विकासन्युज

निर्माण उपकरणमाथिको आक्रमण नरोकिए महासंघले देशव्यापी आन्दाेलन गर्ने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिए देशव्यापी आन्दाेलन गर्ने जनाएकाे छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् । उनले राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा कात्तिक १४ गतेका दिन ओखलढुंगा जिल्लामा पर्ने वाङगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी गरिए बताउँदै उक्त आक्रमणको भत्सर्ना गरेका छन् । ‘शान्तिपूर्ण र सुरक्षित वातावरण बिना विकास निर्माणका काममा गम्भीर असर पर्ने मात्र नभई निर्माण उद्योग समेत धाराशायी हुने र यसमा आवद्ध हजारौ व्यवसायी पेशाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ, विगतमा झै हाम्राे सहिष्णुतालाई कमजोरीको रुपमा लिए देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको माग सहित देशव्यापी प्रदर्शनमा उत्रन बाध्य हुनेछाैं,’ विज्ञप्तिमा भनिएकाे छ । विज्ञप्तिकाे अनुसार ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सृजनशील कन्स्ट्रक्शन काठमाडौंको स्वामित्वमा रहेको बा ३ क ४३०६ नम्बरको एस्काभेटरम चिसङ्खगढी गाउँपालिका वडा नम्बर-२ मा अज्ञात समुहबाट आगजनी भएकाे थियाे । महासंघले पीडित निर्माण व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिलाउन र घटनामा संलग्न आपराधिक समुहलाई कडा कानूनी कारबाहीकाे लागि सरकारसँग माग पनि गरेको छ ।  

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र दराजबीच दराजको ११ः११ अफरमा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराज अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म भएका छन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

सेयर बजारमा दुई अर्बको कारोबार, सबैभन्दा धेरै कमाउने र गुमाउने दुवै लघुवित्त

काठमाडौं । सोमबार सेयर बजार ६.४३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घट्दा सेयर विन्दु १९५२.९४ मा पुगेको छ । नेप्सेको अनुसार केही अंकले घटेको सेयर बजारमा कारोबार रकम भने उच्च देखिएको छ । आज ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, सबैभन्दा कमाउन र गुमाउनेमा दुवै लघुवित्त रहेका छन् । सबैभन्दा बढी कमाउनेमा धौलागिरी लघुवित्त रहेको छ भने गुमाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ ।

नेप्सेको डाटा प्रयोग गर्न २ लाखसम्म तिर्नुपर्ने, कसले कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ‘तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७९’ सार्वजनिक गरेको छ । आफ्नो तथ्यांकलाई सुरक्षित र भरपर्दो बनाउनको लागि नेप्सेले कार्यविधि मार्फत शुल्क तोेकेर काम गर्न लागेको हो । कार्यविधिका अनुसार अब विभिन्न व्यक्ति तथा संघ संस्थाले नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि शुल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेन्ट कम्पनी, सञ्चार माध्यम, तथ्यांक वितरक, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्था लगायत विदेशी कम्पनी वा व्यक्तिले नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि तोकिएको शुल्क तिर्नुपर्ने भएको हो । कार्यविधिमा उल्लेख गरिएअनुसार अब विभिन्न व्यक्ति तथा संस्थाले एक मिनेटदेखि ५ वर्षसम्मको समयावधि तोकेर शुल्क निर्धारण गरेको छ । नेप्सेले व्यक्ति तथा संस्थालाई मासिक न्यूनतम एक हजार रुपैयाँदेखि ५ वर्षसम्म अधिकतम २ लाख रुपैयाँसम्म शुल्क तोकेको छ । उक्त शुल्क तथ्यांक प्रयोगकर्ताले नेप्सेलाई अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । सबै घाटा र खर्चहरुको क्षतिपूर्ति दिनुपर्ने दोश्रो पक्षले प्रयोग गरेको प्रणालीको कारणले प्रथम पक्षका प्रणालीमा क्षति पुगेमा वा आफ्नो तर्फबाट भएको सम्झौताको शर्तहरुको उल्लंघनबाट अर्को पक्षलाई हानी पुग्न गएमा सबै घाटा र खर्चहरु क्षतिपूर्ति दिनु पर्नेछ । कुनै वारेन्टी तथा ग्यारेण्टी नरहने नेप्सेले तथ्यांक जे जस्तो छ सोही अवस्थामा प्रदान गरिने कार्यविधिमा उल्लेख छ । यस्तो छ कार्यविधि [pdf id=362576]

मुस्ताङमा पर्यटकले होटलहरू भरिए, व्यवसायी भन्छन् : बल्ल उत्साह थपियो

काठमाडौं ।  हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको छ भने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरुमा भरिभराउ छन् । वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीहरुमा सिजनको समयमा पर्यटक वृद्धि हुँदा उत्साहित भएका छन् । मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटनको संख्या बढेसँगै मुस्ताङका होटलहरुमा विदेशी र आन्तरिक पर्यटनहरुको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरु बताउँछन् । सामान्यतया अवस्थाको तुलनामा दशैँ तिहारपछि मुस्ताङका होटलहरुको अकुपेन्सी दर ८० प्रतिशत भन्दामाथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरुले बताए । इरिक इन होटलका सञ्चालक सुजन तुलाचनले तिहारपछि मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक,भारतीय र अन्य विदेशी पर्यटनहरुले मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरु भरिएको बताए । ‘नेपाली र भारतीय पर्यटकले होटलहरु फुल अकुपेन्सी चलेको छ. सञ्चालक तुलाचनले दुई वर्ष कोभिडको मार र यो वर्ष दशैँपछि अविरल वर्षाको कारण बाटोको समस्याको कारण अफ्ट्यारो परेपनि तिहारपछि भने पर्यटनको आगमन बढेकाले थप उत्साह थपेको छ,’ उनले भने । त्यस्तै, मुस्ताङ मुक्तिनाथमा रहेको ग्राण्ड समवाला होटलका सञ्चालक सुरज गुरुङले पनि तिहारपछि मुस्ताङका सबै होटलहरुमा आन्तरिक, भारतीय र विदेशी पर्यटनहरुले कोठा भरिभराउ रहेको बताए । ‘मुस्ताङमा अक्टोबर र नोभेम्बर महिना ट्रेकिङ र मुक्तिनाथ दर्शनका लागि पर्यटक बढ्छ, गुरुङले विगतका वर्षहरुको भन्दा अहिलेको सिजनमा होटल व्यवसायीहरुको लागि सन्तोषजनक रहेको छ,’ उनले भने ।  उनले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक भारतीय र आन्तरिक तथा ट्रेकिङ पर्यटनको लागि स्थानीय तथा केन्द्रिय सरकारले बाटो सहज बनाउनसके सबैखाले पर्यटक भित्र्याउन सकिने बताएका छन् । मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबैभन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको देखिन्छ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बाक्लो छ । पर्यटकहरुको चहलपहल बढेअनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटल तथा अन्य पर्यटन पूर्वाधारको विकास र विस्तार पनि बढ्दै गएको छ । मुस्ताङमा पर्यटन पूर्वाधार विकास र बिस्तार तिब्र रुपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरुको धार्मिक तिर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नसक्छ । मुस्ताङका प्रमुख पर्यटकिय गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताल लगायतमा पर्यटक बढेका छन् । मुस्ताङ देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । पछिल्लो समय नेपालका सबै पर्यटकिय क्षेत्रमा पर्यटक बढेसँगै १० महिनाको अवधिमा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल आएको बोर्डले जनाएको छ । अक्टोबर महिनामा कोरोना भाइरस महामारी शुरु भएयताकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएका छन् । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए ।

दश दिनमा ‘महापुरुष’ले कमायो ६ करोड रुपैयाँ

काठमाडाैं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा एकदमै राम्राे कमाइ गरिरहेकाे छ । निर्माताकाे अनुसार फिल्मले दश दिनमा साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरिसकेकाे छ । फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । तयस्तै, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराईलीलगायतको पनि अभिनय रहेको छ । षट्कोण आर्टस्को ब्यानरमा निर्माण भए यस फिल्मकाे निर्देशक प्रदिप  भट्टराई रहेका छन् । याे उनकाे चौथो फिल्म हो । फिल्मको कथालाई उनले नै लेखेका छन् ।

सर्पको डसाइबाट मात्र भारतमा वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ । भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ । भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो । विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतमा मात्र ६४ हजार जना भन्दा बढी रहेका देखाइएको छ । भारतको पनि उत्तर प्रदेशमा सबैभन्दा धेरै मानिसको सर्पको डसाइबाट मृत्यु हुुने गरेको छ । यस प्रदेशमा मात्र १६ हजार भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको सो अनुुसन्धानले देखाएको छ । त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ । भारतको मध्य प्रदेशमा पाँच हजार सात सयको ज्यान गएको थियो । त्यसपछि भारतको राजस्थानमा पाँच हजार तीन सय जनाको सर्पले डसेर ज्यान गएको थियो । संसारमा प्रति एक लाख जनामा ०।८ जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतको तुलनामा यो निकै थोरै हो । यता भारतमा प्रति एक लाख जनामा चार जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ । रासस

व्यावसायिक तरकारी खेतीबाट वार्षिक नौ लाख नाफा गर्छन् पोखराका किसान

लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग एक सय ५० रुपैयाँ तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी एक हजार रुपैयाँ पुगेको थियो । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो । पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेकी भदौ र आसोज महिनामा उत्पादन गरिएको काँक्राले मात्र एक लाख रुपैयाँ आम्दानी गरायो । यसै महिनामा उत्पादन भएको सिमीले ५० हजार रुपैयाँ मुनाफा दियो । बजारमा यतिबेला सिमीको मूल्य प्रतिकेजी एक सय २० रुपैयाँ थियो । तीन रोपनी जग्गामा लगाइएको तरकारीबाट मासिक ३० हजार रुपैयाँ मुनाफा हुने गरेको कृषक मिजारले सुनाइन् । उनको पति कुमार रोजगारीका लागि कतारमा छन्, कतार गएको पनि तीन महिना मात्र भयो । स्याङ्जा आरुखर्कबाट पाँच वर्षअघि विवाह गरेर भुम्दी आएकी अप्सराले गाउँका किसानले व्यावसायिकरुपले तरकारी खेतीबाट मनग्य आम्दानी गरेको देखेर उनी पनि तरकारी खेतीतर्फ आकर्षित भएकी थिइन् । गाउँलेको तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको पाँच वर्ष भयो, यस अवधिमा उनले मासिक ३० हजार रुपैयाँ आम्दानी गरेर आत्मनिर्भर हुँदै आएकी हुन् । अप्सराले भनिन्, ‘तीन वर्षदेखि तरकारी खेतीको आम्दानीले नै परिवार पालिएको छ । यतिबेला भाडाको जमिनमा केराउका बेर्ना लगाइएको छ । यस गाउँमा व्यावसायिक कृषि सुरु भएको १८ वर्ष पुगिसकेको छ । एक सयभन्दा वढी किसानले तरकारी खेती गर्दै आएका छन् ।’ भुम्दीका अधिकाशं परिवारले तरकारी खेतीमै व्यस्त छन् । किसानको उत्पादन बारीबाटै बिक्री हुँदै आएको छ । अठार वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका ४९ वर्षीय श्यामु अधिकारीले नौ रोपनी जमिनमा तरकारी खेती गर्दै आएका छन् । छ रोपनी आफ्नै र तीन रोपनी जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गरेका उनले प्रतिवर्ष नौ लाख रुपैयाँ मुनाफा गर्दै आएका छन् । पछिल्लो समय तरकारीले बजार र मूल्य पनि पाउन थालेको छ । यहाँ उत्पादन भएको तरकारी पोखरा बजारमा बिक्री हुने गर्छ । आफूले पाँच जनाको परिवार तरकारीबाट नै पाल्दै आएको जानकारी दिँदै श्यामुले भने– ‘यहाँका किसानलाई प्राविधिक ज्ञान र कोल्ड स्टोरको खाँचो छ ।’ किसानले गोलभेडा, काउली, सिमी, काँक्रो, साग, मुला, बन्दा, करेला, घिरौँला, धनियाँ, फर्सी, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।’ कृषि फार्म सञ्चालन गर्दै आएका श्यामुले कुखुरा र भैँसी पालनसमेत गरेका छन् । यतिबेला उनका बारीमा अन्नपूर्ण दामी र वाइट टप जातका काउली लहलह भएका छन् । बारीमा काम गर्दै गरेका उनले भने, ‘सधै ओझेलमा पारेका किसानको उत्पादनले बल्ल बजार र मूल्य पाउनु थालेको छ ।’ गाउँमा कृषि समूह बनाएर तरकारी खेती गर्ने थुप्रै किसान छन् । अर्का तरकारी खेती गर्दै आएका रमेश अधिकारीले भने, ‘माटोमा खेल्न सके सफल भइँदोरहेछ । चार पाँच रोपनी जग्गामा लगाइएको तरकारी खेतीको आम्दानीले एक परिवार सजिलै पाल्न सकिने रहेछ । कसैसँग ऋण माग्न जानु परेको छैन, दुई छाक खान र छोराछोरी पढाउन पनि पुगेको छ आवश्यक परेमा केही पैसा गोजीबाट निकाल्न पनि सकिने तरकारी खेतीले बनाइदियो ।’ सोही गाउँ निवासी ५५ वर्षीया किसान धनकुमारी गुरुङले आफू विवाह गरेर यहाँ आउँदा लोग्ने छोराले रक्सी पिउने र तासै मात्रै खेल्ने गर्थे, सडकसँगै तरकारीको व्यावसायिक खेती हुन थालेपछि अहिले गाउँमा जुवातास खेलेको देख्न पाइँदैन, ७५ वर्षका वृृद्धवृद्धासमेत तरकारी बारीमा व्यस्त भएको देखिन्छ । गाउँमा तरकारीले अनौठो परिवर्तन ल्याइदियो उनले भनिन् । किसानले उत्पादन गरेको तरकारी अवलोकनका लागि आइतबार बिहान पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया, वडाध्यक्ष हिमलाल बरालसहित सञ्चारकर्मीको टोली त्यहाँ पुगेको थियो । अवलोकनमा आएका पाउनालाई उक्त गाउँका किसानले यहाँका एक सय घरपरिवारले वार्षिक दुई करोडभन्दा बढीको तरकारी उत्पादन गर्दै आएको जानकारी दिए । तरकारी खेती अवलोकन गर्दै प्रमुख कडरियाले यस गाउँबाट अन्य गाउँका किसानले पनि व्यावसायिकरुपले तरकारीे खेती सिक्न जरुरी भएको बताए । घरका मान्छे विदेश भए पनि र यहाँका बाझो जग्गा भाडामा लिएर पनि व्यावसायिक तरकारी सुरु हुनु कृषिमा क्रान्ति भएको उनले प्रतिक्रिया दिए । वडाध्यक्ष बरालले तरकारीमा सिँचाइको लागि पानी अपुग भएमा थप स्रोतबाट पानी ल्याउनका लागि आफूले वडाको तर्फबाट पाइप उपलब्ध गराइदिने आश्वासन दिए । पुम्दी र भुम्दी दूध र तरकारी उत्पादनमा कास्कीमै अगाडि भएकाले यहाँका किसानलाई व्यावसायिक तालिमको व्यवस्था गर्नसमेत उनले कृषि महाशाखालाई आग्रह गरे ।