काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी र प्रविधि ल्याउन सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई आग्रह गरेकाे छ ।
महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालसहित महासंघका पदाधिकारीहरूले साेमबार कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनलाई भेटी यस्ताे आग्रह गरेका हुन् ।
भेटवार्तामा नेपाल कोरियाबीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भएकाे छ ।
सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष ढकालले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए । उनले दुवै देशका निजी क्षेत्र बीचको सम्बन्ध बलियो बन्न सके लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने बताउँदै निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे ।
महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागि सो भेटवार्तामा महासंघकातर्फबाट कोरियन उत्पादनमुलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।
भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधै तयार रहेको बताए ।
स्याङगन तीन सदस्यीय प्रतिनिधिमण्डलसँग हाल नेपाल भ्रमणमा रहेका छन् ।