यस्तो छ मंगलबार कालिमाटिको तरकारी तथा फलफूलको मूल्य
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । मंगलबारका लागि समितिले सार्वजनिक गरेको मूल्य यसप्रकार छ [pdf id=362755]
आज चन्द्रग्रहण लाग्ने : के गर्ने, के नगर्ने, कुन राशिलाई के हुन्छ ?
काठमाडौं । आज कार्तिक २२ गते शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार बेलुकी ५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ‘आज ग्रहणले पूरै चन्द्रमा ढाक्नेछ, जसलाई खग्रास भनिन्छ, बेलुकी ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिनेछ, बेलुकी ५ः२७ बजे ग्रहणको उन्मीलन हुने छ, बेलुकी ६ः३४ बजे ग्रहण सकिनेछ,’ पञ्चाङ्ग निर्णायक समितिले भनेको छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहण लाग्ने भएकाले आज मङ्गलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्नुपर्नेछ । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रमा उल्लेख गरिएको छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राषिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । तुला राशिलाई स्त्री पीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने उल्लेख छ ।
प्रतिकित्ता १ सयमा राधी बिद्युतले कार्तिक २९ देखि सेयर बिक्री गर्दै
काठमाडौं । राधी बिद्युत कम्पनीले अवितरित हकप्रद सेयर कार्तिक २९ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको बिक्री हुन बाँकी रहेको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने जनाएको हो । कम्पनीले यसअघि असोज ५ गतेदेखि असोज २५ गतेसम्म बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ५ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले कार्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । उक्त सेयरमा लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग
काठमाडौं । निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा छन् । विदेशी बजारमा समेत निर्यात गर्न सुरु गरेका छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बनेको छ। व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । उद्योग अहिले बन्द अवस्थामा छ। दसैँपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन । द्योग सञ्चालनको पहल गरिदिन त्यहाँका ट्रेड युनियनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छन् । उच्च व्यवस्थापनले उद्योगलाई धराशायी बनाएको ट्रेड युनियनको आरोप छ । उद्योगमा आर्थिक हिनामिना र अनियमितता भएको आरोप लगाएका हुन् । उद्योग डुबाउने खेल सुरु भएको अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विश्वेश्वर पालले बताए। इआरपी सिस्टममा पहिला पैसा आएको देखाउने सिमेन्ट गएपछि पैसा जम्मा नभएका उदाहरण पनि रहेको पालले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
आजदेखि बीमा प्राधिकरण
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय अर्थात् नियमन गरिरहेको बीमा समिति आज मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण हुने भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ ३१ गते प्रतिनिधि सभा अर्थात् संघिय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुने बीमा समितिले जनाएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी समितिलाई प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिनेछ ।
नागरिक स्टक लाभांश घोषणा, मंसिर १८ गते बोलायो साधारणसभा
काठमाडौं । नागरिक स्टक डिलरले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अर्थात् २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । साथै कम्पनीको सोही बैठकले आफ्नो वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले तेस्रो वार्षिक साधारण सभा मंसिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजे बोलाएको हो । सभामा लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्निे र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ । यस्तै, सभाले बोनस सेयरपश्चात् हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने र रिक्त रहेको सञ्चालक पदमा सञ्चालक नियुक्त गर्नेछ ।
कालिका लघुवित्तको खुद नाफासँगै ईपीएसमा भारि गिरावट
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी २९.७२ प्रतिशत घटेर १ करोड ५१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.८६ प्रतिशत घटेर ८ करोड ६३ लाख रुपैयाँ र सञ्चालन मुनाफा ६७.४८ प्रतिशत घटेर ८४ लाख रुपैयाँमा सिमित भएको छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.७२ प्रतिशत बढेर ३१ करोड २८ लाख रुपैयाँ, जगेडा कोष २४.३३ प्रतिशत बढेर २४ करोड ४ लाख रुपैयाँ, सापटी २९.८६ प्रतिशत बढेर १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ, निक्षेप १५.०३ प्रतिशत बढेर १ अर्ब ४४ करोड ८३ लाख रुपैयाँ र कर्जा १६.६५ प्रतिशत बढेर ३ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ५२.३६ रुपैयाँ घटेर १६ रुपैयाँ ८३ पैसामा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ३.३७ प्रतिशत छ ।
प्रचारप्रसारमा टोपी प्रयोग गरेपछि दाहाल, श्रेष्ठ र लामिछानेलाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ । अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो । यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ । निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र उहाँहरूलाई निर्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ । पत्रमा उहाँहरूलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को विपरीत भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३)र (४) बमोजिमको कारबाही किन हुनुनपर्ने हो ? भनी सोधिएको छ ।