विकासन्युज

सातै प्रदेशमा विस्तार हुँदै मेडिसिटी अस्पताल, साकार हुँदै डा. महतोको सपना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा ललितपुरको नख्खुमा निर्माण भएको मेडिसिटी अस्पतालले ०७४ असोजदेखि उपचार सेवा शुरु गरेको हो । ३० रोपनी क्षेत्रफलमा १२ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएको अस्पतालले उपचार सेवा प्रारम्भ गरेको ५ वर्ष पुरा गरिसकेको छ । विशाल भौतिक संरचना र क्षेत्रफलमा फैलिएको अस्पतालले सातै प्रदेशमा स्याटेलाईट अस्पताल विस्तारको प्रकृया अगाडि बढाएको छ । अस्पतालका लगानीकर्ता उपेन्द्र महतोले सेवा प्रारम्भको अवसरमा आफ्नी आमाले उपचारको अभावमा ज्यान गुमाउनुपरेको र कयौं नेपालीको सोही स्थिति रहेको  अनुभवमा आफूले सो अस्पताल निर्माण गरेको बताएका थिए । नेपालको स्वास्थ्य क्षेत्रमा एउटै अस्पतालमा धेरै ठूलो लगानीका साथ सुरु गरिएको सो अस्पताललाई दक्षिण एसियाकै राम्रो अस्पताल बनाउने योजना महतोको छ । अस्पतालले उपलब्ध गराउने सेवा ७ सय ५० बेड क्षमता रहेको अस्पतालले ५ वर्ष पुरा गर्दा ३ सय ५० बेडलाई सञ्चालनमा ल्याएको छ । जसमा साधारण, सेमी–प्राइभेट, प्राइभेट र आइसियु बेड रहेका छन् । संरचनात्मक रुपमा हेर्दा अस्पतालले बाँकी अझै ४ सय बेड विस्तार गर्ने क्षमता राख्छ । अस्पतालले आकस्मिक, ओपीडी र रिफरल सेवा उपलब्ध गराउँदै आएको छ । अहिले अस्पतालमा दैनिक रुपमा औसत ६ सय देखि १ हजार सम्मको संख्यामा बिमारीहरु ओपीडी सेवा लिन आउने गरेका छन् । जसको दर्ता शुल्क ८ सय २५ रुपैयाँ लिने गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमा संख्या र शुल्कमा यो झण्डै मिल्दोजुल्दो रहेको देखिन्छ । ओपिडी सेवा बिहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन हुने गरेको छ । ‘एक अस्पताल एक डाक्टर’ को अवधारणालाई मेडिसिटीले अंगिकार गरेको छ । अहिले अस्पतालमा १ सय ५० जना कन्सल्ट्यान्ट डाक्टर, ४ सय जना भन्दा धेरै नर्स र ४ सय भन्दा धेरै कर्मचारीहरुले काम गर्दै आएका छन् । जसमा ८० प्रतिशत भन्दा बढी डाक्टरहरु सोही अस्पतालमा मात्रै कार्यरत रहेर सेवा प्रवाह गर्दै आएको अस्पतालले जनाएको छ । जसले गर्दा अस्पतालमा उपचार गर्न आउने बिमारीहरुले २४सै घण्टा कन्सल्टेन्ट सेवा पाउने अवस्था रहेको छ । तर, केही विषयगत उपचारमा अर्थो, लगायत केही विषयगत कन्सल्टेन्ट भने अस्पतालले पार्ट टाइम रुपमा खरिद गरेको छ । अस्पतालले १७ वटा उपचारका विषयमा केन्द्र तथा विभाग बनाएर उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा डाइग्नोस्टिक मेडिसिन, न्यूरोसाइन्स, कार्डिया साइन्स, डाइजेस्टिभ डिजेज, अर्थोपेडिक, मदर एण्ड चाइल्ड केयर, रेनल साइन्स, क्यान्सर केयर, इएनटी हेड निक सर्जरी, इन्टरनल मेडिसिन–इन्डोक्राइनोलोजी एण्ड वेलनेस, पेरी अपरेटिभ मेडिसिन, इमर्जेन्सी मेडिसिन एण्ड प्रि–हस्पीटल केयर र साइकोथेरापी एण्ड रिहाबिलेसनलाई उपचार सेन्टरको रुपमा रहेका छन् । त्यस्तै डामार्टोलोजी, डेन्टीस्ट्री, ओप्थोमालोजी र साइकाट्रीलाई अस्पतालले विभागको रुपमा सञ्चालन गर्दै आएको छ । अस्पतालको विशेष सेवा मेडिसिटी अस्पतालले अपेक्षित रुपमा द्रुत गतिमा विकास नगरेको देखिएतापनि केही उपचार सेवाको केही विषयमा तुलनात्मक रुपमा विकसित नयाँ गरेको बताउँछ । एउटै छातामुनी सबै स्पेशियालीटी सुविधा दिने उद्देश्यलाई प्रमुखताकासाथ अवलम्बन गरेर काम गर्दै आएको अस्पतालको दाबी रहेको छ । भर्खर केही समयअगाडि मात्रै अस्पतालले मृगौला प्रत्यारोपण गर्ने अधिकार प्राप्त गरेको छ । तर, अब केही समयमा नै सो सम्बन्धी सेवा सुचारु गर्ने तयारी गरेको छ । मेडिसिटीले ठूलो लगानीमा ‘ए’ लेभलको प्रयोगशाला निर्माण गरेर सञ्चालन गरिरहेको छ । अन्य धेरै सुविधाकासँगै ‘फ्लो साइटोमेट्री’ ल्याब अस्पतालले सञ्चालनमा ल्याएको छ । त्यसको सञ्चालनका लागि अस्पतालले विशेषज्ञहरुको समेत व्यवस्था गरेको छ । यो ल्याबले क्यान्सर रोगबारे अनुसन्धान गर्न सहयोग पुर्याउँछ । अस्पतालले एफ्रेसिस (APHERESIS) प्लाज्मा थेरापी सुविधा सञ्चालनमा गरेको छ । जुन थेरापी गम्भिर रोगहरुको उपचारमा गर्ने गरिन्छ । तत्कालिन प्रधानमन्त्री केपी ओली मृगौलामा समस्या देखिएपछि प्लाज्मा थेरापीको लागि सिंगापुर गएका थिए । अस्पतालले आइसियु उपचारमा अन्तर्राष्ट्रिय उपचार मापदण्डअनुसार सम्पूर्ण केयर गर्ने पद्दतीलाई लागु गरेको छ । जहाँ बिमारीको उपचार, स्याहारसुसार र खानपिनको काम अस्पताल कर्मचारीबाट नै गर्ने गरिन्छ । आइसियु उपचारमा रहेको बिमारीलाई खानाको व्यवस्था समेत अस्पतालले नै गर्ने गर्छ, बाहिरबाट लैजान पाईंदैन । यस्तो सुविधा अन्य केही निजी अस्पतालहरुले पनि गर्ने गरेका छन् । अस्पतालले फेटल मेडिसिनको सञ्चालन गरेको छ । यो सेवामार्फत गर्भमा रहेको शिशुको विकास कसरी भइरहेको छ र स्वास्थ्य कस्तो अवस्थामा छ भन्ने विषयमा अनुसन्धान गरिन्छ । अस्पतालले यसको लागि प्राविधिक र जनशक्तिको व्यवस्था गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा प्रवक्ता जयन्द्र बज्राचार्यका अनुसार यो सुविधा नेपालको हकमा नयाँ हो । दुर्घटना अथवा हेलिकप्टरमार्फत आकस्मिक सेवा लिन पर्ने बिमारीहरुलाई मध्यनजर गरेर अस्पतालले हेलिप्याडलाई सञ्चालनमा ल्याएको छ । यस्तो सुविधा सिमित अस्पतालहरुमा मात्रै पाउने अवस्था रहेको छ । पछिल्लो समय अस्पतालले क्यान्सरका रोगीहरुलाई लक्षित गरेर ‘मेडिसिटी अंकोलोजी सेन्टर’को विकास गरेको छ । जसको लागि भिन्दै फ्ल्याट संरचनाको व्यवस्था गरिएको छ । क्यान्सर रोगीहरुलाई मेडिकल अंकोलोजीको सेवा प्रदान गर्दै आएको अस्पतालले छिट्टै नै बोनम्यारो ट्रान्सप्लान्ट र रेडियोथेरापी प्रविधि सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ । क्यारोप्याट्रिक उपचार पनि मेडिसिटीले शुरुवात गरेको नयाँ उपचार सेवा हो । डा. बज्राचार्यका अनुसार नन रिफरल सेवा नै मेडिसिटीको अन्यको तुलनामा नयाँ विशेषता हो । उनले अस्पतालले सबै कुराको उपचार गर्ने हुँदा बिमारीले सम्पूर्ण उपचार अस्पतालबाट नै प्राप्त गर्न सक्छ । अनुसन्धानमा सहकार्य मेडिसिटीले आफ्नो क्षमता विस्तारको लागि सहकार्यलाई पनि जोड दिँदै आएको छ । त्यसका लागि देशभित्रका विभिन्न मेडिकल कलेज, अनुसन्धानकर्ता र विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरिरहेको छ । नेपाल इन्टेन्सिभ केयर फाउन्डेसन’सँग पनि अनुसन्धानमा सहकार्य गर्ने गरेको छ । जसले आइसियुमा आधारित उपचार पद्दतीको विषयमा अनुसन्धान गर्ने गरेको छ । त्यस्तै, अस्पतालले काठमाडौं उपत्यका र बाहिरका केही अस्पताल तथा क्लिनिकहरुमा उपचारको लागि सहकार्य समेत गर्दै आएको छ । बीमा, जेष्ठ नागरिक तथा विपन्न उपचार सेवा अस्पतालले नेपाल सरकारद्वार सञ्चालित स्वास्थ्य बीमा बोर्डको कार्यक्रम सञ्चालन गरेको छैन । तर, घातक रोगहरुमा जेष्ठ नागरिक र विपन्नले उपचारमा पाउने सहुलियत कार्याक्रमलाई भने सञ्चालन गर्दै आएको छ । त्यस्तै अस्पतालले भारतीय सेनाका पूर्व सैनीकहरुको उपचारमा सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमसँग जोडिएर ठूलो संख्याका बिमारीहरुले अस्पतालबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ । अस्पतालले उपचार सेवा प्रारम्भको प्रकृयामा प्रिमियर इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको थियो । तर, सो कार्यक्रम त्यति प्रभावकारी नदेखिएको जनाएको छ । आगामी दिनमा स्वास्थ्य बीमा प्याकेज ल्याउने विषयमा पनि छलफल प्रारम्भ भएको अस्पतालले जनाएको छ । देशव्यापी विस्तार हुँदै मेडिसिटी निजी क्षेत्रबाट सञ्चालन गरिएका अस्पतालहरु पनि एक प्रकारका सेवामुखी व्यवसाय हुन् । नाफा आर्जन नगरी ती व्यवसायहरु लामो समयसम्म सञ्चालन हुन वा टिक्न सक्दैनन् । त्यसमा पनि दक्षणि एसिया स्तरकै अस्पताल बनाउने भनेर शुरु भएको मेडिसिटीले किन तुलनात्मक रुपमा गति लिन सकेन रु भौतिक पूर्वाधार, प्रविधि र जनशक्तिको अनुपातमा मेडिसिटी अस्पतालको व्यवसाय भने मिल्दोजुल्दो देखिँदैन । सेवा प्रारम्भबाट ५ वर्षको अवधिसम्म आइपुग्दा कतिपय प्रविधि सञ्चालन गर्ने कुरामा अस्पतालले ढिलाई गरेको स्वयम् अस्पताल पनि स्वीकार्छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा प्रवक्ता  बज्राचार्यका अनुसार कपितपय प्रविधिको जडानमा लागत धेरै हुने हुँदा पनि ढिलाई भएको हो । अस्पतालले स्थापनाकालदेखि निरन्तर रुपमा प्रविधि र सेवाको पाटोमा विकास गर्दै गएकाले विकास नभएको भन्न नमिल्ने बताए । ‘अस्पताल शुरु गरेपछि धेरै सर्भिस थपेका छौं, ट्रान्सप्लान्ट शुरु गरेका छौं, यो प्रगति नै हो’, डा. बज्राचार्यले बताए । अस्पतालले रेडियोलोजी सेवा थप्ने तयारी गरेको तर ढिलाई हुनुको कारण लागत बढी भएको डा। बज्राचार्यले बताए । ‘रेडियोथेरापीको सञ्चालनका लागि धेरै लगानी लाग्छ, त्यसको लागि सरकारले पनि सुविधा दिनुपर्छ’, उनले भने, ‘लगानी धेरै हुने कारणले नै ढिला भएको हो ।’ रेडियसन कन्ट्रोल हुने ठाउँ सरकारले नै बनाउने वा बनाउनेलाई सहयोग गर्नुपर्ने उनले बताए । संस्थाको आर्थिक पाटोको विषय ‘प्राइभेसी’को कुरा भएकाले सो सँग सम्बन्धित विकासको अवस्थाको विषयमा आँफूले बताउन नमिल्ने उनले बताए । तर, मेडिसिटीले ७ प्रदेशमा आफ्नो स्याटेलाइट अस्पताल विस्तार गर्ने कार्यक्रम अगाडि बढाएको उनले बताए । सोही क्रममा वीरगञ्जको वयोधा अस्पताल प्राप्ति गरिएको डा‍.बज्राचार्यको भनाइ छ ।

लुम्बिनी बिकास बैंकले नेशनल प्याब्सन मधेश प्रदेश समितिकालाई बीमा सेवा दिने

काठमाडाैं । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच सम्झौता भएको छ । बैंक र विद्यालयबीच सेवा सुविधा आदान प्रदान गर्ने सम्झाैता भएकाे हाे । सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आवद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीलाई लुम्बिनी विकास बैंकले दुर्घटना बीमाका साथै स्वास्थ्य बिमा सुविधा प्रदान गर्ने छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका छन् । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ ।  

एसियाली विकास बैंकले नेपालकाे ओखर र फलफूलमा ९ अर्ब लगानी गर्ने

काठमाडौं । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब एक अर्ब ३० करोड अनुदान व्यहोर्ने छ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ । उक्त परियोजनाबाट प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । सम्झौता अनुसार, जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइनेछ ।

पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रन्छौं : लगानीकर्ता

काठमाडौं । सेयर लगानीकर्ताको साझा ९ संस्थाले पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रिने जनाएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै ९ संस्थाले यस्तो बताएका हो । उनीहरुले माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारबाट अन्य निकायहरुद्धारा चालिएका कदमहरु रोक्ने काम भए ५८ लाख लगानीकर्ताको तर्फबाट सबै संघ संस्थाहरु सडकमा उत्रने विज्ञप्तिमार्फत जनाएका छन् । नेपालको पूँजी बजारलाई सिमित व्यक्ति र संस्थाले पकडमा मात्र राखिरहन खोज्दा ४० खर्बभन्दा बढीको पूँजीकरण अहिले २८ खर्बमा झरेको र लाखौ लगानीकर्ता पलायन हुन बाध्य भएको जारी उनीहरुको भनाइ छ । अहिले हुन लागेका सुधार र विस्तारको काम रोकिए नेपालको पूँजी बजारले झन ठुलो क्षति  भोग्नुपर्ने र वर्षै पछाडि धकेलिने बताउँदै उनीहरुले विरोध सिर्जना नगरी लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्न माग गरेका छन् ।      

सातामै २१ अर्बले बढ्यो निक्षेप, घट्यो कर्जा लगानी र सीडी रेसियो

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अनुसार कार्त्तिको तेश्रो सातामा बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो । दोश्रो साता ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो साता बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । जुन कार्त्तिको पहिलो सातामा भने ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । समीक्षा अवधिमा निक्षेप बढेपनि कर्जा लगानी भने घटेको छ । दोश्रो साता ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले तेश्रो सातामा ४२ खर्ब २४ अर्ब रुपैयाँमा सीमित भएका छन् । जुन पहिलो साता भने ४२ खर्ब २५ अर्ब रुपैयाँ थियो । असोजको अन्तिम सातामा बैंकहरुले ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । समीक्षा अवधिमा बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८७.२१ प्रतिशतमा सीमित भएको छ । अघिल्लो साता उक्त रेसियो ८७.५८ प्रतिशतमा थियो ।

जाडो सुरु हुन थालेपछि डेङ्गु सङ्क्रमण ह्वातै घट्यो

काठमाडौं । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ । वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत मङ्गलबार यही कात्तिक १५ देखि कात्तिक २० गते सम्म छ सय २४ जनामा मात्र डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जवकी अंग्रेजी महिना अक्टोबरमा ९गत असोज १५ देखि कात्तिक १५ सम्म मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेङ्गुको सङ्क्रमण विगत दुई हप्तादेखि घटेको बताए । उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेङ्गुका बिरामी घटेको बताए । महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेङ्गुको सङ्क्रमण बढेको र त्यसपछि ३८औँ हप्तादेखि घटन सुरु भएको जानकारी दिए । उनका अनुसार ४३औँ हप्तामामा हजारभन्दा कमको सङ्ख्यामा डेङ्गुका बिरामी भेटिएका छन् । ४४औँ हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेङ्गुको सङ्क्रमण देखिएको छ । उनले अवको १५ दिनभित्र यो सङ्ख्या निकै कम हुने बताए । महाशाखाका निर्देशक डा दासका अनुसार सङ्क्रमण दर उच्च भएको बेला नेपालमा डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ चार प्रकारका देखिएका थिए । महाशाखाका निर्देशक डा दासले सङ्क्रमण अघि गरिएको १२ वटा नमूनामा सात वटामा डेङ्गु–१ र पाँच वटा नमूनामा डेङ्गु–३ देखिएको जानकारी दिए । अहिले फेरि कुन तहको डेङ्गु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ । त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन् । तीमध्ये तीन जना सघन उपचार कक्ष आइसियु र छजना साधारण शय्यामा उपचाररत रहेका छन् । अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसे विगत १५ दिनदेखि डेङ्गुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको बताए । उनले जाडो भएसँगै डेङ्गुको सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेङ्गुका बिरामी घटेको बताउँछन् । उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताउनुहुन्छ । अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो सङ्ख्या घटेको छ । साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्दथ्यो । नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका हुन् । यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेङ्गुका बिरामी भेटिएका छन् । तीमध्ये ५४ जनाको डेङ्गुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेङ्गुका बिरामी घटेको बताउँछन् । उनका अनुसार अहिले २० जना मात्र डेङ्गुका बिरामी उपचारत रहेका छन् । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेङ्गु बढेको पाइन्छ । तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेङ्गुको रोग लाग्ने गर्दछ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो ।

मंसिर १४ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान हुने

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० मङ्सिर १४ गते यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ पुस १७ गते देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताए । ‘जनवरी १ देखि पोखरा विमानस्थल सञ्चालनमा आउँछ, तर उडान सङ्ख्या तत्कालका लागि सीमित हुनेछ’, उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको सुनिश्चितता जरुरी हुन्छ ।’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । एरो थाईको जहाजबाट यान्त्रिक उडान यान्त्रिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउनेछ । उक्त जहाजले यान्त्रिक उडानमार्फत् विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको चेकजाँच गर्नेछ । एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ । सोही कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो । चराविज्ञले छोटो रिसर्च गरी चराचुरुङ्गी अनुकूल उडान हुने गरी सुरुवातमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना छ । हालको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान गर्ने योजना रहेको महानिर्देशक अधिकारीले बताए । ‘विमानस्थल नजिकै ‘डम्पिङ साइट’ र चरा बासस्थानबारे विज्ञहरुबाट ‘असिसमेन्ट अडिट’ गरी साँझ परेपछि सञ्चालन गर्ने वा उपयुक्त वातावरणमा सञ्चालन गर्ने निर्णय हुनेछ । चराचुरुङ्गीको गतिविधि कम हुने मौसममा विमानस्थलमा उडान गरिनेछ ।’ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रवद्र्धधन गर्ने सरकारी लक्ष्य छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै पोखरा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालमा सिधा जोडिनेछ । करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ । विमानस्थलमा हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । एटिसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोभिड १९ महामारी लगायतका कारण निर्माण सम्पन्न हुने केही समय ढिलाइ भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीले विमानस्थल निर्माण गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको मापदण्डअनुसार ‘फोरडी मोडल’मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्नेछ । विमानस्थलमा तीन वटा न्यारोबडी, चार वटा एटिआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ । रिट्ठेपानी डाँडा कटान सुरु ठूला जहाजको उडान एवम् अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै पर्ने रिट्ठेपानी डाँडा कटानको कार्य आजदेखि सुरु भएको प्राधिकरणले जनाएको छ । डाँडा कटानका लागि आवश्यक टेन्डर प्रक्रिया पूरा गरी काम सुरु गरिएको प्राधिकरणका महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । दुई हप्तामा १४ मिटर डाँडा काटेर यान्त्रिक उडान गर्ने विमानस्थलको योजना छ । आयोजना प्रमुख मुनाकर्मीका अनुसार आइकाओ मापदण्डअनुरुप जहाज उडान एवम् अवतरण गर्ने मार्गमा अवरोध हुनु हुँदैन । रिट्ठेपानी डाँडा धावनमार्गको ‘अप्रोच’मा पर्छ । धावनमार्गमा ‘४० मिटर ‘अप्स्ट्र्याकल’ परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ । डाँडा कटान भएपछि दुवै खाले उडान सहज हुनेछ । रासस

कुमारी बैंकको रणनीति : मर्जरपश्चात् ‘नम्बर वान’ बन्ने, पुसभित्रै एकिकृत कारोबार

काठमाडौं । कुमारी बैंकको वार्षिक साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएको छ । बैंकको सोमबार भएको २२औं वार्षिक साधारणसभाले विशेष मर्जरमा जानका लागि अख्तियारी दिएको हो । कुमारी र एनसीसी बैंकले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार कुमारी बैंकको साधारणसभाले मर्जरको सम्झौता अख्तियारी दिएको हो । दुवै बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट स्वीकृति पनि पाइसकेका छन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको थियो । दुबै बैंकले पुस १७ गतेभित्र एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।  एनसीसी बैंकले पनि मर्जर सम्झौता पारित गर्नका लागि मंसिर २ गते साधारणसभा बोलाएको छ । यस्तै, सोमबार बसेको बैंकको साधारणसभाले लाभांश पनि पारित गरेको छ । साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने धारणा राखे । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डिडिए रिपोर्ट आउँछ,’ उनले साधारणसभामा उठेका प्रश्नको जवाफ दिँदै भने । यस्तै, उनले कुमारी बैंकले राष्ट्र बैंकले प्राथमिकतामा राखेको क्षेत्रमा फोकस गरेर कर्जा प्रवाह गरिरहेको बताउँदै आजको दिनमा कुमारी बैंक सुरक्षित रहेको पनि धारणा राखे । उनले अब भोलिदेखि नै सेयरधनीकोे खातामा लाभांशको रकम जम्मा गर्ने बताउँदै आगामी दिनमा सकेसम्म बढी लाभांश वितरणमा ध्यान दिने बताए । ‘बैंककाे   क्यापिटल एडुकेसी १३ प्रतिशत पुगेको छ, राष्ट्र बैंकको नीति अनुसार ११ प्रतिशत भए पुग्छ, यस पटक तरलता सहज पार्नका लागि नगद लाभांश दिएको हौं, आगामी दिनमा पनि लाभांशको दर बढाउँदै जाने हाम्रो योजना छ,’ अध्यक्ष राणाले भने । उनले ठूला बैंकहरुसँग प्रतिस्पर्धा गर्नैका लागि भएपनि मर्जर सम्झौता गरेको धारणा राखे । उनले अब कुमारी बैंक नम्बर वान बैंक बन्ने रणनीतिका साथ अगाडि बढेको उनको धारणा छ । उनले कुमारी बैंकले दिनप्रतिदिन प्रगति गर्दै गएको धारणा राख्दै एनसीसी बैंकसँग मर्जरपश्चात नम्बर वान बैंक हुने किसिमले काम हुने बताए । ‘विगत दुइ वर्षसम्म कमजोर रहेको बैंक अहिले  टप टेनमा छौं, अब नम्बर वान बैंक बन्ने लक्ष्य हो, यसलाई छिट्टै पूरा गर्ने छौं,’ उनले भने । दुई बैंक मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारीका सीईओ रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै, गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यस्तै, कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ र एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बिजनेसमा बढ्दो ग्राफ बैंकको विगतका वर्षहरुको वित्तीय परिसूचकहरु सकारात्मक, व्यवस्थित तथा प्रगति उन्मुख रहेका छन् । हालका वर्षहरुमा आएर निष्क्रिय सम्पत्तिहरू निक्कै नै व्यवस्थित भएको छ भने बैंकको व्यापार व्यवसायहरु जोखिमको उचित मूल्यांकन गर्दै सीमित दरमा वृद्धि भैरहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा, निक्षेप तथा लगानी क्रमशः १०.९० प्रतिशत, १६.४० प्रतिशत र १.५० प्रतिशतले वृद्धि भई १५९ अर्ब ४४ करोड, १८२ अर्ब ९६ करोड र २३ अर्ब ४२ करोड रुपैयाँ पुग्न गएको छ । यसैगरी खुद ब्याज आम्दानी २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने संचालन खर्च कुल ११.२९ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ हुन पुगेका छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा २५.५२ प्रतिशतले बृद्धि भई ४ अर्ब ३६ करोड रुपैयाँ हुन पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड रुपैयाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि राम्रो प्रगति गरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कुमारी बैंकको कुल कर्जा १ खर्ब ४३ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षको अन्त्यमा १०.९० प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ पुगेको देखिन्छ । बैंकले आफ्नो कर्जा तथा सापटीलाई विविधिकरण गर्दै व्यक्तिगत कर्जा, शिक्षा कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, कृषि तथा उत्पादनशील कर्जा, विपन्न वर्ग कर्जा, संस्थागत कर्जा तथा विकास परियोजना क्षेत्रमा कर्जा प्रदान गर्दै आएको विभिन्न तथ्यांकहरुले देखाउँछ । समीक्षा अवधिमा बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.११ प्रतिशत रहेको छ । समीक्षा वर्षमा कर्जा लगानीमा वृद्धि भएता पनि उल्लेख्य मात्रामा समस्याग्रस्त कर्जाहरुको असुली भएको बैंकले जनाएको छ । बैंक आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा तथा लगानीबाट प्राप्त ब्याज आम्दानी ४३.६६ प्रतिशतले वृद्धि भई १८ अर्ब ३५ करोड रुपैयाँ पुग्न गएको छ भने ब्याज खर्च ५७.६५ प्रतिशतले वृद्धि भई १२ अर्ब १३ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी करिब २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको बैंकको संचालन नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड ७ लाखरुपैयाँ रहेको कमाुरीको खुद नाफा आर्थिक वर्ष. २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्ता छन् बैंकको वित्तीय योजना बैंकले आगामी दिनमा थप शसक्त रुपमा अघि बढ्नका लागि विभिन्न वित्तीय योजनाहरु अगाडि सारेको छ । बैंकले चालू आर्थिक वर्षमा बैंकको कर्जा तथा लगानी क्रमशः १३.०९ प्रतिशत र ६०.३४ प्रतिशतले वृद्धि गरि १८० अर्ब ३१ करोड रुपैयाँ र ३७ अर्ब ५५ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । यसैगरि बैंकको कुल निक्षेप ६.३३ प्रतिशतले वृद्धि गरी १९४ अर्ब ५४ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । बैंकको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत तथा अन्य संचालन खर्च ८.१७ प्रतिशतले वृद्धि भै क्रमशः ७ अर्ब ३६ करोड र ३ अर्ब ८४ करोड रुपैयाँ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । बैंकको संचालन मुनाफा १७.४३ प्रतिशतले वृद्धि गरी ५ अर्ब १३ करोड पुग्ने अनुमान रहेको छ । यस्तै, समीक्षा वर्षमा बैंकको निष्क्रिय कर्जा अनुपात बिगत वर्षभन्दा केहि वृद्धि भई १.११ प्रतिशतमा रहेको छ । चालू वर्षमा निष्क्रिय कर्जाहरु असुली गराउने तर्फ प्रयास भई रहेको छ । यस प्रकार चालु वर्षमा बैंकको खुद मुनाफा २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३० करोड २२ लाख पु¥याउने लक्ष्य कुमारी बैंकको छ । यस्तै, बैंकलाई सवल र सुदृढ बनाउन बैंकको सम्पत्तीको गुणस्तर वृद्धि गर्ने र यसलाई कायमै राख्ने, बंैकको कर्मचारीहरुको उत्पादकत्व वृद्धि गर्ने, बैंकलाई नाफामुखी बनाउनुका साथसाथै ग्राहकहरुलाई सर्वसुलभ गुणस्तरीय सेवा पु¥याउने यस बैंकका योजना रहेको अध्यक्ष राणाको भनाइ छ । ग्राहकहरुको जीवन सरल र सुलभ बनाउन आधुनिक सेवा तथा सुविधाको विकास गरी वित्तीय क्षेत्रको सुधारमा योगदान पु¥याउने, वित्तीय पहुँच नभएको जनसंख्यालाई बैकिङ्क परिधिभित्र ल्याउने, साना तथा मझौला व्यवसायहरुलाई ऋण प्रदान गरी देशको समग्र आर्थिक विकासमा टेवा पु¥याउने यस बैंकको कार्य योजना बैंकको छ । देशको परिस्थितिलाई मध्यनजर गर्दै थप शाखाहरु विस्तार गर्दै जाने, बैंकको उपस्थिति नभएका क्षेत्रहरुमा कुमारी मोवाईल बैंकिङ्ग, शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा उपलब्ध गराउने, आफ्नो प्रविधि तथा सेवालाई विस्तार गरी प्रतिस्पर्धात्मक बैंकिङ्ग सेवा उपलब्ध गराउने कार्यक्रमहरु तथा योजनाहरु बैंकले अघि सारेको छ ।