विकासन्युज

मनाङमा विदेशी पर्यटक बढे

मनाङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिए । उनका अनुसार मनाङमा कात्तिकमा मात्र दुई हजार एक सय १६ विदेशी पर्यटक भित्रिएका छन् । पुरुष एक हजार दुई सय ६४ र महिला आठ सय ५२ जना रहेका छन् । विदेशी पर्यटक तिलिचो ताल, थोराङ्ला पास, मनास्लु हिमाल आरोहण लगायतका स्थानमा जाने गरेका छन् । ‘जिल्लामा यस सिजनको मध्यमा उच्च सङ्ख्यामा पर्यटकको आगमन भएको छ । यसले जिल्लाको आर्थिकस्तर वृद्धि गर्नेछ । पर्यटकको उल्लेख्य आगमनले मनाङवासीमा खुसीयालीका साथै उत्साह थपिदिएको छ’, कुर्मीले भने, ‘कात्तिकमा फ्रान्स, जर्मनी, युके, अमेरिका लगायतका देशबाट पर्यटक आएका छन् ।’ आयोजनाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजको पहिलो सातासम्म तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएका थिए । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्दछन् ।

चुनावको बेला अनुगमन नभएपछि व्यापारीले बढाए सामानको मूल्य

काठमाडाैं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ ।मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो । सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए । उनले पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै होइन नभएर हरेक खाद्यान्न लगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको बताए । ‘एक वर्षमा ३० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको छ. दशैँ—तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको छ, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको छ,’ उनले भने,’भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको छ, भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटेर चामलको मूल्य घटेर आएपनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेको छन्,’ बज्राचार्यले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीहरुले चुनावमा पार्टीहरुलाई दिएको चन्दा असुल गर्न निर्वाचनकै अवसरमा वस्तुको मूल्य वृद्धि गरेको आरोप लगाए । ‘अनुगमन गर्ने निकाय उपाभोक्ता हीत संरक्षण विभाग बजारमा कुनै वस्तुको मूल्य वृद्धि भए खुद्रा पसलमा गएर अनुगमन गर्ने तर ठूला व्यापारीहरुकोमा अनुगमन गर्न जान नसक्दा बजारमा मूल्य वृद्धि भइरहकाे छ,’ उनले भने । त्यस्तै, कुलेश्वरका खाद्यसामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल, दाल चामलको मूल्य बढेर नै आएको बताए । ‘भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारणले चामलको मूल्य धेरै बढेको हाे, डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको छ, बाहिरबाट नै वस्तुको मूल्य बढेर आएकाले बजारमा बेच्नलाई समेत समस्या भएको हाे,’ उनले भने । त्यस्तै, कुलेश्वमा खाद्यन्न किन्न आएकी विष्णु प्रधानले दाल चामल तथा तेलको मूल्य वृद्धि अत्याधिक बढेर सामान किन्न नसक्ने अवस्था भएको गुनासो गरिन् । उनले भारतले चामलमा लगाएको कर घटाएको भनिए पनि व्यापारीहरुले मूल्य नघटाएको बताइन् । बजारमा व्यापारीहरुले भारतबाट आउने चामलको मात्रै मूल्य बढेको तर नेपाली चामलको मूल्य घटेर आएको बताएका छन् । तर बजारमा उपभोक्ताहरुले दैनिक रुपमा प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दिनभर काम गरेर बिहान बेलुका दुई छाक टार्नेहरु मारमा परेका छन् । सरकारले समयमा नै बजार मूल्य नियन्त्रणका लागि बजार अनुगमन गर्नुपर्ने आवश्यक देखिएको छ ।

लघुवित्तले सेवा शुल्कमा मनोमानी गरेपछि लाभांशमा राष्ट्र बैंकको कडाइ, डेढ दर्जनले पाएनन् स्वीकृति

काठमाडौं । तरलताको संकट रहेको भन्दै ग्राहकबाट मनोमानी ढंगबाट सेवाशुल्क संकलन गरेपछि लघुवित्तहरुप्रति राष्ट्र बैंक रुष्ट बनेको छ । यसअघि बराम्बार पत्रचार गर्दै मनोमानी रुपले सेवा शुल्क नलिन भन्दै राष्ट्र बैंकले निदेशन दिएपनि अधिकांश लघुवित्तहरुले नटेरेपछि राष्ट्र बैंक ती संस्थाहरुप्रति कठोर बनेको हो । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको एजीएम क्लियरेन्स नदिँदा लाभांश वितरणमा पनि ढिलाइ भएको हो । लघुवित्तहरुले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेपनि स्वीकृति नपाउँदा लाभांश वितरणमा ढिलाइ हुने भएको हो । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत नगरेपछि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु राष्ट्र बैंक सेमत पुगेका थिए । लघुवित्तहरुले पेश गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणर स्वीकृतिमा सहजिकरण गर्न माग गर्दै राष्ट्र बैंक पुगेको एक लघुवित्तका सीईओले विकासन्युजलाई जानकारी दिए । नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीले गत कात्तिक २१ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गर्दै वित्तीय विवरण स्वीकृतिमा सहजीकरण गरिदिन माग गरेका थिए । गत सोमबार भएको भेटमा लघुवित्तका सीईओहरुले मौखिक माग राख्दै वित्तीय विवरण स्वीकृत गरी लाभांश वितरणमा सहजीकरण गरिदिन आग्रह गरेको बुझिएको हो । गत वर्षको वित्तीय विवरणमा राष्ट्र बैंकले प्रोभिजन नपुगेको भन्दै स्वीकृत गर्न ढिलाइ गरिरहेको संघको भनाइ छ । वित्तीय विवरण स्वीकृति ढिलो हुँदा लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्न पाएका छैनन् । सोही विषयमा स्पष्ट हुनका लागि गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्न लघुवित्तका सीईओहरु राष्ट्र बैंक पुगेको नेपाल लघुवित्त बैंकर्स संघका कार्यकारी सदस्य समेत रहेका महुलि लघुवित्तका सीईओ गंगाधर पाण्डेले बताए । लघुवित्तहरुले राष्ट्र बैंकमा पेश गरेको वित्तीय विवरणमा प्रोभिजन र सेवा शुल्कका कारण राष्ट्र बैंकले फिर्ता पठाएपछि आफूहरु स्पष्ट नभएको भन्दै गभर्नरसँग भेट गरेको उनको भनाइ छ । ‘गत वर्षको एजिएम क्लियरेन्समा सहजीकरण गर्न माग गर्दै राष्ट्र बैंकका गभर्नरज्यूसँग छलफल गरेका थियौं, लघुवित्तहरुले पेश गरेको वित्तीय विवरणमा राष्ट्र बैंकले प्रोभिजन र सेवा शुल्कको कारण देखाउँदै रोकेको छ, सो समस्यालाई समाधान कसरी गर्न सक्छ भन्ने किसिमले छलफल गर्न हामी राष्ट्र बैंक पुगेका थियौं,’ उनले भने । हालसम्म १९ लघुवित्त संस्थाहरुले स्वीकृतिका लागि वित्तीय विवरण राष्ट्र बैंकमा पेश गरेका छन् । राष्ट्र बैंकका अनुसार १९ वटा लघुवित्त वित्तीय संस्थाहरु वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेको भएपनि कुनै पनि लघुवित्तलाई स्वीकृति नदिएको बताएको छ । ‘१९ वटा लघुवित्तहरु वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएका छन्, त्यस विषयमा अध्ययन भइरहेको छ, हालसम्म आवेदन दिएका कुनै पनि लघुवित्तले स्वीकृति पाएका छैनन्,’ राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले भने । सेवा शुल्क बढी असुल गरेका लघुवित्तलाई रकम फिर्ता गराएर फाइनान्सियल स्टेटमेन्ट करेक्सन गरेर आउनु भनेको उनले बताए । ‘जुन लघुवित्तले राष्ट्र बैंकको निर्देशन भन्दा बढी सेवा शुल्क असुल गरेका छन्, उनीहरुलाई एजिएम क्लिेरेन्सका लागि आउँदा फिर्ता पठाएर फिर्ता शुल्क गर्न निर्देशन दिएको छ,’ उनले भने । गभर्नर अधिकारीसँगको छलफलमा बैंकहरुको ब्याजदर बढ्दा लघुवित्तहरु ब्याजदर बढ्नु पर्ने माग गरेका थिए । अहिले बैंकहरुको कर्जाको ब्याजदर १८ प्रतिशत पुगेको छ । तर, लघुवित्त संस्थाहरुले महँगो ब्याजदरमा ल्याएर १५ प्रतिशतमा कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको भन्दै गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका थिए । लघुवित्तको भविष्य नै संकटमा परेकाले सहजीकरण गर्नुपर्ने माग उनीहरुले राखेका थिए ।

भोट हाल्न जानेलाई बससेवाको अफर, मतदाता र उम्मेदवारले आकर्षक उपहार पाउने

काठमाडौं । बससेवा डटकमले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत निर्वाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीनजनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै ती मतदाताले भोट दिएका तीन जना उम्मेदवारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् । मतदाताले भोट दिएका उम्मेदवारले निर्वाचनमा विजयी वा हार बेहोरे पनि उपहार प्राप्त गर्ने र अफरबाट विजयी मतदाताले आफुले मत दिएको उम्मेदवारलाई गोप्य रुपमा उपहार दिन सक्ने कम्पनीले बताएकाे छ । विजेताको चयन बससेवाको अधिकारिक फेसबुक पेजमा लाइभ मार्फत गोलाप्रथाबाट गरिने बताइएकाे छ । मतदाता लक्षित् उपहार योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने, ‘ देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढि भन्दा बढि सहभागीता होस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्वजनिक गरेका हौँ । अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उम्मेदवारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उम्मेदवारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ’ । कम्पनीले यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागु हुने जनाएकाे छ । मतदाता तथा यात्रुले बसपार्क अलावा हालैमात्र बससेवाले कलंकीस्थित् ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रा गर्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् ।

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे । पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए । पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहेका छन् । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिएका छन् ।

चितवनमा डेङ्गु सङ्क्रमणका कारण ६ जनाको मृत्यु

चितवन । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताए । उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो । यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनले बताए । रासस

मंसिर ४ गते आन्तरिक हवाई उडान बन्द, अन्तर्राष्ट्रिय भने चल्ने

काठमाडौं । त्रिभुवन विमानस्थल कार्यलयले मतदान हुने दिन मंसिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान नगर्ने बताएको छ । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमति हुनसक्ने बताए । ‘चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैनु, निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुनसक्छ,’ उनले भने ।

चुनावको कारण दशैं तिहारमा जस्तै हवाई यात्रु बढे, ९० प्रतिशतले बुकिङ

काठमाडौं । आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौं  भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दैनिक १४ हजारभन्दा बढीले काठमाडौं स्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । ‘निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ’, उनले भने । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले याुत्रको भीडभाड बढेको हो । यात्रुको सङ्ख्या बढेपछि दशैं तिहारमा जस्तै एयरलाइन्सको विजनेश पनि बढेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताए । उनका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ । ‘निर्वाचन अघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको सङ्घारमा पनि उडानका यात्रु बढेका छन्’, प्रवक्ता शर्माले भने । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ । बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताए । उनका अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ । ‘अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ’, उनले भने, ‘यी दुई दिनका लागि बुकिङ पनि बढेको छ ।’ बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको सङ्घारमा आन्तरिक उडानमा चहलपहल बढेको बताए । कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उनको भनाइ छ । तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको उनको भनाइ छ । उनका अनुसार काठमाडौंदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम रु तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ । साथै, काठमाडौं–धनगढीका लागि अधिकतम १६ हजार रुपैयाँ भाडा तोकिएको छ । यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ । ‘निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन’, उनले भने ।