विकासन्युज

किन बढ्यो सेयर बजार ? यस्तो भन्छन् लगानीकर्ता

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा बन्द भएको छ । गत साता ७८.०२ अंकले बढेको सेयर बजार आइतबार एकैदिन ४३ अंकले बढ्यो । आज दिनभरिमा २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता सेयर २७ हजार पटक किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । आज लघुवित्त समूह ४.५८ प्रतिशत बढेको छ । साथै सेयर बजारमा विभिन्न ५ वटा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्टिक लागेको छ । आइतबार एभरेष्ट बैंक र जाल्पा सामुदायिक लघुवित्तले राम्रो लाभांश घोषणा गरेका थिए । जाल्पा लघुवित्तले आकर्षक लाभांश घोषणा गरेपछि लगानीकर्तामा उत्साह छाएको हो । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै, एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । तिहारअघिसम्म सेयर बजारमा अन्यौलता थियो । तिहारपछि खुलेको पहिलो दिनको बजार बढेपछि निरन्तर बढ्दै आएको छ । यसअघि मनोबल कमजोर बनाएका लगानीकर्ताहरु सूचीकृत कम्पनीहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि भने उत्साहित भएका हुन् । जसकार बजारमा हरियाली छाएको सेयर जानकारहरुको भनाइ छ । सेयर बजारले उकालो यात्रा सुरु गरेको संकेत लगानीकर्ताहरुले आँकलन गरेका छन् । बजारमा सेयर बजार मैत्री वातावरण नभएपनि एकाएक बजार बढेपछि लगानीकर्ता उत्साहित भएको सेयर विश्लेषकहरुले बताएका छन् । लगानीकर्ता राजन लम्साल लाभांश घोषणा गरेका कम्पनीहरुले सेयरधनीहरुको मनोबल बढाउँदा अन्य कम्पनीले पनि राम्रो लाभांश दिने अपेक्षा गरेको कारण सेयर बजार बढेको बताउँछन् । धेरै घटेर तल्लो तहमा पुगेको बजारमा आकर्षक लाभांश घोषणाले बढेको उनको बुझाइ छ । तिहारपश्चात् लगानीकर्ताहरु आआफ्नो काममा फर्किएको हुँदा बजार बढेको उनले बताए । ‘बजार अहिले बुल र वियरिस भन्ने छैन, लगातार बढेपछि बुलमा गएको हुन्छ, बुलमा लागेको भनेर आज एकदिनको बढाइले भन्न सकिँदैन तर लाभांश घोषणाले बढ्नलाई मद्दत गरेको हो, अन्य कम्पनी पनि लाभांश घोषणा गर्ने तयारीमा छन्, राम्रो लाभांश आउँछ भन्ने अनुमानले लगानीकर्ता उत्साहित भएका हुन्,’ उनले भने । केही लगानीकर्ताहरु भने बैंकहरुको निक्षेपको ब्याजदर घट्न संकेत पाएकाले बजार बढेको बताउँछन् । पूँजी बजारमा लगानीकर्ताको मनोबलका आधारमा कारोबार हुने भएकाले यदि लगानीकर्ताको मनोबल उच्च छ भने बजार बढ्ने र कमजोर बनाएको छ भने घट्ने लगानीकर्ता आकाश बस्नेत बताउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च छ । उक्त ब्याजदरलाई बजारले पचाएको उनको दाबी छ । साथै उच्च रहेको ब्याजदर अब घट्ने चर्चा बजारमा चलेपछि पनि नेप्से बढेको उनको तर्क छ । नाम उल्लेख नगर्ने शर्तमा एक जना सेयर विश्लेषकका अनुसार जब १८ सय अंकलाई पार गर्दै १९ सय अंकमा मेन्टेन गरेर बस्यो, त्यतिबेला लगानीकर्तामा बजार अब २ हजार अंक पुग्ने भयो भन्ने अनुमान थियो । यसबीचमा लगानीकर्ताहरुमा बजार २ सय अंक बढ्छ भन्ने अनुमान गरेका थिए । आइतबार लगानीकर्तामा एउटा डर थियो १९ सय अंकभन्दा तल झरेर फेरि घट्छ की भन्ने । तर त्यो भएन । यसकारण बजार बढेको उनको तर्क छ । आजबाट १९४० अंकभन्दा माथि जानथालेपछि लगानीकर्तामा बजार बढ्ने मनोबल उच्च रहेको उनले बताए । यसको फण्डामेन्टल कारण भनेको बजार धेरै तल झरेको थियो । १८ सय अंकबाट पनि तल आउला भन्ने लगानीकर्तामा एउटा शंका उत्पन्न थियो । तर अहिलेलाई १८ सय अंकभन्दा तल आउँछ भन्नेहरुका लागि बोली नै बन्द भएको उनले बताए । जाल्पा लघुवित्तले एकैपटक ७७ प्रतिशत लाभांश घोषणा गरेपछि माइक्रोफाइनान्स इण्डेक्समा माहोल सृजना गर्याे र जसकारण अन्य लघुवित्तको सेयर मूल्य पनि बढेको उनको तर्क छ । साथै चुनावको माहोलमा बजार माथि जाने संकेत गरेको भएपनि बजारमा बुल भने सुरु नभएको उनले बताए ।

काठमाडौं महानगरको वार्षिक खरिद गुरुयोजनाका लागि छलफल सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङ्का विषयमा छलफल भएको छ । आज महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका अधिकारीविच छलफल भएको हो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महानगरको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना र खरिद गुरुयोजना अन्तरसम्बन्धित भएको बताए । ‘निर्माण कार्य गर्नु पर्ने सार्वजनिक निर्माण विभाग र सम्पदा तथा पर्यटन विभागले अलि धेरै काम गर्नुपर्नेछ,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘मंसिरबाट धेरै काम सुरु हुने विभागीय प्रमुखहरुको भनाइ छ, यस अघि थालिएका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, पछाडि फर्किनु पर्दैन, बाँकी योजनालाई प्याकेजिङ् गरेर एउटै प्याकेजबाट काम गरौँ, यसबाट नतिजा मापन गर्न सजिलो हुन्छ ।’ छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको थियो । यस क्रममा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रुपमा प्रस्ताव पेश भएको थियो । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना प्याकेजिङ् गर्दा हुने सवल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राखेका थिए । चालुृ आर्थिक बर्षका लागि महानगरले १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ । यी योजनालाई खरिद सम्बन्धी कार्यविभाजन र खरिद कार्यको बर्गीकरणअनुसार प्याकेजिङ् गरेर १ हजारको हाराहारीमा राख्न सकिने देखिएको छ । परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाईका प्रमुख धु्रव काफ्लेले भने, ‘योजनाको प्याकेजिङ् र स्लाइसिङ् नयाँ अभ्यास हो, यसभन्दा तलका वार्षिक खरिद योजना र खरिद गुरुयोजनामा हामीले यस अघि पनि काम गरेका थियौँ, यस बर्षबाट प्याकेजिङ्को काम थालिएको छ ।’

कहिले खुल्छ सानिमा जीआईसीको सेयर कारोबार ?

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार अर्को सातादेखि खुल्ने भएको छ । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जीआईसीको सेयर कारोबार अर्को सातादेखि खुल्ने कम्पनी श्रोतले बताएको छ । ‘सेयर कारोबार खुलाउने प्रकृया भइरहेको छ, सम्भवतः अर्को सातादेखि खुल्छ,’ श्रोतले भन्यो । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स २०७९ असार २९ गते मर्जर प्रकृयामा गएका थिए । यससँगै नेप्सेले असार ३० गतेदेखि लागू हुने गरी दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । मर्जर प्रकृया सकिएसँगै कार्त्तिक ७ गतेदेखि सानिमा जीआईसीको नामबाट एकीकृत कारोबार भइसकेको छ । नियामक निकाय बीमा समितिले सैद्धान्तिक स्वीकृति दिएसँगै उक्त नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीप शुरु

काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भए । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुईदुई अंकका साथ अग्रता लिन सफल भए । च्याम्पियनशीपका शिर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे । त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जीत हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हाराए । रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथी जीत दर्ज गरे । दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् । पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनशीपको व्यवस्थापन स्पोर्टस एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ । नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडी हरुलाई मध्येनजर गर्दै नेशनल सिनियर  च्याम्पियनशीपले नेपालमा पहिलोपटक डिजिटल चेस बोर्ड समेत प्रयोगमा ल्याएको छ । सातै प्रदेशका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पिनशीपको कुल पुरस्कार राशी १ लाख ७४ हजार रुपैंया रहेको छ । स्विस लिग अनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्र्तगत प्रायोजन गरिएको यस च्याम्पियनशीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । च्याम्पियनशीप अन्त्रगत आईतबार तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ ।

गरिमा विकास बैंकको संस्थापक सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको एक लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर आइतबार नेप्सेमा थपिएको हो । लिलामीमार्फत बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा किनबेच हुने छ ।

विप्लव नेतृत्वको नेकपासहित साना ३ बामपन्थी पार्टीले निर्वाचन बहिष्कार गर्ने 

काठमाडाैं । विप्लव नेतृत्वको नेकपासहित साना ३ बामपन्थी पार्टी ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना बामपन्थी राजनीतिक दलहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन । बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रुपमा विरोध प्रर्दशन र कोणसभा समेत आयोजना गर्न लागिएको नेकपाका नेता प्रकाण्डले जानकारी दिए । उनले दलालहरुले जित्ने चुनावले जनताको अधिकार सुनिश्चित नहुने भएकाले त्यसको विरोधमा आफूहरुले चुनाव बहिष्कार गर्ने नीति लिनु परेको बताए । नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसदवादको अन्त्य गर्नका लागि आफूहरुले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले नेपाली क्रान्तिलाई सफल बनाउन पनि सो चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । वैज्ञानिक समाजवादी पार्टी, नेपालले चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नु परेको बताएको छ । पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहूति’ले क्रान्तिकारी शक्तिहरुबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरुले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रुपमा अघि बढाएको उल्लेख गरे । तीन वटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनघढीमा कात्तिक ३० गते विरोध प्रर्दशन र कोणसभा आयोजना गरेका छन । सो कार्यक्रम स्थानीय स्तरमा पनि आवश्यक्ताको आधारमा तय गरिएको पनि नेकपाका नेता प्रकाण्डले बताए ।

४३ अंकले बढ्यो सेयर बजार, कारोबार डेढ महिना यताकै उच्च

काठमाडौं । साताको पहिलो दिन सेयर बजार ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार ४३.२० अंकले बढेर नेप्से १९६५.३६ विन्दमा पुगेको छ । यस्तै, आज असोज २ गते यताकै सबैभन्दा धेरै कारोबार भएको छ । असाेज २ गते एक अर्ब ६० कराेड काराेबार भएकाे थियाे भने आज एक अर्ब ५४ करोडको कारोबार भएकाे छ । यसरी सेयर बजार बढ्दा म्युचल फण्ड बाहेक सबै उप-समुहहरूमा हरियाली छाएको छ भने लगानीकर्ताहरु सबैभन्दा धेरै लघुवित्तको सेयरमा झुम्मिएका छन् । नेप्सेको अनुसार आज ४ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्त रहेका छन् । शनिबार जाल्पा लघुवित्तले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लघुवित्तहरुमा लगानीकर्ताको आकर्षण देखिएको जानकारहरु बताउँछन् ।

चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए । मन्त्रिपरिषद्को १७ माघ २०७८को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो । प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइन जस्ता निर्माण पूर्वका प्रारम्भिक कार्यहरु सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेसन सार्न नसकिने प्रष्ट पार्दै आएको थियो । किर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उप–प्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ । प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ । कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, संघसंस्था र भद्रभलादमीहरुसँगको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिने छ । चोभारस्थित शुख्खा बन्दरगाहको प्रवेशद्धारबाट सुरु भएको करिब २ किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकोले स्थानीयको माग बमोजिम लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन गरिदिने सहमति भएको छ । प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाउने छ । विद्युत आपूर्तिको अत्यावश्यकतालाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ । बैठकमा नगर प्रमुख नकर्मीले विकास निर्माणका कामहरुमा नगरपालिकाको सँधै सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘सबस्टेसन निर्माणमा जारी अवरोध हटाउनु ज्यादै अप्ठ्यारो र जटिलता थियो, यसलाई समाधान गर्न सफल भएका छौं, सबस्टेसन निर्माण तत्काल अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ ।’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणका लागि ठेक्कापट्टा लागिसकेकोले जाँडै निर्माण सुरु गर्ने बताए । ‘काठमाडौं उपत्यका विशेषता कीर्तिपुर तथा आसपासका क्षेत्रमा विद्युतको मागलाई सम्बोधन गर्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन चोभार सबस्टेसन ज्यादै महत्वपूर्ण छ’, उनले भने । ‘यस्ता सबस्टेसन बनाउन सकिएन भने केही वर्षमा विद्युत उपलब्ध भएर पनि प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नु पर्ने अवस्था आउने छ ।’ काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन् । स्थानीयको अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पको रुपमा चोभारमा सबस्टेसन निर्माण अगाडि बढाएको हो । थानकोटबाट चोभारसम्मको काठमाडौं खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । एसियाली विकास बैंकको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गर्न लागिएको हो । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु रहने छन् । काठमाडौं उपत्यकाको सन् २०३० सम्ममा ९२५ मेगावाट, २०४० सम्ममा १८२५ मेगावाट र २०५० सम्ममा ३१६९ मेगावाट उच्चतम माग हुने प्रक्षेपणका आधारमा प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधार सञ्जालका संरचनाहरु योजनावद्ध रुपमा अगाडि बढाएको छ ।