको छ ।
यस्तै, एनसीसी बैंकले पनि हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो ।
सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो जुन बैंकको १६ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आफ्ना सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर १० गते शनिबार काठमाडौं अनुपम फुडल्यान्ड काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ । सभाले ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्दै छ ।