भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलर लगानी बढाउँदै अमेरिका
अमेरिका । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा नेत्रपरीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता विकास तथा महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीको प्रवद्र्धनमा लगानी गरिने ह्वाइट हाउसले बताएको छ । अमेरिका, इण्डोनेसिया र युरोपेली सङ्घका नेताले इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा विश्वव्यापीरूपमा निम्न र मध्यम आय भउका देशमा गुणस्तरीय पूर्वाधारमा लगानी बढाउनुपर्ने तथा विश्वअर्थतन्त्रलाई पुनः गतिशील एवम् सुदृढ तुल्याउनुपर्नेमा जोड दिएका छन् । शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बिडेन, इण्डोनेसियाका राष्ट्रपति जोको विडोडो, र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोेन डेयर लेनले अर्जेन्टिना, क्यानडा, फ्रान्स, जर्मनी, भारत, जापान, गणतन्त्र कोरिया, सेनेगल र संयुक्त अधिराज्यका मन्त्री तथा नेतासँग बेग्लाबेग्दै भेटेर साझा चासोका विश्वव्यापी मुद्दाका साथै पूर्वाधार निर्माणमा लगानी बढाउनेबारेमा विचारविमर्श गर्नुभएको थियो । ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टमार्फत लगानी गर्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो । रासस
घरमा आगलागी हुँदा भक्तपुरमा एकको मृत्यु
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् । आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उनले जानकारी दिए । बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
बानेश्वरको एउटै भवनबाट ४३ वटा बोर्ड महानगरले हटायो
काठमाडौं । काठमाडौं महानगरभित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिन २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ । पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए । मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ । पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा गरी २७५ वटा सामग्री हटाइएको थियो । ३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ । एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको छ । यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन् । उनीहरुले भर्याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन उपलब्ध गराइएको छ ।
सात लाख नाघे वर्ल्डलिंकका प्रयोगकर्ता
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालीत इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको प्रयोगकर्ता ७ लाख नाघेका छन् । सात लाख घरधुरीमा इन्टरनेट पुर्याएसँगै वर्ल्डलिङ्क देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बनेको छ । कम्पनीले हाल सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट विस्तार गरेसकेको छ । बाँकी रहेका चार जिल्लाहरु दार्चृला, बैतडी, मनाङ र मुस्ताङमा समेत छिट्टै सेवा विस्तार हुने कम्पनीले जनाएको छ । नेपालमा इन्टरनेट सेवा दिनेभन्दै २०५२ साल भदौमा वर्ल्डलिङ्क स्थापना भएको थियो । कम्पनीका हाल १५० भन्दा बढी शाखा कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।
शिखरको प्रगति : खुद बीमा शुल्कमा उछाल, स्थिर सम्पत्ति १९ प्रतिशत बढ्दा दीर्घकाल कर्जा १.१७ अर्ब
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ०.८९ प्रतिशत १३ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ४५ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क २ प्रतिशत बढेर १ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको २० प्रतिशत बढेर १८ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर २ अर्ब २८ करोड रुपैयाँ, जगेडा कोष १८.६५ प्रतिशत बढेर ७५ करोड ७१ लाख रुपैयाँ, बीमा कोष ८.५९ प्रतिशत बढेर १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ र महाविपत्ती कोष १३ करोड ८ लाख ९० हजार रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय विवरण अनुसार खुद स्थिर सम्पत्ति १९.३९ प्रतिशत बढेर २५ करोड ४९ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद स्थिर सम्पत्ति २१ करोड ३५ लाख ८६ हजार रुपैयाँ रहेको थियो । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा १ अर्ब १७ करोड ७९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ दीर्घकालिन लगानी तथा कर्जा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय १० रुपैयाँ ५९ पैसा छ भने मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ । कम्पनीले तीन महिनामा ८३ लाख ९६ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ भने ब्यवस्थापन खर्चमा १० करोड २६ लाख रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिशन आम्दानी १६ करोड ४३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आम्दानी ७ करोड ५३ लाख रुपैयाँ गरेको छ ।
निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । ‘हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन फेडेरेसन मात्रै पर्यवेक्षणमा सहभागी हुन लागेका छन् । नेपालभित्रका भने ४४ संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन्’, निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले भने, ‘त्यसैगरी, भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, श्रीलङ्का र दक्षिण कोरियाको निर्वाचन आयोगका पदाधिकारी पनि पर्यवेक्षणका लागि नेपाल आउँदै छन् ।’ निर्वाचन आयोगका अनुसार भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितको प्रतिनिधिमण्डल नेपाल आउँदै छन् । त्यस्तै बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल अवाल, भूटानका प्रमुख निर्वाचन आयुक्त सोनम तोप्गे र माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद थोफिकको नेतृत्वमा पदाधिकारी नेपाल आउँदै छन् । श्रीलङ्काबाट दुई निर्वाचन आयुक्त एमएम मोहम्मद र एसबी देवरत्ने तथा दक्षिण कोरियाबाट इलेक्सन कमिस्नर किम चाङ–बोसहितको टोली नेपाल आउन लागेको पनि आयोगले जनाएको छ । उनीहरु काठमाडौँ उपत्यकालगायत नजिकका जिल्लामा पर्यवेक्षणका लागि जानेछन् । त्यस्तै नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि र विशिष्ट व्यक्ति पनि चुनावी पर्यवेक्षणमा खटिनेछन् । “मतदानको दिन कूटनीतिक मिसनका प्रतिनिधिले अवलोकन गर्छन् । ख्यातिप्राप्त, अनुभवी र विशिष्ट व्यक्तिलाई पनि आयोगले पर्यवेक्षणका लागि बोलाउन सक्छ”, उपसचिव भट्टराईले भने । निर्वाचन आयोग ऐनको दफा ६ ले कुनै स्वदेशी तथा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित काम कारबाहीको पर्यवेक्षण गर्न दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि निर्वाचन आयोगले अनुमति दिन्छ । पर्यवेक्षणमा खटिने व्यक्ति तथा संस्थाले निर्वाचनको वैधता, स्वतन्त्रता, निष्पक्षता, तटस्थता, समानता लगायतका विषय हेर्छन् । त्यस्तै निर्वाचनका क्रममा राजनीतिक दलहरुका गतिविधि, आचारसंहिताको पालना, सुरक्षा तथा राजनीतिक हिंसा, निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित रुपमा सञ्चालन भए/नभएको बारेको अध्ययन पनि पर्यवेक्षक संस्थाले गर्छन् । यद्यपि पर्यवेक्षणका लागि खटिएका संस्था वा व्यक्तिले समेत आचारसंहिता उल्लङ्घन गर्न सक्ने र त्यस्तो गरेको पाइएमा कारबाही गरिने आयोगका उपसचिव भट्टराईले बताए । पर्यवेक्षक संस्था र व्यक्तिका लागि छुट्टै आचारसंहिता तोकिएको छ । निर्वाचन आचार संहिता २०७९ को परिच्छेद ६ मा पर्यवेक्षण गर्ने संस्था तथा पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण समेटिएको छ । पर्यवेक्षण अनुमति पाएका संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको तीन दिनभित्रमा त्यसको प्रतिवेदन निर्वाचन आयोगसमक्ष बुझाइसक्नुपर्ने व्यवस्था रहेको छ । त्यस्ता संस्थाले निर्वाचनका क्रममा गरेको आयव्ययको विवरण पनि तीस दिनभित्रमा आयोगलाई बुझाइ सक्नुपर्छ । त्यस्तै पर्यवेक्षकले आयोगले अनुमति दिएका क्षेत्रमा मात्रै पर्यवेक्षण गर्न पाउँछन् । सुरक्षा संवेदनशील क्षेत्रमा पर्यवेक्षण गर्न पाइँदैन । पर्यवेक्षकले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम समावेश भएको पालिकाको वडामा पर्यवेक्षणका लागि खटाउन नपाउने व्यवस्था रहेको छ ।
विश्वकै ठूलो इकमर्स प्लेटफर्म अमेजनले १० हजार कर्मचारी हटाउने, मानिसको ठाउँमा रोबोट राखिने
एजेन्सी । इ-कमर्स क्षेत्रको विशाल कम्पनी अमेजनले करिब १०,००० कामदारहरुलाई हटाउने तयारी गरेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार अर्को हप्तामा हजारौंले आफ्नो जागिर गुमाउन सक्छन्। पछिल्ला केही त्रैमासिक अवधिमा नाफामा कटौती देखिएकाले कम्पनीले यस्तो निर्णय गरेको हो । अमेजनले आर्थिक मन्दी लगातार बढ्दै गएकोमा आफ्नो खर्च घटाउनुपर्नेमा चिन्ता व्यक्त गरेको छ । कम्पनीले गत साता नै रोजगारी रोक्का गर्ने घोषणा गरेको थियो । कम्पनीले धेरै कर्मचारीहरूलाई अन्यत्र काम खोज्न पनि भनेको छ । यद्यपि अमेजनबाट हटाउने सम्बन्धमा अहिलेसम्म औपचारिक रुपमा कुनै कदम अगाडि बढाइएको छैन । ३१ डिसेम्बर २०२१ को तथ्याङ्क अनुसार अमेजनमा १६ लाख भन्दा बढी फुल टाइम र पार्ट टाइम कर्मचारीहरूले काम गर्दै आएका छन् । यदि कम्पनीले एकै पटक १०,००० कर्मचारीलाई बर्खास्त गर्यो भने यो अमेजनको इतिहासमा यो सबैभन्दा ठूलो कटौती हुनेछ। समग्रमा कम्पनीले आफ्ना १ प्रतिशत कर्मचारीलाई निकाल्ने तयारी गरिरहेको छ । पछिल्लो समयमा कम्पनीले काम गर्न धेरै युनिटहरूमा रोबोटको प्रयोगलाई बढावा दिइरहेको छ। अमेजनले पछिल्लो समयमा डेलिभर हुने प्याकेटको करिब ३ चौथाई काममा कुनै न कुनै प्रकारको रोबोटिक प्रणाली प्रयोग गर्ने गरेको छ । अमेजन रोबोटिक्सका प्रमुख टाइ ब्राडीले आगामी ५ वर्षमा प्याकेजिङको १०० प्रतिशत काम नै रोबोटिक प्रणाली हुनसक्ने बताएका छन् । उनले भविष्यमा रोबोटले मानव कर्मचारीको स्थान लिने तर धेरै समय लाग्ने संकेत गरे । ब्राडी भन्छन् कि कम्पनीमा काम पक्कै परिवर्तन हुनेछ, तर मानव श्रमको आवश्यकता सँधै नै हुनेछ ।
स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै म्याग्दीको तातोपानी कुण्ड
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । निर्वाचन सकिएपछि यहाँ विगतको भन्दा उल्लेख्य मात्रामा भीड बढ्ने अनुमानसहित आवश्यक सुविधाहरू थप गरिएको समितिले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरूपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ । बिरे नुनको गन्ध मिश्रित तातोपानी पिउँदै कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास रहेको छ । बागलुङको ढिकीचौरबाट पहिलो पटक तातोपानीमा नुहाउन आएकी शर्मिला गौतमले लगातार सात दिनसम्म तातोपानीमा डुबेर उपचार गर्दा आफूलाई ढाड दुख्न कम भएको बताए । यहाँ लगातार एक हप्तादेखि १५ दिनसम्म डुबेर उपचारका लागि तातोपानी कुण्डमा स्नान गर्नेको भीड लाग्छ । नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् । परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने बिरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेको स्थानीय कृष्णबहादुर केसीले बताए । ‘तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको केन्द्र बन्दै गएको छ, यसले म्याग्दी जिल्लाको गौरव बढाउनाका साथै स्थानीयको आम्दानीसमेत वृद्धि भएको छ, विदेश गएकाहरू पनि फर्केर यहाँ होटललगायत अन्य व्यवसाय गर्न थालेका छन्’, केसीले भने । वार्षिक करिव २० हजार जनाले तातोपानी कुण्डमा स्थान गर्न आउने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । कोरानाकालका २ वर्षबाहेक त्यसअघिका वर्षहरूमा यहाँ कात्तिकदेखि फागुन महिनासम्म थेगीनसक्नुको भीड हुने गर्दथ्यो । कात्तिक दोस्रो सातासम्म सात सयजना भन्दा बढीले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । नेपालबाट मात्रै होइन, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउने बिरामीको सङ्ख्या बढ्दो छ । स्नान गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि पुरुष र महिलालाई पालैपालो स्नानका लागि व्यवस्था गरिएको छ ।