तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ । विद्युत्गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए । बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ । उनले भने, ‘आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ ।’ प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत्गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ । पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । त्यसैगरी, प्याकेज दुई अन्तर्गतको विद्युत्गृह खन्ने कामसमेत सम्पन्न भइसकेको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ । विद्युत््गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि प्रारम्भ भएको हो । सिनोहाइड्रो कम्पनीले ४३७ दशमलव एक मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । दुई सय ८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने तीन सय १४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ ।
तेह्रथुममा लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउँदै
तेह्रथुम । करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ । विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले एक लाख लागत रुपैयाँमा फूल खेती गरे । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनले फूल खेती सुरु गरे । थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती गरेका तामाङले लगाएको फूल यति बेला खेर गइरहेको छ । तिहार लक्षित गरेर लगाइएको सयपत्री फूल तिहार सकिएपछि फुलेकाले तामाङको मेहनत बालुवामा पानी खन्याएजस्तै भएको छ । यतिबेला उनको बारिमा फूल फुलेर ढकमक भएको छ । यस वर्षको तिहार गत वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरी रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताए । उनी भन्छन्, ‘अरु नै खेती गर्दै आएका थियौ । फूल खेतीबाट राम्रो आम्दानी लिनको लागि धरानबाट दुई सय पाँच सय बिरुवा ल्याई तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ । अरु नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थौँ । फूल लगाएर बेकार भयो । लगानी नै फसेको गुनासो गरे ।’ फूल बिक्री हुने समय सकिएकाले फूल त्यतिकै बारीमै खेर जाने तामाङको भनाइ छ । उनी भन्छन्, ‘धेरै राम्रो फूल भए तापनि बिक्री नभएपछि के गर्नु बाख्रालाई खुवाएर नि सकिँदैन । ठूल्ठूला सहरमा बाह्रै महिना फूलको माग हुने गर्छ अरे तर यहाँ त त्यहाँसम्म पुर्याउने बाटोघाटो नि छैन । यहाँ त यतिकै नास भएर जाने भयो ।’ रासस
ईफाप्काको अध्यक्ष र महासचिव नेपाली निर्माण व्यवसायी, ४६ औं सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४६ औं सम्मेलन काठमाडौंमा हुने भएको छ । दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित उक्त सम्मेलन सम्मेलन २०८० सालभित्र काठमाडौंमा आयोजना हुने नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष रवि सिंहले जानकारी दिए । माल्दिभ्स्को राजधानी मालेमा जारी ईफाप्काको ४५ औं सम्मेलनपछि संस्थाका अध्यक्ष रवि सिंह र महासचिव विरेन्द्र पाण्डेले पाउने भएको छन् । ईफाप्कामा १९ मुलुकका निर्माण व्यवसायी आबद्ध छन् । माले सम्मेलनलाई नेपाली प्रतिनिमिण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले गोर्खा भूकम्प र कोभिड—१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको जानकारी दिए । नेपालमा नौ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णाली जस्ता जलविद्युत परियोजना, २ हजार ६ सय ८० मिटर लामो सुरुङ मार्ग जस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष सिंहले जानकारी दिए । पूर्वाधार विकास मार्फत्को आर्थिक विकास प्रक्रियाप्रति नेपालका राजनीतिक दलहरूको बलियो प्रतिबद्धता रहेको र सोही अनुसार ऐन नियम तर्जुमा भइरहेको उनको भनाइ थियो । रुस—युक्रेन युद्ध बाहेक जग्गा प्राप्तिमा हुने झमेला, साइट क्लियरेन्सको समस्या, निर्माण सामाग्रीको अभाव, मूलयवृद्धि, दक्ष तथा प्राविधकि जनशक्तिको अभाव लगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नु परिरहेको उनले बताए । सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो । नेपालमा हाल १७ हजार भन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाख भन्दा बढी यस उद्योगमा आबद्ध रहेका छन् ।
तुलसीपुर डान्स आइडलको उपाधि रेउलेले जितिन् एक लाख रुपैयाँ पुरस्कार
तुलसीपुर । तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले जितेकी छिन् । दङ्गीशरण–४ वैबाङकी रेउलेले प्रथम स्थान हासिल गर्दै एक लाख रुपैयाँ पुरस्कार जितिन् । डान्स आइडलको दोस्रो स्थानमा तुलसीपुर उपमहानगरपालिका–९ की सन्जु क्षेत्री तथा तेस्रो स्थान सल्यानको शारदा नगरपालिका–१० की सन्ध्या रानाले प्राप्त गरे । उनीहरुले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै तुलसीपुर–६ की जीवा बुढाथोकीले सात्वना स्थान हासिल गरी पाँच हजार रुपैयाँँ पुरस्कार पाइन् । यसैबीच प्रथम तुलसीपुरमा जारी लोकसांस्कृतिक दोहोरी तथा लोक नृत्य कार्यक्रमको बुधबार समापन गरिएको छ । गत असोज २८ गते सुरु भएको सो कार्यक्रम ३२ दिनपछि सकिएको आयोजक संस्था मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीको जानकारी दिए । रासस
निर्वाचनको दिन मौसम सफा रहने
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो । निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हालको मौसमी विश्लेषणअनुसार निर्वाचनका दिन मौसम सफा रहने महाशाखाका मौसमविद् हीरा भट्टराईले बताए । उनले भने, ‘मौसम बदली आज मात्रै हो निर्वाचनका दिन मौसम सफा रहने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली भेगका थोरै क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।’ महाशाखाले जारी गरेको प्रारम्भिक मौसम पूर्वानुमान अनुसार मङ्सिर २ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मङ्सिर ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाले भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने सभवना छ । सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी मङ्सिर ४ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गरिने महाशाखाले उल्लेख गरेको छ ।
आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीमा मूल्य बढेर आएको छ । बुधबारमा पठाएको मूल्य सूचीमा पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १६ पैसा बढेर आएको छ । यस्तै, डिजेलको प्रतिलिटर १ रुपैयाँ ३० पैसा घटेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ र डिजेलको प्रतिलिटर १ सय ७८ रुपैयाँ छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा रहेको छ । त्यस्तै, डिजेलको हकमा प्रतिलिटर १० रुपैयाँ ८३ पैसा घाटा भएको गोइतले बताए ।
प्रतिकित्ता १ सयमा समृद्धि फाइनान्सको साढे ७ लाख सेयर बिक्रीमा
काठमाडौं । समृद्धि फाइनान्सले आज मंसिर १ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सको संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो । फाइनान्सले पहिलोपटक २०७८ चैत्र २९ देखि बैशाख ७ सम्म र दोस्रो पटक गत असार १ देखि असार ९ सम्म लिलाम बढाबढ गरी बिक्री गर्दा पूर्ण आवेदन नपरेकाले पुनः तेस्रो पटक मंसिर १ गतेदखि मंसिर १५ गतेसम्म बिक्री गरेको हो । लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँलाई आधार मानि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बैंक अफ काठमाण्डूको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ । साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौडा, मकवानपुर, शाखा कार्यालय पुतलीसडक, काठमाडौं, चितवन, पोखरा र बुटवलबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
ऋद्धि सिद्धि सहकारीको ऋण चुक्ता नगरे जग्गा लिलाम गर्ने चेतावनी
काठमाडौं । ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाबाट विभिन्न ऋणीहरुले लिएको कर्जा चुक्ता नगर्ने ऋणीहरुको सम्पत्ति लिलाम गर्ने भएको छ । सहकारीले ३५ दिन, १५ दिन र ७ दिन अवधिमा छुट्टाछुट्टै तीन वटा सूचना प्रकाशन गरी ऋण चुक्ता नगरे धितो लिलाम गर्ने बताएको हो । सहकारीले नुवाकोट मुकुन्द भण्डारी र मिना भण्डारीलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न ताकेता गरेको छ । यस्तै, सहकारीले जयश्री महर्जन, दिपक बस्नेत र राम सुन्दर बोहोरालाई ७ दिनभित्र ऋण चुक्ता गर्ने ताकेता गरेको हो । यस्तै, सौगात केसी र मुरारी केसीलाई ७ दिनभित्र ऋण चुक्ता गर्न भनेको हो । यदि तोकिएको अवधिभित्र ऋण चुक्ता नगरेमा लिलाम प्रक्रियाका लागी सहकारी संस्थाका नाममा धितो सुरक्षण राखिएको जग्गा सहकारी ऐन २०४८ र नियमावली २०४९ मा भएको व्यवस्था बमोजिम लिलाम गरी लेना रकम असुल उपर गरिने सहकारीले जनाएको छ ।