नेपालमा छ हजार ४८६ व्यावसायिक पशुपालन फार्म, प्रदेश १ मा सबैभन्दा बढी
काठमाडौं । नेपालमा कूल छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग) ले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो । सर्वेक्षणको नतिजाअनुसार देशभर एक हजार दुई सय ३३ वटा गाईपालन फार्म र नौ सय १४ वटा भैँसीपालन फार्म रहेका छन् । त्यस्तै, ४३ वटा राँगापालन फार्म, दुई हजार दुई सय ९५ वटा बाख्रा/च्याङ्ग्रापालन फार्म, पाँच सय ७२ वटा भेडापालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । मासु प्रयोजनका लागि एक सय १८ वटा र पाठापाठी उत्पादन प्रयोजनका लागि तीन सय ६४ वटा सुँगुरपालन फार्म सञ्चालनमा रहेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ । यो सर्वेक्षणले नेपालमा गाई/भैँसीपालन (मिश्रित) फार्म चार सय ८३ वटा, बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म एक सय ९८ वटा र गाई/भैँसीपालन तथा बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म दुई सय ६५ वटा रहेको देखाएको छ । यस्ता व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश नम्बर १ मा सबैभन्दा बढी अर्थात् एक हजार दुई सय ७० र मधेस प्रदेशमा सबैभन्दा कम अर्थात् चार सय चार वटा फार्म रहेको पाइएको छ । सर्वेक्षणको नतिजाअनुसार नेपालमा ४४ हजार आठ सय ७३ वटा गाई/गोरु व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका गाई/गोरुको सङ्ख्या ३३ हजार सात सय ५७ (७५ प्रतिशत) रहेको छ । यिनीहरुमध्ये दूध दिने र नदिने गाईको सङ्ख्या क्रमशः १५ हजार तीन सय ८० (६३ प्रतिशत) र नौ हजार एक सय चार (३७ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् नौ हजार तीन सय ६४ वटा गाई/गोरु बागमती प्रदेशमा र सबैभन्दा कमअर्थात् दुई हजार दुई ७४ वटा गाई गोरु सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । यसैगरी, यो सर्वेक्षणले नेपालमा ३४ हजार छ सय ५३ वटा राँगा/भैँसी व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगा/भैँसीको सङ्ख्या २४ हजार चार सय ४७ (७१ प्रतिशत) रहेको छ । यिनीहरूमध्ये दूध दिने र नदिने भैँसीको सङ्ख्या क्रमशः १० हजार आठ सय ४१ (६१ प्रतिशत) र छ हजार नौ सय ३१ (३९ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ११ हजार चार सय ६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात् एक हजार छ सय ३० वटा भैँसी सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । सर्वेक्षणले नेपालमा जम्मा एक लाख ५० हजार पाँच सय ६८ वटा बाख्रा, ८८ हजार चार सय २१ वटा भेडा र ३८ हजार तीन सय ६० वटा सुँगुर व्यावसायिकरुपमा पालेको देखाएको छ । प्रतिवेदनअनुसार १५ हजार तीन सय ८० वटा दूध दिने गाई चार करोड ५८ लाख ३ हजार चार सय ५७ लिटर दूध उत्पादन भएको देखाएको छ । यसैगरी व्यावसायिक फार्म बाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ । यो सर्वेक्षणको लागि मुलुकभर जम्मा सात सय ९८ पशुपालन व्यवसाय छनोट गरिएको मन्त्रालयले जनाएको छ ।
स्थापना दिवसको अवसरमा घिमिरे समाजले सम्पन्न गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । घिमिरे समाज नेपालले १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको चाबहिलमा रहेको प्रधान कार्यलयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १३ जना रक्तदाताका साथै नियमित रक्तदाना झनकराज ढुंगेलले ६९ पटक आफ्नो रगत दान गरेका थिए । कार्यक्रमका संयोजक शुशिला ढुंगेल घिमिरेले गरेका थिए भने संस्थाका अध्यक्ष सम्पत घिमिरेले समाजको सामाजिक क्रियाकलाप र रक्तदानको महत्वको सम्बन्धमा जानकारी दिएका थिए ।
मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमाेजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो । आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने निर्देशन दिएको छ । ‘कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो स्थानमा साथमा लागि मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचीत गर्ने ।’ आयोगको निर्देशनमा भनिएको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने ।’ रासस
‘आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य’
चीन । चीनका राष्ट्रपति सी जिनफिङले कोभिड–१९ का कारण तहसनहस भएको विश्वअर्थतन्त्रको पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य भएको बताएका छन् । विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्चजी ट्वेन्टीको सत्रौँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी र सहकार्य आवश्यक भएको बताए । चिनियाँ राष्ट्रपतिले जनतालाई केन्द्रमा राखेर विकासलाई प्राथमिकता दिनुपर्ने, विकासोन्मुख देशका समस्या समाधानमा चासो दिनुपर्नेमा जोड दिँदै कोभिडविरुद्धको अन्तरराष्ट्रिय सहयोगलाई निरन्तरता दिनुपर्ने बताए । आर्थिक पुनरुत्थानका निम्ति पनि उपयुक्त वातावरण बनाउन आवश्यक भएको उनले बताए । विश्वव्यापीरूपमा बढेको मूल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्ने, प्रणालीगत आर्थिक एवम् वित्तीय जोखिम घटाउनुपर्ने, सुदृढ अर्थतन्त्र भएका राष्ट्रका मौद्रिक नीतिको समायोजनबाट परेको प्रभाव कम गर्नेतर्फ लाग्नुपर्ने तथा उनीहरूको ऋणलाई दिगोस्तरमा राखेर बढ्दो ब्याजबाट जोगाउनुपर्ने आवश्यक राष्ट्रपति सीले औँल्याए । वर्तमान विश्वले सामना गर्नुपरेका विविध चुनौती सामना गर्न सबै देशले साझा भविष्यलाई सम्झेर सामुदायिक दृष्टिकोण अँगाल्नुपर्ने, विकासको बाटोमा अग्रसर देशलाई थप सहयो गर्नुपर्ने, सन्तुलित विकाका निम्ति उनीहरूलाई सघाउनुपर्ने, विश्वको प्रगतिलाई अगाडि बढाउन तथा मानव जातिको उन्नयन र शान्तिका लागि उदाहरणीय नेतृत्वका लागि विश्व नेतालाई उनले आह्वान गरे । राष्ट्रपति सीले खाद्यान्न र ऊर्जाका विषयलाई राजनीतिकरण गर्ने, तिनलाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्तिको दृढतापूर्वक विरो गर्नुपर्ने, एकतर्फीरूपमा लगाइएका प्राविधिक एवम् अन्य क्षेत्रका सबै प्रतिबन्ध हटाउनुपर्ने बताए । आधुनिकीकरणको दिशामा अग्रसर चीनले विश्वका लागि थप अवसरहरू सृजना गर्ने, अन्तरराष्ट्रिय सहयोगलाई गतिदिने तथा मानव प्रगतिका निम्ति सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । अफ्रिकी सङ्घलाई समूहमा सामेल गर्न चीनको समर्थन रहेको चिनियाँ राष्ट्रपतिले बताए । उनले विश्वको विकासलाई थप समावेशी, सबैका लागि लाभदायक एवम् थप लचिलो बनाउनुपर्ने बताउँदै तीनबुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभयो । समूहमा १९ देशसहित युरोपेली सङ्घ सदस्य छन् । रासस
प्रभु क्यापिटलका ग्राहकलाई क्रिस्टल डाईग्नोस्टिकको सेवामा २० प्रतिशतसम्म छुट
काठमाडाैं । प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच मंगलबार सम्झाैता भएकाे छ । सम्झाैता अनुसार क्यापिटलका सबै हितग्राहीहरुले क्रिस्टल ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूट पाउनेछन् भने आउटसोर्सिङ्ग गरेको टेस्टमा ल्याबबाट १०% छूट पाउनेछन् । यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ । सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ । काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।
प्रतिस्पर्धी पाण्डेमाथि पौडेलको कटाक्ष, सांसद भएर अर्थमन्त्री बन्ने लक्ष्य
चितवन । ‘तपाईंले देखेको सपना र मैले देखेको सपना एउटै हो, आगामी मंसिर ४ त्यो सपना पूरा गर्ने दिन हो,’ चितवन क्षेत्र नम्बर १ मा गठबन्धनबाट कांग्रेस उम्मेदवार डा. विश्व पौडेलको नारा हो । अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा पीएचडी गरेका पौडेलले जनताका घर घरमा पुगेर विकास र समृद्धि नै आफ्नो सपना भएको बताउने गरेका छन् । ‘जनताले विकास चाहेका छन्, शिक्षा, स्वास्थ्य र रोजगारी र राम्रो पूर्वाधारको सपना देखेका छन्, त्यही सपनालाई साकार पार्न म जनतामाझ आएको हुँ,’ पौडेलले भने । गएको शनिबार सत्ता गठबन्धनको चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा विकास बुझेको विद्वान् मान्छे डा. विश्व पौडेललाई पठाएको बताउँदै चुनाव जिताउन आग्रह गरे । त्यसले पौडेलका लागि चितवनमा सकारात्मक माहोल थपिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका पौडेल जनताको नजिक बसेर सेवा गर्ने मनसायका साथ निर्वाचनमा होमिएको बताउँछन् । ‘जनतालाई सुविधा हुने गरी कानून र नीति बनाउने ठाउँ संसद् हो, त्यसैले संसद्मा गएर ती काममा लाग्नेछु,’ उनले भने । यसअघि राष्ट्रिय योजना आयोगमा बसेका धेरै व्यक्तित्वहरू चुनावमार्फत संसद्मा गएको स्मरण गर्दै पौडेल राजनीतिमा आफ्नो संलग्नता स्वभाविक भएको बताउँछन् । प्रभावशाली युवा अर्थशास्त्री पौडेललाई धरैले भावी अर्थमन्त्रीका रुपमा समेत प्रक्षेपण गरेका छन् । तर, उनी आफैँ भने आफूलाई त्यस रुपमा चित्रित गर्न चाहँदैनन् । ‘भोलिका दिनमा पार्टीले दिएको जिम्मेवारी वहन गर्ने हो तर अहिले मेरो एकमात्रै उद्देश्य संसद्मा जानु हो,’ उनले भने। पूर्वी चितवन विकासमा पश्चिम चितवनभन्दा धेरै पछाडि परेको उनी बताउँछन् । विगतमा नेतृत्व गर्नेहरूले राम्रोसँग जनताको काम नगर्दा पूर्वी चितवन पछाडि परेको दावी गर्दछन् । उनको सीधा संकेत नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रति छ । सो क्षेत्रबाट यसअघि पाण्डे निर्वाचित भएका थिए । पौडेललाई सत्ता गठबन्धनबाट कांग्रेससहित नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थन छ । पौडेलका लागि प्रतिस्पर्धी पनि कडा भएकाले नयाँ जोस र जाँगर बाकेर चुनावी मैदानमा होमिएका पौडेलका लागि जित निकाल्न निकै कठिन छ । चुनाव प्राविधिक विषय मात्रै नभएर जनताका घर घरमा पुग्नु पर्ने जनताका कुरा सुन्नु पर्ने अर्को ठूलो चुनौती रहेको छ। ‘अहिले म घर घरमा जनतासँग हातेमालोमा छु,’ पौडेलले भने। कांग्रेसका बागी उम्मेदवार बनेर फिर्ता लिएका राजेन्द्र बुर्लाकोटीलाई विश्वासमा लिएर चुनावी प्रचारमा मैदान होमिएका पौडेल चुनाव जित्ने कुरामा ढुक्क छन् । ‘चितवनले नयाँ अनुहार र विकास खोजेको छ, म अर्थ र विकास दुवैमा जानकार छु, चितवनका जनताले विश्वास गर्ने आशा छ,’ पौडेलले भने । पश्चिम चितवनमा शिक्षा, स्वास्थ्य क्षेत्रमा त पूर्वभन्दा अघि थियो नै । पर्यटनमा समेत पूर्वी चितवनको सौराहालाई पश्चिम चितवनले पछि पार्न लागेकोमा पौडेल चिन्तित छन् । पूर्वाधारमा मात्रै होइन, यी क्षेत्रको विकासका लागि समेत आफूले पूर्वी चितवनको नारा अगाडि सारेको पौडेल बताउँछन् । पौडेललाई कति सहज ? लगातार सांसद बन्दै आएका नेकपा एमालेबाट पूर्वअर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डे र नयाँ अनुहार भन्दै चितवनमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हरि ढकाल पौडेलकै क्षेत्रमा उम्मेदवार छन् । पौडेलका लागि ढकालको माहोल पनि टाउको दुखाई बनेको छ । तर पनि अहिले जनताले विस्तारै आफ्ना बारेमा बुझ्न थालेकाले पछिल्ला दिनहरूमा केही सहज हुँदै गएको पौडेल बताउँछन् । राजनीतिक रुपमा सुरेन्द्र पाण्डे शालिन र नेकपा एमालेभित्रका बौद्धिक छवि बनाएका नेतामा पर्दछन् । सोही कारण पनि पौडेलका लागि मैदान सहज भने छैन । पाण्डेले अघिल्लो पटक भारी मतसहित चितवन १ बाट विजयीसमेत भएका थिए । पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री डा. पौडेल दुवै उम्मेदवार अर्थतन्त्र बुझेका व्यक्ति भएकाले धेरैको ध्यान चितवन १ मा केन्द्रित छ । यसअघिको निर्वाचनमा पाण्डेले कांग्रेसका उम्मेद्वार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई करिब १६ हजार मतान्तरले पराजित गरेका थिए। त्यसबेला माओवादी र एमालेबीच गठबन्धन भएको थियो । तर, यसपटक कांग्रेसले माओवादीसँग गठबन्धन गरेको मात्रै होइन एमाले पनि विभाजित भएको अवस्था छ । प्रदेशसभामा नेकपा समाजवादीका उम्मेदवारसमेतको साथ लिएर उनी हिँडेका छन् । पूर्वी चितवनका तीन नगरपालिकामध्ये एउटा राप्ती नगरपालिकामा नेकपा समाजवादीले मेयरमा जितेको छ । बाँकी दुई नगरपालिकाहरू रत्नतगर र खैरहनीमा कांग्रेसले जितेको छ। यसअघि यी तीनवटै नगरपालिका एमालेले जितेको थियो । त्यसैले पनि पौडेल जीतप्रति निकै आशावादी छन् । ‘पूर्वी चितवनका जनताले तीनवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरी परिवर्तनको थालनी गरेका छन्, यो अभियानलाई बीचमै रोक्नुहुँदैन । त्यसैले संसदीय निर्वाचनमा मलाई जिताएर त्यसलाई पूरा गर्नेछन्,’ आत्मविश्वासका साथ पौडेलले भने। विगतमा स्थानीय नेतासँग मात्रै प्रतिस्पर्धा गरेका पाण्डे यतिबेला योजना आयोगको उपाध्यक्ष बनिसकेका व्यक्तिसँगको प्रतिस्पर्धामा छन् । पौडेलले योजना आयोगमा रहँदा नै धेरै योजनाहरू चितवनमा लगेका कारण पनि प्रतिस्पर्धा रोमाञ्चक हुने देखिन्छ । योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर प्रतिनिधिसभाको उम्मेद्वार बनेका डा. पौडेल पूर्वअर्थमन्त्री पाण्डेमाथि भारी पर्नसक्ने आँकलन पनि गरिएको छ । आयोग उपाध्यक्षको पद सम्हालेपछि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका पौडेलले चालु आर्थिक वर्षको बजेटमा पनि चितवन केन्द्रित ठूलै योजनाहरू सुरु गराएका छन् । पौडेलले चितवनको विकास गर्न काठमाडौं–चित्लाङ–चितवन द्रुतमार्गको योजना मात्रै होइन सुरुङमार्ग निर्माण बजेटमा नै समावेश गरेका छन् । १४ महिना उपाध्यक्ष हुँदा खानेपानी सडक पूर्वाधार, ग्रामीण विद्युतीकरणमा विशेष जोड दिएको बताउँदै आएका छन् । सुरुङमार्ग, नारायणी र त्रिशूलीको वैकल्पिक सडक निर्माणको योजनासमेत पौडेलले अगाडि सारेका छन् । ‘मेरो प्रतिस्पर्धी सुरेन्द्र पाण्डे विगत १० वर्षदेखि सांसद भएर काम गर्नु भएकोले अहिले पूर्वी चितवन नयाँ अनुहार खाजेको छ,’ पौडेलले भने । अहिले चितवनको पश्चिमभन्दा पूर्व चितवन पछाडि परेकोले पनि जनताले नयाँ विकासप्रेमी सांसद खोजेको पौडेलको बुझाई छ । ‘म संसदमा गएँ भने विकासको आवाज केन्द्रसम्म र सरकारसम्म पु¥याउने काममा तल्लीन हुने छु, मेरो विज्ञता पनि यसमै छ,’ पौडेलले भने । सांसदहरूको काम कानून निर्माण गर्ने र जनताको समस्या समाधान गर्ने भएकोले योजना निर्माण सोही ढंगले गर्नेसमेत पौडेलले बताए । पौडेल सन् २०२० नोभेम्बरदेखि जुलाई २०२१ सम्म इन्नोभेटिभ इन्भेष्टमेन्ट कन्सल्टिङ ग्रुपको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । काठमाडौं युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरको रुपमा साँढे ३ वर्ष र ५ वर्ष ५ महिना असिस्ट्यान्ट प्रोफेसरका रुपमा काम गरेका छन् । यस्तै, सन् २०१८ देखि २०२० सम्म अन्तर्राष्ट्रिय श्रम संगठनमा इकोनोमिक एडभाइजरका रूपमा काम गरेका छन् । यसैगरी, सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताको काम गरेको अनुभव पनि उनीसँग छ ।
उद्यमको सोच ल्याउनेलाई आइडिया स्टुडियोले सहयोग गर्ने
काठमाडौं । ‘सोचदेखि उद्योगसम्म’ नाराका साथ उद्यमको दृष्टिकोण राख्ने व्यक्तिलाई आइडिया स्टुडियोले लगानीको वातावरण बनाइदिने भएको छ । आइडिया स्टुडियोले यसका लागि उद्यमको सोच ल्याउन आजदेखि सिजन ७ सुरु गरेको छ । यसका लागि स्टुडियोको वेबसाइटमा गएर फर्म भर्न सकिने आज जानकारी दिइएको छ । आजदेखि पुस मसान्तसम्म फर्म भर्न सकिने जनाइएको छ । आइडिया स्टुडियोको सिजन ६ सम्म तीन हजार उद्यमका सोच आएको कार्यकारी अध्यक्ष छिरिङ लामाले बताए । ‘तीन हजार सोचमध्येबाट आठसयलाई मार्ग निर्देश गरिएको छ, तीमध्ये धेरैले अहिले स्वरोजगार गरी १० जनादेखि दुईसय जनासम्मलाई रोजगारी दिएका छन्, यी उद्योगमा पाँच लाख रुपैयाँदेखि १३ करोड रुपैयाँसम्मको लगानी छ, यसका लागि हामीले गैर नाफामूलक कम्पनीका रुपमा काम गरेका छौँ’, उनले भने । स्टुडियोले ज्ञानका लागि राष्ट्रिय केन्द्र स्थापनाको पहल गरेको जनाइएको छ । गैर नाफामूलक कम्पनीका रुपमा स्थापना भएको स्टुडियोले गत वर्षदेखि ‘सोचदेखि उद्योगसम्म’ कार्यक्रमका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य सुरु गरेको छ । मन्त्रालयसँगको सहकार्यमा प्रतिभा कार्यक्रम सुरु गरिएको कार्यकारी अध्यक्ष लामाले सुनाए । उद्यमी बन्न चाहनेका लागि स्टुडियोलाई राजमार्गका रुपमा स्थापित गरी गन्तव्यमा जान चाहने सबैलाई पठाउने नीति लिएको पनि उनले बताए । उद्यम गर्न चाहनेका लागि ज्ञान र सीपमा सहयोग गरिने स्टुडियोले जनाएको छ । कार्यक्रमका लागि जापानसँग पनि समझदारी गर्न लागिएको छ । यसका लागि १५ दिनमा जापानी प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । स्टुडियोका सञ्चालक सुरेश सिम्खडाले सातौँ सिजनका लागि सबैले आइडिया पठाउन सक्ने बताए । उद्यमशीलतामा लाग्न चाहनेका लागि तीनै तहका सरकारले सहयोगको वातावरण बनाइने भनाई पनि उनको थियो । स्टुडियोका अर्का सञ्चालक माल्भिका सुब्बाले गत वर्षमात्र उद्यम गर्न चाहने आठ सय ३३ जनाको सोच आएको जानकारी गराए । उद्यमका सोचलाई मूर्तरुप दिन प्रेरणा गरिएको पनि उनले सुनाए । उद्यमको सोच ल्याउनेलाई वातावरण मैत्री भएर काम गर्न विश्व वन्यजन्तु कोषले प्राविधिक सहयोग गरिरहेको डा घनश्याम गुरुङले बताए । उद्यम क्षेत्रका दिगो विकासका लागि पनि वातावरण मैत्री भएर काम गर्न प्रेरित गरिएको उनले सुनाए । गत वर्ष आएका आठसय ३३ उद्यमका सोचमध्येबाट उत्कृष्टलाई स्पेस ४ के टेलिभिजनबाट यसै हप्तादेखि कार्यक्रम देखाउन लागिएको जनाइएको छ । सकारात्मक सोचकासाथ टेलिभिजनले यो कार्यक्रम चलाउन लागेको प्रबन्ध निर्देशक प्रभात चलाउनेले बताए । सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवालीले सोचदेखि सुशासनसम्म नाममा मन्त्रालयले स्टुडियोसँग सहकार्य गरेको जानकारी दिए । कार्यक्रममा काठमाडौं मोडेल कलेजका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदी, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमका सञ्जीव सुब्बालगायतले उद्यमशीलताको विकासमा स्टुडियोका कार्यक्रमले सहयोग गर्नेमा जोड दिएका थिए ।
देउवा, ओली र प्रचण्डलाई भोट नदिनु : गोविन्द केसी
काठमाडौं । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुसमक्ष आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गरेका हुन् । उनले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए । शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधिकरण गरेको आरोप लगाए । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले उल्लेख गरे । डा। केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडी धकेलिएको बताए । ‘आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्नुहोला, सबै पार्टीमा राम्रो नेताहरु पनि छन्, त्यसैले राम्रो नेतालाई मात्रै छानेर भोट दिनुहोला,’ उनले भने ।