सहकारीको ब्याजदर पनि बजारले निर्धारण गर्नुपर्ने माग, महासंघले भन्यो : खराब कर्जा तत्काल उठाउनु
काठमाडौं । नेपाल सहकारी महासंघले सहकारीको ब्याजदर पनि बजारले निर्णय गर्नुपर्ने माग राखेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले बजार अनुरुप स्वचालित रुपमा ब्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग राखेको हो । महासंघले वित्त बजारमा ब्याजदरमा उतारचढाव आउदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको सन्दर्भ व्याजदरले समेत थप प्रतिकुल अवस्था सिर्जना गरेको बताएको छ । महासंघले पटक पटक अभियानको तर्फबाट सुझाव पठाउँदै आएको भएतापनि हालसम्म सन्दर्भ व्याजदर पुनरावलोकन नहुन दुःखद कुरा भएको बताएको छ । साथै, महासंघले सहकारी संघरसंस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायधीकरणको अविलम्व गठनका लागि समेत माग गरेको छ ।
मंसिरमा के होला ब्याज ? निर्णय गर्न बैंकर्स संघको बैठक बस्दै
काठमाडौं । मंसिर महिनाको ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स एशोसियसन (एनबिए) को बैठक मंगलबार बिहान बस्ने भएको छ । मंसिर महिनाका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बिहान बैंकर्स संघको बैठक बोलाएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बिकासन्युजलाई जानकारी दिए । प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर निर्धारण गर्न एनबिएको बैठक बस्ने गर्छ । सोही अनुसार मंसिरका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बैठक बस्ने भएको हो । एक सीईओका अनुसार बैंकको ब्याजदर यथावत रहने सम्भावना छ । केही बैंकर्सहरु अझै ब्याजदर बढाउनु पर्ने माग गरिरहेको उनको भनाइ छ । ब्याजदर बढाउने वा नबढाउने भन्ने निर्णय भोलि बस्ने बैठकले गर्ने ती सीईओले बताए । अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ करिब ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ । ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । पछिल्लो समय ब्याजदर उच्च रहेको भन्दै घटाउन चौतर्फी दबाव रहेको छ । उद्योगी व्यवसायीहरु देशभर आन्दोलित बनेका छन् । बैंकहरुले असोज महिनामा विगत ६/७ महिनादेखि स्थिर रहेको ब्याजदर बढाएका थिए । ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । तरलता स्थिति असहज नै रहेकाले केही बैंकहरुले मंसिर महिनाका लागि पनि ब्याजदर बढाउनु पर्ने भन्दै नेपाल बैंकर्स संघलाई दबाव दिएका थिए ।
विद्युतिय सवारीको प्रयोग बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ । २०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो । जबकी २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार पाँच सय १३ किलोलिटर पेट्रोल र ७८ हजार चार सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ । तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ । यसका साथै विद्युतिय गाडीको प्रयोगले पनि पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको बताइन्छ । पछिल्लो समय नेपालमा विद्युतिय गाडीको माग बढ्दो छ ।
प्रभु र सेञ्चुरी बैंकको स्वाप रेसियो १० प्रतिशत बढी घटबढ, मर्जर के होला ?
काठमाडौं । प्रभु र सेञ्चुरी बैंकको डीयू डेलिजेन्स (डीडीए) रिपोर्टमा स्वाप रेसियो १० प्रतिशत भन्दा बढीको फरक आएको छ । मूल्यांकनकर्ताले सम्पति, दायित्व तथा कारोबारको मूल्याङकन र अन्य विविध पक्षहरुको समेत मूल्याङकन गरी सिफारिस गरेको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)मा १० प्रतिशत भन्दा बढीको फरक आएको हो । प्रभु र सेञ्चुरी बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतामा १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि डीडीए रिपोर्टले भने स्वाप रेसियो फरक निकालेको छ । बैंक स्रोतका अनुसार दुवै बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियाको अनुपात १ः१ को आएको छैन । यसअघि भएको प्रारम्भिक मर्जर सम्झौता अनुसार १ः१ अनुसार गरिएको सम्पति, दायित्व तथा कारोबारको मुल्याङकन र अन्य विविध पक्षहरुको मुल्याङकनमा दुवै बैंकबीच १० प्रतिशभन्दा बढीको फरक आएको स्रोतको भनाइ छ । डीडीए रिपोर्टलाई दुवै बैंकको सञ्चालक समितिमा यसै साता पेस गरिने स्रोतको भनाइ छ । स्वाप रेसियो फरक आएपनि मर्जर प्रक्रिया भने अघि बढ्ने स्रोतको दावी छ । ‘हामीले दुवै बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका थियौं तर अहिले सो अनुसारको डीडीए रिपोर्ट आएन, प्रभु बैंकको अनुसार सेञ्चुरीको पुगेन, अब यसै साता दुवै बैंकको बोर्डमा सो रिपोर्ट प्रस्तुत गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो । डीडीए रिपोर्टमा फरक आएपछि नयाँ स्वाप रेसियो निर्धारण गरेर अगाडि बढ्ने छलफल दुवै बैंकका सञ्चालकहरुबीच भइरहेको बुझिएको छ । गत साउन १५ गते भएको मर्जर सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुने सहमति भएको छ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुने सम्झौता भएको छ । के हुन्छ मर्जर ? नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ ले मर्जर सम्झौताभन्दा १० प्रतिशत घटबढ गर्न नपाइने व्यवस्था गरेको छ । सो विनियमावलीको विनियम ९ को (क)ले मूल्याङ्कन प्रतिवेदनमा सिफारिश गरिएको सेयर स्वाप अनुपातलाई यथावत स्वीकार गर्न सकिने उल्लेख गरेको छ । तर, व्यवसायको प्रतिष्ठा, कर्मचारीको योग्यता, बजार उपस्थिति, मुनाफाको इतिहास, पछिल्लो बजार मूल्य, इजाजतपत्रको वर्ग लगायतका आधारमा संयुक्त मर्जर समितिले मूल्याङ्कनकर्ताले सिफारिश गरेको गाभ्ने गाभिने संस्थाहरुको शेयर स्वाप अनुपात वा लक्षित संस्थालाई दिइने नगद वा शेयर अनुपातको पुनर्गणना गर्न चाहेमा मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित खुद सम्पत्तिको बढीमा १० प्रतिशतले आधार नेटवर्थमा थपघट गरी गणना गरिएको समायोजित आधार नेटवर्थ बमोजिम विनियम ८ को खण्ड (ख) मा उल्लेखित विधि अनुसार संशोधित सेयर स्वाप अनुपात गणना गर्न सकिने व्यवस्था छ । यस्तै, गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न संस्थाहरुको चुक्ता पूँजीको कुल योग भन्दा गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात्कायम हुने संस्थाको चुक्ता पूँजी कम हुने भएमा चुक्ता पूँजीमा फरक हुन आउने रकम (बचत) लाई पूँजीगत जगेडा कोष वा मर्जर/एक्विजिशन रिजर्भमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था पनि छ । यस्तो रकमबाट शेयरधनीहरुलाई नगद लाभांश बाँड्न पाइने भने छैन । माथि जुनुसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारको ५० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका बैंक/वित्तीय संस्थाहरु आपसमा गाभ्दा/गाभिंदा वा प्राप्ति गर्दा सम्बन्धित संस्थाले निर्णय गरे बमोजिम सेयर स्वाप अनुपात गणना गर्न नपर्ने व्यवस्था पनि विनियमालीमा गरिएको छ । स्वाप रेसियो फरक/फरक आउँदा कतै मर्जर नै भाडिने होकि भन्ने चिन्ता कतिपय सेयरधनीहरुमा छ । तर, नेपाल राष्ट्र भने त्यो सोच्न पनि सक्दैन । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले दुवैं बैंकले मर्जर भाड्ने भन्ने विषय सोच्न पनि नहुने धारणा राख्छन् । उनले सम्झौता गरेको अनुपात भन्दा १० प्रतिशत घटबढ भयो भने मर्जर भाडिने भन्ने सोच्न नहुने धारणा राख्छन् । डीडीए रिपोर्टमा जति प्रतिशतको फरक आएको छ सोही अनुसार मर्ज हुनु पर्ने व्यवस्था रहेको उनले बताए । यसमा कुनै दुविधा नरहेको उनको भनाइ छ । सम्बन्धित सामग्री : १० बैंकलाई राष्ट्र बैंकको कडा चेतावनी, मर्जर नभाड्न भन्दै पठायो यी ५ निर्देशन
मानुषि लघुवित्तकाे संचालकमा तारा कुमार रिजाल नियुक्त
काठमाडौं । मानुषि लघुवित्तको संचालकमा तारा कुमार रिजाल नियुक्त भएका छन् । कात्तिक २७ गते सोमबार बसेको बैठकले रिजाललाई कम्पनी संचालकमा नियुक्त गरेको हो । यसअघि कम्पनीको संचालकमा रहेको विनोद बजगाईंले राजिनामा दिएपछि रिजाल उक्त पदमा भएका हुन् । मंसिर ४ गतेको चुनावमा उम्मेदवार भएपछि बजगाईंले संचालकबाट राजिनामा दिएका हुन् । उनको राजिनामा पनि सोमबार नै स्वीकृत भएको छ ।
मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत
रामपुर । रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभस्त आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए । ‘हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महशुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुप¥यो’, उनले भने, ‘गरिब विपन्न परिवारका नागरिकले सामान्य आधारभूत समस्यामा नै जीवन गुजारा कतिञ्जेलसम्म चलाउने हो ।’ आर्थिक अवस्था नाजुक भएका परिवारलाई विशेष प्राथमिकता दिएर सामान्य आधारभूत आवश्यकताको परिपूर्ति गर्ने योजना ल्याउने उम्मेदवारका पक्षमा मतदान गर्ने उनी हुन् । बिहान साँझ हातमुख जोड्न धौधौँ पर्ने उनको परिवारमा खानेपानी, विद्युत् महशुल शुल्क, स्वास्थोपचार जस्ता समस्याले सधैँ पिरोल्ने गर्दछ । अहिलेको परिवेशमा पनि गाउँका नागरिक ठूला सपनाभन्दा पनि सामान्य आधारभूत समस्यामा नै पछाडि परिरहेका छन् । सबै गाउँबस्तीमा विद्युत् सुविधा, खानेपानीको राम्रो प्रबन्ध, गाउँमै आधारभूत स्वास्थ्योपचारको व्यवस्था, प्राविधिक शिक्षा, सडक स्तरोन्नति गर्न मतदाताले घरदैलोमा पुगेका उम्मेदवारसमक्ष माग गरिरहेका छन् । रामपुर– ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपाने नेतृत्वले आफ्नो स्वार्थमा मात्रै कार्य गर्ने तर जनताको इच्छा भावनाअनुसार काम नगरेकाले उनीहरुको कार्यशैलीप्रति नागरिक सन्तुष्ट नरहेको बताउँछन् । निर्वाचनमा मत माग्न घरमा आउने उम्मेदवारसमक्ष उनले जनताले देशमा परिवर्तन चाहेको र सबै जनताको मर्म र भावनाअनुसार काम गर्ने नेतृत्वको खोजीमा रहेको बताए । ‘देशमा परिवर्तन हुन्छ कि भन्ने आशमै उमेर ढल्कियो, जनताले चाहेअनुसार काम नै हुन सकेन, लगातार एउटै नेतृत्वले परिवर्तन हुन सकेन, अब हामी नागरिकको समस्या सुल्झाउने नयाँ नेतृत्व मतदाताले चुन्नुपर्छ’, उनले भने । उनले देशमा २००७ सालको राणशासन अन्त्यपश्चात् हालसम्म विभिन्न व्यवस्था परिवर्तन भए पनि गाउँका कुनाकाप्चामा बसोबास गर्ने नागरिकको अवस्थामा सुधार नआएको बताए । राम्रा व्यक्तिभन्दा पनि हाम्रा व्यक्तिको पछाडि मतदाता लागेका कारण जनताले चाहना गरेअनुसारको काम नभएको न्यौपानेको भनाइ छ । रम्भा गाउँपालिका– ३ पीपलडाँडा बस्ने कृष्णप्रसाद बस्यालले विधि र सिद्धान्तअनुसार नेतृत्वले काम नगरेकाले त्यसको सजाय जनताले भोग्नु परिरहेको बताउनुभयो । आजको एक्काइसौँ शताब्दीमा पनि सामान्य आधारभूत समस्यामै जनता गुज्रनुपर्ने अवस्था रहँदा मतको सही सदुपयोग नभएको बस्यालको भनाइ छ । उनी भन्छन्, ‘पानी आउँदा हिलाम्य र घाम लाग्दा धुलाम्य सडकको सास्ती कहिलेसम्म खेप्नुपर्ने, गाउँमा सामान्य औषधोपचार नपाएर नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ, अझै पनि घण्टौँ हिँडेर पानी बोकेर खानुपर्ने बाध्यता कायमै छ, गाउँमा बिजुली सुविधा पुग्न सकेको छैन, ती टुकीका भरमा बसेका नागरिकले कहिले पाउँछन् विद्युत्को उज्यालो ?’ चुनावी चहलपहलले गाउँकेन्द्रित भएका उम्मेदवार, दलका नेता कार्यकर्तालाई मतदाताले अघिल्ला निर्वाचनका वाचा र प्रतिबद्धताबारे झस्काइरहेका छन् । सही र सक्षम नेतृत्वको पखाइमा रहेका मतदाता चुनावी परिवेशमा मात्रै गाउँ फर्कने उम्मेदवार, नेता कार्यकर्ताले मतदातालाई भोट बैंकका रुपमा लिएकामा आपत्ति जनाएका छन् । रासस
शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा
मोरङ । शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्किएका मोरङको बूढीगङ्गा गाउँपालिका–४ का ६१ वर्षीय राजकुमार खतिवडा यहाँ आइपुगेका छन् । गत जेठ २ गते विराटनगरबाट यात्राको सुरुआत गरेका खतिवडा पाँच महिना २६ दिनमा यहाँ आइपुगेका हुन् । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरेको खतिवडाले बताए । ‘धार्मिक क्षेत्रको जानकारी सङ्कलन गर्दै यात्रा अगाडि बढाउँदै आएको छु’, उनले भने, ‘शान्तिका प्रतीक बुद्धको भूमिको सन्देश भारतका मुख्य तीर्थस्थलमा पुर्याउनका लागि अभियान थालनी गरेको हुँ ।’ नेपाल प्राचीनकालदेखि ऋषिमुनिको तपोभूमिका रुपमा रहेको चर्चा गर्दै उनले धार्मिक महत्व उत्तिकै रहेको बताए । ‘धार्मिक पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचारप्रसार हुन सकेको छैन’, उनले भने, ‘नेपालमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको भारतका तीर्थस्थलमा पुगेर प्रचारप्रसार गर्नका लागि यात्रामा निस्किएको छु ।’ भारतका ३४ प्रान्तका चर्चित तीर्थस्थलमा पुग्ने लक्ष्य लिइएको उनले बताए । भारतको कामाख्या पुगेर पुनःनेपालको मेची नदीको पुलमा पुगेर यात्राको समापन गरिने साइकल यात्रामा निस्किएका खतिवडाको भनाइ छ । यात्राका क्रममा पुगेका तीर्थस्थलको महिमाबारे उहाँले बास बस्ने स्थानका बासिन्दालाई सुनाउने गरेका छन् । यात्राका क्रममा देवालय, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका ब्यारेकमा बास बस्दै आएका छन् । गच्छेअनुसार दिएको दक्षिणा लिएर यात्राको खर्च धान्दै आएको साइकल यात्रामा निस्किएका खतिवडाले बताए । यात्रा गर्ने स्थानका स्थानीय तहले खतिवडालाई आर्थिक सहयोग गरेका छन् । रासस
दमौली अस्पतालमा बिरामीलाई डायलासिस उपचारमा सहज
दमौली । दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन् । तनहुँ सहित छिमेकी लमजुङ, गोरखा र कास्की का मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको छ । विसं २०७२ मङ्सिर २ गतेदेखि एक करोड २५ लाख रुपैयाँको लागतमा दमौली अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म दुई सय २८ जनाको ४२ हजार पाँच सय ८९ पटक डायलासिस गरिएको छ । अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको प्रतिक्षा रहेका छन् । गण्डकी प्रदेश सरकारले सत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रलाई दुई वटा नयाँ डायलासिस मेसिन प्राप्त भएकाले बिरामीको उपचारमा सहज भएको छ । केन्द्रमा रहेका नौ वटा मेसिन र थप दुई मेसिनले दैनिक तीस जना बिरामीलाई सेवा दिन सकिनेछ । हाल दैनिक २० जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । गण्डकी प्रदेशभरिका डायलासिस सेवा प्रदान गर्नेहरुका लागि तालिम दिने केन्द्रका रुपमा विकास गर्न लागेको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । प्रदेश सरकारले अरु चार वटा नयाँ मेसिन थप्नेगरी प्रक्रिया अघि बढाएको छ । अध्यक्ष थापाले भने, ‘मङ्सिर महिनाभित्रमा दमौली अस्पताललाई ५० शय्याको अस्पताल बनाउने योजना रहेको छ ।’ हाल पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्दै आए पनि प्रदेश सरकारले ५० शय्याको स्वीकृति दिइसकेको उनले बताए । अस्पतालसंगै रहेको कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पतालको गरी साढे तीन रोपनी जग्गा सङ्घीय सरकारले उपलब्धका लागि स्वीकृति प्रदान गरिसकेको समितिले जनाएको छ । रासस