काठमाडौं । आज कार्तिक २२ गते शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार बेलुकी ५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
‘आज ग्रहणले पूरै चन्द्रमा ढाक्नेछ, जसलाई खग्रास भनिन्छ, बेलुकी ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिनेछ, बेलुकी ५ः२७ बजे ग्रहणको उन्मीलन हुने छ, बेलुकी ६ः३४ बजे ग्रहण सकिनेछ,’ पञ्चाङ्ग निर्णायक समितिले भनेको छ ।
एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहण लाग्ने भएकाले आज मङ्गलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्नुपर्नेछ ।
यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रमा उल्लेख गरिएको छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो ।
चन्द्रग्रहण मेष राशिलाई घात, वृष राषिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ ।
तुला राशिलाई स्त्री पीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने उल्लेख छ ।