
काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४६ औं सम्मेलन काठमाडौंमा हुने भएको छ । दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित उक्त सम्मेलन सम्मेलन २०८० सालभित्र काठमाडौंमा आयोजना हुने नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष रवि सिंहले जानकारी दिए ।
माल्दिभ्स्को राजधानी मालेमा जारी ईफाप्काको ४५ औं सम्मेलनपछि संस्थाका अध्यक्ष रवि सिंह र महासचिव विरेन्द्र पाण्डेले पाउने भएको छन् । ईफाप्कामा १९ मुलुकका निर्माण व्यवसायी आबद्ध छन् ।
माले सम्मेलनलाई नेपाली प्रतिनिमिण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले गोर्खा भूकम्प र कोभिड—१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको जानकारी दिए । नेपालमा नौ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णाली जस्ता जलविद्युत परियोजना, २ हजार ६ सय ८० मिटर लामो सुरुङ मार्ग जस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष सिंहले जानकारी दिए ।
पूर्वाधार विकास मार्फत्को आर्थिक विकास प्रक्रियाप्रति नेपालका राजनीतिक दलहरूको बलियो प्रतिबद्धता रहेको र सोही अनुसार ऐन नियम तर्जुमा भइरहेको उनको भनाइ थियो । रुस—युक्रेन युद्ध बाहेक जग्गा प्राप्तिमा हुने झमेला, साइट क्लियरेन्सको समस्या, निर्माण सामाग्रीको अभाव, मूलयवृद्धि, दक्ष तथा प्राविधकि जनशक्तिको अभाव लगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नु परिरहेको उनले बताए ।
सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो । नेपालमा हाल १७ हजार भन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाख भन्दा बढी यस उद्योगमा आबद्ध रहेका छन् ।