विकासन्युज

आज रातिदेखि मौन अवधि सुरु हुँदै, के-के गर्न पाइँदैन ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आज मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउने छैनन् । साथै सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न नमिल्ने आयोगले बताएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहने आयोगले जनाएको छ । निर्वाचनलाई धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्नेछ  । निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाइने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नमिल्ने र अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नपाइने आयोगले बताएको छ ।

एनएमबि बैंकले ऋण चुक्ता नगर्ने जि.सी व्यापार केन्द्रको घरजग्गा बिक्री गर्दै

काठमाडौं । भैरहवामा दर्ता भएको जि.सी व्यापार केन्द्रले बैंकबाट लिएको ऋण चुक्ता नगरेको हुँदा धितो लिलाम गर्ने भएको हो । जि.सी व्यापार केन्द्रले सम्पत्तिहरू धितो सुरक्षण राखी बिभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिएकोमा तोकिएको म्याद भित्र कर्जा भुक्तानी नगरेको र कर्जा भुक्तानी गर्न बैंकले बारम्बार ताकेता गर्दा पनि ध्यान नदिएको हुँदा धितो सुरक्षणमा राखिएको सम्पत्तिहरू लिलाम बिक्री गर्ने भएको हो । बैंकले यसअघि पनि धितो लिलाममा राखेको भएपनि सम्पत्तिहरू बिक्री हुन नसकेकोले पूनः धितो सुरक्षणमा रहेको सम्पत्तिहरू गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिकि गरिने बैंकले जनाएको छ । बैंकको सुरक्षणमा रहेको सम्पतिहरू खरिद गर्न इच्छुकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कर्जा असूली विभागमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । ८ औ दिनका दिन अर्थात मंसिर ८ गते १ बजे बैंकको कर्जा असूली विभागमा गोप्य शिलबन्दी खोलिने छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ बस्ने ओम बहादुर जि.सी.को नाममा रहेको कित्ता नम्बर ३६ र २१९ को क्षेत्रफल क्रमशः ३०५.०७ र ७५३.१० वर्गमीटरको जग्गा र जग्गामा बनेको घरटहरा लगायत सम्पूर्ण सम्पत्ति बिक्रीमा राखेको हो ।

बेष्ट वन सहकारीले दियो ६ ऋणीलाई चेतावनी, १५ दिनभित्र ऋण चुक्ता गर्नुपर्ने

काठमाडौं । बेष्ट वन बहुउद्देश्यीय सहकारीले आफ्ना ऋणीहरुलाई कर्जा चुक्ता गर्न १५ दिने सूचना जारी गरेको छ । सहकारीले बिहीबार एक सूचना जारी गरी ६ जना ऋणीलाई १५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो । सहकारीले हरिमाया महर्जन तथा पञ्चलाल महर्जन, मनिसदास श्रेष्ठ, दिनेश मानन्धर, ज्ञान बहादुर खत्री, शारदा खत्री र कान्छा लागेजुले बेष्ट वन बहुउद्देश्यीय सहकारीको प्यूखा, न्यूरोडबाट ऋण लिएको कर्जा बापत तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज तथा अन्य दैदस्तुर १५ पदन भित्र चुक्ता गर्न भनेको हो । उनीहरुले कर्जा सम्बन्धि शर्त बन्देज उल्लंघन गरेको र बारम्बार ताकेता तथा व्यक्तिगत सम्पर्क राखी ऋण तिर्न जानकारी गराएको र गत असाढ २४ गते सूचना प्रकाशन गर्दा समेत ऋणीले ऋण तिर्न बुझाउन बेवास्ता गरेको पुनः दोस्रो पटक सूचना जारी गरेको जनाएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बुझाउनुपर्ने बांकी रहेको सम्पूर्ण साँवा, ब्याज दैदस्तुर रकम नबुझाएमा ऋणीहरुले सुरक्षण बापत संस्थालाई लेखी लेखाई दिएको चल–अचल सम्पत्ति सहकारी ऐन, २०४८ बमोजिम लिलाम बिक्री गरी कर्जा असुल उपर गरिने बताएको छ । साथै लिलाम विक्रीबाट सम्पूर्ण कर्जाको साँवा व्याज हर्जाना असूल उपर नभएमा ऋणी स्वयम् तथा जमानत दिने व्यक्तिहरुको चल÷अचल सम्पत्तिबाट कानून बमोजिम असूल उपर गरिने चेतावनी सहरकारीले दिएको हो ।

अर्थतन्त्रका मुख्य सूचकमा सुधार

केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० का सुरुका तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ । विगत लामो समयदेखि ऋणात्मक रहेका अर्थतन्त्रका मुख्य सूचकमा चालू आवको असोजसम्ममा सुधार देखिन थालेको हो । गत वर्षको असोजमा ८७ अर्ब ७१ करोड रुपियाँले घाटामा रहेको शोधनान्तर स्थिति यो वर्षको असोजमा १२ अर्ब ४३ करोड रुपियाँले बचतमा आएको छ । यसैगरी गत वर्षको असोजमा एक खर्ब ४९ अर्ब रुपियाँले घाटामा रहेको चालू खातामा सुधार आई ३४ अर्ब २८ करोड रुपियाँको घाटामा छ । सबभन्दा राम्रो सुधार विदेशी विनिमय सञ्चितिमा देखिएको छ । राष्ट्र बैङ्कका अनुसार असोजसम्म विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४६ अर्ब रुपियाँ पुगेको छ । यसले ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनले देखाएको छ । यसैगरी विपे्रषण आप्रवाहमा १६.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ८१ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

माउन्टेन इनर्जीको लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनार्थ मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश वितरणको प्रस्ताव पारित गर्न आगामी पुस ८ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ ।

नेपाल बैंकको स्थापना दिनलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्न माग

काठमाडौं । नेपाल बैंकका कर्मचारीहरुले नेपाल बैंकको स्थापना दिनलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्न माग गरेका छन् । बैंकको ८६ औं वार्षिकोत्सवका अवसरमा बोल्दै नेपाल बैंकमा रहेका कर्मचारी संगठनहरुका अध्यक्षहरुले कात्तिक ३० अर्थात् नेपाल बैंक स्थापना भएको दिनलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्न माग गरेका हुन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकका अध्यक्ष गोबिन्द प्रसाद सुवेदीले नेपाल बैंक स्थापना भएको दिनलाई राष्ट्रिय बैंक दिवस घोषणा गर्न माग गरे । वित्तीय तिक्तताको अवस्थाबाट नेपालमा बैंकिङ सेवा सुरु गरेको नेपाल बैंकको स्थापना दिनलाई बैंकिङ दिवसका रुपमा घोषणा गर्न उनको माग छ । ‘देशको कुनाकन्दरामा बैंकिङ सेवा दिएको नेपाल बैंकको स्थापना भएको १९९४ कात्तिक ३० (आज) को दिनलाई राष्ट्रिय बैंक दिवस घोषणा गर्नुपर्छ, आजको दिनलाई नेपाल बैंकको आगनमा मात्रै नभएर देशभर नै राष्ट्रिय बैंक दिवस मनाउन सकियोस्,’ उनले भने । हिजोका दिनमा बैंक खोज्दै ग्राहकहरु नेपाल बैंक आउने गरेको भएपनि पछिल्लो समय ग्राहक खोज्दै ग्राहकहरु माझ जानू परेको उनको भनाइ छ । बैंकले अहिले हासिल गरेका प्रगति र सूचकलाई यथावत राखी नेपालको नम्बर वान बैंक बनाउनतिर लाग्नु पर्ने उनले बताए । नेपाल बैंक कर्मचारी युनियनका अध्यक्ष अनिल तामाङ योन्जनले दशकौंसम्म पनि प्राप्त गर्न नसकेको सेवा सुविधा यो वर्ष प्राप्त गरेको भएपनि कर्मचारीहरुमा सन्त्रास रहेको बताए । ‘कर्मचारीमा सन्त्रास र दुविधा थपिएको छ, वर्षाैंदेखि खाईपाइ आएको सेवा सुविधा प्रफमेन्स बेस इन्सेटिभ लागू गरिएपछि भोलिका दिनमा कटौती हुने होकी भन्ने डर सबै कर्मचारीमा व्याप्त छ, भोलिका दिनमा उपलब्धिहरु गुमाउनु पर्याे भने कर्मचारीहरु आन्दोलित हुनेछन्, यसमा बैंकका उच्च ब्यवस्थापन समूह र सञ्चालकहरुले सम्बोधन गर्नुपर्छ,’ उनले भने । बैंक ब्यवस्थापन समूहले हरेक नीति निर्देशन लागू गर्दा बैंकभित्र सक्रिय रहेका कर्मचारी संगठनहरुसँग छलफल गर्न उनले आग्रह गरे । बजेट तथा नीति कार्यक्रमले निर्देशित गरिएको लक्ष विपरित बैंकले काम गरेको उनको भनाइ छ । ‘शाखा विस्तारमा केही समय स्थगन गर्नुपर्ने नीतिगत अस्पष्टता र अवरोध आयो, २५० शाखा पुर्याउने लक्ष राख्ने तर बीचमा शाखा विस्तार बन्द गर्ने निर्णय गरियो,’ उनले भने । नीति निर्माण गर्दा कमी कमजोरी भएको उनको बुझाइ छ । बैंकलाई कानुनीसँगै आर्थिक सल्लाहाकार राख्नुपर्ने आवश्यकता परेको होकी भन्ने जिज्ञासा राखे । उनले निर्णय प्रक्रियामा माथिल्लो निकायले हस्तक्षेप गर्दा कार्य सम्पादनमा प्रभाव पर्ने गरेको बताए । नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष जीबराज ढकालले बैंक बिकासका लागि कर्मचारी संघसंस्थाहरुले सहयोग गरिहरेको बताए । बैंकले कर्मचारी विरुद्ध कामबार्वाही गरेमा आन्दोलन गर्ने उनको भनाइ छ । बाजेको पालाको बैंकलाई नातिले पनि पहिलो बैंक नेपाल बैंक भनिरहनु पर्ने अवस्थामा पुर्याउनु पर्ने उनले बताए । नेपाल बैंक कर्मचारी संघका महासचिव बासुदेव भण्डारी लामो संघर्षपछि कर्मचारी विनियमावली आएपनि केही त्रुटी भएको र स्पष्ट नभएको बताउँछन् । विरोधावस कुराहरुलाई हटाउन उनले माग गरे । नियमावलीमा बैंक ब्यवस्थापन र ट्रेड युनियन सहमति विपरितका कुराहरु उल्लेख भएकाले संसोधन गर्नुपर्ने उनले बताए । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले कात्तिक ३० गतेको दिनलाई बैंकिङ्ग दिवसको रुपमा ग्रहण गर्न आग्रह गरे । बैंकिङ्ग दिवसको रुपमा ग्रहण गरेपछि बैंकिङ्ग उजागर हुने उनको बुझाइ छ । ‘सबै मिलेर यो दिनलाई दिवसका रुपमा मनाउने प्रयास गरौं, केन्द्रिय बैंकको रुपमा काम गरेको अनुभव पनि छ, सरकारी र निजी क्षेत्रको साझेदारीमा स्थापना भइ सञ्चालन भएको थियो, सरकारी ढुकुटी, सर्वसाधारण, साहु महर्जनको रकम राखेर बैंक स्थापना भएको थिया,’ उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक स्थापना भएको दिनलाई राष्ट्रि बैंक दिवस घोषणा गर्ने पहलमा राष्ट्र बैंकको सकारात्मक रहेको बताए । नेपाल बैंकले पहल गर्याे भने आफूले सहयोग गर्ने उनले बताए । ‘तपाइहरुले पहल गर्नुहोस् नेपाल राष्ट्र बैंक र मेरो तर्फबाट हुन सक्ने पहल, सकारात्मक सोच हामी राख्ने छौं,’ उनले भने ।

निर्वाचनका दिन सार्वजनिक सवारी नचल्ने

फाइल फाेटाे काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते काठमाडौँ उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को आज बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए । निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो । बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मङ्सिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।

चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट डेटा र कल प्याकहरु

काठमाडौं । एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्ति गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ । आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन् । ग्राहकले कर सहित मात्र ४८ रुपैयाँमा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्नेछन् । ग्राहकले सजिलै *१७११८*२५# डायल गरि यो प्याक लिन सक्नेछन् । डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्नेछन् । ग्राहकले *१७११८*२२# डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्नेछन् । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरी किन्दा १० जीबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै, मात्र २९ रुपैयाँमा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले*१७११८*२६# डायल गरि यो प्याक लिन सक्नेछन् । त्यस्तैगरी, भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्नेछन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २६५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ग्राहकले *१७११८*३# डायल गरी प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एप र वेभसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिनेछ । अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ग्राहकले *१७११८*६# डायल गरी प्याक सुचारु गर्न सक्नेछन् ।