विकासन्युज

राष्ट्र बैंकको ‘अप्रिय’ निर्णयले नै अर्थतन्त्रमा सुधार आयो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । बुधबार नेपाल बैंकको ८६औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले नेपाल राष्ट्र बैंकको निर्णयकै कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन् । ‘धेरैले राष्ट्र बैंकको नीतिको विरोध गरे, राष्ट्र बैंकको नीतिलाई अप्रिय नीतिका रुपमा लिए, राष्ट्र बैंकको त्यही अप्रिय निर्णयले नै अहिले अर्थतन्त्रमा सुधार देखिएको छ, चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले सुधार भएको सन्देश दिएको छ,’ उनले कार्यक्रममा भने । उनले नेपाल राष्ट्र बैंकले कडाइ नगरेको भए अर्थतन्त्रमा सुधार नआउने दावी गरे । उनले नेपाल राष्ट्र बैंकले ल्याएको नीति अवलम्बन गर्न कतिपय बैंकहरु चुकेको बताउँदै कतिपयले अझै पनि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) को नीति लागू गरेको भन्दै गाली पनि गरिरहेको धारणा राखे । यस्तै, उनले नेपाल बैंकले नेपाली बैंकिङ इतिहासमा महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल बैंकले एक हजार कर्जा दिएका उद्यमी अर्बपति बनेको उदाहरण दिँदै नेपाल बैंकको इतिहास गर्व गर्न लायक भएको उनले बताए । साथै, उनले नेपाल बैंकले खराब कर्जा असुलीमा पनि ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै, उनले आजको दिनलाई बैंकिङ्ग दिवसका रुपमा मनाउन पनि आग्रह गरे ।

बुधबार १३.४० अंकले बढ्यो सेयर बजार

काठमाडौं । बुधबार १३.४० अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९११.२६ विन्दुमा पुगको छ । बुधबार केही अंकले सेयर बजार बढ्दा सबैभन्दा बढी सिक्लेस हाइड्रोपावरले कमाएको छ भने सबैभन्दा बढी गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । यस्तै, सबैभन्दा बढी कारोबार हुनेमा रिदी पावर कम्पनी रहेको छ । कम्पनीको बुधबार ६० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार बुधबार २४ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख रुपैयाँका कारोबार भएको छ ।

अनलाइन फिक्स्ड डिपोजिट खाताका साथै नेपाल बैंकले सुरु गर्यो तीन नयाँ सेवा

काठमाडौं । नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा तीन वटा नयाँ सेवाको सुरु गरेको छ । बैंकले यस अवसरमा अनलाइन फिक्स डिपोजिट खाता, डलर र प्रिपेड कार्ड सेवा र सुनचाँदी कर्जा अबदेखि अनलाईनबाट लिन सकिने सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण अधिकारीले बुधबार वार्षिकोत्सवको अवसरमा प्रधान कार्यलयमा भएको कार्यक्रममा तीन नयाँ सेवा सुरु गरेको घोषणा गरेका हुन ।  

श्रम मन्त्रालयले भन्यो : विचौलियाको पछि नलाग्नूस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रुपमा कार्यालयमा उपस्थित भई भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा विचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालले सेवा प्रवाह हुने निकायबाट अनलाइन माध्यमबाट नै सबै प्रकारका सेवा आ–आफ्नो स्थानबाट प्राप्त गर्न सबै सेवाग्राहीमा अनुरोध गरे । हाल सेवाग्राहीको नाममा विचौलिया कार्यस्थलमा प्रवेश गरी कर्मचारीलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न अनेकन दबाब दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह गरिने सबै सेवा अनलाइन प्रणालीमा आबद्ध गरिएको उनले जानकारी दिए । सरकारले यी निकायबाट सेवा प्राप्त गर्न स्वदेश तथा विदेशमा रहेका सेवाग्राही विभाग वा कार्यालयमा भौतिक रुपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाएको छ । कानुनबमोजिम लाग्ने दस्तुर अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट हुने सेवा प्रवाहको मन्त्रालयस्तरबाट निरन्तर प्रणालीमार्फत तथा स्थलगतरुपमा अनुगमन भइरहेको सहप्रवक्ता भुसालले जानकारी दिनुभयो । मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा विभागीय प्रमुखसमेतको उपस्थितिमा सेवा प्रवाह र गुनासो सम्बोधन सम्बन्धमा सघनरुपमा छलफल गरी सोको निराकरण गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

१०८ प्रतिशतले बढ्यो ट्रेजरी बिलको व्याज, निक्षेप र कर्जामा कति वृद्धि ?

काठमाडौं । ९१ दिने ट्रेजरी बिलको भारित औसत व्याजदर १०८ प्रतिशत बढीले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असोज मसान्तको तुलनामा चालु आवमा उक्त व्याजदर १०८.६८ प्रतिशतले बढेको हो । २०७८ असोजमा ४.८६ प्रतिशत रहेको उक्त व्याजदर २०७९ असोजमा १०.१४ प्रतिशत पुगेको छ । त्यसैगरी, समीक्षा अवधिमा वाणिज्य बैंकहरुबीचको अन्तर बैंक व्याजदर ७१.८६ प्रतिशतले बढेको छ । २०७८ असोजमा ४.९५ प्रतिशत रहेको सो व्याजदर २०७९ असोजमा ८.५० प्रतिशत पुगेको छ । त्यस्तै, गत वर्षको तुलनामा चालु आवमा वाणिज्य बैंकहरुको औसत आधारदर ७.५७ प्रतिशतबाट बढेर १०.३४ प्रतिशत पुगेको छ । जुन एक वर्षमा ३५.५९ प्रतिशतले बढेको हो । यता निक्षेपको व्याजदर बढेर ८.१६ प्रतिशत पुगेको छ । गत आवको असोजमा ५.४३ प्रतिशत रहेको सो व्याजदर एक वर्षको अवधिमै ५०.२६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै, बैंकहरुको कर्जाको भारित औसत ब्याजदर एक वर्षमै ४०.२७ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो आवको असोज मसान्तमा ८.६९ प्रतिशत रहेको सो प्रकारको ब्याजदर चालु आवको सोही महिनासम्ममा १२.१९ प्रतिशत पुगेको छ ।

आज रातिदेखि सबै सिमा नाका बन्द हुने

काठमाडौं । आज बुधबार राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् । निर्वाचन सुरक्षाका लागि भन्दै सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । बन्द नाका निर्वाचनको मतदान सकिएपछि मात्रै खुला गरिने छ ।  

म्यादी प्रहरीको आ–आफ्नै अनुभव : छोटो समयको रोजगारीबाट सन्तुष्टि

  काठमाडौं । नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्छन् । उनको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकासे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ । दोलखा स्थायी घरभएकी भुजेल श्रीमान्सँग काठमाडौं बस्दै आएकी छिन् । तीन सन्तानको शिक्षाका लागि आफू दोलखाबाट काठमाडौं आएर बसेको उन बताउँछिन् । ‘श्रीमान्को आम्दानीले मात्र पुग्दैन । बेरोजगार बस्न मन लाग्दैन तर काम पाउन सीप छैन’, उनले भनिन्, ‘म्यादी प्रहरीको भर्ना खुल्यो, बालबच्चा हेरचाहको जिम्मा श्रीमान्लाई सुम्पेर म्यादीको काममा आउने गरेकी छु ।’ अहिले छोटो समयका लागि भए पनि म्यादी प्रहरीको रोजगारीबाट पाउने पारिश्रमिकले सन्तुष्टि मिलेको उनी बताउँछिन् । ‘घरमा यतिकै बस्नुभन्दा यहाँ काममा खटिँदा रमाइलो पनि हुने र आम्दानी पनि हुने यसैमा खुसी छु’, उनले भनिन् । म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरुको अनुरोधलाई बेवास्ता गर्दा असहज लाग्ने गरेको उनी बताउँछिन् । मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ । सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्छिन्, ‘निर्वाचनपछि त्यही पुरानो दैनिकीमा फर्किन्छु ।’ नयाँबानेश्वरको व्यस्त चोकमा सडक पार गर्न आकासे पुल छ । तर कतिपय पैदलयात्रु गुडिरहेका सवारीको भीडमै सडक वारपार गर्छन् । नीलो पोसाकमा लट्ठी हातमा लिएर डिउटीमा खटिएका म्यादी प्रहरीको समूहले सिठ्ठी फुक्छन् । तर पनि पैदल यात्रु उनीहरुले फुकेको सिठ्ठीको आवाजलाई कुनै वास्तै गर्दैनन् । ‘हामी म्यादी प्रहरीलाई पैदल यात्री र सवारी चालकले पनि अटेर गर्छन् । हामीले भन्दा उनीहरु पैदलयात्रु र सवारी चालक हाँस्छन्, मान्दैनन्’, २१ वर्षिय म्यादी प्रहरी शङ्कर बोहराले आफ्नो काम गर्दाको अनुभव सुनाउँदै भने । नयाँबानेश्वर चोकमा खटिएका अर्का म्यादी प्रहरी मनोज कुँवरले सँगैको साथी बोहराको भनाइमा सहमति जनाउँदै थपे, ‘कतिले त म्यादी भनेर गिज्याउँछन् ।’ उनीहरु दुवैजना बैतडीका स्थानीय बासिन्दा छन् । काठमान्डौँ बसेर अध्ययनरत दुवै विद्यार्थी छन् । अध्ययनका र रोजगारीका सिलसिलामा काठमाडौं छिरेका दुवैजना सँगै डेरामा बस्छन् । मनोज शिक्षण पेसाभन्दा म्यादी प्रहरीमा धेरै पारिश्रमिक पाउने भएपछि भर्ना भएको बताउँछन् । शङ्कर भने यसअघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । मनोज र शङ्कर दुवैजना म्यादी प्रहरीको जिम्मेवारी सकिएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएको बताउँछन् । “नेपाल प्रहरीमा भर्ती हुने इच्छाले म्यादीसम्म डो¥यायो । तर अब प्रहरीमा भर्ती हुन उमेरले नमिल्ने भएकाले विदेश जाने सोचमा छु,” शङ्करले भने । काठमाडौंको सामान्य घर भाडा तिर्नसमेत धौ धौ हुने भएकाले निर्वाचनलगत्तै जुन देश जाँदा कम लगानी लाग्छ त्यहीँ जाने सोचमा रहेको मनोजले बताए । काठमाडौंमा नियमित खटाइएका ट्राफिक प्रहरी निर्वाचनका कारण बाह्य जिल्लामा थप मद्दतका लागि पठाइएका अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनको समेत सहयोगका लागि परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए । अहिले काठमाडौंमा करिब चार सय ट्राफिक प्रहरी खटिएका र बाँकी म्यादी प्रहरीहरुको सहयोगमा सवारी व्यवस्थापनको काम भइरहेको उनले बताए । देशभर निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरी खटिइएका छन् । ८४ हजार तीन सय ६८ पुरुष छन् भने ३० हजार ६ सय ३२ महिला रहेका छन् । काठमाडौँमा अहिले तीन हजार दुई सय ७८ म्यादी प्रहरी छन् । आवश्यतानुसार मतदानस्थल, मोबाइल र रिजर्भमा समेत परिचालन गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्ररुपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान संयुक्त रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरीअन्तर्गत म्यादी प्रहरीको परिचालन गरिएको हो । म्यादी प्रहरीहरु मतदानस्थलको सुरक्षा, मतदान बक्सको सुरक्षा र नेपाल प्रहरीले गर्ने दैनिक कार्य गस्ती, निगरानी, सूचना सङ्कलन, घटनास्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा खटिरहेका छन । म्यादी प्रहरीलाई नेपाल प्रहरी जवानसरह आधारभूत तलब मासिक २२ हजार ६ सय ८० रुपैयाँ हुनेछ । बढीमा ४० दिनसम्मका लागि जम्मा ३० हजार दुई सय ४० रुपैयाँ हुनेछ । साथमा खाद्यान्नबापत सात हजार दुई सय र पोसाक तथा अन्य सामानका लागि ६ हजार रुपैयाँ सरकारले उपलब्ध गराएको छ । म्यादी प्रहरीका लागि बीमाको व्यवस्थासमेत गरिएको छ । प्रहरी प्रवक्ता राईले म्यादी प्रहरीलाई मतदानका दिन अधिकांश बुथमा खटाइने बताए । प्रहरी जवानमा भर्ना खुल्दा नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना भएको अनुभवलाई प्राथमिकतामा राख्ने गरेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीको संख्या बढ्दो, तीन महिनामै थपिए पौने ८१ अर्बको धितोपत्र

काठमाडौं । पछिल्लो समय नेप्सेमा सूचीकृत कम्पनीको संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार गत २०७८ असोजमा २२२ वटा सूचीकृत भएकोमा २०७९ असोजमा बढेर २४२ वटा कम्पनी नेप्सेमा सूचीकृत भएका हुन् । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २२२ रहेको थियो । २०७८ असोज मसान्तमा २६५७ रहेको नेप्से सूचकाङ्क २०७९ असोज मसान्तमा १८५८.३ कायम भएको छ । २०७९ असोज मसान्तमा धितोपत्र बजार पँुजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रहेको छ । २०७८ असोज मसान्तमा बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.५ प्रतिशत, लगानी कम्पनीको ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ । नेप्सेमा २०७९ असोजसम्ममा सूचीकृत ६ अर्ब ८२ करोड कित्ता सेयरको चुक्ता मूल्य ६ खर्ब ७२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० को तीन महिनामा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २५ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९ अर्ब २९ करोड रुपैयाँ बराबरको बोनस शेयर, ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको साधारण शेयर, ३ अर्ब २७ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ८० अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब २४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ३९ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।