यस्तो छ प्रभु बैंकका सेयरधनीले पाएको लाभांशको इतिहास

<p>काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । बैंकले ६. ५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । प्रभु बैंकले हालसम्म ५ आर्थिक वर्षमा [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो ।

बैंकले ६. ५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

प्रभु बैंकले हालसम्म ५ आर्थिक वर्षमा मात्रै सेयरधनीलाई लाभांश घोषणा गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा ०.४२ नगद र ८ प्रतिशत बोनस गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ०.८४ प्रतिशत नगद र १६ प्रतिशत बोनस गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो जुन बैंकको इतिहासमा हालसम्मकै उच्च लाभांश हो । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा ०.५२६३ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी कुल १०.५२ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ का लागि १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर ठूलो बैंक बन्ने रणनीतिका साथ अगाडि बढिरहेको छ । स्थापना भएको छोटो अवधिमा यस बैंकमा ग्राण्ड बैंक, किस्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिसकेका छन् । हालै मात्र बैंकले सेञ्चुरी बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ ।

यस बैंकले सेञ्चुरीसँग १ः१ अनुपातको स्वाप रेसियोमा मर्ज गर्ने सम्झौता गरेको छ । मर्जर पश्चात बन्ने बैंकको नाम प्रभु बैंक नै रहनेछ । सहमति अनुसार प्रभु बैंकले सीईओ र अध्यक्ष दुबै पाउने छ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन नियुक्त हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुनेछन् ।

हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ । सेञ्चुरीसँग एकीकृत कारोबार भएपछि बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्ने बताइएको छ । मर्जर पश्चात् बैंकले आक्रामक ढंगले बिजनेस विस्तार गर्ने रणनीति बनाएको छ ।

बैंकले सेयरधनीहरुलाई पनि प्रतिफल बनाउँदै जाने योजना पनि बनाएको छ । गत आर्थिक वर्षको नाफाबाट प्रोभिजन गर्नु परेको र ऋणीहरुबाट असुलेको अतिरिक्त प्रिमियम फिर्ता गर्नु परेको कारण पनि यस वर्ष बैंकले विगतको तुलनामा कम लाभांश वितरण गर्ने भएको हो ।

Share News