काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । बुधबार नेपाल बैंकको ८६औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले नेपाल राष्ट्र बैंकको निर्णयकै कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन् ।
‘धेरैले राष्ट्र बैंकको नीतिको विरोध गरे, राष्ट्र बैंकको नीतिलाई अप्रिय नीतिका रुपमा लिए, राष्ट्र बैंकको त्यही अप्रिय निर्णयले नै अहिले अर्थतन्त्रमा सुधार देखिएको छ, चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले सुधार भएको सन्देश दिएको छ,’ उनले कार्यक्रममा भने ।
उनले नेपाल राष्ट्र बैंकले कडाइ नगरेको भए अर्थतन्त्रमा सुधार नआउने दावी गरे । उनले नेपाल राष्ट्र बैंकले ल्याएको नीति अवलम्बन गर्न कतिपय बैंकहरु चुकेको बताउँदै कतिपयले अझै पनि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) को नीति लागू गरेको भन्दै गाली पनि गरिरहेको धारणा राखे ।
यस्तै, उनले नेपाल बैंकले नेपाली बैंकिङ इतिहासमा महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल बैंकले एक हजार कर्जा दिएका उद्यमी अर्बपति बनेको उदाहरण दिँदै नेपाल बैंकको इतिहास गर्व गर्न लायक भएको उनले बताए । साथै, उनले नेपाल बैंकले खराब कर्जा असुलीमा पनि ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै, उनले आजको दिनलाई बैंकिङ्ग दिवसका रुपमा मनाउन पनि आग्रह गरे ।