समृद्धि फाईनान्स नेशनल चेस च्याम्पियनशीपको उपाधी बद्रीलाललाई, जिते ५० हजार
काठमाडौं । पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपको उपाधी जितेका छन् । पाँचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरेका हुन् । तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा याे पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगद समेत प्राप्त गरेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनशीपमा समान ५ दशमल ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए । पूर्व नेशनल च्याम्पियन विलमलालले छैठौं चरणमा रुपन्देहीका विजय गुरुङ एवं सातौं चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पारेका छन् । त्यसैगरी अर्का नेशनल च्याम्पियन पुण्यमानले छैठौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । तेश्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरेका छन् । स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न च्याम्पियनशीप अन्र्तगत सोमबारका दुबै खेल गुमाएपछि पूर्व नेशनल च्याम्पियन नविन तण्डुकार चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाचौं स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भएका छन् । त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैठौं तथा सातौं स्थानमा रहँदै जनही सात हजार नगद प्राप्त गर्न सफल भए । काठमाडौंका क्यानिडडेटमास्टर भगवती प्रसाद शर्मा, काठमाडौकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तिर्थबहादुर विक क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहँदै जनही ५ हजार नगद प्राप्त गरेका छन् । भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि उमेर समुहको क्याटागोरी पुरस्कार पाउन सफल भए भने काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीका लवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्ष माथि उमेर समुहको पुरस्कार स्वरुप जनही ५ हजार नगद प्राप्त गर्न सफल भएका छन् । चार जना पूर्व नेशनल च्याम्पियन सहित देशभरका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पियनशीपका विजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, समृद्धि फाईनान्सका सिईओ टिकानिधि लोहनी, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कटेल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा कामना सेवाले देशभर संचालन गर्यो वित्तिय साक्षरता कार्यक्रम
काठमाडौं । कामना सेवा बैंकले १६ औं वार्षिकाेत्सव सप्ताहकाे पहिलाे दिन वित्तिय साक्षरता कार्यक्रम गरी सम्पन्न गरेकाे छ । बैंकले सातै प्रदेशमा रहेकाे ३५ शाखामार्फत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे । वार्षिक उत्सवलाई साप्ताहिक रुपमा मनाउने लक्ष्य लिएकाे बैंकले देशव्यापी रुपमा सामाजिक कार्यक्रमहरु जस्तै सर्सफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र कर्पोरेट फुटसल गर्ने जनाएकाे छ ।
रियलमीको नयाँ स्मार्टफोन सिथर्टीएस सार्वजनिक, १३ हजार रुपैयाँ पर्ने
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सि सिरिज अन्तर्गत नयाँ रियलमी सिथर्टीएस सार्वजनिक गरेको छ । इन्डस्ट्रि लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सिथर्टीएस सुरक्षा र गतिको उत्तम संयोजन भएकाे कम्पनी बताउँछ । कम्पनीकाे अनुसार ५००० एमएएच ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी सिथर्टीएसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्नेछ । लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि सिथर्टीएस राम्रो विकल्प भएकाे बताए । ‘रियलमीको यो सि सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्द गराउन पाउँदा मलाई गर्व लागेको छ । डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी सिथर्टीएस हाम्रा उपभोक्ताहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने । रियलमी सिथर्टीएसका विशेषता रियलमी सिथर्टीएसको मुख्य विशेषताहरू मध्ये एक यसको साइड–फिंगरप्रिन्ट सेन्सर हो । सि सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउनुको साथै निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ । माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लीक ८.५ एमएम बडी भएको रियलमी सिथर्टीएसको तौल केवल १८२ ग्राम रहेको छ । रियलमी सिथर्टीएसमा स्क्रिन–टु–बडी रेसियो ८८.७% रहेको छ । युनिसोक अक्टा–कोर प्रोसेसरद्वारा संचालित, रियलमी सिथर्टीएसले प्रयोगकर्ताहरूलाई अत्यन्त सहज सञ्चालन अनुभव प्रदान गर्दछ । ८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको रियलमी सिथर्टीएस स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरी दुई रंगहरूमा उपलब्ध छन् । यसकाे ३२ जिबिकाे मूल्य १३ हजार ४९९ रुपैयाँ र ६४ जिबीकाे मूल्य १५ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई दराजमा छुट
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच ११:११ काे अभियानकाे लागि सम्झाैता भएकाे छ । उक्त सम्झाैतामा बैंककाे तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । सम्झाैता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११:११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्नेछ ।
मङ्गलबार लाग्ने चन्द्रग्रहण सामाखुशीको एष्ट्रोनमी क्लबबाट नजिकबाट हेर्न सकिने
काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ । बेलुकी ५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताउनुभयो । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।
नेपालमा लगानी र प्रविधि ल्याउन सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी र प्रविधि ल्याउन सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई आग्रह गरेकाे छ । महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालसहित महासंघका पदाधिकारीहरूले साेमबार कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनलाई भेटी यस्ताे आग्रह गरेका हुन् । भेटवार्तामा नेपाल कोरियाबीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भएकाे छ । सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष ढकालले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए । उनले दुवै देशका निजी क्षेत्र बीचको सम्बन्ध बलियो बन्न सके लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने बताउँदै निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागि सो भेटवार्तामा महासंघकातर्फबाट कोरियन उत्पादनमुलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो । भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधै तयार रहेको बताए । स्याङगन तीन सदस्यीय प्रतिनिधिमण्डलसँग हाल नेपाल भ्रमणमा रहेका छन् ।
‘यो देशमा एमालेबाहेक कुनै पनि दलसँग मुलुक बनाउने भिजन नै छैन’
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ को चुनावमा आफू नेतृत्वको पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । आज बागलुङको बुर्तिबाङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै देश बनाउने योजना, नीति र कार्यक्रम एमालेबाहेक अरु कुनै दलको नभएको बताए । ‘यो देशमा एमालेबाहेक कुनै पनि दलको मुलुक बनाउने भिजन नै छैन, अरुको दलको कसरी सत्तामा पुगौँ र बाँडीचुँडी खाउँ भन्ने छ, अबको चुनावबाट एमालेले एकल बहुमत ल्याउँछ, सबैभन्दा ठूलो दल भन्ने नै भइहाल्यो, हामीले ल्याएका नीति कार्यक्रमलाई कार्यान्वयन गछौँ, अरुले चुनाव जित्नलाई बनाएको अस्त्र मात्रै हो उनीहरुमा त्यो क्षमता छैन,’ अध्यक्ष ओलीले भने । उनले एमालेले एकल बहुमत आए पनि अहिले गठबन्धन गरेका दललाई पनि सरकारमा समावेश गर्ने बताए । देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वाभिमानका लागि एमालेको जीत अनिवार्य रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफ्नो सरकार बने सुकुम्बासी, आदिवासी, जनजाति र दलितका समस्या समाधान गर्ने बताए ।
फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार
काठमाडाैं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो । फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्ब बढिको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठुलो परिवर्तन ल्याउँदै जान थालेकोे छ । मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन कम्पनीकाे नगद रहित समाजको परिकल्पनले छाटो समयमै राम्राे नतिजा दिँदा निकै खुशी भएकाे बताए । यसले नगदको प्रयोगमा कमी ल्याउँदै डिजिटल इकोनोमीको बाटोमा अझ रफ्तारमा लगेको उनले बताए । क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय मर्चेन्टहरु समेत उत्साहित देखिन थालेका छन् । काठमाडौ नरेफाँटका किराना व्यवसायी सम प्रसाद आपागाइँ भन्छन्, ‘सुरु सुरुमा त मलाई त्यति पत्यार लागेको थिएन, कसले पो तिर्ला भनेर ? बैंकले नै भनेपछि मर्चेन्ट बने, आजभोली मेरो पसलमा आउने धेरैले क्यूआर मार्फत भुक्तानी गर्नुहुन्छ । यसरी कारोबार भएकोमा म दंग छु, खुद्रा पैसाको झञ्जट नहुने र बैंकमा पनि जान नपर्ने रहेछ, अहिले त मलाई धेरै सहज बनाएको छ यसले ।’ यता आम प्रयोगकर्तालाई पनि यसले सहज बाएको ग्राहकको अनुभव छ । भक्तपुरकी गृहणी जमुना भट्टराईको अनुभव छ, ‘श्रीमानले हरेक महिना घर खर्चको लागि बैंकमा पैसा राखिदिनुहुन्छ, मलाई तरकारी देखि फलफुल, मासु सबै किन्न पैसा बोक्न पनि परेन, खुद्रा भएन भन्न पनि परेन यसले निकै सजिलो बनाएको छ ।’ नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आवद्ध छन् । एक करोड ७० लाखभन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।