मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने १ अर्ब नाघ्यो
काठमाडौं । सोमबार केही अंकले उकालो लागेको सेयर बजार मंगलबार पुन: ओराले लागेको छ । नेपल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार सेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा पुगेको छ । नेप्से यसरी ओरालो लाग्दा मंगलबार २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब दुई करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउनेमा सिदार्थ म्युचल फण्ड-१, गुमाउनेमा तारागाउँ रिजेन्सी होटल र कारोबार हुनेमा हिमालयन डिस्टिलरी रहेको छ ।
तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता
बाँके । निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए । निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार नाकाबाट हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न खटिएको संयुक्त सुरक्षा टोलीले आइतबार राति बेतहनीमा अवैध रुपमा भित्रिएको तीन सय ५० बोरा गहुँसहित ट्रक नियन्त्रणमा लिइएको बताए । रातिको समयमा ग्रामीण बस्तीमा भेटिएको ट्रकलाई शङ्काका आधारमा सोधपुछ गर्दा अवैध रुपमा भित्रिएको गहुँ फेला पारेपछि आइतबार रातिनै गहुँसहित उक्त ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । सुरक्षा गस्तीका क्रममा अन्य स–सानो परिमाणका अवैध रुपमा भित्रिएका खाद्य वस्तु तथा लत्ताकपडासमेत बरामद गरी सुरक्षा टोलीले भन्सार कार्यालयमा बुझाउने गरेको उनको भनाइ छ । अवैध गहुँसहित पक्राउ परेको ट्रकमा चार सय २० बोरा गहुँको बिल भए पनि भन्सार कार्यालयमा जाँच गर्दा तीन सय ५० बोरा मात्र गहुँ पाइएको नेपालगञ्ज भन्सार कार्यालय मुद्दा शाखाका प्रमुख पवन भट्टले जानकारी दिए । ‘उक्त गहुँ कहाँबाट ल्याएको भन्ने थाह हुनसकेको छैन, आज बयान हुँदैछ’,भट्टले भने । रासस
नेपाल रि र हिमालयन रिले गरे पौने २८ अर्ब बढी लगानी, कुन क्षेत्रमा कति ?
काठमाडौं । नेपालका दुई पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षमा मात्रै पौने २८ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । तीन महिनामै नेपाल पुनर्बीमा (नेपाल रि इन्स्योरेन्स) कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले विभिन्न क्षेत्रमा २७ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणकोअनुसार नेपाल रिले २० अर्ब १ करोड ४ लाख र हिमालयन रिले ७ अर्ब ७६ करोड ४० लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । नेपाल रिले कुन क्षेत्रमा कति ? जसमध्ये नेपाल पुनर्बीमा कम्पनीले विभिन्न ७ वटा क्षेत्रमा २० अर्ब रुपैयाँ बढी लगानी गरेको हो । जसमध्ये नेपाल सरकारको बचत पत्रमा ३० करोड, क वर्गको मुद्दती निक्षेपमा १४ अर्ब ८१ करोड १२ लाख, सूचीकृत कम्पनीको सेयरमा ९ करोड ४७ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा १ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ९६ करोड ३१ लाख र अन्य क्षेत्रमा १ अर्ब ६३ लाख रुपैयाँ बराबरको लगानी नेपाल पुनर्बीमा कम्पनीको छ । हिमालयन रिले कुन क्षेत्रमा कति ? यता हिमालयन रिले जम्मा तीन वटा क्षेत्रमा लगानी गरेको छ । जसमध्ये कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेपमा ७ अर्ब ९ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा ६३ करोड ४० लाख र म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ४ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।
लगानी विस्तारमा आक्रामक बन्दै १९ जीवन बीमा कम्पनी, तीन महिनामै गरे ५ खर्बको लगानी
काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरु लगानी विस्तारमा आक्रामक बनेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामै करिब ५ खर्बको लगानी गर्न सफल भएकाले उनीहरु आक्रामक देखिएका हुन् । बीमा प्राधिकरणका अनुसार १९ कम्पनीहरुले पहिलो त्रैमासमै ४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन गत वर्षको तुलनामा १ खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ अर्थात २७.९७ प्रतिशतले बढी हो । कम्पनीहरुले गत वर्षको सोही अवधिमा कम्पनीहरुले ३ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए । १९ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी लगानी गरेको छ । कम्पनीले तीन महिनाको अवधिमा विभिन्न क्षेत्रमा कूल एक खर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, बढी लगानी गर्नेको दोश्रो सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । कम्पनीले २०७९ साउनदेखि असोजसम्ममा कूल ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ४९ अर्ब १८ करोड, राष्ट्रिय बीमा संस्थानले ४१ अर्ब ७० करोड, एशियन लाइफ इन्स्योरेन्सले ३१ अर्ब ५२ करोड र मेट लाइफ एलिकोले २४ अर्ब ४४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यसैगरी, २० अर्बभन्दा कम र १० अर्बभन्दा बढी लगानी गर्नेको सूचीमा ४ कम्पनी रहेका छन् । प्राइम लाइफले १९ अर्ब ९३ करोड, सूर्या लाइफले १४ अर्ब ८९ करोड, यूनियन लाइफ इन्स्योरेन्सले १३ अर्ब ३८ करोड र गुराँस लाइफले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । गत साउनदेखि असोजसम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब ८७ करोड, ज्योति लाइफले ९ अर्ब ५७ करोड, रिलायबल लाइफले ८ अर्ब ८० करोड, आईएमई लाइफले ६ अर्ब ३५ करोड, रिलायन्स लाइफले ६ अर्ब २६ करोड, सन नेपाल लाइफले ६ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यता प्रभु लाइफ इन्स्योरेन्सले ५ अर्ब ७१ करोड रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सले ५ अर्ब ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कूल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको लगानी गर्न सफल भएका छन् । यी कम्पनीहरुले घर जग्गा, सेयर बजार, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्र, सूचीकृत कम्पनीको ऋणपत्र, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार, म्युचुअल फण्ड र नागरिक लगानी कोष, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप र अन्य क्षेत्रमा गरी सो मात्राको लगानी गरेका हुन् ।
सोमालियामा जनवरीयता छ सयभन्दा बढी सर्वसाधारणको हत्या
सोमालिया । सोमालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सयजना भन्दा बढीको हत्या भएको एक राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् । उनका अनुसार यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन् । उनले यस वर्ष यहाँ सर्वसधारणको हत्या झनै बढेको छ । यहाँका नागरिकको मानव अधिकारको हनन् भएको र उनीहरुको हत्याको अवस्था झन् बढेको भन्दै उच्चायुक्त टर्कले यो निकै नै दुःखद अवस्था भएको पनि जानकारी दिएका हुन् । सोमबार प्रकाशन गरिएको विज्ञप्तिमा उनले अझै कति सोमालियाली सर्वसाधारण नागरिकको ज्यान जाने हो भन्ने निश्चित नरहेको र यो अवस्था भनेको निकै नै दुःखद अवस्था हो भन्दै यहाँको हिंसाको अन्त्यको बाटो खोज्न पनि सुझाएका छन् । सोमालियाका अल सेबाब हिंसात्मक विद्रोहीहरुले पछिल्लो समयमा नागरिक हत्याको शृंखलालाई झन् बढाएको देखिएको पनि उनले बताएका छन् ।यहाँका विद्रोहीहरुले विस्फोटक पदार्थको प्रयोग गरेर नागरिकको हत्या गर्ने गरेका उनले बताए । उनले अल सेबाब विद्रोहीहरुले करिब ९४ प्रतिशत हत्या यस्ता विस्फोटक पदार्थको प्रयोगबाट गर्ने गरेका र त्यसपछि उनीहरुले आत्मघाती हमला पनि गर्ने गरेका पाइएको उनले जानकारी दिए । रासस
मंसिर १६ गतेदेखि भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने
काठमाडौं । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने भएको छ । यही मंसिर १६, १७ र १८ गते भृकुटिमण्डपमा इभि नेपाल एक्सपो हुन भएको हो । एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस एक्सपोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् । यस एक्सपोको पहिलो उद्देश्य नेपालमा विद्धुतिय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ । आयोजकको अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्ड राखिनेछ । एक्सपोमा विशेष गरी विद्युतिय कार, विद्युतिय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतिय बस, विद्युतिय ट्रयाक्टर, विद्युतिय कार्गो लोडर , रिक्सा तथा विद्युतिय चार्जिङ स्टेसन , ब्याट्री तथा अन्य विद्धुतिय सामाग्रीहरू राखिने बताइएको छ । पछिल्ला दशकहरूमा विद्धुतिय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उल्लेखनिय मात्रमा हाइड्रो पावरहरु पनि सञ्चालनमा आएका छन् । यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्धुतिय यातायातमा सारेको देखिन्छ । विद्धुतिय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्दछ । यसरी विद्युतिय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जिको खपत बढाउँछ ।
नेपाल बैंकको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समता पन्तले गरेका थिए भने कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारीले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरे । नेपाल बैंक कार्तिक ३० गते ८६औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायीत्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दै आएको छ । नेपालभर २२६ शाखाहरु, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
घट्यो विदेशी लगानीको न्यूनतम सीमा
काठमाडौं । विदेशी लगानीको न्यूनतम सीमा घटाईएको छ । सरकारले विस २०७६ को जेठदेखि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न न्यूनतम सीमा पाँच करोड रुपैयाँ राखेको थियो । उक्त सीमालाई घटाउँदै सरकारले प्रति विदेशी लगानीकर्ता न्यूनतम सीमा दुई करोड रुपैयाँमा झारेको हो । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले न्यूनतम सीमा घटाईएको उल्लेख गरेका थिए । बजेटमा नै समावेश गरीएको उक्त विषयलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै न्यूनतम सीमा दुई करोड बनाईएको उल्लेख गरेको हो । नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा तोकिएको सूचनामा उल्लेख छ । उक्त न्यूनतम सीमा नेपाल सरकार र गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत् नेपालमा लगानी गर्न गैर आवासीय नेपाली (प्राकृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने र उक्त इन्भेष्टमेन्ट कम्पनीले इन्भेष्टमेन्ट कम्पनीका सबै शर्तहरु पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।