विकासन्युज

लाभांश घोषणाका लागि राष्ट्र बैंक पुगे १९ लघुवित्त

काठमाडौं । लाभांश घोषणाका लागि डेढ दर्जन लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंकका अनुसार १९ वटा लघुवित्त वित्तीय संस्थाहरु वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् । तर राष्ट्र बैंकले कुनै पनि लघुवित्तलाई स्वीकृति नदिएको जनाएको छ । ‘१९ वटा लघुवित्तहरु वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएका छन्, त्यस विषयमा हामी अध्ययन भइरहेको छ, हालसम्म आवेदन दिएका कुनै पनि लघुवित्तले स्वीकृति पाएको छैन,’ राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले भने । लघुवित्तहरु वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेपनि स्वीकृति नपाउँदा लाभांश वितरणमा ढिलाइ हुने भएको हो । वित्तीय विवरण स्वीकृति नदिँदा लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरु राष्ट्र बैंक पुगेका थिए । अन्य लघुवित्तहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा आउनेक्रम जारी रहेको छ । एजिएम क्लियरेन्सका लागि आफ्नो फाइनान्सियल स्टेटमेन्टहरु राष्ट्र बैंकमा पठाएका सबै लघुवित्तको अध्ययन भइरहेको राष्ट्र बैंकका सहायक प्रवक्ता पोख्रेलले बताए । सेवा शुल्क बढी असुल गरेका लघुवित्तलाई रकम फिर्ता गराएर फाइनान्सियल स्टेटमेन्ट करेक्सन गरेर आउनु भनेको उनले बताए । ‘जुन लघुवित्तले राष्ट्र बैंकको निर्देशन भन्दा बढी सेवा शुल्क असुल गरेका छन्, उनीहरुलाई एजिएम क्लिेरेन्सका लागि आउँदा फिर्ता पठाएर फिर्ता शुल्क गर्न निर्देशन दिएको छ,’ उनले भने ।

नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । ‘निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्’, प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश दिनुपर्यो ।’ उनले नेपाली कला क्षेत्रको समस्या समधानका निमित आफू सदैव तयार रहेको बताए । भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीतलगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए । उनीहरूले फिल्म छायाङ्कनको समस्या, छायाङ्कनमा अनुदान, फिल्ममार्फत पर्यटन प्रवर्द्धन, सङ्गीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही समस्या उठान गरेका थिए । ‘समस्याहरूलाई हामीले सम्बोधन गर्नेछौँ । हामीलाई समस्याका बारेमा अवगत गराउँनु । म सदैव सकारात्मक छु’, प्रधानमन्त्री देउवाले भने । प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेत्री देउवाले चुनावपश्चात पनि यस्ता छलफल अझै बढाउने बताए । ‘निरन्तर संवादले नै समस्याको हल दिन्छ । हामी आफ्नो कला, संस्कृतिको प्रवर्द्धधन गर्न तत्पर छौँ । छलफलसँगै आउँदो दिनमा निकास दिनेछौँ’, उनले भने । भेटघाट तथा छलफलमा नयाँपुस्ताका कलाकर्मीहरू पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो ।

मंगलबारदेखि सिक्लेस हाइड्रोपावर दोस्राे बजारमा किनबेच गर्न पाइने

काठमाडौं । सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ । सोमबार हाइड्रोपावर र नेप्सेबीच सेयर सुचिकृत गर्ने सम्झौता भएसँगै कम्पनीको साधारण सेयर नेप्सेमा सुचीकृत भएको हो । यससँगै कार्त्तिक २९ गते, मंगलबारदेखि सिक्लेस हाइड्रोपावरको सेयर दोस्राे बजारमा किनबेच गर्न पाइने छ । कम्पनीले बिओके क्यापिटल मार्केटमार्फत सर्वसाधारणको लागि सेयर बिक्री खुला गरेको थियो ।

माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । माइडियाले सम्पूर्ण उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ । माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् । नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामानहरु आजै घर ल्याउनु र यस जाडो मौसममा तातो न्यानो भई जीवन सहज बनाउनु ।

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

ललितपुर । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ। विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए। एचबिएवान सी, पीपी र फास्टिङ लगायतका ल्याव टेष्टमा पनि निशुल्क परीक्षण गरिएको उनले जानकारी दिए। मधुमेहका विरामीहरुलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको उनले बताए। निशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई २ हप्तासम्म फ्लो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ। त्यस्तै अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा विहान जनचेतनामुलक र्याली पनि निकालेको थियो। अस्पताल परिसरबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुदैँ अस्पताल प्राङगणमा पुगेर टुंगिएको थियो। र्यालीमा अस्पतालका अध्यक्ष कुमार थापा, संचालक रामेश्वर थापा, कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा लगायतकाको उपस्थिति रहेको थियो।

कुमारी बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३० लाख थान ऋणपत्र कार्त्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत केबीएल डिबेन्चर २०८९’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै कार्त्तिक २९ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

दुर्गम गाउँका मतदाताको पीडा : भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँँदैनन्

गुमेला । चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दसैँ तिहारकै जस्तो रमाइलो वातावरण छ । विदेश तथा स्वदेशका विभिन्न ठाउँमा छरिएर रहेकाहरु मतदान गर्नकै लागि घर फर्किने क्रम जारी छ । उम्मेदवारलाई घरदैलो गर्न र मतदातालाई रिझाउन होडबाजी नै चल्छ । उम्मेदवार र तिनका कार्यकर्ताहरु मतदातालाई खेतबारीमै गएर भेटेर मत माग्दै गरेका छन् । कतिपय उम्मेदवारले खेतमै गएर किसानलाई काममा सघाएको पनि देख्न पाइएको छ । निर्वाचनले गर्दा पाँच वर्षमा एक पटक हुने मतदाता र उम्मेदवारको प्रत्यक्ष रुपमा भेटघाट हुन पाएको छ । मतदाताले आफ्ना तीतामीठा कुरा धित मरुञ्जेल उम्मेदवार, पार्टीका नेता कार्यकर्तालाई सुनाउन पाएका छन् । एक आपसमा राम्रोसित घुलमिल हुने तथा चिनजानको अवसर पनि यही नै हो । उम्मेदवारहरु अरु बेला गाउँघरमा त्यति धेरै गएको र मतदातालाई भेट्ने गरेको हामीकहाँ कमै पाइन्छ । यतिबेला गाउँघरमै गएर मतदातालाई भेट्नु हरेक उम्मेदवारको बाध्यता जस्तै पनि हो । मतदातालाई पनि आफ्नो प्रतिनिधिलाई चिन्ने र आफ्ना समस्या राख्ने महत्वपूर्ण अवसर पनि यतिबेला नै हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ को गुमेला गाउँँको दृश्य भने एकदमै फरक रहेको छ । दूधकोशी नदी किनारको फाक्दिङबाट एक घण्टा उकालो पार गरेपछि पुगिन्छ गुमेला । खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा पर्ने ११ गाउँमध्येको एउटा गाउँ हो यो । यसलाई ठूलो गुमेला र सानो गुमेला भनेर छुट्याएको छ । माथिल्लो वस्ती ठूलो गुमेला र तल्लो वस्ती सानो गुमेलाका नामले चिनिन्छ । यहाँ पुग्दा गाउँ सुनसान थियो । घरमा महिला र बालबालिका मात्र थिए, पुरुष जति सबै काममा । यो विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पदमार्गमा पर्ने गाउँ हो । त्यसैले यहाँँका पुरुष महिनौँँदेखि आन्तरिक तथा बाह्य पर्यटक सँगसँगै छन् । कोही भारी बोक्न, कतिपय पथप्रदर्शक बनेर त कतिपयले अरु व्यापार व्यवसाय गर्न गाउँ छाडेका छन् । गाउँमा पग्दा लाक्पाफुटी शेर्पा चिया पकाउँदै हुनुहुन्थ्यो । निर्वाचनबारे जिज्ञासा राख्दा उनले भने, ‘मङ्सिर ४ गते भोट हाल्न जानुपर्छ भन्ने मात्र थाहा छ, अरु कुरा केही थाहा छैन ।’ गाउँमा चुनावी गफगाफ केही नहुने शेर्पा बताउँछन् । ‘सबै आ–आफ्नो काममा हुन्छन्, कसैलाई फुर्सदै हुँँदैन, एक ठाउँमा भेला हुँदा पनि अरु नै कुराकानी हुन्छ, चुनावको त केही कुरा नै हुँदैन’, उनले भने । शेर्पालाई जस्तै सर्मिला बराइलीलाई पनि चुनावबारे खासै केही थाहा छैन । मोबाइलमा बज्ने रिङटोनका कारण मङ्सिर ४ गते निर्वाचन हुने र भोट हाल्न जानुपर्नेसम्म उनलाई जानकारी छ । ‘यहाँँ कोहीले पनि चुनावको कुरा गरेको सुन्दिन, भोट माग्न त अहिलेसम्म कोही पनि आएका छैनन्’, निरक्षर बराइलीले भने । जिल्लामा कुन कुन पार्टीबाट को को उम्मेदवार छन् भन्ने पनि उनलाई थाहा छैन् । ठूलो गुमेला र सानो गुमेलामा झण्डै ८० परिवारको बसोबास छ । यहाँ शेर्पा, राई, बराइली, कुलुङलगायत जातिको बसोबास छ । गाउँका केही घरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका पर्चा पम्पलेट घरका भित्तामा टाँसिएका देखिन्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे भने कुनै पनि सामग्री भने यहाँ कहीँँकतै भेटिदैनन् । मतदान गर्न र निर्वाचनबारे जानकारी दिन गाउँमा कोही नआएको यहाँका मतदाता बताउँछन् । हालसम्म कुनै पनि पार्टी र तिनका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्न यहाँ आएका छैनन् । ‘दुर्गम र विकट गाउँ भएका कारण कोही नआएका होलान्’, स्थानीय ७१ वर्षीया विमला कुलुङ भन्छिन्, ‘यसअघिका निर्वाचनमा पनि यस्तै भएको थियो ।’ स्थानीय तहको निर्वाचन ताका भने गाउँमा निकै चहलपहल भएको उनले सुनाइन् । ‘उम्मेदवार पनि यहीँका भएर होला, त्यो बेला उम्मेदवार भोट माग्न घरदैलोमै आएका थिए ।’ स्थानीय तह बाहेकका अन्य निर्वाचनमा भने यो गाउँँमा कुनै पनि उम्मेदवार भोट माग्न आएको कुलुङलाई सम्झना छैन । यहाँँका बासिन्दा खेती किसानी गर्दैनन् । खेतबारी नै पर्याप्त छैन । केहीले बारीमा तरकारीसम्म लगाउन भ्याएका छन् । यतिबेला स्थानीयका लागि वर्षभरिको खानपिनको जोहो गर्ने समय हो । पुरुष सबैजसो कमाउन सगरमाथाको आधारशिविर, नाम्चे, खुम्बु, लुक्लातिर गएका छन् । ‘दुई वर्ष कोरोना महामारीले हाम्रो गरिखाने बाटो छेक्यो’, सगरमाथा पदमार्गको फाक्दिङमा पर्यटकको भारी बोक्दै गरेका नोर्बु शेर्पाले भने, ‘यतिबेला घर नछाडे वर्षभरि भोकै बस्नुपर्ने हुन्छ ।’ कोरोना महामारीका कारण दुई वर्ष यहाँका बासिन्दाले कष्टकर दिन बिताउनुप¥यो । आन्तरिक र बाह्य पर्यटक आएनन् । स्थानीयले भारी बोक्ने, पथप्रदर्शकको काम तथा अय व्यवस्या गर्नै पाएनन् । यस वर्ष भने पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । त्यही भएर यहाँका मतदातालाई एकछिन फुर्सद छैन । ‘अहिले गाउँघरमा सितिमिति कोही भेटिदैनन्’, स्थानीय पर्यटन व्यवसायी एवं हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा भन्छन्, ‘सबैजना काममै व्यस्त हुन्छन्, अहिले कमाएको पैसोले अफ सिजनमा खाने हो, घरखर्च बालबच्चा पढाउने खर्चको जोहो गर्ने बेला पनि यही हो ।’ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २० उम्मेदवार चुनावी मैलदानमा छन् । सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार प्रतिनिधिसभातर्फ आठ र प्रदेशसभातर्फ १२ उम्मेदवार मत माग्न व्यस्त छन् । कोही पनि उम्मेदवार खुम्बु पासाङल्हामु गाउँपालिकामा भोट माग्न आएका छैनन् । कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला नेतृत्वले दुर्गम क्षेत्र भएका कारण मत माग्न गाउँगाउँ पुग्न नसकेको स्वीकारेको छ । इच्छा हुँदाहुँदै पनि सीमित समय र जिल्लाको भूगोल ठूलो भएका कारण सबै ठाउँमा मतदातालाई घर घरमा गई भेट्न नसकिएको उनीहरुको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका स्थानीय तहका नेता कार्यकर्ताले नै उम्मेदवारका तर्फबाट मत मागिरहेको बताए । ‘लुक्लासम्म त चुनावी सभा गरेका हौँ, त्यहाँदेखि उत्तरतर्फका वस्तीमा समय अभावका कारण पुग्न सकिएन’, उनले भने, ‘मतदाता आफ्नो काममा व्यस्त छन्, घरमा भेटिने सम्भावना पनि कमै छ, त्यसैले सो क्षेत्रमा चुनावी सभा र घरदैलो गरेका छैनौँ ।’ सत्ता गठबन्धनको प्रचारप्रसारका क्रममा आज जिल्लाको लिखु पिके गाउँपालिकामा रहनुभएका सभापति शेर्पाले सकेसम्म लुक्लादेखि उत्तरतर्फको क्षेत्रमा पुग्ने प्रयासमा आफू रहेको बताए । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष डुफाकुमार बास्तोलाले खुम्बु पासाङल्हामु गाउँपालिकामा आफ्नो पार्टीको सङ्गठन मजबुद भएकाले मतदाताको घरदैलोमा उम्मेदवारले धाउन नपर्ने बताए । गत वैशाखमा स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा एमालले जितेको प्रसङ्ग उल्लेख गर्दै उनले यस क्षेत्रमा मतदाता घरमा नभेटिने समस्या रहेको बताए । ‘सबै हिमाली भेगमा गएका छन्, घरमा खासै भेटिदैनन्, त्यही भएर चुनावी सभा र घरदैलोमा उम्मेदवार गएनन्’, अध्यक्ष बास्तोलाले भने । भौगोलिक विकटताका कारण गाउँगाउँ जान समस्या भएकाले एक/दुई दिनमै पार्टीको उम्मेदवार हेलिकप्टरमा खुम्बु क्षेत्रमा मत माग्न जाने उनले जानकारी दिए । एमालेले यही कात्तिक २१ गते लुक्लामा चुनावी सभा आयोजना गरेको थियो । यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक असिम राई भौगोलिक विकटताका कारण खुम्बु पासाङल्हामु क्षेत्रमा पुग्न नसकिएको बताउँछन् । ‘मिलेसम्म अझै पनि सत्ता गठबन्धनका उम्मेवारसहित पुग्ने प्रयासमा छौँ’, उनले भने, ‘त्यहाँका मतदाता काममै बढी व्यस्त हुन्छन्, घरमा भेटिने सम्भावना पनि न्यून हुन्छ, त्यसैले कम प्राथमिकता दिएका हौँ ।’ उम्मेदवार नै प्रत्यक्ष रुपमा पुग्न नकसे पनि स्थानीय नेता कार्यकर्ताले मतदातालाई रिझाउने काम गरिरहेको उनको भनाइ छ । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी, नेकपा एमाले बाट मानवीर राई, जनता समाजवादी पार्टीबाट ल्हाक्पा शेर्पा, राप्रपाबाट ज्ञानेन्द्रबहादुर बस्नेत, नेपाल मजदूर किसान पार्टीबाट तारानाथ कट्टेल, नेकपा एमालेबाट विष्णुप्रसाद बास्तोला र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्हामु शेर्पा उम्मेदवार छन् । एक मात्र महिला उम्मेदवार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शेर्पा रहेकी छिन् । यस्तै प्रदेशसभा क मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट गोम्बु शेर्पा, एमालेबाट उत्तमकुमार बस्नेत, राप्रपाबाट नरबहादुर बस्नेत, जसपाबाट भक्तबहादुर राई, नेमकिपाबाट चेतनाथ खनाल र मंगोल नेश्नल अर्गनाइजेशनबाट खेमकुमार राई तथा प्रदेशसभा ख मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट शिवबहादुर बस्नेत, एमालेबाट बुद्धिकुमार राजभण्डारी, राप्रपाबाट प्रेमहरि दाहाल, जसपाबाट महेशकुमार राना मगर, नेमकिपाबाट कमलबहादुर मगर र मंगोल नेश्नल अर्गनाइजेशनबाट शानीमाया राना मगर उम्मेदवार रहनुभएकी छिन् । कांग्रेसका ७३ वर्षीय केसी लामो समयदेखि चुनावी प्रतिस्पर्धामा उत्रिने एक्लो उम्मेदवार छन् । उनी सातौँँ पटक सांसदका लागि भिड्दै छन् । उनी २०४८ सालदेखि लगातार प्रतिस्पर्धा गर्दै आएका छन् । केसी चार पटक चुनाव जितेका भने दुई पटक पराजित भए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका केसीलाई हराउँदै माओवादी केन्द्रका हेमकुमार राई विजयी भएका थिए । राईले २० हजार ७४७ तथा केसीले १७ हजार २९४ मत प्राप्त गरेका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । अहिले भने कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । कांग्रेसका केसी २०४८, २०५१, २०५६ र २०७० मा चुनावमा विजयी भएका थिए । उनी २०६४ र २०७४ सालको निर्वाचनमा पराजित भए । सत्ता गठबन्धनबाट प्रदेशसभाका दुवै सिटमा माओवादी केन्द्रका उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभा ‘क’ मा गोम्बु शेर्पा तथा प्रदेशसभा ‘ख’ मा शिव बस्नेत उम्मेदवार छन् । यस्तै एमालेबाट प्रतिनिधिसभामा मानवीर राई उम्मेदवार छन् । एमालेबाट प्रदेशसभा ‘क’ उत्तमकुमार बस्नेत र प्रदेशसभा ‘ख’ मा वुद्धिकुमार राजभण्डारी उम्मेदवार रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा कांग्रेसले पाँच पालिका, एमालेले दुई तथा माओवादी केन्द्रले एउटा पालिकामा जित निकालेको थियो । यद्यपि सत्ता गठबन्धन र एमाले दुवैले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । सोलुखुम्बुमा आठ स्थानीय तह छन् । कांग्रेसले पाँँच पालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । कांग्रेसले सोलु दूधकुण्ड नगरपालिकासहित नेचासल्यान, महाकुलुङ, सेताङ र लिखु पिके गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । एमालेले खुम्बु पासाङल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा माप्य दूधकोसीमा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले घुलुङ दूधकोसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा माप्य दूधकोसी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । कूल ५१ वडा रहेको सोलुखुम्बुमा कांग्रेसले १८ हजार ५३९ मतसहित २३ वडामा वडाध्यक्ष जितेको थियो । एमालेले १६ हजार ५९७ मतसहित १८ वडाध्यक्ष तथा माओवादी केन्द्रले १२ हजार ४२५ मतसहित नाौ वडाध्यक्ष जितेको थियो । कूल एक लाख पाँच हजार एक सय १९ जनसङ्ख्या रहेको यस जिल्लामा मतदाता सङ्ख्या भने ८१ हजार पाँच सय दुई रहेको छ । पुरुष मतदाता ४२ हजार एक सय ३३ तथा महिला मतदाता ३९ हजार तीन सय ६९ रहेको छ । सल्लेरी कारागारका ९० कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ४८ कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्र घिमिरेले बताउनुभयो । त्यहाँँ कारगारमै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । जिल्लाका सबै ठाउँमा मतपत्र पुर्याइसकेको घिमिरेले जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिकामा हेलिकप्टरमा तथा अन्यमा सडकमार्ग भएर मतपत्र ढुवानी गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समन्वय समितिका प्रमुख अनिल खरेलले निर्वाचनका लागि जिल्लाभर एक हजार आठ सय ५२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा एक सय २२ मतदान स्थल तथा एक सय ३५ मतदान केन्द्र कायम गरिएको छ । रासस

नेपाल बैंकका कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडाैं । नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा काठमाडाैं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल बैंक यही कार्तिक ३० गते ८६ औं वर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले कार्तिक २५ र २६ गते कर्मचारी मैत्री ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकाे थियाे । प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका थिए । यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुव दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदी एवम् ध्रुव दाहालको समूह र महिला डबल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए । बैंकले नेपालभर २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।