एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की
युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका छन्,’ उनले भने । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । जेलेन्स्कीले भने, ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं ।’ रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ, पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ । युक्रेनका विभिन्न शहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् । युक्रेनको विद्युत पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् । रासस
प्रधानमन्त्रीद्वारा एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गरेका छन् । एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै उनले एन्टिमाइक्रोबियल रेजिस्टेन्स न्यूनीकरणका लागि सबै वर्ग र समुदायमा सङ्क्रमण रोकथाम तथा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगको व्यापक चेतना वृद्धि गर्न अपरिहार्य रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले कुनै एक क्षेत्रको पहलबाट मात्रै यस बहुआयामिक समस्याको समाधान हुन नसक्ने हुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य, वातावरणलगायत ‘एक स्वास्थ्य’ अवधारणाका सम्पूर्ण सरोकारवाला निकायमा यसलाई महत्वपूर्ण मुद्दाका रुपमा प्राथमिकीकरण गरी ठोस कार्ययोजना निर्माण गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन र हालै यस त्रिपक्षीय सहमतिमा संलग्न भएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम समेतको एकीकृत आह्वानमा विश्वभरि नै हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाउँदै आएको छ । यस वर्ष पनि नेपालमा पनि विभिन्न सचेतनामूलक र प्रवार्द्दनात्मक कार्यक्रमको आयोजना गरी यो सप्ताह मनाईंदैछ । कोभिड –१९ जस्तै एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पनि हालका दिनमा विस्तारै महामारीको रूप लिँदै गएको र यसले आधुनिक चिकित्साशास्त्रका हालसम्मका उपलब्धिमा ठुलो चुनौती सिर्जना हुने जोखिम रहेको उहाँले बताउनुभएको छ । सङ्क्रमणको रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको अनुचित प्रयोगका साथै व्यवसायिक कृषिमा गरिने एन्टिमाइक्रोबियलको प्रयोग र त्यसबाट वातावरणमा निस्किने अवशेषले धेरै रोगका सुक्ष्म जीवाणुमा प्रतिरोध रेजिस्टेन्स क्षमता विकास भइरहेको छ । यसका कारण अधिकांश एन्टिमाइक्रोबियल औषधिको प्रभाव कम हुँदै गएकाले मानिसमा हुने सामान्यदेखि गम्भीर प्रकृतिका सङ्क्रमणको उपचारमा व्यवधान सिर्जना भएको उनले उल्लेख गरेका छन् । मानिस, पशुपक्षी र वातावरणबीच हुने अन्तरसम्बन्ध प्रणालीमा जीवाणुको आदान प्रदानद्वारा सिर्जित एन्टिमाइक्रोबियल रेजिस्टेन्स मानव जातिका साथै समग्र विश्वका लागि चुनौतीका रुपमा देखापरेको छ । सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्र महासभाको सन् २०१६ को विशेष राजनीतिक घोषणामा आफ्नो प्रतिबद्धता जाहेर गर्दै ‘एक स्वास्थ्य’ अवधारणाअनुरुप सबै क्षेत्रबाट एन्टिमाइक्रोबियल सचेतनाका लागि आवश्यक पैरवी गर्दै आएको छ । प्रधानमन्त्री देउवाले एन्टिमाइक्रोबियल रेजिस्टेन्स विरुद्धको यो सचेतनामूलक अभियानमा सम्पूर्ण नेपालीका साथै सरोकारवाला निकायलाई एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दै विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
स्वाप रेसियो १००:९६ आएपनि कुमारी र एनसीसी समान हैसियतमा मर्ज हुने, अध्यक्ष भन्छन् : धेरै पीडा भोगियो
काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो १००:९६.५९ को अनुपातमा आएको छ । दुवै बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००:९६.५९ को स्वाप रेसियो आएको हो । बैंकको डीडीए रिपोर्ट पास पनि भइसकेको एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । बैंकको शुक्रबार भएको २५औं वार्षिक साधारणसभामा सेयरधनीका गुनासोलाई सम्बोधन गर्दै उनले डीडीए रिपोर्टमा जति नै स्वाप रेसियो आएपनि दुवै बैंक समान हैसियतमा मर्ज हुने धारणा राखे । ‘आज बिहान मात्रै डीडीए रिपोर्ट पास भइसकेको छ, डीडीए रिपोर्टमा १००:९६.५९ को स्वाप रेसियो आएको थियो तर हामी समान हैसियतमा मर्ज हुन्छौं,’ उनले कार्यक्रममा भने । यस्तै, उनले दुवै बैंकको पुस १७ गतेभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य रहेको बताए । ‘मर्जरमा शाखा कार्यालय सवै ब्यबस्थापन गरेर मात्रै अघि बढ्ने हो, मर्जरमा जाँदाको पीडा छ, मर्जरमा जाँदा केही विषय छोड्नु पर्यो, नाम पनि छोड्नु पर्यो’ उनले भने । यस्तै, उनले कुमारी र एनसीसी बैंक मर्जर पश्चात पुँजीको हिसाबले टप ५ मा आउने र लाभांश पनि अहिलेको भन्दा बढी नै वितरण गर्ने धारणा राखे । गत आर्थिक वर्षमा स्प्रेड दर कम भएको बताउँदै यस वर्ष राष्ट्र बैंकको नीति अनुसारको सीमामा ल्याइने उनको भनाइ छ । यस्तै, कार्यक्रममा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश अर्यालले बाध्यताको कारण मर्जरमा सामेल हुनु परेको बताए । ‘सबै बैंकहरु आफैमा सक्षम छन्, हाम्रो लागि मर्जर बाध्यता हो,’ उनले भने । कार्यक्रममा उनले सेयरधनीको लगानी सुरक्षित गर्न र प्रतिफल दिनको लागि पनि मर्ज भएको बताए । मर्ज गरेपछि बैंकलाई आगामी दिनमा थप उच्च प्रतिफल दिने उनको भनाइ छ । बैंकले आज भएको साधारणसभाबाट लाभांश पनि पारित गरेको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नाममा सेयरधनीको गुनासो वार्षिक साधारण सभामा एनसीसी बैंकका अधिकांश सेयरधनीले बैंकको नामको विषयमा प्रश्न गरेका छन् । मर्जरपश्चात् बैंकको नाम कुमारी हुने भएपछि एनसीसी बैंकका सेयरधनीले त्यसमा टीप्पणी गरेका छन् । बैंकका सेयरधनी शिव प्रसाद पौडेलले कुमारी र एनसीसी बैंक मर्जर पश्चात् पनि एनसीसी बैंकको नाम हुनु पर्ने धारणा राखे । ‘एनसीसी बैंकसँग हरिसिद्दीको जग्गा, केन्द्रिय कार्यालय रहेको बागबजार र बिरगञ्ज लगायतका ठाउँमा सम्पत्ति छ, बैंकको सम्पत्ति धेरै हुँदा पनि तल परेर मर्जर गर्नुहुन्न, एनसीसी बैंकको नाम मेटिए मर्जर भाडिन सक्छ,’ उनले भने । २५ वर्ष लामो इतिहास बोकेको एनसीसी बैंकको नाम नै नरहने भएपछि आफ्नो पहिचान नै गुमाएको महसुस भएको उनको गुनासो छ । उनले मर्जरपश्चात् कुमारी एनसीसी बैंक नाम राख्न सुझाव दिए । सेयरधनी इन्द्र कृष्ण श्रेष्ठले बाहिर हेर्दा राम्रो बैंक भनिएपनि भित्र भित्रै खोक्रो धारणा राखे । लाभांश वितरण गर्दा नगद र बोनस सेयर बराबर गरेको भए राम्रो हुने उनको भनाइ छ ।0 सेयरधनी दिपक रत्न शाक्यले नेप्सेमा सूचीकृत गरेर नम्बर वान बैंक बन्न सुझाव दिए । यसअघि भएका मर्जरमा प्रिय र अप्रिय अनुभव हासिल गरेको बताउँदै उनले विगतका ४ वटा बैंक मर्जबाट खासै उपलब्धि नभएको अनुभव सुनाए । सेयरधनी गुणराज भट्टले रास्ट्र बैंकले जथाभावी लाइसेन्स बाँडेर संख्या बढाएको र अहिले मर्जरमा दबाब दिएको बताए । उनले बैंकलाई बाध्यता भएमात्रै मर्ज गर्न आग्रह गरे । बैंकले कर्जा दिएर उठाउन नसकेको उनले बताए । ‘गत वर्षभन्दा निष्क्रीय कर्जा बढेको छ, बैंकले कर्जा दिएर उठाउन सकेन, यदि कर्जा दिएर नउठाउने हो भने म पनि कर्जा लिन आउछु,’ उनले भने । मर्जरपश्चात् कस्तो बन्ला बैंक ? अध्यक्ष न्यौपानेले मर्जरपश्चात् बैंकलाई ‘टप फाइभ’ बैंकको रुपमा चिनाउने दावी गरेका छन् । दुई बैंक मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ र कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यस्तै, एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ र कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
नवलपरासीमा विकासका लागि एक करोड १९ लाख छुट्याइयो
नवलपरासी । नेपालकै मध्यभागमा पर्ने नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा कैयन पर्यटकीय गन्तव्य छन् । जिल्लामा प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्र प्रशस्त छन् तर कतिपय पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास नहुँदा ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गर्न गण्डकी प्रदेश सरकारले जिल्लामा यस वर्ष एक करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । हालै मात्र पर्यटन सम्बन्धका कामसमेत गर्ने गरी यसअघिको घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा दिएको छ । तत्पश्चात् कार्यालयको नामसमेत पर्यटन तथा उद्योग कार्यालय राखिएको छ । यसै पर्यटन तथा उद्योग कार्यालय नवलपुरमार्फत् नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्ने गरी एक करोड १९ लाख रुपैयाँ बराबरका योजना छनोट गरिएको छ । नवलपुरमा रहेका रहेका १७ वटा स्थानमा पर्यटकीय पूर्वाधार विकासमा काम गरिने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताए । चालु आर्थिक वर्षमा जिल्लाका १७ वटा पर्यटकीय गन्तव्यका लागि बजेट छुट्याइएको उनले बताए । “यसअघि हामीले पर्यटनको क्षेत्रमा काम हामीले गर्न सकेनौँ तर यस वर्ष कार्यालयको जिम्मेवारी थप गरी सोहीअनुसार बजेटसमेत आएको छ”, कार्यालय प्रमुख खनालले भने, “यस वर्ष १७ वटा योजना छनोट भएका छन्, ती योजनामा पूर्वाधार विकासको काम गर्नेछौँ ।” पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजित बजेटका कार्यक्रममा धेरैजसो पदमार्ग निर्माणका योजना छन् । पर्यटकीयस्थलमा सहज आवतजावतका लागि पदमार्ग निर्माणलाई प्राथमिकता दिइएको कार्यालय प्रमुख खनालको भनाइ छ । यसबाहेक विभिन्न पार्कलाई आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका योजना छन् । प्रत्येक योजनालाई न्यूनतम पाँच लाखदेखि १० लाख रुपैयाँसम्म विनियोजन गरिएका छन् । विनियोजन भएको बजेटअनुसारको काम अगाडि बढाउने तयारी गरिएको कार्यालय प्रमुख खनालले बताए । जिल्लामा रहेका धेरैजसो पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार नहँदा ती क्षेत्रमा पर्यटकको चहलपहल कम हुने गरेको छ । पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार विकास गरी ती क्षेत्रको प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने कावासोतीका पर्यटन व्यवसायी जितनारायण थनेतले बताए । रासस
मीरगञ्ज पुल सञ्चालन नहुँदा दैनिक एक करोड रुपैयाँ खर्च
विराटनगर । विराटनगर एकीकृत भन्सार जाँच चौकी आइसिपी जोड्ने भारतको बथनाहा जोगबनी सडकखण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी व्यवसायीलाई सास्ती भइरहेको छ । नाकामा पर्ने मीरगञ्ज पुल समयमै निर्माण हुन नसक्दा उद्योगी व्यवसायीहरुले विगत ११ महिनादेखि सामान ओसारपसार गर्नकालागि सुनसरीको भन्टबारी नाका प्रयोग गर्नुपरेको छ । जोगबनी नाकाबाट आउने सामान सुनसरीको भन्टाबारी नाका प्रयोग गर्दा दैनिक अतिरिक्त एक करोड रुपैयाँ खर्च भएको उद्योगी एवं व्यापारीहरुको भनाइ छ । भारतीय जोगबनी बजारका व्यापारीसँग प्रतिस्पर्धा गरिरहेका नेपाली व्यापारीलाई मीरगञ्ज पुल निर्माण नहुँदा थप समस्या भएको छ । जसको मार उपभोक्तामा परेको छ । पुलको काम लगभग ९० प्रतिशत पूरा भएको र निकट भविष्यमा सञ्चालनमा आउने नेपाल भारतको सीमा सुरक्षा बैठकमा अररिया जिल्लाका डिएम इनायक खानले जानकारी दिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । बैठकमा नेपाली पक्षले नाका र पुलको विषय छलफलमा ल्याउँदा डिएम खानले सो जानकारी दिएको प्रजिअ दाहालले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले यो पुल र नाका सञ्चालनमा ल्याउने बारम्बार आग्रह गर्दा पनि सञ्चालनमा आउन नसकेको बताए । उनले पुल र नाका सञ्चालनमा नआउँदा समय र लागत बढ्न गई उद्योगी, व्यापारी मात्र नभएर उपभोक्तालाई पनि समस्या परेको बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले यस क्षेत्रका उद्योगी र व्यापारीले समूह बनाएर भारत सरकारका महत्वपूर्ण अङ्गलाई जानकारी गराउँदा पनि सुनुवाई नभएको भन्दै यसका लागि नेपाल सरकारले कूटनीतिक ढङ्गले विषय उठान गर्नुपर्ने उनको भनाइ छ । रासस
साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति
काठमाडौं । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै थियो । गत १८ र ३० कात्तिकबाट क्रमश : चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ । खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमश : घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उद्योगहरुले अहिले स्वीकृति लोड अनुसार विद्युत नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युतको माग बढ्न सकिरहेको छैन,अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको छ । थप २३.५ मेगावाट निर्यात अनुमति नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ । प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको हो ।
इबोला नियन्त्रणका लागि ८ करोड ८० लाख अमेरिकी डलरको आवश्यक
युगाण्डा । युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डाको इबोलाको नियन्त्रण गर्नुपर्ने र यो महामारी युगाण्डाका छिमेकी देशमा फैलिन नदिन पहिले नै सतर्कता अपनाउनुपर्ने अवस्था रहेकाले सो प्रयोजनका लागि तत्कालै युगाण्डाका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाएको हो । विश्व स्वास्थ्य सङ्गठनको अफ्रिका क्षेत्रीय निर्देशक मातेसिदो मोइतोले युगाण्डा र अन्य देशहरुमा इबोला महामारीका विरुद्धमा अपनाउनुपर्ने सतर्कता एवं औषधि उपचारका लागि विश्व स्वस्थ्य सङ्गठनले ८ करोड ८० लाख अमेरिकी डलर बराबरको रकम आवश्यक रहेको भनी अपिल गरेको र अहिलेसम्ममा त्यसको २० प्रतिशत मात्र जम्मा भएको जानकारी दिएका हुन् । यसअघि पनि गत महिना नै विश्व स्वास्थ्य सङ्गठनले युगाण्डालगायत अफ्रिकाका देशहरुमा इबोलाको प्रकोप बढ्दो देखिएकाले यसको नियन्त्रणका लागि भन्दै रकम सहयोग गर्न अपिल गरेको थियो । तर अपेक्षा गरिएअनुसारको रकम उपलब्ध हुन नसकेको निर्देशका मोइतोले जानकारी दिएका हुन् । युगाण्डाले गत सेप्टेम्बर २० मा इबोलाको महामारी घोषणा गरेको थियो । त्यसपछि यहाँ सो महामारीको नियन्त्रणका लागि भन्दै विश्व स्वास्थ्य सङ्गठनले रकम आवश्यक रहेको घोषणा गरेको थियो ।
दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा, मंगलबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । मर्जर प्रकृयामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । मंसिर १ गतेको निर्णय अनुसार नेपाल स्टक एक्स्चेञ्जले यी दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर फुकुवा गरेको जानकारी गराएको छ । यससँगै अब बजार खुलेसँगै यी दुई बैंकको सेयर किनबेच गर्न पाइने छ । दोश्रो बजार अब निर्वाचन पछि अर्थात मंसिर ६ गते मंगलबार मात्रै खुल्ने छ । यी दुई बैंकले एक आपसमा मर्जमा जानको लागि २०७९ जेठ २७ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो प्रयोजनको लागि नेप्सेले जेठ २८ गतेदेखि यी दुई बैंकको सेयर कारोबार रोक्का गरिदिएको थियो ।