विकासन्युज

बिहेको सिजन नजिकिएसँगै सुनको मूल्यमा उछाल, पाँच दिनमा साढे ३ हजारले बढ्यो

काठमाडौं । बिहेको सिजन नजिकिएसँगै सुनको मूल्य निरन्तर वृद्धि भएको छ । गएको पाँच दिनमा ३३ सय रुपैयाँले सुनको मूल्य बढेको छ । गत बुधबारदेखि आइतबारसम्म सुनको मूल्य ३३ सय रुपैयाँले बढेको हो । मंगलबार ९४ हजारमा कारोबार भइरहेको छापावाल सुन बुधबार तोलाको १४ सय रुपैयाँले बढेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार भनेको सुनको मूल्य यथावत रहेको थियो तर शुक्रबार पुन: सुनको मूल्य तोलाको १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शनिबार भने बन्द रहेको बजार आइतबार पुन: ६०० रुपैयाँले बढेको छ र तोलाको ९७ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।

ग्लोबल आइएमई र बिओकेको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो कति ?

काठमाडौं ।  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । अर्थात् बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ । दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए । मर्जरपछि कुल चुक्तापुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ ।

सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी

तनहुँ । पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् । चुनावी घरदैलो अभियानमा रहेका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज मतदातासँगको भेटघाटका क्रममा सो कुरा बताएका हुन् । जिल्लाको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए । ‘अलपत्र अवस्थामा रहेको पुलको निर्माण कार्य तत्काल अगाडि बढ्छ तपाईहरु ढुक्क हुनुहोस्’, उम्मेदवार भण्डारीले भने, ‘के कति कारणले रोकिन पुगेको हो यस विषयमा पूर्ण जानकारी लिएर काम अगाडि बढाउनेछु ।’ भिमाद नगरपालिका वडा नं ८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने उक्त पुलको निर्माण अगाडि नबढ्दा चिन्तित रहेका थानीय बासिन्दाले निकै सास्ती भोग्दै आएका छन् । त्यसैगरी अलपत्र पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने माग भिमाद र खैरेनीटारको सर्वसाधारण र व्यवसायीहरुले गरेका छन् । खैरेनीटार निवासी व्यवसायी वसन्ता श्रेष्ठले सेती दोभानको पुल निर्माण तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उक्त पुल निर्माण भए खैरेनीटारको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

लेबनान । लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर ६ तारिखमा यहाँको स्वास्थ्य मन्त्रालयले लेबनानमा हैजा देखिएको जनाएको थियो । त्यस यता यो रोगबाट १८ जनाको ज्यान गएको छ भने अरु हजारौँ जना विरामी भएका छन् । लेबनानले सहयोगका लागि विश्व समुदायलाई नै आग्रह गरेको थियो । यसैबीच संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको गत हप्ता जनाएको थियो । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । केही हप्ता यतादेखि लेबनानमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो । यहाँ देखिएको हैजाबाट चार सय ९० जना विरामी अस्पतालमा राखिएको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गत अक्टोबर ६ देखि नै यहाँ हैजा भेटिएको र त्यसयता हैजाको संक्रमण फैलिएको जनाएको छ ।

टेलिकमले ल्यायो निर्वाचन लक्षित अफर, मात्र ९८ रुपैयाँमा ६ जीबी डाटा पाइने

काठमाडाैं । निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निकै आकर्षक डाटा र भ्वाइस प्याक ल्याएकाे छ । कात्तिक २७ गतेदेखि लागु हुने याे प्याक मंसिर ११ गतेसम्म लागु हुनेछ । यस अफरमार्फत ग्राहकले २० जीबी डाटा जम्मा मात्र २९४ रुपैयाँमा पाउनेछन् जुन १० दिनसम्म प्रयाेग गर्ने सकिनेछ । यस्तै,  मात्र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ । यति मात्र नभएर ग्राहकले एक दिनका लागि १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा प्रयाेग गर्न सक्नेछन् । ग्राहकले *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सक्नेछन् ।

एनएमबि लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक सूचना तथा प्रविधि विभागका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदहरुका लागि कम्पनीले न्यूनतम प्लस टु तह उत्तीर्ण देखि स्नातक तहसम्म उर्तिण भएको हुनुपर्ने जनाएको छ । संस्थाले यी विभिन्न पदको लागि अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।    

निर्वाचन नजिकिएसँगै सवारी साधनको बुकिङ बढ्यो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको जानकारी दिए । ‘मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहेका छन्’, उनले भने । महासङ्घले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो ।

विकासको पर्खाइमा काठमाडौं नाङलेभारेका मतदाता

  काठमाडौं । विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ । तर यही दरबारमार्गदेखि मात्रै ३० किलोमिटर उत्तर(पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर धकेलिएको क्षेत्रमा पर्छ । यसले आधारभूत आवश्यकता अन्तर्गतका गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको सुविधाको महसुस गर्न पाएको छैन । राजधानी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो । यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन् । जसलाई माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ । हालैको चुनावी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड ओनसरीलाई जिताए मन्त्री बनाउने र विकासको लहर ल्याउने दाबी गरे । तर प्रचण्डका यी दाबीमा यहाँका मतदाताले विश्वास गर्ने बलियो आधार भने बन्न सकेको छैन । किनभने माओवादी पार्टीका तर्फबाट २०६४ सालमा माधवकुमार नेपाललाई पराजित गर्दै झक्कुप्रसाद सुवेदी विजयी हुँदा पनि यो क्षेत्रले केही पाएन । शङ्खरापुर नगरपालिकाको वडा नं १ मा पर्ने नाङ्लेभारे, चापाबोट र आसपासका समस्या निकै दयनीय अवस्था रहेको बुझ्न सकिन्छ । र, जनताका यी समस्या समाधानमा निर्वाचनमा नेताहरुले भने जस्तै हुन्छ भन्नेमा स्थानीय रोजिता तामाङ विश्वस्त हुन सक्नु भएको छैन । ‘चुनाव हो मत त दिउँला तर जितेपछि यो गाउँमा फर्केर कोही आउँदैनन’, तामाङले भने ‘अघिल्लो चुनावमा ‘एक घर एक धारा’को नारा धेरैले लगाए, तर अहिले एउटा धाराको पानीले २० घर धान्नु परेको छ ।’ तामाङको जस्तै समस्या निर्मला शिवभक्तिले पनि भोग्नु भएको छ । तर उनी अझै आशावादी भने छदन् । ‘हामी जस्ता गरिबका लागि उपचार गर्न गुणस्तरीय स्वास्थ्य सेवा र अध्ययनका लागि शिक्षा भए पुग्ने थियो, हेरौँ अब यसपाली केही भइपो हाल्छ कि ?’, उनले भने । विगतका निर्वाचनमा उम्मेदवारहरुले दिएका विकास निर्माणका कामहरु पूरा भएनन् । ती चुनावी भाषणमा मात्रै सीमित भए । तर आश्वासनहरु अब भने पूरा हुन्छन् कि भन्नेमा स्थानीय कमलनाथ ढकाल आशावादी छन् । ‘पहिलाकाले आश्वासनमात्रै दिए, यसपटक उम्मेदवारले आफ्ना प्रतिबद्धता पूरा गर्लान् कि’, ७२ वर्षे ढकालले भने । चुनावी प्रचारप्रसारका क्रममा मत माग्दै नाङलेभारेका घरदैलोमा पुगेकी उम्मेदवार ओनसरी घर्तीले मतदाताका माग पूरा गर्ने बाचा दिइन् । ‘मलाई निर्वाचित गराएर पठाउनुस् म तपाईंसँग गरेको बाचा र प्रतिबद्धतामा पूरा गर्नेछु, यो विश्वासलाई कायम राख्ने छु ।’ नेतृ घर्तीले गठबन्धन विकास र समृद्धिको एजेण्डाका साथ अघि बढेको उल्लेख गर्दै जनताको आधारभूत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने बचन दिइन् । तर ६८ वर्षे मेघप्रसाद दङ्गाललाई भने उम्मेदवारको प्रतिबद्धताप्रति पटक्कै विश्वास छैन । ‘जो उम्मेदवार आए पनि आश्वासन र भ्रम मात्रै फैलाउने हुन् काम गर्ने होइनन्,’ उनले भने, ‘अब यी कुरामा मलाई विश्वास लाग्न छाड्यो ।’ यो क्षेत्रका मतदाताको एउटै शर्त छ, अब हामीमाथि धोका नहोस् । स्थानीय शम्भुप्रसाद ढकाल निर्वाचनमा कसैलाई मत दिन मन नभएपछि मताधिकार भने गर्ने बताए । ‘चुनावमा भोट माग्न गाडीको लस्करले धुलो उडाएका छन्, तर यो सडकमा कालोपत्रे गर्ने विषयमा कसैको ध्यान छैन’, उनले भने, ‘नेताहरुले वेवास्ता गरेको देख्दा भोट नहालौँ भन्ने लाग्छ तर के गर्नु मताधिकार प्रयोग गर्नैपर्यो ।’ स्थानीय नेता नेत्रप्रसाद दङ्गालले गाउँमा पानीको समस्या रहेको र करिब १२ किलोमिटर दूरी टाढाको सिस्नुखोला र छुलेखोलाको पानी गाउँमा ल्याउने योजना बनिरहेको बताए । नेपाली कांग्रेसकी स्थानीय नेतृ मीरा महर्जनले सडक, खानेपानीको समस्या समाधानका साथै महिलालाई सुस्केरी गराउन विगतमा भोग्नुपरेका समस्या हल भइदिए राहत मिल्ने बताए । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं २ प्रदेशसभा सदस्यका उम्मेदवार ध्रुव केसीले गाउँको मुहार फेर्न आफू प्रतिबद्धताका साथ लाग्ने दाबी गरे । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार भरतप्रसाद फुँयालले यहाँका किसानका समस्या समाधानका लागि पहल गर्ने बताए । नौवटा वडा रहेको शङ्खरापुर नगरपालिकामा कुल २२ हजार छ सय मतदाता छन् ।