नागरिक लगानी कोषको उत्साहजनक प्रगति, नाफा १९ प्रतिशत बढायो
काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७.९९ प्रतिशत बढेर २३ करोड २७ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी ७३.४१ प्रतिशत बढेर १० करोड १२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८३ लाख ७५ हजार खुद ब्याज आम्दानी गरेका थिए । असोज मसान्तसम्म कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर २९ करोड ३९ लाख २७ हजार रुपैयाँ, कम्पनीको कुल आम्दानी १७.९५ प्रतिशत बढेर ४० करोड ६ लाख ७६ हजार रुपैयाँ र कुल खर्च १७.८० प्रतिशत बढेर ९ करोड ३ लाख ६३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर प्रिमियम ७७.५६ प्रतिशत घटेर २८ करोड ३८ लाख रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसा घटेर २१ रुपैयाँ ९० पैसामा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७३ गुणा रहेको छ ।
उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान, तरकारी बेचेर वार्षिक नौ लाख आम्दानी
रामपुर । चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन् । परम्परागत कृषि प्रणालीले किसानले फड्को मार्न नसकेको भन्दै नयाँ प्रविधिको विकास, कृषिमा सहुलियत अनुदान, बजारीकरण, गाउँमा बाँदर आतङ्क रोक्नेलगायतको प्रबन्ध मिलाउन गुनासो उम्मेदवारसमक्ष सुनाउँदै यसमा सम्बोधन गरी प्रतिबद्धता जनाउन अनुरोध गरिरहेका छन् । प्रविधिबारे राम्रो ज्ञान र सीप नहुँदा किसानले लागतअनुसार उत्पादन लिन नसकिरहेको रामपुरका दिलबहादुर थापा बताउँछन् । धेरै मेहेनत र परिश्रम गरे पनि किसानमा खेती गर्ने प्रविधिबारे जानकारी नहुँदा केही गर्ने आशा बोकेर कृषिमा लागेका युवा टिक्न नसकेको उनले बताए । ‘व्यावसाय सुरु गरेर बीचमै धेरैले छाडेका छन्, व्यावसायिकरूपमा कृषि गर्ने कम छन्, तिनलाई कृषिमै टिकाउने वातावरण नेतृत्वले ल्याउनुपर्छ’, उनले भने, ‘अर्कोतर्फ प्रविधि नजान्दा लगानी र मेहेनतअनुसारको उत्पादन किसानले लिन नसकिरहेको अवस्था छ, बेला–बेलामा प्रविधिसम्बन्धी ज्ञान, सीप सिकाउने र बाहिरबाट भित्रिने कृषि उपज कम गरी स्थानीय उत्पादनले नै बजार ढाक्ने वातावरण कृषकलाई चाहियो ।’ थापाले साना, मझौला र ठूला किसान वर्गीकरण गरी सोको आधारमा सबैलाई कृषि अनुदान उपलब्ध गराउनुपर्ने थापा बताउँछन् । भर्खरै व्यवसाय सुरु गर्नेलाई व्यावसायिक बनाउने र व्यावसायिक किसानलाई उद्यमी बनाउने योजना नेतृत्वले ल्याउनुपर्ने उनी बताउँछन् । निर्वाचनमा मत माग्न घर आउने उम्मेदवारलाई किसान विशेष योजना लिएर आउन थापाले अनुरोध गरेका छन् । व्यावसायिक तरकारी तथा फूलखेती गरेका थापाको फार्ममा भेटघाट गर्न पुगेका नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार सन्दीप रानाले सो कुराको प्रबन्ध गर्ने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले साना किसानलाई व्यावसायीकरण गरी यसबाटै निर्धक्कसँग बाँच्ने आधार सिर्जना गर्ने खालको कार्यक्रम ल्याउने बताएका छन् । ‘किसानलाई सम्मान र प्रोत्साहनमूलक खालका कार्यक्रम ल्याउने, समयअनुसार चलनचल्तीमा आएका आधुनिकीकरण प्रविधि विस्तार, कृषि पेशालाई सम्मानित र गर्व गर्न लायकको कार्यक्रममा जोड दिनेछु, स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएर बाहिरबाट भित्रिने कृषि उपजलाई रोक्ने खालका योजना किसानमाझ ल्याएको छु’, उम्मेदवार रानाले भने । रम्भा गाउँपालिका १ सगाहाका अगुवाका कृषक ऋषिराम अर्यालले साना र टुक्रे योजना ल्याउनुभन्दा राज्यले देखिने र प्रतिफल दिने खालका योजना आवश्यक रहेको बताउँछन् । उनले गाउँघरमा मत माग्न आएका उम्मेदवारलाई उत्पादन क्षेत्र विभाजन गरी पकेट क्षेत्र विस्तारका कार्यक्रममा जोड दिनुपर्ने माग गरेका छन् । उनी भन्छन्, ‘कृषिमा साना योजनाले दीर्घकालीनरूपमा व्यवसाय टिकाउन सकिँदैन, व्यवसाय गरेपछि बीचमै छाड्न नपर्ने गरी व्यवसाय गर्ने वातावरण बनाउनइदिनुपर्छ, अनुदानमा किसानलाई विभेद छ, व्यवसायको आधारमा उपलब्ध गराउनुपर्छ ।’ गाउँमा बाँदर आतङ्कले सताउने गरेकाले यसको व्यवस्थापनमा सबैले विशेष योजना बनाएर किसानले आफ्ना खेतबारीमा ढुक्कले खेती लगाउने वातावरण सिर्जना गरिदिनुपर्ने अर्यालको भनाइ छ । निस्दी गाउँपालिका–२ सहलकोटस्थित भाङबारीका यमबहादुर मश्राङ्गीले गाउँमा खेर गएका पाखो बारीभरि तरकारी लगाएर हरियाली बनाएको छ । विगत एक दशकदेखि गाउँको जग्गा सदुपयोग गर्दै व्यावसायिक तरकारी खेती थालनी गरेका यमबहादुरले प्रशस्त तरकारी उत्पादन गर्छन् । यमबहादुर हाल करिब १२ रोपनी जग्गामा विभिन्न जातका तरकारी बाली लगाएर जग्गा हराभरा बनाएका छन् । तरकारी फल लाग्न थालेपछि बजार पुर्याउने चिन्ताबाट अहिलेसम्म मुक्त हुनसकेका छैनन् । ‘पानी नपरेका समय गाडीमा राखेर बजार पठाउने गरिएको छ, गाउँको कच्ची बाटो ढुवानी भाडा महँगो तिर्नुपर्छ’, उनले भने, ‘पानी परेपछि कच्ची बाटो पूरै बन्द हुँदा बजारको समस्याले सधैँ पिरोल्छ ।’ हाल उनको बारीमा चौमासे सिमी, गोलभेँडा, बन्दा जातका तरकारी बाली छन् । बजारदेखि गाउँ जोडिएका सडक बार्है महिना गाडी सजिलै गुड्ने व्यवस्था गराउन उम्मेदवारसँग अनुरोध गर्छन् । वर्षायाममा तरकारी बजार समयमा नै सडक समस्याले पठाउन नसक्दा बारीमै कुहिएर जाने गरेको यमबहादुरको गुनासो छ । ‘गाउँमा प्रशस्त जग्गा छन्, तरकारी जति पनि उत्पादन गर्न सक्छौँ तर हामी किसानलाई बजारमा सहजरूपमा पुर्याउने माध्यम चाहियो, अब निर्वाचन जितेर आउने नेतृत्वले किसानको समस्यालाई दृष्टिगत गर्दै बजारसम्म जुनसुकै समयमा सजिलै ढुवानी गर्न सक्ने वातावरण मिलाइदिनुपर्यो’, उनले भने । किसानलाई सानो सहयोगभन्दा पनि प्याकेजमा ठूला खालका कार्यक्रम आवश्यक रहेको उनको माग छ । उनले वार्षिकरूपमा तरकारी बेचेर करिब नौ लाख रुपैयाँसम्मको आम्दानी गर्न सफल भएका छन् । उत्पादन गरेका तरकारी हाल रामपुरको बेझाड बजारमा बिक्री गर्दै आएका छन् । रामपुरबाट गाउँसम्म जोड्ने सडक व्यवस्थित नहुँदा कहिलेकाहीँ लगानी पनि उठाउन धौ–धौ हुने गरी महँगो भाडा तिरेर बजार पठाउनुपर्दा किसानलाई समस्या परेको उनको भनाइ छ । सडक पूर्वाधार बलिया र भरपर्दो नहुँदा गाउँमा तरकारी लगाएका किसान उत्पादन लिने समय भएपछि सजिलैसँग बजार पठाउन पाइन्छ या पाइँदैन भन्ने चिन्तामा पिरोलिएका हुन्छन् । उत्पादन लिने बेला वर्षा पर्दा सबै तरकारी बारीमै कुहाउन धेरैपटक बाध्य हुनुपरेको किसान बताउँछन् । व्यावसायिक खेती गरेका कतिपय किसान प्रविधि नजान्दा लगानी उठाउन नसक्ने अवस्था छ । अनुदानका कार्यक्रममा पहुँचवालाकै हालीमुहाली हुँदा साना र वास्तविक किसान सधैँ राज्यको सुविधा लिनबाट बञ्चित हुनुपरेको छ ।
नेपाल टेलिकमको नाफा २.२२ अर्ब, ईपीएस ४९.४६ रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी घटेपनि खुद नाफामा सामान्य धक्का लागेको छ । कम्पनीको तीन महिनामा खुद नाफा १.५२ प्रतिशत घटेर २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७० लाख ५२ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर १८ अर्ब रुपैयाँ र जगेडा कोष ५.४० प्रतिशत घटेर ७९ अर्ब २९ करोड १६ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेकाले चुक्ता पूँजी बढेको हो । कम्पनीको नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ ।
दुईचोटि संसद विघटन गरेका ओली अब फेरिपनि प्रधानमन्त्री बन्लान् ?
काठमाडौं । कुनै बिरामी मर्छ कि बाँच्छ, चिकित्सकलाई पहिल्यै थाहा भइसकेको छ । तरपनि डाक्टरले बाँच्छबाँच्छ भनेर हौसाइरहेका हुन्छ । डाक्टरले कहिले पनि मर्ने भन्दैन्, जबकि उनले पत्तो पाइसकेका छन् । यता, गर्भवती भएका महिलालाई डेलिभरी डेटचाँहि डाक्टरले पहिल्यै भनिदिन्छन् । अहिले नेकपा एमालेको हालत पनि उस्तै छ । आसन्न निर्वाचनका लागि एमालेका प्रतिनिधिहरुलाई भोट माग्न भ्याइनभ्याइ छ । उनीहरु जनताको घरघरमा पुगेका छन् । जनताहरु पनि तिनका हावादारी कुरा सुन्दै टाउको हल्लाइरहेका छन् । तर, मंसिर ४ पछि जनताहरुले एमालेको नतिजा निकाल्ने छन् । हिजो एमालेको कर्तुत त कसैले बिर्सिएका छैनन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका कारण एमालेलाई टुक्राटुक्रा बनाए । विगतदेखि एमालेसंगै जोडिएका माधव नेपाललाई पार्टी नै त्यागेर हिँड्नुपर्ने अवस्था बन्यो । पार्टीबाट अलग्गिएर आफ्नै पार्टी खोलेका माधवलाई अहिले ओलीले फेरि पनि एमालेमा ल्याउन जोडबल गरिरहेका छन् । उनले राम्रो पदको आश्वासन दिएर माधवलाई बोलाइरहेका छन् । तर, हिजो बालकोटको बालकनीमा बसेका उनलाई गद्दार भनेको कुराचाँहि ओलीले बिर्सिए छन् । एमालेले योचोटिको चुनाव जित्ला भनेर अपेक्षा गर्न छोडिसकेका छन् । भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतको अघिपछि हिँड्नेको संख्या पनि निकै न्यून छ । महेशले चुनाव जित्दैन् भनेर पक्कापक्की थाहा पाइसकेका उनका कार्यकर्ताहरुले नै उनको साथ छोडेका छन् । घरदैलो कार्यक्रममा हिँडेको पनि देखिदैन् । अन्य क्षेत्रमा पनि एमालेका उम्मेदवारहरुको यही हाल छ । पार्टी अध्यक्ष ओलीले प्रत्यक्ष र समानुपातिक गरेर १५० सीट ल्याउने दाबी गर्दै आएका छन् । तर जनताले आफ्नो पार्टीलाई भोट दिँदैनन् भनेर जनताले थाहा पाइसकेका छन् । केही दिनअघि एउटा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,‘गठबन्धनले बहुमत ल्याएपनि ६ महिना सरकार टिक्दैन् ।’ उनलाई गठबन्धनले बहुमत ल्याँउछ भनेर त थाहा भइसकेको रहेछ । गठबन्धनकै सरकार आँउछ भन्ने पनि उनले भेउ पाइसकेका छन् । तर, जुन सरकार आएपनि आफूहरुले ६ महिना टिक्न नदिने उनले बताए । एमालेका उम्मेदवारहरु घरदैलोमा पुग्दा जनताले गुनासो मात्र पोख्छन् । एक त ओलीले दुई चोटि सांसद् विघटन गरे । अर्कोतिर उनको घमण्डले पार्टी फुटेर टुक्राटुक्रा भयो । पाँच हजार दिने भनेको वृद्धभत्ता पनि भाषणमै सीमित भएका कुराहरु पनि जनताले उठाइरहेका छन् । शेरबहादुर देउवाले दीर्घरोगीलाई दिने भनेको भत्ता पनि उनले कटौती गरिदिएपछि जनताहरु आक्रोशित भएका छन् । २०७४ सालको चुनावमा प्रत्यक्ष जितेका क्षेत्रहरु एमालेले गुमाउदै छ । २०७० सालको चुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेतले जम्मा १६ हजार भोट ल्याएका थिए । नेपाली कांग्रेसले २१ ह्जार मत ल्याएर विजयी हासिल गरेको थियो । २०७४ को चुनाव नेकपा माओवादी केन्द्र र एमालेबीच एकीकरण भएको थियो । जसले गर्दा बस्नेतले जीत हासिल गरे । माओवादीको साथ नपाएको भए बस्नेतले जित्नु असम्भवझैं हो । आसन्न चुनावमा बस्नेत १० देखि ११ हजार भोटमा खुम्चिने आकंलन लगाउन थालिएको छ । अरु जिल्लामा पनि एमालेका प्रतिनिधि खुम्चिने छन् । अनि एमालेले कहाँबाट बहुमत ल्याउँछ ? ओली सरकार बन्न कसरी सम्भव छ ? ओलीले भनेको बेलामा बुद्दि नपुर्याउदा एमाले त सिद्धियो । जनताबाट पनि नङगियो । २०७४ फागुन ३ गते ओलीको सरकार बन्नुअघि उनले माओवादी अध्यक्ष प्रचण्डसंग एउटा सम्झौता गरेका थिए । पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री आधाआधा कार्यकाल चलाउने सहमति भएको थियो । पछि आएर ओली आफ्नो प्रतिबद्धताबाट पन्छिए । उनले प्रचण्डलाई ढाड देखाइदिए । ओलीले उक्त सम्झौता पूरा गरेको भए आज अन्य पार्टीलाई शिला खोजेझै खोज्नुपथ्र्यो । माओवादीलाई भित्तामा पुर्याउन खोज्दा ओली आफैं सिद्धिए । प्रचण्ड जहाँको त्यही अडिग भएर बसेका छन् । ओली ‘घर न घाट’ को बनेका छन् । उखान टुक्काले देश चल्दो नरहेनछ भन्ने जनताले थाहा पाइसकेका छन् । आफ्नो उखान टुक्का नबिक्ने भएपछि ओलीले पनि भन्न छोडिदिए । ओलीको राजनीति सकियो । एमाले पत्तासाफ भयो । मंसिर ४ पछि एमालेलाई दिँउसै बत्ती बालेर खोज्नुपर्छ । ओलीसंग विचार र सिद्धान्तको अभाव छ । उनीसंग देश र जनताका लागि काम गर्न क्षमता पनि छैन् । हिजो ओली प्रधानमन्त्री भएको बेला फाइदा लिनेहरुचाँहि उनको दाँयाबाँया हिँडिरहेका छन् । फेरिपनि फाइदा लिन सकिन्छ कि ? भनेर ओलीको गुलामी गर्दै आएका छन् । तर, सर्वसाधारणहरु एमालेको पछि लाग्न छोडेका छन् । उनको कार्यक्रम जान पनि जनताले छोडिसकेका छन् । एमालेले कति सीट ल्याउँछ भनेर सोध्यो भने जनताहरु नेपाल मजदुर किसान पार्टीको जस्तै हाल हुने बताउँछन् । हेर्दाहेर्दै एमाले सखाप हुने भो । ओली भित्तामा पुग्ने भए । अझैपनि जनतालाई भ्रममा पारेर मत लिन सक्छु कि भन्नेमा ओली छन् । जुन असम्भव छ । ग्याँस, पानी जहाज, रेल र घरघरमा चुलो भनेर जुन भ्रममा पार्न उनले खोजेका छन्, जनताले अब पत्याउदैनन् । चुनावपछि ओलीले विकल्पको रुपमा प्रचण्डलाई फकाउन सक्छन् । गठबन्धन तोड्न उनले अनेकौं कोसिस गर्ने निश्चित छ । प्रचण्डलाई प्रधानमन्त्री बन्न दिने शर्तमा सरकारमा जाने रणनीति उनले तयार पार्न सक्छन् । ओलीबाट प्रचण्डले धेरै धोका खाइसकेका छन् । उनले ओलीको सबै आनीबानी राम्ररी बुझिसकेका छन् । त्यही भएर पनि प्रचण्डले ओलीमाथि विश्वास गर्ने आश न्युन छ । एमालेले तालमेल गरेको राप्रपा नेपाल, राप्रपा र जनता समाजवादी पार्टीबाट केही आश नगर्दा नै बेस हुन्छ । उपेन्द्र यादव, कमल थापा र राजेन्द्र लिङदेन अवसरवादी नेता त हुन् । यस्तालाई कसले भोट दिन्छ ? ओली राजवादी हुन् भन्ने कुरा जनताले थाहा पाइसकेका छन् । उनले खुलस्त नपारेपनि उनको कुरामा राजतन्त्र झल्किन्छ । ओली आए भने राजतन्त्र फर्किन्छ भन्ने त निश्चित छ । एमालेले आफ्नो सिद्धान्त र विचार छोडिसकेको छ । राप्पाको सिद्धान्त बोकेर हिँडेको छ । आफ्नो गन्तव्य कहाँ हो भनेर एमालेले बिर्सिसकेको छ । ७० वर्ष नाघेका व्यक्ति कुनै पनि जिम्मेवारीमा बस्न नपाउने भनेर एमालेले केही वर्षअघि विधान बनायो । केही नेताहरु ७० वर्ष कटेपछि पार्टीको जिम्मेवारीमा बसेनन् । तर, ओली त ७२ वर्ष भइसकेका छन् । यस्तो व्यक्ति पार्टीको अध्यक्ष, चुनाव जित्यो भने देशको प्रधानमन्त्री । यस्तो व्यक्तिलाई जनताले भोट हाल्छन् ? त्यहीमाथि पनि बिरामी मान्छे । बोल्नका लागि पनि कुर्सीको आवश्यक पर्छ । तैमाथि पनि दुईचोटि सांसद् विघटन गरिसकेका छन् । अनि जनताले यस्तो असक्षम व्यक्तिलाई भोट हालेर प्रधानमन्त्री बनाउने ? अलिक नौंलो व्यक्ति भएको भए पनि भोट हाल्थे होला । विगतदेखि वर्तमानसम्म उही पूराना अनुहार हेर्दै आएका छन्, जनता । एमाले १० वर्षअघि पार्टी थियो । अहिले त्यही एमाले ओलीको निजी कम्पनी भयो । ६४ वर्ष भएका भीम रावललाई बुढो भनेर टिकट नदिने । अनि आफु ७२ वर्ष भएको व्यक्तिचाँहि पदमा टाँसिएर बसिरहने । अझै पाँच वर्ष देशको प्रधानमन्त्री हुन्छु रे । यस्तो फट्याहा गफ कसले पत्याउँछ ? जनता मुर्ख छन् ? ओलीलाई घेरेर राख्ने ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, महेश बस्नेत, गोकुल बाँस्कोटा, कोमल वलीको दुर्दशा चुनावपछि शुरु हुन्छ । यिनीहरुकै भविष्य अन्धकार छ, त्यसपछि ओलीलाई कसले घेर्ने ? २०६५ सालमा आर्मीका चिफ रुक्माङ्गद कटवाललाई जिम्मेवारीबाट हटाउँदाखेरि प्रचण्डले राजनीमा दिनुपरेको थियो । त्यतिखेर एमालेका अध्यक्ष झलनाथ खनालले हटाउन भनेर सहमति दिएका थिए । प्रचण्डले मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपति रामवरण यादव कहाँ पठाए । तर, राष्ट्रपतिले उक्त निर्णयलाई सदर गरिदिएनन् । प्रचण्डले नैतिकताका आधारमा तुरुन्त राजनीमा दिए । २०६५ मा राजनीमा दिएका प्रचण्डले बल्लतल्ल २०७३ सालमा प्रधानमन्त्री पाए, त्योपनि कांग्रेसको समर्थनमा । अब ओलीको पनि प्रधानमन्त्री हुने दिन सकियो । उनी बाँचुञ्जेल नेपालको प्रधानमन्त्री हुँदैनन् । एकचोटि गुमाइसकेपछि त्यो अवसर पाउन वर्षौ प्रतिक्षा गर्नुपर्छ । ओलीले अझै पनि म देशको प्रधानमन्त्री हुन्छु भन्नु दिँउसै सपना देखेजस्तै हो ।
राजी र बादी समुदायको माग शिक्षा र रोजगारी
टीकापुर । देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन । सदियौँदेखि अवसर र सुविधाबाट बञ्चित भएको गुनासो गरिरहने यी समुदायलाई नेतृत्वले सेवा सुविधा दिने सवालमा खासै नसम्झेको उनीहरूको गुनासो छ । कैलालीका बादी र राजी समुदायले निर्वाचनमा नेताहरूले गरेका वाचा पूरा नगर्दा आफूहरू शिक्षा र रोजगारी पाउनबाट बञ्चित भइरहेको बताएका छन् । उनीहरूका अहिले पनि शिक्षा र रोजगारीकै माग छन् । उनीहरू जति निर्वाचन र जति नेतृत्व चयन भए पनि आफूहरूका समस्या समाधान नभएको गुनासो गर्छन् । कैलालीको टीकापुर नगरपालिका–८ स्थित बादी समुदायको बस्ती छ । जहाँ बादी समुदायका ५५ परिवार बस्छन् । बादी समुदायका अधिकांश परिवारका सदस्य रोजगारीका लागि भारत गएका छन् । यहाँ जीविका चलाउन कठिन भएपछि रोजगारीका लागि बादी समुदायका काम गर्ने उमेरका महिला तथा पुरुष भारत कमाउन जान्छन् । स्थानीय रेखा बादी आफ्नो समुदायका थुप्रै समस्या रहेको बताए । बाख्रा र बङ्गुर दिएरमात्रै समस्या समाधान नहुने उनको भनाइ छ । ‘दीर्घकालीन सीप र व्यवसायको खाँचो छ’, बादीले भने । उनले बादी समुदायका नागरिकलाई सीप र रोजगारीसँग नजोडेसम्म आर्थिकरूपमा बलिया हुन नसक्ने बताए । ‘यहाँ गुजारा नचलेपछि कमाउन भारत जानुपर्छ, भारतमा निकै पीडादायी काम गर्नुपर्छ’, उनी भन्छन्, ‘घरमात्र बनेका छन्, घरले पेट भरिँदैन । रोजगारी दिनुपर्छ । हामीले हाम्रा लागि गरिदिने नेता पाएनौँ ।’ बादी महिलाले यौन व्यवसाय लगभग बन्द गरिसकेका छन् । तर अन्य व्यवसाय नहुँदा रोजीरोटीमा समस्या भएको छ । प्यारी नेपाली महिलालाई बढी समस्या रहेको बताउँछन् । ‘प्रदेश सरकारले बङ्गुर र बाख्रा वितरण गर्यो, पाल्यौँ तर रोग लागेर सबै मरे’, उनी भन्छन्, ‘हामीसित व्यावसायिकरूपमा पशुपालन गर्न पनि जग्गा कम छ । तालिम लिएका छैनौँँ ।’ कैलालीमा सयौँ परिवार बादी समुदायको बसोबास छ । समुदायमा अचेल भोट माग्न आउने नेतालाई बादी समुदायले रोजगारी र बालबालिकालाई उच्च शिक्षाकै माग गर्न थालेका छन् । ‘हाम्रा बालबालिकालाई उच्च शिक्षा पढाइदिने, रोजगारी लगाइदिने गर्नुपर्यो । हामीलाई पनि पैसा कमाउन सक्ने सीप सिकाइदिनुस्’, उनी भन्छन् । सरकारले बादी समुदायका लागि जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे जस्तापाताको छानासहितको घर निर्माण गरिदिएको छ । घर बनेपछि बासस्थान भए पनि जीविका चलाउन रोजगारीका अवसर नभएको उनीहरूको गुनासो छ । उनीहरू गाउँमा नियमित ज्यालादारी कामसमेत नपाउने, पाए पनि उमेर भएकाले गर्न सक्ने उमेर ढल्केकालाई जीविका चलाउन कठिन भएको बताउँछन् । सोनिया बादीको परिवार पनि ज्यालादारीको भरमा बाँचेको छ । सोनिया ज्यालादारी गरेर बालबालिका पालिरहेकाले बालबालिकालाई ८ कक्षामाथि पढाउन नसकेको बताउँछिन् । ‘आठ कक्षासम्म निःशुल्क शिक्षा छ । त्यसमाथि पढ्न बादी बालबालिकालाई अझै समस्या छ’, सोनियाले भनिन्, ‘हाम्रा बालबालिका माथिल्ला कक्षामा पढ्न आर्थिक समस्या छ । ठूला भएपछि हामी कमाउन पठाउँछौँ । सामान्य लेखपढ गर्न जानेकालाई कार्यालय सहयोगीजस्ता जागिरमा त प्राथमिकता दिन सकिन्छ ।’ बादी समुदायकै कृष्ण नेपाली आफूजस्तै धेरै युवा बेरोजगार रहेका बताउँछन् । ‘माछा मारेर जीविका चलाउथ्यौँ, अहिले नदीमा पनि पानी छैन, ज्यालादारी पनि पाइँदैन, नेताहरू भोट माग्न आउँदा बादीलाई रोजगारी दिउँला, कार्यालय सहयोगीमा जागिर दिउँला भन्छन्’, उनी भन्छन्, ‘तर अहिलेसम्म बादी युवालाई रोजगारी दिने कोही नेता आएनन् । जितेर गएकाहरू पनि दल हेरेर सहयोग गर्छन् ।’ त्यस्तै, कैलालीको राजी समुदायका मतदाताले उम्मेदवारले चुनावका बेला गरेका प्रतिबद्धता भुल्ने गरेको गुनासो गरेका छन् । उम्मेदवारले चुनावका समयमा गरेका वाचा तथा प्रतिबद्धता कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ । चुनाव आएपछि मात्र उम्मेदवार समुदायमा आउने र विभिन्न किसिमका प्रतिबद्धता जनाउने, आश्वासन बाँड्ने तर चुनाव जितिसकेपछि प्रतिबद्धता तथा आश्वासन भुल्ने गरेको टीकापुर नगरपालिका–१ ज्योतिनगरकी कल्पना राजीको गुनासो छ । कल्पना राजीजस्तै ज्योतिनगरकै डम्बर राजीको पनि गुनासो उस्तै छ । ‘निर्वाचनमा मात्रै हामीमाझ नेताहरू प्रतिबद्धता लिएर आउँछन्’, डम्बर भन्छन्, ‘तर हाम्रा लागि केही गर्नु भएन, हामी भोट दिने अवसरमात्र भएका छौँ ।’ अहिले विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार राजी समुदायमा भोट माग्न गइरहेका छन् । राजी समुदायले आजभोलि भोट माग्न आउने नेता तथा कार्यकर्तालाई तपाईँलाई भोट केका लागि भनी सजगसमेत गराउन थालेका राजी समुदायका अगुवा चित्रबहादुर राजीले बताए । ‘यसभन्दा अगाडिका चुनावका उम्मेदवारले गरेका वाचा पूरा नगरेकाले समाजमा विकास हुन नसकेको हो । अब समाज र देशको विकासका लागि काम गर्ने नेता चाहियो’, उनी भन्छन्, ‘आजभोलि भोट माग्न आउनेलाई प्रश्न गर्न थालेका छौँ ।’ राजी समुदाय नेपाल सरकारको अल्पसङ्ख्यक लोपोन्मुख जातिको सूचीमा रहेको छ । राजी समुदायलाई राज्यको मूलधारमा पुर्याउने विषयमा पनि राजनीतिक दलहरू चुकेको उनीहरूको बुझाइ छ । गरीखाने जग्गा–जमिन नभएका राजी समुदायका लागि सरकारले दिने गरेको मासिक रु चार हजार सामाजिक सुरक्षा भत्ता र मजदुरी जीविकोपार्जनका मुख्य माध्यम हुन् । टीकापुरको ज्योतिनगरमा २२ घरधुरीमा ८७ जना राजी समुदायका नागरिकको बसोबास छ । रासस
यूनाइटेड इन्स्योरेन्सले ९० प्रतिशत नाफा बढाउँदा दाबी भुक्तानीमा १४२ प्रतिशत छलाङ मार्याे
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८९.९१ प्रतिशत बढेर २ करोड २६ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद बीमा शुल्क १९.६७ प्रतिशत घटेर १७ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीले ३२ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी १४०.८१ प्रतिशत बढेर १२ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ, जगेडा कोष २१ करोड ४५ लाख रुपैयाँ र बीमा कोष ४३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२० गुणा रहेको छ । कम्पनीले ६९ लाख रुपैयाँ अभिकर्तालाई कमिशन र ६ करोड ४८ लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ । कम्पनीले पुनर्बीमा शुक्ल कमिशन आम्दानी ३ करोड ३६ लाख रुपैयाँ र लगानी, कर्जा तगा अन्य आम्दानी १ करोड ५४ लाख रुपैयाँ गरेको छ ।
कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार, एक लाख पुरस्कार
काठमाडौं । कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ । कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको आयोजका संस्थाका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले बताए । प्राप्त भएकामध्ये २० विचारलाई १५ दिनको मार्गनिर्देश गरिएको थियो । छनोट भएका २० विचारलाई मार्गनिर्देशपछि १० उत्कृष्टलाई अन्तिम प्रक्रियाका लागि छनोट गरिएको थियो । अन्तिममा उत्कृष्ट चार विजेता छनोेट गरिएको उनले बताए । छनोट गरिएका चार उत्कृष्ट उद्यम विचारमा बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस् र मेहेनती डट कम छन् । कलेज आइडिया हन्टका चारै विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । कलेज आइडिया हन्टका सबै विजेता आइडिया स्टुडियो सिजन–७ मा स्वतः सहभागी हुन पाउने आइडिया स्टुडियोले जनाएको छ । आइडिया स्टुडियो सिजन–७ मा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यही कात्तिक २९ देखि आगामी पुस १७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । आवेदकले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो निर्देशनका लागि वोयवसाइटमा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्ने जनाइएको छ । आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन–७’ का लागि आवेदन खुला गरेको हो । आइडिया स्टुडियो नेपाल सिजन–६ सम्म चार सय ५० भन्दा बढी नवीन विचारको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये तीन सय ५० भन्दा बढी व्यवसाय सुरु भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट सुरु भएका व्यवसायमध्ये ६५ भन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको बताइएको छ । आइडिया स्टुडियो नेपालले हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान गर्ने, प्रविधिसम्बद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने व्यावसायिक विचारलाई विशेष प्राथमिकता दिँदै ती विचारलाई उत्कृष्ट बनाउन सरसल्लाह, व्यावसायिक सञ्जाल, मार्गनिर्देश, रियालिटी टिभी सो साथसाथै वित्तीय पहुँचका लागि सहजीकरण गराउन मद्दत गर्दै आएको छ । हालसम्म आइडिया स्टुडियोले विभिन्न कार्यक्रमबाट मुलुकका सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाउँदै आएको छ ।
आइएमई जनरल इन्स्योरेन्सले अधिकांश सूचकमा मार्याे फड्को
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १५.६३ प्रतिशत बढेर ५ करोड ३ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १८.१४ प्रतिशत बढेर १९ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीले ४४ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ, जगेडा कोष २९ करोड ३० लाख रुपैयाँ, बीमा कोष ५७ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ ७६ पैसा छ भने मूल्य आम्दानी अनुपात २९.३१ गुणा रहेको छ । कम्पनीले ७ हजार ७५२ दाबी वापत १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले ८२ लाख ३९ हजार रुपैयाँ अभिकर्तालाई कमिशन र ६ करोड ४ लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ । कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ६ करोड ८३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आम्दानी ९३ लाख रुपैयाँ गरेको छ ।