विकासन्युज

नाइजेरियाली सुरक्षा कारबाहीमा पचास हतियारधारी मारिए

नाइजेरिया । नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ ।अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ । गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ । यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स आइएसडब्ल्युएआर र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ । यहाँको बोर्नो राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाई कारबाहीका क्रममा परेर बोको हरामका दुई जना कमाण्डर मारिएका छन् । उनीहरुका नेतृत्वमा सो राज्यका विभिन्न क्षेत्रमा सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको हत्या गर्ने तथा अन्य हिंसात्मक कार्यहरु गर्ने गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती लडाकू कमाण्डर मारिएका बताइएको छ । यस कारबाहीका क्रममा अपहरणमा परेका सर्वसाधारणहरुलाई पनि अपहरणमुक्त गरिएको जनाइएको छ । साथै बोको हराम र अरु स्थानीय आतंककारी समूहका कैयौँ सदस्यले आत्मसमर्पण पनि गरेका थिए । रासस

लाभांश पारित गर्ने तेस्रो बैंक बन्यो एनसीसी

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को लाभांश पारित भएको छ । शुक्रबार बसेको बैंकको २५ औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई दिने भनिएको प्रस्तावित लाभांश पारित भएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे । योसँगै एनसीसी लाभांश पारित गर्ने तेस्रो बैंक बनेको छ । यसअघि सिटिजन्स र कुमारी बैंकले लाभांश पारित गरिसकेको छ ।

कैलालीमा अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म, ९५ लाखको क्षति

कैलाली । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उहाँले ठूलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा ९५ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको विवरण उल्लेख छ । बडिमालिका कृषि प्रवद्र्धन केन्द्रको नामबाट व्यावसायिक बङ्गुरपालन गर्दै आएका बुढालाई यो समस्याले निकै चिन्तित बनाएको बताउँछन् । ‘बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरिएको थियो । अहिले फार्म रित्तो भएको छ । आम्दानीको माध्यम समाप्त हुँदा बैंकको ब्याज र किस्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ’, बुढाले भने, ‘कतैबाट राहत पाइन्छ कि भनेर आश गरेर बस्नुको विकल्प मेरा लागि अरु केही रहेन । अब व्यवसायमा फर्किने आधार पनि समाप्त भएका छन् ।’ फार्ममा बचेका बङ्गुर पनि नष्ट गर्नुपर्ने पशु सेवा विभाग काठमाडौंका डा मुकुल उपाध्यायले बताए । ‘जतिसक्दो छोटो फार्म खाली गराउनुपर्छ । त्यसको सङ्क्रमण अन्यत्र नसर्न दिन बचेका बङ्गुर पनि नष्ट गर्नुपर्छ’, उपाध्यायले भने, ‘यो सङ्क्रमण अन्त फैलियो भने त्यसले महामारीको रूप लिन सक्छ र जोखिम बढ्न सक्छ ।’ असोज पहिलो साताबाट फार्ममा बङ्गुर मर्न थालेपछि पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौंमा प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको हो । बङ्गुरमा महामरी रोग फैलिन नदिन उक्त क्षेत्र सिल गरिएको छ । भजनी नगरकार्यपालिकाले प्रदेश तथा सङ्घीय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निर्णय गरेको छ । कात्तिक १५ गते पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा यो रोग देखिएको हो । बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो । यसका कारण बङ्गुर मर्न थालेपछि गृहसचिव विनोदप्रकाश सिंह, पशु सेवा विभाग काठमाडौं डा मुकुल उपाध्याय, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका डा नरेशप्रसाद जोशी, भेटेरेनरी अस्पताल कैलालीका डा हेमराज अवस्थीसमेतले स्थलगत अनुगमन गरेका थिए । फार्ममा अझै पनि केही बङ्गुर जीवित छन् । फार्मका सञ्चालक बुढाले राहतको पर्खाइमा बचेका बङ्गुर नष्ट गर्न सकेका छैनन् । उता नगरपालिकाका नगरप्रमुख केवल चौधरीले सङ्क्रमण अन्यत्र फैलिन नदिनका लागि सावधानी अपनाएको बताउँदै फार्ममा भएको क्षतिको विवरण नगरपालिकाले सङ्कलन गरेर प्रदेश र सङ्घीय सरकारलाई राहतको व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय कार्यपालिकाबाट पास गरेको बताए । रासस

नेपाल लाइफको भुक्तानी अब एनपीएस मार्फत गर्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी अब एनिपएस मार्फत गर्न सकिने भएको छ । बैंक र नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) बीच भएको सम्झौता अनुसार अब नेपाल लाइफको सम्पुर्ण भुक्तानी एनिपएसमार्फत हुने भएको हो । सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसिएचएल तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनिपएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ । जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने कम्पनीले जानकारी दिएको छ । नेपाल लाइफ इन्स्योरेन्सले १५ लाखभन्दा बढी बीमितहरुलाई कम्पनीका १९७ शाखा सञ्जालहरु र २१२,३६२ अभिकर्ताहरु मार्फत सेवा दिइरहेको छ ।

प्रभु बैंकको लाभांश घोषणा, यस्तो छ पाँच वर्षको इतिहास

काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । बैंकले ६. ५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । हालसम्म ५ आर्थिक वर्षमा मात्रै सेयरधनीलाई लाभांश घोषणा गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा ०.४२ नगद र ८ प्रतिशत बोनस गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ०.८४ प्रतिशत नगद र १६ प्रतिशत बोनस गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो जुन बैंकको इतिहासमा हालसम्मकै उच्च लाभांश हो । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा ०.५२६३ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी कुल १०.५२ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ का लागि १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बजारमा अझै चलिरहेका छन् अवैध फोन, कार्यान्वयन हुन सकेन एमडीएमएस प्रणाली

काठमाडौं । सरकारले अवैध फोन नियन्त्रण गर्न लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अझै पूर्ण रुपमा कार्यान्वयन गर्न सकेको छैन । गत असोज १ गतेदेखि उक्त सिस्टम लागू गरिएतापनि अझै पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले असोज १ गतेदेखि उक्त सिस्टम लागू गरेतापनि पूर्ण रुपमा सञ्चालनमा नआएको जनाएको छ । ‘असोज १ गतेदेखि हामीले अवैध मोबाइल फोन नियन्त्रण गर्ने सिस्टम लागू गरेका हौँ, असोज १ गतेदेखि नेपालमा ल्याइएका अवैध फोन नियन्त्रणमा आएको छ, सिस्टम पूर्ण रुपमा लागू नहुँदा पूराना फोन नियन्त्रणमा ल्याउन सकिएको छैन’, प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने । उनका अनुसार असोज १ गतेदेखि विदेशबाट ल्याइएका ९ हजार बढी मोबाइल फोन दर्ताका लागि प्राधिकरणमा आवेदन परेको छ । अनलाइन तथा व्यक्ति स्वयंम प्राधिकरणमा उपस्थित भएर विदेश तथा भारतीय नाकाबाट ल्याइएका ९ हजार ३४२ वटा मोबाइल फोन दर्ताका लागि आवेदन परेको छ । उक्त आवेदनमध्ये ४ हजार २७९ मोबाइल फोनको दर्ता रद्द गरिएको छ । ‘हामीकहाँ आवेदन आएकामध्ये उक्त संख्याका फोन दर्ताका लागि हामीले माग गरेका कागजपत्र सम्बन्धित व्यक्तिले बुझाउन सक्नु भएन, आवश्यक प्रक्रिया पूरा नभएपछि दर्ता रद्द भयो’, उनले भने, विदेशबाट खरिद गरेको ल्याइएको बिल, पासपोर्ट लगायतका कागजपत्र बुझाउन नसक्दा दर्ता रद्द भयो ।’ प्राधिकरणको तथ्यांक अनुसार असोज १ गतेदेखि कात्तिक हालसम्म साढे ३ हजार बढी मोवाइल फोन उक्त सिस्टममा दर्ता भएका छन्् । २०७३ साल बैशाखबाट प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न सुरु गरेको थियो । प्राधिकरणले पहिलो चरणमा आईएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान सुरु गरेको हो । प्राधिकरणले अवैध मोबाइल फोन नियन्त्रण गर्ने प्रणाली जडान गर्न २०७४ साल वैशाख २८ गते परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा १३ वटा कम्पनीको आबेदन परेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आबेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा मात्रै ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर छनोट गरी ६ महिनाभित्र उक्त सिस्टम लागू गर्न अनुमति दिएको थियो । ६ महिनाका लागि समय तोकिएर एमडीएमएस सिस्टम जडानका लागि छनोट गरिएको कम्पनीले समयमा नै काम नसक्दा नेपालमा अवैध मोबाइल फोनको व्यापार मौलाएको व्यवसायीले बताउदै आएका छन् ।

पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई आयोगले सोध्यो स्पष्टीकारण

मकवानपुर । निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका, वडा नं. ४, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ ।  निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको हुँदा स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९  को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने’ व्यवस्था छ । उल्लेखित सन्दर्भमा तपाईंले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार गरेकाे होइन भन्ने आधार प्रमाण के छ? यदि दलको प्रचारप्रसार गर्ने कार्य गरेकाे हो भने निर्वाचन आयोग ऐन, २०७३  को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही गर्नु नपर्ने कारण के छ? यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

यूएईविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्दै

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो ।