विदेशी मुद्राको सञ्चिती बढ्यो, रेमिट्यान्समा पनि सुधार
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकmे सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिती २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ । यस्तै, समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।
जयनगर–कुर्था रेल मार्गमा ४ दिन सेवा बन्द हुने
जनकपुरम । धाजयनगर–कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ । निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द हुने भएकाले रेल सेवासमेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए । मङ्सिर ५ गते सोमबारदेखि रेल सेवा नियमित रुपमा सञ्चालन हुने उनले बताए । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ साल चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि मङ्सिर १ देखि ५ गतेसम्म शान्तिसुरक्षाबाहेक सबै सेवा बन्द रहने जनाएको छ । धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले शान्तिसुरक्षाबाहेक सबै सेवा बन्द गरिने जानकारी दिए ।
रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न सक्दैन : स्वर्णिम वाग्ले
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लले रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने बताएका छन् । बुधबार वागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताएका हुन् । उनले नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्नसक्ने बताए । ‘नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्छ,’ उनले भने । यस्तै, डा। वाग्लेले नेपालको आर्थिक नीतिहरु भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताए । नेपाल र भारतबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरुमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने उनी बताउँछन् ।
अधिकांश सूचकमा चम्कियो सिटिजन लाइफ, १३ प्रतिशतले बढ्यो नाफा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.०२ प्रतिशत बढेर ७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २२ लाख मात्र खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १३.२२ प्रतिशत बढेर १ अर्ब ३७ करोड ४६ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड ८६ लाख ७७ हजार खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क ६२ प्रतिशत बढेर १३ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी ६६.६६ प्रतिशत बढेर ४० करोड ५३ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ८६ लाख ७६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीले असोज मसान्तसम्ममा २० करोड २९ लाख रुपैयाँ अभिकर्ता कमिशन दिएको छ । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ, जगेडा कोष २२.०२ प्रतिशत बढेर ९३ करोड ४९ लाख रुपैयाँ, जीवन बीमा कोष ४९.१८ प्रतिशत बढेर ६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोष २२.६१ प्रतिशत बढेर १० करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीमा १९९ दाबी संख्या वापत ३२ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीले हालसम्म २ लाख ४० हजार ९८४ कुल बीमालेख संख्या जारी गरेको छ ।
विश्व बैंकसँग नेपालले गर्यो ५८ करोडको अनुदान परियोजनामा हस्ताक्षर
काठमाडौं । विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा नेपालको वन क्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायहरूको क्षमता सुदृढ गर्न ४.५ अमेरिकी मिलियन डलर (करिब रु. ५८ करोड) को अनुदान सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौतामा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभा र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका (आरआरएन) अध्यक्ष डा. अर्जुन कार्कीले हस्ताक्षर गरेका छन् । नेपालमा आदिवासी जनजाति र स्थानीय समुदायका लागि पाँच वर्षे लक्षित अनुदान संयन्त्र (डीजीएम नेपाल ) परियोजनाले स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा नेपालको वन विनास तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जन न्यूनिकरण गर्ने (रेडप्लस ) प्रक्रियामा सहभागी हुन विभिन्न क्रियाकलापहरूमार्फत आदिवासी जनजाति र स्थानीय समुदायहरू (आईपीएलसी) ) को क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ । विशेषगरी, मधेस र लुम्बिनी प्रदेशका वनमा आश्रित समुदायको आम्दानी बढाउन र जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) परियोजनाका लागि राष्ट्रिय कार्यान्वयन निकाय छनोट भएको छ । डीजीएम नेपाल परियोजनाले वनको दिगो उपयोगबाट नेपाली समुदायका आदिवासी जनजाति तथा स्थानीय समुदायहरूलाई (आईपीएलसीर्) दिर्घकालीन फाइदाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ भने यसले समुदायका उत्पादनहरूमा मूल्य थप्ने र नेपालको राष्ट्रिय नीति निर्माण प्रक्रियामा थप सक्रियतासाथ पैरवी तथा वकालत गर्ने कार्यमा संलग्न हुनेछ । दुवै आदिवासी जनजाति र स्थानीय समुदाय यस परियोजनाका लाभग्राही र सक्रिय सहभागी हुन् । यस परियोजनाको कार्यान्वयन तहमा र अनुदान स्रोतहरूको प्रयोग गर्दा यी समुदायहरूले राष्ट्रिय सञ्चालक समिति मार्फत अध्यक्षता समेत गर्नेछन् भने राष्ट्रिय कार्यान्वयन निकायलाई रणनीतिक नेतृत्व तथा मार्गनिर्देशन प्रदान गर्नेछन् । राष्ट्रिय सञ्चालक समिति गैर सरकारी सस्ंथाहरूको प्रतिनिधित्व गर्ने १४ सदस्यीय समूह हो जुन आईपीएलसी प्रतिनिधिहरूबाट स्व–छनोट निर्णय प्रक्रियामार्फत पहिचान गरी समान प्रतिनिधित्व गर्दछन् ।
अम्बे स्टीलको आम्दानीमा उछाल, गोयन्काको कारोबार ५० प्रतिशतले घट्यो
काठमाडौं । अम्बे स्टीलले सन् २०२२ मा पौने ११ अर्ब रुपैयाँको व्यापार गरेको छ । उद्योगले स्टीलको कारोबार गरेर सन् २०२२ मा १० अर्ब ९३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो । जुन गत वर्षको तुलनामा १७ प्रतिशत बढी हो । सन् २०२१ मा अम्बे स्टीलले ९ अर्ब २८ करोड ४० लाख, २०२० मा ६ अर्ब ३७ करोड ६० लाख र २०१९ मा ८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । उद्योगले अम्बे ब्राण्डमा टीएमटी बार, जीआइ वायर र बाइन्डिङ वायर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले बिलेट, पिग आइरन र स्पन्ज आइरन छिमेकी भारतबाट आयात गर्दै आएको छ । उद्योगको ८२ प्रतिशत आम्दानी टीएमटीबार बिक्रीबाट हुने गरेको छ । उद्योगको बिलेटल उत्पादन क्षमता वार्षिक ८० हजार टन छ । उद्योगले बिलेट उत्पादन क्षमता वार्षिक ४५ हजार टन थप्ने तयारी थालेको छ । सन् १९८२ मा स्थापना भएको यस ग्रुपमा शोभाकर न्यौपानेको ६०, रमेशकुमार अग्रवाल र सज्जन अग्रवालको २५ र बाँकी १५ प्रतिशत स्वामित्व पूर्णबहादुर पौडेलको छ । यो न्यौपाने, अग्रवाल र पौडेल परिवारले सञ्चालन गरेको उद्योग हो । उद्योगले ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । त्यसका लागि कम्पनीले एल डबल बीको रेटिङ पाएको छ । यो स्टील उद्योग भने सन् २००९ मा स्थापना भएको हो । यस्तै, गोयन्का स्टीलको व्यापार भने गत वर्ष घटेकोछ । यस स्टील उद्योगले सन् २०२१ मा १ अर्ब ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो गत वर्षको तुलनामा करिब ५० प्रतिशत कम हो । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यस उद्योगले २ अर्ब १४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । यस कम्पनीले ऋण सुविधाका लागि रेटिङ गराएको छ । कम्पनीले २ अर्ब १३ करोड ५० लाख रुपैयाँ ऋण सुविधाका लागि एल डबल बीको रेटिङ पाएको छ । गाेयन्का समूहले सञ्चालन गरिरहेको यस उद्योगमा राम गोपाल गोयन्का र उनका दुई छोराहरु अमित कुमार गोयन्का र अजय गोयन्काले सञ्चालन गरिरहेका छन् ।
१२ बैंकको लाभांश घोषणा : कुनको घट्यो, कुनको बढ्यो ?
काठमाडौं । अहिले बैंक तथा वित्तिय संस्थामा लाभांश घोषणा गर्न लहर सुरु भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरणको लागि प्रस्ताव गर्न थालेको छन् । कात्तिक ३० गतेसम्म एक पूर्वाधार बैंक, एक विकास बैंक र १० वटा वाणिज्य बैंक गरेर कुल १२ वटा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव तथा घोषणा गरेका हुन् । दुई बैंकको लाभांश पारित भइसकेको छ भने १० वटाको पारित हुन बाँकी छ । पारित हुन बाँकीमा स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, ग्लोबल आइएमई, कुमारी, एनसीसी, सानिमा, गरिमा विकास बैंक र नेपाल इन्फ्रास्ट्रकचर बैंक रहेका छन् । हालसम्म लाभांश घोषणा गर्नमा बैंक अफ काठमाण्डू सबैभन्दा धेरै लाभांश घोषणा गर्ने बैंकमा परेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यद्यपि यो लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनश सेयर र १२.५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश घोषणा गरको थियो । बढी लाभांश घोषणा गर्ने दोस्रो बैंकमा एभरेष्ट बैंक देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश (१३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांस गत वर्षकोभन्दा दोब्बरले बढी हो । बैंकले गत वर्ष १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । सर्वाधिक लाभांश घोषणा गर्ने बैंकको तेश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश दुई वर्ष यताकै उच्च हो । बैंकले यसअघि १० प्रतिशत बोनश सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, चौथो स्थानमा गरिमा विकास बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश गत वर्षको भन्दा कम हो । बैंकले गत वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, पाँचौं स्थानमा ग्लोबल आइएमई बैंक छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश) घोषणा गरेको हो । बैंकले गत वर्ष १३.५ प्रतिशत लाभांश घाेषणा गरेकाे थियाे । सर्वाधिक लाभांश घोषणा गर्ने छैटौं बैंकमा कुमारी रहेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेर पारित समेत गरिसकेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा बढी हो । बैंकल गत वर्ष ८.६७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, एनसीसी बैंकले पनि हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा बढी हो । बैंकले गत वर्ष ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा बढी हो । बैंकले गत वर्ष १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो जुन बैंकको १६ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आफ्ना सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर १० गते शनिबार काठमाडौं अनुपम फुडल्यान्ड काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ । सभाले ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेशनल लाइफको नाफा ३४ प्रतिशत बढ्यो, जीवन बीमा कोष पौने ५४ अर्ब
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३४.०१ प्रतिशत बढेर ११ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६७ लाख मात्र खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क २१.२५ प्रतिशत बढेर ४ अर्ब १८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क २७ प्रतिशत बढेर ४ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी ५.२६ प्रतिशत बढेर २ अर्ब ११ करोड ९९ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १९ प्रतिशत बढेर ४ अर्ब ३ करोड रुपैयाँ, जगेडा कोष १५.५८ प्रतिशत घटेर ७७ करोड २५ लाख रुपैयाँ, जीवन बीमा कोष १९.७८ प्रतिशत बढेर ५३ अर्ब ७७ करोड रुपैयाँ र महाविपत्ती कोष २० प्रतिशत बढेर ३६ करोड १० लाख रुपैयाँ पुगेको छ । कम्पनीको भुक्तानी हुन बाँकी रकम ७४ करोड ८३ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले अभिकर्ताहरुलाई ४१ करोड ८४ लाख ५७ हजार रुपैयाँ कमिशन र ब्यवस्थापन खर्चमा २४ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ । यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनवापत १२ करोड ५४ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आम्दानीबाट ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ९ पैसा छ भने मूल्य आम्दानी अनुपात ४६.६८ गुणा रहेको छ ।