विकासन्युज

धवलागिरि अस्पतालमा ५८ लाखको सुविधासम्पन्न एम्बुलेन्स

बागलुङ । एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताए । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उनको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिदै आएको थियो । एम्बुलेन्स खरिदका लागि अस्पतालले ५८ लाख रुपैयाँ खर्चेको हो । अष्टेलियामा रहेका नेपालीले ४८ लाख रुपैयाँ र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै ३२ लाख रुपैयाँ सहयोग गरेका थिए । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तारा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्थालगायतका सुविधा रहेको न्यूरेले बताए । ‘अझै केही उपकरण थप्नुपर्ने छ, त्यसका लागि अस्पतालले आफ्नो स्रोत प्रयोग गर्छ’, न्यूरेले भने, ‘हामीले तत्कालै सबै व्यवस्थापन गरेर सञ्चालनमा ल्याउँछौँ ।’ यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गीकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो । बिरामीको चाप हुने अस्पतालले पोखरा–काठमाडौंलगायतका सहरमा रहेका अस्पतालमा बिरामी सिफारिस गरेर पठाउँदा एम्बुलेन्सको अभाव खेप्दै आएको थियो । ‘मार्सल जिपलाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिएको थियो, एउटा मात्रै एम्बुलेन्स हुँदा अस्पतालले बिरामीलाई सुविधा दिन सकेको थिएन’, न्यूरेले भने, ‘अब सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले पाएको छ, यो सबैका लागि खुसीको कुरा हो ।’ एम्बुलेन्स खरिदका लागि गत वैशाख महिनामा नै बोलपत्र गरिएको थियो । असारमा सम्झौता भएको भए पनि फोटोन कम्पनीको वितरकले विभिन्न कारण देखाउँदै गत आवमा एम्बुलेन्स उपलब्ध गराएको थिएन । पछिल्लो समय धवलागिरि अस्पतालमा सघन उपचारकक्ष, सुविधासम्पन्न एम्बुलेन्स, अक्सिजन प्लान्टजस्ता बिरामीसँग प्रत्यक्ष जोडिने पूर्वाधार तयार भएका छन् । रासस

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

बाँके । आसन्न प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गए राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । भारतमा चुनाव हुँदा पनि सीमानाका बन्द गर्ने गरिएको छ । खुला सीमानाकाका कारण हुने आपराधिक गतिविधि रोक्न बिहीबार भारतीय सशस्त्र सुरक्षा बल एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । उनका अनुसार सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले नियमितरूपमा संयुक्त गस्ती गर्दै आए पनि पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी संयुक्त गस्तीलाई तीव्र पारिएको छ । बिहीबार जमुनाहबाट सुरु भएको संयुक्त गस्ती टोली हिरमिनिया पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्र्वाटर बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिए ।

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

बागलुङ । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वीरुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार–प्रसार तीव्ररूपमा हुन थाल्यो । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन् । अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । सो क्षेत्रमा पुस–माघमा पर्यटक गाडी लिएरै हिउँ खेल्न र वैशाख, जेठ र असारमा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । स्थानीय विकास घर्तीमगर लोकमार्ग कालोपत्र भएपछि यहाँ पर्यटकको आगमन बढेको बताउनहुन्छ । ‘पहिले–पहिले त यहाँ खासै मान्छे आउँदैनथे, यो ठाउँमा गोठालाले भेडाबाख्रा र गाईभैँसी चराउने गर्थे, मोटरबाटो कालोपत्र भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।’ यहाँ अहिले सडकले गर्दा बस्ती विस्तार हुन थालेको छ । उनी भन्छन्, ‘अझै पनि यहाँबाट गोठालाले पानी भरेर उपयोग गर्ने गर्छन्, यो अहिले व्यवस्थित भएको छ, गाउँपालिकाले संरक्षण गर्न थालेको छ, पर्यटक आउन थालेका छन् ।’ पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट उत्तरतर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । गाउँपालिकाले यस क्षेत्रको प्रचार–प्रसार र पूर्र्वाधार निर्माणका गर्न थालेको अध्यक्ष घर्तीमगरको भनाइ छ । उनले यसको विकासका लागि डिपिआर तयार पारेको, तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताए । ‘ताललाई थप आकर्षक बनाउन केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौँ, केही काम भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ, यहाँका समस्या समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारिसकेका छौँ, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुनेछन् ।’ रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका प्रवेश केसीले सामाजिक सञ्जालमा जिकै भाइरल भएकोले हेर्न आएको बताए । उनले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताउँछन् । उनले भने,  ‘यो ताल निकै रमणीय रैछ, मैले त फेसबुकमा देखेको थिएँ, अहिले यहाँ प्रत्यक्ष उपस्थित भएर घुम्न पाउँदा निकै ‘एक्साइटेड’ भएको छु ।’ रिगतालको नाम खासगरी मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वतलगायतका ठाउँको दृश्य देख्न सकिन्छ । माछापुच्रे, अन्नपूर्ण, धवलागिरिलगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल प्लाष्टिकका घरले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन् । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् । ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन् । अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी, साग, मुला र अन्य धेरै थरिका तरकारी झुलिरहेका देखिन्छन् । म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन् । प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेँडा कृषकले सदरमुकामसम्म ल्याएर प्रतिकिलो ६० देखि ८० रुपैयाँ सम्म बिक्री गर्ने गरेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्मा सापकोटाले बताए । सापकोटाले भने, ‘प्लाष्टिकको टनेलभित्र गोलभेँडा, काँक्रा, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लहलह फलाएका छन् । टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकले राम्रै आम्दानी लिएका छौँ ।’ अगुवा कृषकका रूपमा चिनिएका सापकोटाका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका कृषकले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर मनग्ये आम्दानी लिन थालेका छन् । एउटा टनेल राख्न ३० देखि ४० हजार रुपैयाँसम्म खर्च हुने उनी बताउँछन् । एउटा टनेलले एक सिजनमा ५०–६० हजार रुपैयाँसम्म आम्दानी हुने र दोस्रो वर्षदेखि राम्रो कमाइ हुने कृषक सापकोटको भनाइ छ । मानिसहरूमा आग्र्यानिक उत्पादनको खोजी हुन थालेपछि आयातित तरकारी र फलफूलभन्दा जिल्लाका ग्रामीण भेगका कृषकले गाउँमै फलाएका तरकारी र फलफूलको माग बढ्दै गएको छ । पश्चिम म्याग्दीका कृषकको उत्पादन दरबाङ, बाबियाचौर र त्यहाँ खपत हुन नसकेको अवस्थामा सदरमुकाम बेनीमा बिक्री हुने गरेको बाबियाचौरका किसान रामहरि पौडेलले बताए । उत्तरी म्याग्दीका कृषकले फलाएको तरकारी र फलफूल पोखरेबगर, भुरुङ तातोपानी, गलेश्वरलगायतका बजारमा बिक्री हुन्छ । ग्रामीण क्षेत्रमा गरेको बेमौसमी तरकारी खेतीको उत्पादन बिक्री गर्ने मुख्य बजार सदरमुकाम बेनी बजार हो । ‘व्यापारीको पहिले नै माग आउँछ, गाउँमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाइदिन्छु’, पाँचवटा टनेलमा तरकारी खेती गर्दै आएका खबराका कृषक चन्द्रबहादुर कार्की भन्छन्, ‘बिक्री गर्न कुनै समस्या छैन, कमाई राम्रै छ ।’ जिल्लाका छवटै स्थानीयतहले कृषकलाई अनुदान र निःशुल्करूपमा समेत कृषि औजार र बीउबिजन उपलब्ध गराउन थालेपछि कृषि पेसामा धेरैको आकर्षण बढेको बगरफाँटका कृषक भीमबहादुर रिजालले बताए । जिल्लामा क्रियाशील विभिन्न गैरसरकारी सङ्घसंस्थाले कृषकलाई बेमौसमी तरकारी खेतीको तालिम दिई आवश्यक प्रविधि तथा बीउबिजन उपलब्ध गराएपछि गाउँगाउँमा प्लाष्टिकको टनेल भित्रिएको हो । केही वर्ष पहिलेसम्म काम विशेषले सदरमुकाम बेनीबजार जाँदा प्लाष्टिकको झोलामा एक–दुई किलो गोलभेँडा किनेर ल्याई छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर टनेलभित्र प्रशस्त बेमौसमी तरकारी लहलह फलेको सानालेखका हरिप्रसाद शर्माले बताए । सदरमुकाम बेनीबजारमा तराईका जिल्लाबाट यो सिजनमा बेमौसमी गोलभेँडालगायतका तरकारी आयात हुँदै आएकामा जिल्लाकै ग्रामीण क्षेत्रमा मनग्ये उत्पादन हुन थालेपछि बाहिरी आयात घट्दै गएको व्यापारी बताउँछन् । जिल्लाका स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार विगत दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका दुई सयभन्दा बढी युवाले अहिले व्यावसायिक कृषि पेसा अपनाएका छन् । उनीहरूले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर व्यवसायिकरूपमा कृषिमा लागेका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

डोल्पा । उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो । सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा हेलिकोप्टरको प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी सेनाको हेलिकोप्टरबाट पठाइएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनका अनुसार मतदान सकिएपछि पनि मतपत्र, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसमेत हेलिकोप्टरबाटै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्वतयारी गर्न समस्या देखिएपछि हेलिकोप्टर प्रयोग थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपल्लो क्षेत्रमा पर्ने २२ मतदान केन्द्रका लागि हेलिकोप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताका हिसाबमा १२ मतदान केन्द्रका लागि मात्र हेलिकोप्टर व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । बिहीबार शे–फोक्सुण्डोको वडा नं ३ साल्दाङ्ग मतदान केन्द्र र छार्काको एउटा मतदान केन्द्रमा दुई उडान हेलिकोप्टर प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी पठाइएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । आज बिहानदेखि बाँकी १० वटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइने निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । माथिल्लो डोल्पाका १२ मतदान केन्द्रबाहेकका अन्य मतदान केन्द्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री घोडाखच्चड र मानिसको पिठूयुँमा बोकेरै मतदान केन्द्रतर्फ कर्मचारी जाँदै गरेको र केही पुगिसकेको जनाइएको छ । रासस

ऋण चुक्ता नगरेपछि सिटिजन्स बैंकले जग्गा लिलाम गर्दै, ६ ऋणीलाई कालो सूचीमा राख्ने चेतावनी

फाइल फाेटाे काठमाडौं । सिटिजन्स बैंकले ऋण लिएको कर्जा चुक्ता नगर्ने ऋणीको धितो लिलाम गर्ने भएको छ । बैंकको शाखा कार्यालय भैंसेपाटीबाट हेमराज भारतीले लिएको कर्जा चुक्ता नगरेकाले धितो लिलामा राखेको हो । सिटिजन्स फाष्ट ट्र्याक आवधिक कर्जा शिर्षक अन्तर्गत लिएको ऋणकर्जा तोकिएको समयमा सावाँ ब्याज समेत चुक्ता नगरेको हुँदा सुरक्षण बापत बैंकको नाममा धितोबन्धक लेखिदिएको चल र अचल सम्पत्ति लिलाम बिक्रीमा राखिएको हो । साथै उक्त सम्पत्ति खरिदका लागि १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरेको छ । सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा पनि बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंकिङ्ग कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६४, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ र सो को नियमावली २०५९ अनुसार ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरुको अन्य चलअचल सम्पत्तिबाट धितोले नखामेको बक्यौता कर्जा रकम असुल उपरका लागि ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरिने बैंकले जनाएको छ । साथै यस सूचना बमोजिम लिलाम बिक्री हुन नसकेको धितो सम्पत्तिहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम बैंकले आफै सकार गरी लिन सक्ने व्यहोरा समेत जानकारी गराइएको छ । यस्तै, बैंकबाट कैलालीका ऋणी किशोर बिक्रम शाही, डम्मरा शाही, नौले टमट्टा, कृष्ण टमट्टा, ढेङ राज डगौरा र अनिल चौधरीले लिएको ऋण पनि ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको छ । उनीहरुले ऋण चुक्ता नगरेमा कालोसूचीमा राख्ने र बैंकमा राखेको धितो लिलाम गरी आफ्नो रकम असुल गर्ने बैंकले जनाएको छ ।

बरुण हाइड्रोपावरको सेयर बाँडफाँट, कट अफ प्राइस १९१.३४ रुपैयाँ

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको अवितरित हकप्रद सेयर बाँडफाँट गरिएको छ । साथै कम्पनीले लगानीकर्ताको रकम पनि फिर्ता गरेको छ । कम्पनीले सर्वसाधारणतर्फको ३ लाख ५५ हजार ६० कित्ता अवितरित हकप्रद सेयरहरु कात्तिक १४ गतेदेखि कात्तिक २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आव्हान गरेको थियो । उक्त अवधिमा कम्पनीको सेयरमा परेको शिलबन्दी बोलपत्रहरु कात्तिक २८ गते खोली कात्तिक २९ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँट गरेको जनाएको छ । साथै, बाँडफाँटको अन्तिम मूल्य (कट अफ प्राइस) १९१.३४ रुपैयाँ रहेको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको छ । साथै, आवेदकहरुको बाँडफाँटमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी कात्तिक २ गते शुक्रबारदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक र वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिएको बकम्पनीले बताएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गरि रकम जम्मा नभएको खण्डमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा सम्पर्क राख्न हुन भनेको छ ।

सेयर कारोबार ४ दिन नहुने

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) दुई दिन बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले सार्वजनिक विदा दिएका कारण आइतबार र सोमबार नेप्से बन्द हुने भएको हो । निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन् भन् सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते मात्रै बन्द हुनेछन् । त्यसैले ४ गते आइतबार र ५ गते सोमबार नेप्सेमा सेयर कारोबार नहुने भएको हो । आज शुक्रबार र भोलि शनिबार भएकाले पनि सेयर कारोबार हुँदैन । त्यसैले आज शुक्रबारदेखि सोमबारसम्म ४ दिन सेयर कारोबार नहुने भएको हो ।