विकासन्युज

बेल्जियम नागरिकद्वारा एक लाख ३५ हजार एक हजार युरो बाल अनाथालयमा सहयोग

मङ्गलबारे । युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गरेका छन् । बेल्जियमबाट नेपाल घुम्न आएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार एक हजार युरो सहयोग गरेका हुन् । इलाम नगपालिका ९ मा रहेको बाल अनाथालय पुस्कतकालय निर्माणमा सहयोग खर्च हुने उनको भनाइ छ । साथै क्विन इलाम पर्यटन प्रवद्र्धन समिति, गायक कविराज निरौला र राहशल अनाथालय सञ्चालक समितिको सहयोगमा अनाथालयका १६ जना बालबालिकालाई पर्यटकीय क्षेत्र कन्याम, अन्तु लगायतका ठाउँमा एकदिने भ्रमणसमेत गराएका छन् । नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणपश्चात् इलाम आएका उनको युट्युबमा १० हजार सस्क्राइबर भएको खुसियालीमा टेन्सले बालबालिकाका निम्ति सहयोग गरेको बताए । पर्यटन सूचना केन्द्रको भ्रमणपछि इलामका विभिन्न पर्यटकीय क्षेत्र घुम्नुभएका टेन्सले क्विन इलामको सहयोगमा थप ठाउँहरूमा समेत भ्रमण गरेका थिए । इिलाम सदरमुकाममा नजिक पर्यटकीयस्थलहरूको भ्रमण गरेका उनले सो क्षेत्रको प्रचारसमेत गर्ने बताए । उनले जिल्लाका विभिन्न स्थलबारे भिडियोमार्फत् प्रचारसमेत गरिरहेका छन् । रासस

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ९.४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ता गर्ने निर्णय गरेको हो । सो लाभांश प्रस्ताव बीमा समिति (हालको बीमा प्राधिकरण)बाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भई र प्रिमियम इन्स्योरेन्ससँग मर्जर पश्चात एकीकृत कारोबार भएपछि सेयरधनीले सो लाभांश पाउने बताइएको छ ।

भारतीय सेनिटाइजरमा मेथानोल भेटिएपछि बिक्रीमा प्रतिबन्ध

काठमाडौं । नेपाली बजारमा बिक्री वितरणमा रहेको भारतीय ह्यान्ड स्यानीइजरमा विषाक्त मेथानोल मिसाइएको पाइएपछि औषधी व्यवस्था विभागले त्यसको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । भारतीय कम्पनी ग्लोबल हेल्थकेयर कम्पनीले उत्पादन गरेको जीएचसी ह्याण्डकेयर नामको सेनिटाइजरको नमूना परीक्षण गर्दा त्यसमा विषाक्त मेथानोल पाइएपछि विभागले एक सूचना प्रकाशित गर्दै बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो । विभागले सूचनामा औषधि ऐन २०३५ को दफा १४ बमोजिम सो सेनिटाइजरको बिक्री वितरण रोकी सो को विवरण विभागमा पेस गर्न उद्योग, आयातकर्ता र तिनका प्रतिनिधिलाई भनेको छ । विभागको सूचना

माउण्टेन इनर्जीको लाभांश घोषणा, साधारणसभाको मिति पनि तय

काठमाडौं । माउण्टेन ईनर्जी नेपालले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस ८ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले लाभांश प्रस्ताव गरेका छन् । मर्जर प्रक्रियामा रहेका यी दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका हुन् । दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र दुवै बैंकको आ–आफ्नो साधारणसभाले पारित गरेपछि उक्त लाभांश बैंकका सेयरधनीले पाउनेछन् ।

अपाङ्गता भएका बालबालिकालाई ‘सुप समावेशी’

सहजपुर । कैलालीमा मात्रै नभइ सुदूरपश्चिम प्रदेशमै २०६७ अघिसम्म अपाङ्गता भएका बालबालिकाले राम्रोसँग पढ्न पाएका थिएनन् । भएका विद्यालयमा अपाङ्गतमैत्री संरचना नहुँदा अपाङ्गत भएका बालबालिकाले आवश्यकतानुसारको शिक्षाबाट बञ्चित हुनुपरेको थियो । अपाङ्गत भएका बालबालिकाको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलोपटक ‘सुप’ समावेशी आधारभूत विद्यालयको स्थापना भयो । कैलालीको गोदावरी नगरपालिका–२ मा स्थापित उक्त विद्यालयले अपाङ्गत भएका बालबालिकालाई आवाससहित शिक्षाको सुविधा प्रदान गर्न थालेपछि अहिले अपाङ्गत भएका बालबालिकालाई राहत महसुस भएको छ । कैलालीकै बौनियाबाट उक्त विद्यालयमा पढ्न आएकी छात्रा चित्रकला विकले अन्य विद्यालयको तुलनामा सुप समावेशीमा पढाइ सहज भएको बताए । ‘बौनियामा कक्षा २ सम्म पढेँ, त्यसपछि यहाँ आएकी हुँ’, उनले भने, ‘त्यहाँको र यहाँको शैक्षिक वातावरण विलकुलै फरक छ, साथीहरूको व्यवहार पनि फरक छ, शैक्षिक गतिविधि पनि फरक छ ।’ उनले सुप समावेशीमा अपाङ्गत भएका बालबालिका नै रहेकाले कसैलाई पनि आफू कमजोर भएको महसुस नहुने बताए । कक्षा ७ मा पढ्दै गरेकी उनले सुप समावेशीलाई उच्च शिक्षासम्मको अनुमति पाए अझै राहत हुने बताए । ‘कक्षा ७ मा पढ्दै छु, यो वर्ष अन्तिम हो, त्यसपछि फेरि बाहिर जानुपर्छ’, उनले भने, ‘बाहिरको वातावरण प्रायःजसो अपाङ्गत भएका व्यक्तिका लागि उपयुक्त हुँदैन, त्यस्तो अवस्था शिक्षा आर्जन गर्न पनि गाह्रो हुन्छ ।’ उनले सुप समावेशीलाई नै उच्च तहसम्म अनुमति दिई सरकारले शिक्षकलाई अध्यापनका लागि पठाए आफूजस्ता अपाङ्गत भएका बालबालिकाले सहजरूपमा आवाससहितको शिक्षा पाउने बताए । उनले अन्य विद्यालयमा अपाङ्गत भएका बालबालिकाका लागि अपाङ्गता संरचना नहुने भएकाले समस्या हुने गरेको बताए । कैलालीकै टीकापुरबाट सो विद्यालयमा अध्यापन गर्न आएका गौतम विकले विद्यालयमा पारिवारिक वातावरण पाएको बताए । ‘अपाङ्गता भएका साथी छन्, परिवारको जस्तो वातावरण छ’, उनले भने, ‘शिक्षक–शिक्षिकाले पनि राम्रो व्यवहार गर्छन्, यहाँ हामीजस्ता बालबालिकालाई शिक्षाआर्जन गर्न सहज भएको छ ।’ कक्षा ७ मा पढिरहेका उहाँले पनि सुप समावेशीको स्तरोन्नतिको माग गरे । ‘हामी यो वर्ष अन्तिम हो यहाँ पढ्ने, त्यसपछि अन्य विद्यालयमा जानुपर्छ’ उनले भने, ‘अन्य विद्यालयमा आफू अनुकूलको वातावरण भए पढ्न सकिन्छ, नभए पढाइ छोड्नुपर्ने बाध्यता आउँछ ।’ उनले सुप समावेशीलाई उच्च तहसम्मको अध्यापन गर्ने अनुमति दिए आफूजस्ता बालबालिकालाई पढाइमा सहज हुने बताए । ‘यहाँ हामीजस्ता बालबालिकालाई एकदमै राम्रो शैक्षिक वातावरण छ, हामीले यहाँबाट अपाङ्गत भएका बालबालिकाले पनि जीवनमा केही गर्न सक्छन् भन्ने कुरा सिकेका छौँ’, उनले भने, ‘धेरै अपाङ्गता भएका व्यक्तिको जीवनीबाट हामीलाई प्रेरणा दिने काम सर–म्याडमहरूले गर्छन्, बीच–बीचमा हाम्रो स्वास्थ्य अवस्थाका बारेमा पनि जाँच भइरहेको हुन्छ ।’ विद्यालयमा आउनुअघि हिँडडुलसमेत गर्न नसक्ने उनी अहिले भने हिँड्छन्, अलि–अलि दौडिनु पनि हुन्छ । विद्यालयले समय–समयमा बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिने, फिजियोथेरापी गर्नेलगायतका काम गर्दै आएको छ । जसले गर्दा बालबालिकामा शारीरिक र मानसिक दुवै किसिमबाट सुधार भइरहेको विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउदले बताए । विसं २०६७ मा यहाँ अपाङ्गता भएका बालबालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै विद्यालयको स्थापना गरिएको उनले बताए । ‘विद्यालयको पहुँचभन्दा बाहिर रहेका शारीरिकरूपमा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको दायरामा ल्याउन विद्यालयको स्थापना गरेका हौँ’, उनले भने, ‘त्यतिबेला बालबालिका विद्यालय आउन नमान्ने र अभिभावकले पनि छोरीछोरी पठाउन नमान्ने अवस्था थियो, अहिले त्यस्तो अवस्था छैन ।’ उनले १० विद्यार्थीबाट सुरु गरिएको विद्यालयमा अहिले ७२ अपाङ्गता भएका बालबालिका अध्ययन गरिरहेको बताए । विद्यालयमा आएसँगै बालबालिकामा अपाङ्गता भएका व्यक्तिले केही पनि गर्न सक्दैनन् भन्ने मानसिकता हटेको बताउँदै उनले पढेपछि जीवनमा केही गर्न सकिन्छ भन्ने सकारात्मक परिपक्वकता बालबालिकामा मौलाएको बताए । उनले विगतभन्दा अहिले अभिभावकको मानसिकतामा पनि परिवर्तन आएको बताए । एक जनामात्रै सरकारी दरबन्दीमा शिक्षक रहे पनि अन्य सबै लगाएर अहिले १२ कर्मचारीले विद्यालयमा काम गरिरहेका छन् । दुर्गालक्ष्मी सामुदायिक वनसँग जमिन मागेर विद्यार्थीलाई अध्यापन गराउनका लागि कच्ची संरचनाबाट सुरु गरिएको उक्त विद्यालयका पाँचवटा पक्की भवन निर्माण भइसकेका छन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा भौतिक संरचनाको भने अभाव हुन थालेको उनले बताए । उनले विद्यार्थीलाई आवासीय व्यवस्थापन र पढ्ने कक्षाकोठाको पनि व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालयसँग रहेका भौतिक संरचना अपर्याप्त भएको बताए । विद्यालयमा बालबालिकालाई न्युट्रेसन सर्पोटका लागि एउटा गाई पालिएको छ । गाई पाल्दा बालबालिकालाई न्युट्रेशन सर्पोट मिल्नुका साथै कृषि कार्यप्रति उनीहरूको सिकाइ पनि बढ्ने साउदले बताए । उनले त्यसैका लागि विद्यालयमा तरकारी खेती र कुखुरापालन पनि गरिएको बताए । उनले विगतको तुलनामा विद्यालयको व्यवस्थापनमा सहजता आएको र आगामी दिनमा विद्यालयलाई नमूनाका रूपमा अगाडि बढाउने प्रयास गरिरहेको बताए । रासस

नेपालीलाई बैंकिङ अभ्यास सिकाउने नेपाल बैंक ८६ वर्षमा, ८ लाखबाट सुरु भएको पुँजी १४ अर्ब पुग्यो

काठमाडाैं । नेपाल बैंक नेपालको सबैभन्दा पुरानो बैंक मात्रै होइन नेपाली बैंकिङ अभ्यासलाई यो अवस्थासम्म पुर्याउनका लागि ठूलो योगदान गरेको एक धरोहर पनि हो । सोही नेपाल बैंक बुधबार आफ्नो ८६ औं वार्षिकोत्सब मनाउँदैछ । ८५ वर्ष पार गरेर ८६ वर्षमा पाइला टेकेको नेपाल बैंकले यो ८५ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि सामना गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकको स्थापनामा पहलकर्ता तत्कालिन राजा श्री ५ त्रिभुवन बीर विक्रम शाह हुन् । तत्कालिन समयको तेजारथ अड्डालाई प्रतिस्थापन गर्दै नेपाल बैंक खोलिएको बैंकको भनाई छ । ८ लाखबाट १४ अर्ब पूँजीकाे यात्रा नेपाल बैंकका अनुसार वि.स १९९४ सालमा नेपाल बैंक ८ लाख ४२ हजार रुपैयाँ पूँजीमा स्थापना भएको हो । तत्कालीन साहु महाजनहरुका निजी डिलर तथा व्यापारिक केन्द्रमा सीमित रहेको वित्तीय कार्यहरु (मौद्रिक लेनदेन) लाई औपचारिक माध्यमबाट सञ्चालन गर्नु, जनताहरुमा बचत गर्ने बानीको विकासगर्दै उद्योग व्यवसायका लागि कच्चा पदार्थ आयातगर्न, देशमा उत्पादित वस्तुहरु निकासी गर्न मद्धत पुगोस् भन्ने अभिप्रायले सरकार तथा निजी क्षेत्रको संयुक्त लगानीमा नेपाल बैंक स्थापना गरिएको नेपाल बैंकका प्रवक्ता प्रकाश अधिकारी बताउँछन् । उनका अनुसार बैंकिङ क्षेत्रको अवधारणानै बुझ्न नसकिएको सो समयमा अधिकृत पूँजी १ करोडमा निजी क्षेत्रको ६० प्रतिशत र सरकारको ४० प्रतिशत लगानी गर्ने गरी २५ लाखको सेयर जारी गरिएको थियो । सो सेयरमा १० जना सेयरधनीबाट कुल ८ लाख ४२ हजार मात्रै लगानी भएको बुझिएको छ । ‘त्यतिखेर धेरैलाई बैंक भनेकै थाहा थिएन, निक्षेप संकलन र कर्जा लगानी गर्न पनि गाह्रो नै पथ्र्यो होला, स्थापनाको पहिलो वर्षमा १७ लाख रुपैयाँ निक्षेप, १९ रुपैयाँ कर्जा र १४ हजार रुपैयाँ बचत रहेको भेटिएको छ,’ प्रवक्ता अधिकारीले भने । उनका अनुसार बैंकको स्थापनाकालमा बैंकको अध्यक्षको रुपमाकेशर शम्सेर जबराले र प्रमुख कार्यकारी अधिकृतको रुपमाठाकुर सिंह कठायतले काम गरेको भेटिएको छ । स्थापनाको वर्षमा १२ जना कर्मचारीबाट काम भएको उनको भनाई छ । प्रवक्ता अधिकारीले बैंक स्थापना हुँदा तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेर जबराले श्री ५ को कृपापूर्ण अनुमतिमा राष्ट्रको बृहत्तर हितमा हुन लागेको यो बैंक स्थापनाको काम आफ्ना लागि स्मरणिर गर्वको क्षण भएको भन्दै सम्बोधन गरेको दस्तावेजमा उल्लेख छ । दस्तावेजमा उल्लेख भए अनुसार उनले भनेका छन्, ‘बैंक खोल्न नसकिएको यस समयमा राष्ट्रको आवश्यकता पुरा गर्न स्थापित यस बैंकले धनी र गरिब जनतालाई सेवा प्रदान गर्ने र राष्ट्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छु ।’ हाल बैंककाे पूँजी १४ अर्ब ४० कराेड ५९ लाख रुपैयाँ रहेकाे छ । नेपाल बैंकको नजिर नेपाली बैंकिङ क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण छाप बसालेको नेपाल बैंकले केही महत्वपूर्ण काम पनि गरेको छ । बैंक भनेको थाहा नभएका आम सर्वसाधारणहरुलाई बैंकिङ सिकाउनेदेखि भारतीय मुद्रा विस्थापन गर्नसम्म भूमीका खेलेको नेपाल बैंक अहिले पनि संस्थागत सामाजिक उत्तरदायित्वमा अगाडि नै छ । स्थापनाको १९ वर्षसम्म राष्ट्रको केन्द्रिय बैंक समेतको कार्य गर्दै नियामक निकायको भूमिका निभाउँदै आएको नेपाल बैंक अहिले एक वाणिज्य बैंकका रुपमा काम गरिरहेको छ । वि.स २०२२ सालसम्म नेपालमा एकल भूमिकामा रहेको नेपाल बैंकले नेपालभर बैंकिङ सेवा विस्तार गर्न, भारतीयमुद्राको प्रचलन हटाउन, अन्तर्राष्ट्रिय व्यापार/कारोबार अभिवृद्धि गर्न अहम भूमिका खेलेको प्रवक्ता अधिकारीको भनाई छ । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको स्थापना भएपछि देशभर बैंकिङ सञ्जाल स्थापनागर्ने तत्कालीन सरकारको नीतिबमोजिम नेपाल बैंकले पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि महत्वपूर्ण काम गरेको बताउँछन् । ‘ऋण साहुबाट भन्दा पनि बैंकबाट लिनुपर्छ भन्ने पाठ नेपाल बैंकले नै सिकाएको हो, सुरुवाती दिनमा लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैयाँ, पैसा घडा तथा बाकसमा हैन बैंकमा राख्नुपर्ने अवस्था थियो, अहिले हामी डिजिटल बैंकिङ मार्फत कारोबार र प्रतिस्पर्धा गरिरहेका छौं,’ अधिकारीले विकासन्युजसँग भने । उनका अनुसार नेपाल बैंक सरकारी लगानीको बैंक भएपनि अहिले निजी लगानीका बैंकहरुसँग प्रतिस्पर्धा गरेर अगाडि बढिरहेको छ । यस्तै, उनले नेपाली बैंकिङ इतिहासमा नेपाल बैंकले एक एजिर राखेको बताए । ‘विभिन्न समयमा हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम गर्ने, महिला सशक्तीकरण सम्वन्धि कार्यक्रम गर्ने, विपन्न वर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम ल्याउने, असहाय बालबालिकाहरूलाई सहयोग गर्नेदेखि विश्व महामारीको रुपमा फैलिएको कोरोनाको समयमा पनि धेरै सहयोग गर्यौं, विभिन्न संघ–संस्थाहरुलाई आर्थिक सहयोग पनि गर्यौं, उनले भने । बैंकमा आइलागेको त्यो संकट उसो त नेपालका धेरै सरकारी लगानी रहेका संस्थानहरु अहिले पनि नोक्सानमा छन् । सरकारी लगानी रहेका धेरै संस्थाहरुलाई निजिकरण गर्नु पर्ने माग पनि नउठेको होइन । तर, जसोतसो ती संस्थाहरु चलिरहेका छन् । वर्षेनी करोडौंको घाटा व्यहोरेर सरकार पनि ती संस्थाहरु प्रति उदार बनिरहेको छ । यस्तै, संकट एकताका नेपाल बैंकमा पनि आइलाग्यो । वि.स २०४६/४७ को राजनैतिक परिवर्तन पश्चातनिर्वाचित नेपाली काँग्रेस सरकारले अबलम्वन गरेको नीजिकरण नीतिले निजीक्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरु स्थापनागर्न प्रोत्साहन मिल्यो । परिणामस्वरुप मुलुकमा दर्जनौ वाणिज्य बैंकहरुको स्थापना भयो । बैंकिङ बजार निकै प्रतिस्पर्धामा होमियो ।धेरै पुँजी, नयाँ शैली र पृथक जोश जाँगरका साथ स्थापना भएर बजारमा प्रतिस्पर्धामा उत्रिका बैंकहरुकाबीच नेपाल बैंकको केही चलेन । एकातिर बढ्दो प्रतिस्पर्धा र अर्कोतर्फ देशमा राजनितिक अस्थिरताका कारणले नेपाल बैंकको बजार क्रमशः संकुचित हुन थाल्यो । नेपाल बैंकका कर्मचारीहरु पुरानै तरिकाबाट सञ्चालित हुनु, परिर्वतनलाई स्वीकार गरी सोही बमोजिम आफुहरुलाई परिवर्तन गर्न नसक्नु, नयाँ–नयाँ प्रोडक्टहरु बजारमा ल्याउन नसक्नु, नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ–नयाँ नीति निर्देशनहरु अंगिकार गर्न कठिनाई हुँदै जानु, अधिक राजनितिक हस्तक्षेप हुनु, कर्जा लगानी गर्दा भएका बदमासीपूर्ण निर्णयहरु र तत्कालीन समयमा माओवादीबाट भएको जनयुद्ध लगायत विविध कारणले नेपाल बैंकको बिजनेस घट्दै गयो । र, परिणाम स्वरुप बैंक थप संकटमा जान थाल्यो । बैंकका अनुसार आर्थिक वर्ष २०५७/५८ मा नेपाल बैंक ठूलो आर्थिक जोखिममा पर्यो । बैंकका विभिन्न शाखाहरुमा ठूलो नोक्सानी भयो । आर्थिक वर्ष २०५८/५९ मा बैंकको जम्मा निक्षेप ३४ अर्ब, कर्जा १९ अर्ब, लगानी ७ अर्ब, खराब कर्जा करिब ५७ प्रतिशत, खुद सम्पत्ति करिब ९.५ अर्बले नकारात्मक हुन पुग्यो । बैंकको वार्षिक घाटा करिब ३ अर्ब र करिब ९.९४ अर्बको नकारात्मक रिजर्ब एण्ड सरप्लस हुन पुग्यो । सो समयमा बैंकमा कुल ५ हजार ६ सय ५२ कर्मचारी थिए । बैंक नाजुक अवस्थामा पुगेपछि तत्कालीन सरकार बैंकबारे सोच्न बाध्य बन्यो । अधिक कर्मचारी भएपछि नेपाल सरकारले कर्मचारी अवकासको सुविधा ल्यायो । त्यसपछि पुराना कर्मचारी बैंकबाट बाहिरिन थाले भने नयाँले स्थान पाउँदै गए । बैंकका प्रवक्ता अधिकारीका अनुसार संकटमा रहेको नेपाल बैंक विघटन हुने अवस्थामा पुगेको थियो । सरकारले त्यसबेला बैंक विघटन गर्ने वा पूनरस‌ंरचना गरी चुस्त स्फूर्त एवंम प्रतिस्पर्धी बनाउने विकल्प मध्ये सरकारले दोस्राे विकल्प छनौट गर्यो । त्यसपछि विश्व बैंकबाट ऋण सहयोग समेत लिई वित्तीय क्षेत्र सुधार कार्यक्रम (आईसीसीएमटी) मार्फत नेपाल बैंकलाई सुधार गर्न सुरु गरियो । यति मात्रै होइन यो घटनाभन्दा अगाडि अर्थात नेपाल बैंक स्थापना कालको दोस्रो वर्षदेखि नै पहिलो संकटको सामना गर्नु परेको थियो । त्यति बेला तत्कालिन इष्ट इन्डिया सरकारले सञ्चालनमा ल्याएको कम्पनी रुपैयाँको भाउ निरन्तर घट्दै जाँदा नेपाल बैंकले विनिमय गर्नै नसक्ने अवस्था सिर्जना भएको थियो । जबकी त्यो बेला नेपाल बैंकको मुख्य व्यवसाय नै विनिमय थियो । नेपाल बैंकले भोगेको अर्को संकट भने प्रजातन्त्र स्थापना पछिको समय हो । राणा शासनको अन्त्यपछि सरकारमा राणाहरूको पहुँच गुमेसँगै अधिकांश सेयर हिस्सा राणा परिवारको भएको बैंकमा बैंक एकातिर लगानीकर्ता अर्कोतिरको जोखिमपूर्ण अवस्था पनि नेपाल बैंकका लागि संकटपूर्ण थियो । तत्कालिन नेपाल सरकारले ४० प्रतिशत रहेको आफ्नो सेयर हिस्सालाई बढाएर सेयर बेच्न चाहने सेयर खरिद गरेर सो संकट टारेको थियो । २०५८ को संकट भने स्वेच्छिक अवकाशलागुगरी प्रविधिमैत्री नभएका र परिर्वतन अंगिकार गर्न नसक्ने कर्मचारीहरुको बर्हिगमन, खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ प्रतिस्पर्धी र प्रविधिमैत्री कर्मचारीहरुको भर्ना, खराब कर्जाको असुलीमा जोड, बैंक संचालनका लागि विभिन्न निर्देशिकाहरु, म्यानुअलहरु लगायतको तर्जुमा, नयाँ प्रविधिको कम्प्युटराईजेशन तथा नयाँ बैंकिङ्ग सफ्टवेयरको प्रयोग लगायतका कार्यको थालनी गरेपछि मात्रै नेपाल बैंक अहिलेको अवस्थामा पुगेको हो । यस्तो छ विगत १२ वर्षको नाफा आर्थिक वर्ष २०५८/५९ मा आर्थिक संकटमा पुगेको बैंक पछिल्ला वर्षहरुमा भने उल्लेख्य नाफा गर्दै आएको छ । नेपाल बैंकको विगत ११ वर्षको खुद नाफा हेर्ने हो भने अन्य वाणिज्य बैंकसँग निकै प्रतिस्पर्धा गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०६७/६८ मा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा आर्थिक वर्ष ०६८/६९ मा १७ करोड ६० लाख रुपैयाँ नाफा गरेको बैंकको वार्षिक प्रतिवेदनले देखाएको छ । यस्तै, बैंकले आर्थिक वर्ष ०७६/७७ मा २ अर्ब ३३ करोड ३० लाख रुपैयाँ, अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ र गत आर्थिक वर्ष ०७८/७९ मा ३ अर्ब २६ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । यस्ताे छ लाभांश इतिहास दुई दशकभन्दा बढी समयसम्म लाभांश वितरण नगरेको बैंकले आर्थिक वर्ष २०७५/७६ देखि सेयरधनीमा लाभांश वितरण समेत गर्न थालिसकेको छ । बैंकले २०७५/७६ मा सेयरधनीलाई १४ प्रतिशत बाेनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रदान गरेकाे थियाे भने २०७६/७७ मा १२ प्रतिशत बाेनस सेयर र ४ प्रतिशत नगद लाभांश प्रदान गरेकाे थियाे । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा बैंकले सेयरधनीलाई १५ प्रतिशत बाेनस सेयर र १० प्रतिशत नगद लाभांश प्रदान गरेकाे थियाे । बैंकले आर्थिक वर्ष २०७८/२०७९ काे लाभांश भने घाेषणा गरिसकेकाे छैन । वर्तमान अवस्था सेवाविस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भई बैंकले २२६ शाखामार्फत कारोबार गर्दै आएको छ । बैंकले शाखासँगै १९९ वटा एटिएम, ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । वि.स. २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ ।  

क्रमिकरूपमा तापक्रम घट्दै

  काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । हाल देशको प्रदेश नं १, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।