पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अङ्गदान गर्ने, मञ्जुरीनामा पत्रमा हस्ताक्षर
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने मन्जुरी नामामा हस्ताक्षर गरेका हुन् । मन्जुरी नामामा भनिएको छ, ‘मेरो मृत्युपश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकाले मानव शरीरको अङ्ग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा १ को खण्ड ख बमोजिम जानीबुझी स्वेच्छाले यो मञ्जुरी नामा लेखिदिएको छु ।’ आफूले दान गरेका अङ्गबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकाले अङ्गदानको घोषणा गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
एक महिनामा कनेक्ट आइपिएस मार्फत १५ अर्बको कारोबार
काठमाडौं । पछिल्लो समय कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा उल्लेख्य रुपमा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामा मात्रै कनेक्ट आइपिएस मार्फत करिब १५ अर्ब बराबरको कारोबार भएको हो । बैंकले बुधबार चालु आर्थिक वर्षको तीन महिनामा (गत साउनदेखि असोज मसान्तसम्मको) तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार गत भदौ महिनाको तुलनामा असोजको एक महिनामा कनेक्ट आइपिएस मार्फत १४ अर्ब ७३ करोड बढीको कारोबार भएको हो । गत भदौ महिनामा २ खर्ब ९२ अर्ब ५४ करोड ५० लाख बराबरको कारोबार भएकोमा असोज महिनामा ३ खर्ब ७ अर्ब २७ करोड ५० लाख बढीको कारोबार भएको हो । यस्तै, तथ्यांक अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको तीन महिनामा कनेक्ट आइपिएस मार्फत हुने कारोबार रकममा २८ दशमलव ४८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा कनेक्ट आइपिएम मार्फत २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख बराबरको कारोबार भएकोमा चालु आवको सोही अबधिमा ३ खर्ब ७ अर्ब २७ करोड ५० लाख बढीको कारोबार भएको हो । बढ्यो डिजिटल भुक्तानीको कारोबार बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो तीन महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्युआर) कोडमा आधारीत भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । गत आवको पहिलो तीन महिनामा क्युआर कोडको प्रयोग गरी ६ अर्ब नौ करोड ७० लाख रुपैयाँको कारोबार भएकामा चालु आवको समिक्षा अवधिमा यसको प्रयोग गरी १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै चालु आवको असोज मसान्तसम्म प्रिपेड कार्डको मध्यमबाट ४३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यस्तो कार्डको प्रयोगबाट अघिल्लो आवको सोही अवधिमा १५ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो । केन्द्रीय बैंकका अनुसार कारोबारमा मोबाइल बैंकिङको प्रयोग गत आवको तुलनामा बढेको छ । गत आवको असोज मसान्तसम्म मोबाइल बैंकिङको प्रयोग गरी ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकामा चालु आवको सोही अवधिमा एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख पुगेको छ । त्यस्तै चालु आवको पहिलो तीन महिनामा एटिएमको प्रयोग गरी ८८ अर्ब ८९ करोड ६० लाखको कारोबार भएको छ । यसको प्रयोगगरी गत आवको सोही अवधिमा ७६ अर्ब ५३ करोड ७० लाखको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा वालेटमार्फत १६ अर्ब ५६ करोड ८० लाखको कारोबार भएको छ । यसको प्रयोग गरी गत आवको सोही अवधिमा १५ अर्ब १८ करोड ७० लाखको कारोबार भएको थियो । विवरणानुसार अघिल्लो आवका आधारमा चालु आवको असोज मसान्तसम्म इन्टरनेट बैंकिङका माध्यमबाट हुने भुक्तानीमा भने कमी आएको देखिएको छ । गत आवको पहिलो तीन महिनामा इन्टरनेट बैंकिङको प्रयोग गरी १३ अर्ब ३४ करोड ४० लाख बराबरको कारोबार भएकामा चालु आवको समीक्षा अवधिमा ११ अर्ब ९५ करोड ९० लाख बराबरको कारोबार भएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरीएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ ।
बेवारिसे अवस्थामा रहेको डेढ करोडको सामान सशस्त्र प्रहरीद्वारा बरामद
रसुवा । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा हिजाे बुधबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो । अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो । बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाएको छ । निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ ।
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज घटेकाे मूल्य अनुसार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू
काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन । यसैगरी मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन हुँदैन । मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने आचारसंहितामा उल्लेख छ । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न हुँदैन तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिकरूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि आयोगले तोकको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा पर्ने नपर्ने आचारसंहितामा उल्लेख छ । त्यस्तै मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न हुँदैन । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । साथै उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न हुने उल्लेख छ । ऐनअनुसार उक्त प्रावधानविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमानकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
नेतालाई चुनावमा सेवा दिन हेलिकप्टर कम्पनी अनिच्छुक, अग्रिम भुक्तानीको माग
काठमाडौं । नेपालमा अहिले नेपाली सेनासँग साना ठूला गरेर ८ वटा हेलिकप्टर छन् भने अन्य निजी क्षेत्रका ११ वटा कम्पनीहरुसँग २९ वटा हेलिकप्टर रहेका छन् । नेपाली सेनाले आफ्नो आवश्यक नियमित काम, सकारको निर्देशन, आकस्मिक उद्धार चार्टड फ्लाइटमा आफ्नो हेलिकप्टर प्रयोग गर्ने गर्छ । चुनाव लक्षित प्रचारप्रसारको लागि राजनीतिक दलका सिमित व्यक्तिहरुले हेलिकप्टरको प्रयोग गर्ने अनुमति निर्वाचन आयोगले दिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले हेलिकप्टर प्रयोगको अनुमति आयोगबाट लिएको थियो । मुख्य गरेर चार राजनीतिक दलका मुख्य नेतृत्वले चुनाव लक्षित प्रचारका लागि हेलिकप्टर प्रयोगका लागि आयोगसँग अनुमति मागेपनि अन्य विभिन्न बाहानामा केही नेता तथा उम्मेदवारहरुले हेलिकप्टर प्रयोग गरेको आयोगमा उजुरी परेको छ । हेलिकप्टर कम्पनीहरुका अनुसार राजनीतिक राजनीतिक नेताहरुले प्रचार कार्यमा प्रयोग गर्नको धेरै हेलिकप्टर कम्पनीसँग अनुमति मागेपनि उनीहरुले उपलब्ध नगराएको बुझिएको छ । यतिबेला नेपालमा पर्यटक घुम्न आउने समय भएकाले पर्यटक बोक्ने कामले नै फुर्सद नभएकाले राजनीतिक नेतृत्हरुलाई हेलिकप्टर उपलब्ध गराउन नसकिएको कतिपयले बताएका छन् भने कतिपयले नेताहरुले विगतमा नै प्रयोग गरेको बक्यौता नबुझाएकाले आफूहरु उनीहरुलाई सेवा दिन अनिच्छुक भएको बताएका छन् । एयर एल्टिच्युडले यसपटक माग आएपनि कुनैपनि राजनीतिक दलका उम्मेदवारहरुलाई चुनाव प्रचारप्रसारको लागि हेलिकप्टर उपलब्ध गराएन । कम्पनीका मार्केटिङ अफिसर सुदिप प्याकुरेलका अनुसार हेलिकप्टरले विदेशी पर्यटक बोकिरहेको कारणले राजनीतिक दलका नेतृत्वको मागलाई सम्बोधन गर्न नसकेको बताए । विगतका चुनावहरुमा विभिन्न राजनीतिक नेताहरुले कम्पनीको हेलिकप्टर प्रयोग गर्दाको झण्डै १० लाख बक्यौता उठाउन बाँकी रहेको उनले अफिसर प्याकुरेलले विकासन्युजलाई बताए । एयर डाइनेस्टीका अपरेसन म्यानेजर बालकृष्ण पण्डितका अनुसार राजनीतिक प्रचारका लागि हेलिकप्टरको माग निकै नै भइरहेको छ, तर कम्पनीले उपलब्ध गराउन सकिरहेको छैन । ‘चुनावको लागि माग अत्यन्तै धेरै भएको छ, २र४ वटा फ्लाइट भए तर हामीले माग भएजति दिन सकिरहेका छैनौं’, म्यानेजर पण्डितले विकासन्युजसँग भने । पण्डितका अनुसार हेलिकप्टरहरु पर्यटक फ्लाइटमा नै व्यस्त भएकाले कम्पनीले राजनीतिक दलका उम्मेदवारलाई हेलिकप्टर उपलब्ध गराउन सकेको छैन । चुनावमा राजनीतिक नेताहरुलाई पैसा डिपोजिट राखेर मात्रै भाडामा दिने गरिएको म्यानेजर पण्डितले बताए । डाइनेस्टीमा पनि विगतको निर्वाचन प्रचारप्रसारको क्रममा प्रयोग गरेर विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले लामो समयदेखि पैसा बुझाउन बाँकी रहेको छ । हेलिकप्टर सेवा व्यवसाय गर्दै आएको मनाङ एयरमा भने निर्वाचन लक्षित चुनाव प्रचारका लागि कुनै पनि दलका नेताले बुकिङ गरेनन् । मनाङ एयरका अपरेसन डाइरेक्टर शेरचन सुवेदीले अहिलेसम्म निर्वाचन प्रचारको अवधिमा कुनै पनि राजनीतिक दलले आफूहरुको हेलिकप्टर प्रयोगको लागि माग नगरेको बताए । साथै उनले पर्यटकहरुलाई नै सेवा दिन भ्याइनभ्याई भएको कारणले माग आएपनि सेवा उपलब्ध गराउन नसकिने अवस्था रहेको शेरचनले बताए । ‘पहिलाको निर्वाचन पनि पर्यंटकको सिजनमा परेको थियो यसपटक पनि त्यस्तै सिजनमा पर्यो’, उनले भने । त्यस्तै कैलाश हेलिकप्टरले पनि राजनीतिक नेताहरुलाई निर्वाचन लक्षित प्रचारका निमित्त हेलिकप्टर उपलब्ध गराएको छैन् । कम्पनीका अपरेसन डेपुटी डाइरेक्टर श्रीहरी कुइकेलका अनुसार यतिबेला हेलिकप्टर पर्यटक बोक्न नै व्यस्त भएकाले राजनीतिक दलका नेताहरुको मागलाई उपलब्ध गराउन सकिने अवस्था नरहेको बताए । चुनावी प्रचार अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिम्रिक एयरलाइन्सको हेलिकप्टरको प्रयोग गरे भने सत्ता गठबन्धनका नेता प्रधानमन्त्री शेरबहादुर देउबा र प्रचण्डले सैनिक जहाजदेखि निजी हेलिकप्टरको प्रयोग गरे ।
पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी
पनौती । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताए । ‘मन्त्रालयबाट गत साउनमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम गरिरहेको छ, यसपछि सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा सञ्चालन गछौँ’, उनले भने । उनका अनुसार मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ भने पुसदेखि उडान थालिनेछ । सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला तीन दिनसम्म परीक्षण उडान गरिएको थियो । त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिकरुपमा उडानका लागि परीक्षण गरिएको थियो । उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति दिइएको बताइएको छ । हुमागाईका अनुसार दैनिक १० उडान भर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने बताइएको छ तर, सुरुमा पाँच र त्यसपछि १० प्याराग्लाइडिङ सञ्चालन गरिने छ । प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवाले अध्ययन गरिरहेको हुमागाईले बताउनुभयो । ‘यसबाट स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको प्रचार हुनेछ’, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने उनको भनाइ छ । यस्तै प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा अवतरण हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरी चार किलोमिटर हो । प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने अवतरण हुने स्थान बन्चरेटार एक हजार तीस सय मिटरमा छ । पनौती नगरले पनि आर्थिक वर्ष २०७९/८० मा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । यो वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङलगायत सञ्चालन गरिने योजना छ । नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको थियो । उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ टे«ल रुट तय गरिएको छ । नगरको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए । यसैगरी नेपाल पर्यटन बोर्डले गत वर्ष असोजमा पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ । यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको उल्लेख गर्दै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको थियो । बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल, साँगा–पनौती हाइक, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक फुल्चोकी वरिपरि, चराको दृष्यावलोकन, योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग र जात्रा–मेला अवलोकन गर्न सकिने छ ।
तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ । विद्युत्गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए । बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ । उनले भने, ‘आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ ।’ प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत्गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ । पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । त्यसैगरी, प्याकेज दुई अन्तर्गतको विद्युत्गृह खन्ने कामसमेत सम्पन्न भइसकेको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ । विद्युत््गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि प्रारम्भ भएको हो । सिनोहाइड्रो कम्पनीले ४३७ दशमलव एक मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । दुई सय ८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने तीन सय १४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ ।