काठमाडौं । मंसिर महिनाको ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स एशोसियसन (एनबिए) को बैठक मंगलबार बिहान बस्ने भएको छ । मंसिर महिनाका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बिहान बैंकर्स संघको बैठक बोलाएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बिकासन्युजलाई जानकारी दिए ।
प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर निर्धारण गर्न एनबिएको बैठक बस्ने गर्छ । सोही अनुसार मंसिरका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बैठक बस्ने भएको हो । एक सीईओका अनुसार बैंकको ब्याजदर यथावत रहने सम्भावना छ । केही बैंकर्सहरु अझै ब्याजदर बढाउनु पर्ने माग गरिरहेको उनको भनाइ छ । ब्याजदर बढाउने वा नबढाउने भन्ने निर्णय भोलि बस्ने बैठकले गर्ने ती सीईओले बताए ।
अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ करिब ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ । ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् ।
पछिल्लो समय ब्याजदर उच्च रहेको भन्दै घटाउन चौतर्फी दबाव रहेको छ । उद्योगी व्यवसायीहरु देशभर आन्दोलित बनेका छन् । बैंकहरुले असोज महिनामा विगत ६/७ महिनादेखि स्थिर रहेको ब्याजदर बढाएका थिए । ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । तरलता स्थिति असहज नै रहेकाले केही बैंकहरुले मंसिर महिनाका लागि पनि ब्याजदर बढाउनु पर्ने भन्दै नेपाल बैंकर्स संघलाई दबाव दिएका थिए ।