काठमाडौं । नेपाल बैंकका कर्मचारीहरुले नेपाल बैंकको स्थापना दिनलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्न माग गरेका छन् । बैंकको ८६ औं वार्षिकोत्सवका अवसरमा बोल्दै नेपाल बैंकमा रहेका कर्मचारी संगठनहरुका अध्यक्षहरुले कात्तिक ३० अर्थात् नेपाल बैंक स्थापना भएको दिनलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्न माग गरेका हुन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकका अध्यक्ष गोबिन्द प्रसाद सुवेदीले नेपाल बैंक स्थापना भएको दिनलाई राष्ट्रिय बैंक दिवस घोषणा गर्न माग गरे । वित्तीय तिक्तताको अवस्थाबाट नेपालमा बैंकिङ सेवा सुरु गरेको नेपाल बैंकको स्थापना दिनलाई बैंकिङ दिवसका रुपमा घोषणा गर्न उनको माग छ ।
‘देशको कुनाकन्दरामा बैंकिङ सेवा दिएको नेपाल बैंकको स्थापना भएको १९९४ कात्तिक ३० (आज) को दिनलाई राष्ट्रिय बैंक दिवस घोषणा गर्नुपर्छ, आजको दिनलाई नेपाल बैंकको आगनमा मात्रै नभएर देशभर नै राष्ट्रिय बैंक दिवस मनाउन सकियोस्,’ उनले भने ।
हिजोका दिनमा बैंक खोज्दै ग्राहकहरु नेपाल बैंक आउने गरेको भएपनि पछिल्लो समय ग्राहक खोज्दै ग्राहकहरु माझ जानू परेको उनको भनाइ छ । बैंकले अहिले हासिल गरेका प्रगति र सूचकलाई यथावत राखी नेपालको नम्बर वान बैंक बनाउनतिर लाग्नु पर्ने उनले बताए ।
नेपाल बैंक कर्मचारी युनियनका अध्यक्ष अनिल तामाङ योन्जनले दशकौंसम्म पनि प्राप्त गर्न नसकेको सेवा सुविधा यो वर्ष प्राप्त गरेको भएपनि कर्मचारीहरुमा सन्त्रास रहेको बताए । ‘कर्मचारीमा सन्त्रास र दुविधा थपिएको छ, वर्षाैंदेखि खाईपाइ आएको सेवा सुविधा प्रफमेन्स बेस इन्सेटिभ लागू गरिएपछि भोलिका दिनमा कटौती हुने होकी भन्ने डर सबै कर्मचारीमा व्याप्त छ, भोलिका दिनमा उपलब्धिहरु गुमाउनु पर्याे भने कर्मचारीहरु आन्दोलित हुनेछन्, यसमा बैंकका उच्च ब्यवस्थापन समूह र सञ्चालकहरुले सम्बोधन गर्नुपर्छ,’ उनले भने ।
बैंक ब्यवस्थापन समूहले हरेक नीति निर्देशन लागू गर्दा बैंकभित्र सक्रिय रहेका कर्मचारी संगठनहरुसँग छलफल गर्न उनले आग्रह गरे । बजेट तथा नीति कार्यक्रमले निर्देशित गरिएको लक्ष विपरित बैंकले काम गरेको उनको भनाइ छ । ‘शाखा विस्तारमा केही समय स्थगन गर्नुपर्ने नीतिगत अस्पष्टता र अवरोध आयो, २५० शाखा पुर्याउने लक्ष राख्ने तर बीचमा शाखा विस्तार बन्द गर्ने निर्णय गरियो,’ उनले भने । नीति निर्माण गर्दा कमी कमजोरी भएको उनको बुझाइ छ । बैंकलाई कानुनीसँगै आर्थिक सल्लाहाकार राख्नुपर्ने आवश्यकता परेको होकी भन्ने जिज्ञासा राखे । उनले निर्णय प्रक्रियामा माथिल्लो निकायले हस्तक्षेप गर्दा कार्य सम्पादनमा प्रभाव पर्ने गरेको बताए ।
नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष जीबराज ढकालले बैंक बिकासका लागि कर्मचारी संघसंस्थाहरुले सहयोग गरिहरेको बताए । बैंकले कर्मचारी विरुद्ध कामबार्वाही गरेमा आन्दोलन गर्ने उनको भनाइ छ । बाजेको पालाको बैंकलाई नातिले पनि पहिलो बैंक नेपाल बैंक भनिरहनु पर्ने अवस्थामा पुर्याउनु पर्ने उनले बताए ।
नेपाल बैंक कर्मचारी संघका महासचिव बासुदेव भण्डारी लामो संघर्षपछि कर्मचारी विनियमावली आएपनि केही त्रुटी भएको र स्पष्ट नभएको बताउँछन् । विरोधावस कुराहरुलाई हटाउन उनले माग गरे । नियमावलीमा बैंक ब्यवस्थापन र ट्रेड युनियन सहमति विपरितका कुराहरु उल्लेख भएकाले संसोधन गर्नुपर्ने उनले बताए ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले कात्तिक ३० गतेको दिनलाई बैंकिङ्ग दिवसको रुपमा ग्रहण गर्न आग्रह गरे । बैंकिङ्ग दिवसको रुपमा ग्रहण गरेपछि बैंकिङ्ग उजागर हुने उनको बुझाइ छ । ‘सबै मिलेर यो दिनलाई दिवसका रुपमा मनाउने प्रयास गरौं, केन्द्रिय बैंकको रुपमा काम गरेको अनुभव पनि छ, सरकारी र निजी क्षेत्रको साझेदारीमा स्थापना भइ सञ्चालन भएको थियो, सरकारी ढुकुटी, सर्वसाधारण, साहु महर्जनको रकम राखेर बैंक स्थापना भएको थिया,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक स्थापना भएको दिनलाई राष्ट्रि बैंक दिवस घोषणा गर्ने पहलमा राष्ट्र बैंकको सकारात्मक रहेको बताए । नेपाल बैंकले पहल गर्याे भने आफूले सहयोग गर्ने उनले बताए । ‘तपाइहरुले पहल गर्नुहोस् नेपाल राष्ट्र बैंक र मेरो तर्फबाट हुन सक्ने पहल, सकारात्मक सोच हामी राख्ने छौं,’ उनले भने ।