सकारात्मक विचारले तनावमुक्त जीवन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीका जयबहादुर ऐर निरोगी, हसिलो, फुर्तिलो देखिन्छन् । तनावमुक्त जीवनशैली अपनाउँदा उहाँको जीवनमा परिवर्तन आएको हो । दैनिक बिहानको नित्यकर्म सकेर उनले योगा गर्छन् । तनाव सिर्जना गर्ने कार्यबाट टाढा बस्नु हुन्छ । निरोगी हुनुको रहस्य खोतल्दै उनले भने, ‘शरीरलाई निरोगी राख्नका लागि सन्तुलित भोजनको सेवन गर्नु आवश्यक छ, तनावबाट मुक्त हुनका लागि सकारात्क सोच अपनाउनुपर्छ ।’ यिनै कुरालाई जीवनमा लागू गर्दा निरोगी हुन सकेको उनी निर्धक्कसँग बताउँछन् । उनी भन्छन्, ‘तनावबाट बच्नका लागि जीवनशैली परिवर्तन गर्न आवश्यक छ, तनावको मुख्य कारण आधुनिक जीवनशैली अपनाउनु पनि हो, तनावको मुख्य कारण नै मनमा आउने नकारात्मक सोच जिम्मेवार रहेको छ ।’ योग साधनामा लामो समयदेखि लाग्दै आएका यज्ञराज जोशी नकारात्मक विचारबाट आपसी व्यवहारमा कटुता आउने, क्रोध बढ्ने, वैरभावको विकास हुने, एक अर्काप्रति घृणाको भावना पैदा हुने गरेको बताउँछन् । ‘नकारात्मक विचारबाट दृष्टिकोण र व्यवहार नकारात्मक बन्दछ’, उनले भने, ‘जसले गर्दा मनमा तनाव पैदा हुन्छ, तनावका कारणले मानसिक र शारीरिक बिरामी हुने सम्भावना बढेर जान्छ ।’ योग साधना र ध्यानले मनोबललाई मजबुत गरी तनावबाट मुक्ति पाउन सकिने उनले बताए । ‘योग र ध्यानले मनमा एकाग्रता बढ्न गई सकारात्मक विचार चल्न सुरु हुन्छ, यसका लागि सात्विक भोजन, राम्रो सङ्गत र सकारात्मक चिन्तन हुनु जरुरी छ’, उनले भने । मनमा चल्ने नकारात्मक विचारले क्रोध बढ्न गई झैँ–झगडा हुने, तनाव सिर्जना हुने, अनिन्द्रा हुनेलगायतका समस्या देखापर्ने गरेको उनले उल्लेख गरे । ‘मनमा तनाव भएमा लागुऔषधको अम्मलीको सिकार हुने गरेको कुरा समाजमा देखेका र सुनेका छौँ’, उनले भने, ‘जसका कारण धनसम्पत्ति गुमाउने सँगै जीवन बर्वाद हुने गरेको छ, परिवारलाई समेत यस कार्यले तनावमा पार्ने गरेको छ ।’ ‘तनावका कारण परिवारलाई असल मार्गमा डो¥याउन नसक्दा घरका युवा लागुऔषधको दुव्र्यसनी बनेका छन्, जेल जीवन बिताउन बाध्यछन्’, उनले भने, ‘असल समाज निर्माण गर्नका लागि ध्यान, एकाग्रता, योग, नैतिक शिक्षाको आवश्यकता छ ।’ भारतको राजिस्थान प्रान्तको मान्ट आबुस्थित प्रजापति ब्रह्मकुमारी विश्वविद्यालयबाट प्रवचन दिनका लागि शुक्लाफाँटा नगरपालिकाको झलारी आइपुगेका भगवान् भाइले मनमा चल्ने नकारात्मक विचार, शङ्का, इष्या, घृणा, अभिमानका कारण मानवमा क्रोध आउने बताए । ‘क्रोधका कारण आपसी मनमुटाव, सम्बन्धमा चिसोपन, मानसिक र शारीरिक समस्या हुने गर्दछ’, उनले भने, ‘सकारात्क चिन्तन नै क्रोधमुक्त बनाउने सञ्जीवनी बुटीका रुपमा रहेको छ, आध्यात्मिक ज्ञानले आपसी भाइचारा, स्नेहको विकास गरी खराब कार्य पनि राम्रो देख्ने हुन जान्छ, जसबाट क्रोध मुक्त हुन सकिन्छ ।’ उनी भन्छन्, ‘क्रोध मुर्खताबाट प्रारम्भ भएपश्चात् सकिन्छ, त्यसलाई मनलाई एकाग्र बनाई ध्यान गर्नु जरुरी छ, यसले आत्मबललाई मजबुत बनाउँछ ।’ रासस
विभिन्न कार्यक्रम गरी अभियान लघुवित्तले मनायो तेस्रो वार्षिकोत्सव
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सव विभिन्न कार्यकम गरी मनाएको छ । लघुवित्तले यस अवसरमा केन्द्रिय कार्यलय बनेपामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै लघुवित्तले बृक्षारोपण, वितिय साक्षरता जस्ता विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । यस अवसरमा लघुवित्तका अध्यक्ष बाबुराम थापाले कोभिडको कारणले अर्थतन्त्र अस्तव्यस्त भएको जटिल अवस्थादेखि तरलताको अभाव भएको परिस्थितिमा राम्रोसँग काम गर्ने कर्मचारी र सहयोग गर्ने ग्राहकले प्रति आभारी रहेको बताएका थिए । राष्टिय स्तरको यस संस्थाले ७ वटा प्रदेशका २१ जिल्लामा ६० शाखा मार्फत २८ हजार सदस्यलाई सेवा प्रदान गदै आएको छ । यस संस्थाको चुक्ता पुँजी २५ करोड रहेको छ ।
८२ लाख ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार छ सय दुई रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स सञ्चालक विभिन्न बहाना बनाएर पसल नै बन्द गरी फरार थिए । गत साउन १७ गतेदेखि फरार रहेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो । उनीहरुले सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
नियम विपरीत शिक्षक नियुक्ति गर्ने पर्साका गाउँपालिका प्रमुखलाई स्पष्टीकरण
पर्सा । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ । उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो । आयोगले यसअघि पनि विभिन्न सरकारी क्याम्पस र विद्यालयका शिक्षकलाई आचारसंहिता उल्लङ्घनका विषयमा स्पष्टीकरण सोधेको थियो । रासस
मौन अवधिमा प्रचारप्रसार गरे २५ हजार जरिवाना
काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भएकाले सो अवधिमा प्रचारप्रसार गरिए कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको पालना नभएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिइएको छ । उक्त ऐनको दफा २४ (५) अनुसार कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न, अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरीतका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेकाले निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई आयोगले लेखी पठाएको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिस्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, सेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न–नगराउन तथा आफ्नो सामाजिक सञ्जालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोगले निर्देशन दिएको छ । मतदानका दिन मतदान केन्द्रको वरपर कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केतिक अर्थ जनिने पोसाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकरलगायत पहिरन वा चिजवस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । सो अवधिमा सामाजिक सञ्जाल तथा अनलाइन र सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्न– नगराउन र यसअघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गर्नाका साथै सोको अनुगमन गर्न पनि विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।
‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउनसक्छ ’
चितवन । मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन् । स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उनीहरुले मधुमेह भइसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने सुझाव दिए । चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट हर्मनरोग विशेषज्ञ डा सौरव खतिवडाले मधुमेह वयस्क मानिसलाई मात्रै नभएर युवालाई पनि लाग्ने जनाउँदै जीवनशैली परिवर्तन गरेर सहज जीवनयापन गर्नुपर्छ भने । औषधि, खानपान र व्यायामले मधुमेहलाई नियन्त्रणमा राख्न सकिने उनले सुझाव दिए । ‘गर्भावस्था, शल्यक्रियाको समय र अन्य औषधिका कारणले हुने मधुमेह पछि निको भएर जाने भए पनि यीबाहेकका प्रायः मधुमेह पूर्णरुपमा निको हुँदैनन् ।’ उनले भने, ‘यो बढ्दै जाने रोग हो । यसलाई औषधि, खानपान र व्यायामले नियन्त्रणमा राख्न सक्छौँ ।’ उनका अनुसार नेपालका १० देखि २० प्रतिशत जनसङ्ख्यामा मधुमेहको समस्या रहेको अनुमान गरिएको छ । मधुमेहका बिरामी आफैँ सचेत भएर रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउँदै डा खतिवडाले भने ‘खानपानलाई नियन्त्रणमा राख्नुपर्छ, व्यायाम गर्नुपर्छ, औषधि नियमित खानुपर्छ ।’ औषधि र इन्सुलिन लिइरहेका बिरामीले सही तरिकाले औषधि खान र इन्सुलिन लगाउन उनले सुझाव दिए । डा खतिवडाले भने, ‘चिनीको मात्रा उच्च वा न्यून भयो भने के कारणले यस्तो भएको हो भन्ने कुरा पत्ता लगाउनुपर्दछ ।’ मधुमेहका बिरामीले पनि सामान्य एकजना व्यक्तिले खाने सन्तुलित खाना नै खान सक्ने बताउँदै डा खतिवडाले भने, ‘खानामा कार्बोहाइड्रेडको मात्रा नियन्त्रणमा राख्नुपर्छ । मुख्यरुपमा सजिलै चिनी निस्किने खालको कार्बोहाईड्रेड नभएको खाना खानुपर्छ । बिहान, दिउँसो र बेलुकीको खानामा म यति कार्बोहाइड्रेड भएको खान्छु भन्ने निश्चित गर्नुपर्दछ । कहिले बढी खाने कहिले कम खाने गर्नु हुँदैन ।’ मधुमेहका बिरामीलाई दुईदेखि तीन पटक अन्न खान सुझाव दिँदै उनले अन्य समयमा पनि थोरैथोरै तर कम अन्नयुक्त खानेकुरा खान सुझाए । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेज भरतपुरका कन्सल्टेन्ट फिजिसियन डा देवनारायण जैसीले मधुमेहका बिरामीलाई पनि शरीरमा सुगरआवश्यक पर्ने बताए । उनले मधुमेहका बिरामीको शरीरमा पनि सुगर चाहिने तर आवश्यकताभन्दा बढी हुन नहुने बताए । उनले भने ‘मधुमेहका बिरामीको शरीरलाई सुगर चाहिंदै नचाहिने भन्ने होइन, तर आवश्यकताभन्दा बढी हुनु हुँदैन । सुगर भनेको शरीरका लागि इन्धन हो ।’ सुगरको मात्रा बढी भएर शरीरले त्यसको व्यवस्थापन गर्न नसकेपछि समस्या आउने उनले बताए । पहिलेपहिले ४० वर्षपछि मधुमेह रोग देखिन्छ भन्ने गरिएको भए पनि हिजोआज जीवनशैलीमा परिवर्तन आएपछि कम उमेरमै मधुमेह देखिन थालेको उनको भनाइ छ । उनले भने ‘खानपानका कारण कलिलो उमेरमै मोटोपनको समस्या, व्यायाम नगर्ने जस्ता कारणले हिजोआज २५–३० वर्षदेखि नै मधुमेहको समस्या देखिने गरेको छ । यसको मुख्य कारण जीवनशैली नै हो ।’ बुबाआमालाई मधुमेह छ भने त्यस्तो व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने जनाउँदै उनले अनियन्त्रित रुपमा बाहिरी खाना धेरै खाने, व्यायामको कमी हुने व्यक्तिहरुलाई मधुमेह हुने सम्भावना पनि बढी हुने बताए । धेरैजसो मधुमेहको समस्या नियन्त्रण गर्न सकिने बताउँदै उनले भने, ‘घरमा तयार पारिएको सन्तुलित खाना ठिक्क मात्रामा खाने, जङफुड नखाने, बोसो र चिल्लोयुक्त खाना नखाने, नियमित व्यायाम गर्ने हो भने धेरैजसो मधुमेहबाट बच्न सकिन्छ ।’ मधुमेह लागिसकेपछि शरीरको तौल घट्दै जाने जनाउँदै उनले भने, ‘पटक पटक पिसाब लाग्नु, धेरै भोक लाग्नु, मुख सुक्दै जानु, हातखुट्टा झम्झमाउनु, कमजोर महसुस हुनु भनेको मधुमेहका लक्षण हुन् । यस्तो लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गराउनुपर्दछ ।’ गर्भवतीलाई पनि मधुमेहको जोखिम हुने डा जैसीको भनाइ छ । उनले भने, ‘हामीले २४ देखि २८ हप्ताको बीचमा गर्भवतीको मधुमेह परीक्षण गर्ने गर्दछौँ । गर्भवती हुनुभन्दा पहिले नै तौल बढी छ, मोटोपना छ, यसभन्दा पहिलाको गर्भावस्थामा पनि मधुमेह भएको छ भने दोस्रो गर्भावस्थामा मधुमेह हुने सम्भावना बढी हुन्छ ।’ गर्भावस्थाको सुरुआती चरणदेखि नै मधुमेह परीक्षण गराउन उनले सुझाव र्दिए । रासस
यस्तो छ प्रभु बैंकका सेयरधनीले पाएको लाभांशको इतिहास
काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । बैंकले ६. ५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । प्रभु बैंकले हालसम्म ५ आर्थिक वर्षमा मात्रै सेयरधनीलाई लाभांश घोषणा गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा ०.४२ नगद र ८ प्रतिशत बोनस गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ०.८४ प्रतिशत नगद र १६ प्रतिशत बोनस गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो जुन बैंकको इतिहासमा हालसम्मकै उच्च लाभांश हो । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा ०.५२६३ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी कुल १०.५२ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ का लागि १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर ठूलो बैंक बन्ने रणनीतिका साथ अगाडि बढिरहेको छ । स्थापना भएको छोटो अवधिमा यस बैंकमा ग्राण्ड बैंक, किस्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिसकेका छन् । हालै मात्र बैंकले सेञ्चुरी बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ । यस बैंकले सेञ्चुरीसँग १ः१ अनुपातको स्वाप रेसियोमा मर्ज गर्ने सम्झौता गरेको छ । मर्जर पश्चात बन्ने बैंकको नाम प्रभु बैंक नै रहनेछ । सहमति अनुसार प्रभु बैंकले सीईओ र अध्यक्ष दुबै पाउने छ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन नियुक्त हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुनेछन् । हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ । सेञ्चुरीसँग एकीकृत कारोबार भएपछि बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्ने बताइएको छ । मर्जर पश्चात् बैंकले आक्रामक ढंगले बिजनेस विस्तार गर्ने रणनीति बनाएको छ । बैंकले सेयरधनीहरुलाई पनि प्रतिफल बनाउँदै जाने योजना पनि बनाएको छ । गत आर्थिक वर्षको नाफाबाट प्रोभिजन गर्नु परेको र ऋणीहरुबाट असुलेको अतिरिक्त प्रिमियम फिर्ता गर्नु परेको कारण पनि यस वर्ष बैंकले विगतको तुलनामा कम लाभांश वितरण गर्ने भएको हो ।
‘आइएमई पे’ले ल्यायो हवाई टिकट अफर, एक रुपैयाँमै दैनिक यात्रा गर्न सकिने
काठमाडौं । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको ‘आइएमई पे’ ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । यस अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नु पर्ने हुन्छ । र यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना विजेताले १ रुपैयाँ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनेछन् । आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ मा हवाई टिकट अफर सार्वजनिक गरेकाे कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार याे अफर कात्तिक ३० गतेदेखि मंसीर ९ गते गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।