विकासन्युज

मर्जर हाम्रो लागि बाध्यता हो : सीइओ अर्याल

काठमाडौं । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) रमेश अर्यालले मर्जर आफुहरुको लागि बाध्यता भएका बताएका छन् । शुक्रबार भएको बैंकको वार्षिक साधारणसभामा उनले सबै बैंक आफैमा सक्षम भएको र मर्जर बाध्यता मात्र भएको बताएका हुन् । ‘सबै बैंकहरु आफैमा सक्षम छन्, हाम्रो लागि मर्जर बाध्यता  हो,’ उनले भने । उनले सेयरधनीको लगानी सुरक्षित गर्न र प्रतिफल दिनेकाे लागि पनि मर्ज भएको बताए । मर्ज गरेपछि बैंकलाई आगामी दिनमा थप उच्च प्रतिफल दिने बनाउने उनले बताएका छन् ।  

तेह्रथुमको तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ, दैनिक तीन हजारभन्दा बढी पर्यटक

तेह्रथुम । तेह्रथुमको तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका होटल भरिभराउ आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारलेसमेत टिएमजे क्षेत्रको विकासको एजेन्डा समेत बनाएका छन् चाडपर्व सकिएसँगैै यस क्षेत्रमा पर्यटक बढ्न थालेका हुन् । वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यो बेला घुइँचो नै लाग्ने गरेको छ । उक्त क्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ परेका बेला मात्र आउने पर्यटनक यतिबेला कात्तिकको सातादेखि नै दैनिक तीन हजारभन्दा बढी पर्यटक आइरहेको स्थानीय योगेन्द्रबहादुर सुवेदीले बताए । पाथीभरा मन्दिरको दर्शन गर्ने र वनभोजमा बढी आउने गरेको उनको भनाइ छ । पर्यटकको बाक्लो आगमनले होटल व्यवसायी उत्साहित बनेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकीय पूर्वाधार निर्माण तीव्रता दिएसँगै आगन्तुक बढिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए । उनी भन्छन्, ‘सन्तपुरदेखि गुफासम्मका होटेल खाली छैनन् । पर्यटनको भविष्य देखेर वसन्तपुरदेखि गुफासम्मको आसपासका क्षेत्रमा जिल्ला बाहिरका नागरिकलेसमेत होटल, लज तथा रिसोर्ट सञ्चालनका लागि महँगो मूल्यमा जग्गा किनिरहेका छन् ।’ पदयात्राको आनन्द र हिमशृङ्खलाको दृश्यावलोकन गर्न यस क्षेत्रमा पर्यटक आउने ग्याल्जे शेर्पाले बताए । रासस

म्याग्दीको रुप्से झरनामा आन्तरिक पर्यटकको भीड

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड कालीगण्डकी करिडोर अन्तर्गत पर्ने यस झरनामा रमाउन विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढ्न थालेको छ । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा केही समय बिताउने गरेका छन् । मोटरसाइकल र निजी तथा भाडाका सवारी साधनबाट मुस्ताङ आउने–जाने पर्यटकको रोजाइमा रुप्से झरना पनि पर्ने गरेको छ । दुई वर्षअघि आएको भीषण बाढी र गत वर्षको पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । अग्लो पहाडबाट खस्ने यस झरनामा नजिकका ढुङ्गा र झरनाको पानीमा पर्यटकले तस्बिर खिचाउने र टिकटक बनाउने गरेका छन् । पूर्वाधार निर्माणसँगै चिटिक्क परेको रुप्से झरनालाई गत वर्ष बाढीले क्षति पुर्याए पनि कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि रुप्सेमा रमाउन आएका पर्यटकका कारण यो झरना पुनः पुरानै लयमा फर्किएको हो । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । उक्त झरना र अन्धगल्छीमा पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन् । पर्यटकलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन् । झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ । झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था हुनुपर्ने पर्यटकको माग छ । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । साविकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यू टावर निर्माण गरेको छ । अन्नपूर्ण गाउँपालिका पूर्वप्रमुख क्या डमबहादुर पुनले आधारभूत आवश्यकताका पूर्वाधार विकासमा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर रुप्सेको सौन्दर्यलाई जीवन्त राख्ने योजना ल्याउनुपर्ने बताए । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ ।

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनको पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । बैंकले कात्तिक २७ गतेदेखि बैंकको पदमपुर शाखा नयाँ स्थानामा संचालनमा ल्याएको हो । बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त नयाँ स्थानमा सारिएको शाखाको समुद्घाटन गरेका थिए । बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

एक किलो बन्दाको १५० रूपैयाँ

कोहलपुर । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो । सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए । व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । ‘हामीले पनि किनेरै बेच्ने हो । १० रुपैयाँ नाफा नखाएर कसरी व्यापार गर्नु’, व्यापारी विनिता गिरीले भने, ‘हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ । हामीले उत्पादन गरेका होइनौँ । किनेको मूल्यमा पाँच/दश रुपैयाँ नाफा त खानै प¥यो नि ‘ उनका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन् । त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उनले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुगेका थिए । उनी अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित परे । ‘सिजनअनुसार सबै ठाउँमा १०/२० रुपैयाँ पर्ने बन्दाको कोहलपुरमा १५० रुपैयाँ भन्यो’, उनले भने, ‘कोहलपुर गएको मौकामा कृषि बजारस्थल पुगेँ, निकै अस्तव्यस्त देखियो । मूल्य सोधेँ, बन्दाको प्रतिकेजी १५० रुपैयाँ । गलत सुनेकी भनेर फेरि सोधेँ, १५० रुपैयाँ । अर्को स्टलमा सोधेँ, १५० रुपैयाँ नै । म त ट्वाँ परेँ ।’ प्रमुख विष्टले बन्दाको प्रतिकेजी १५० रुपैयाँ अहिलेसम्म नसुनेकै मूल्य भएको बताए । ‘अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ’’ उनले भने, ‘बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी १२ रुपैयाँ छ । बित्थडचिरको आनन्दपुरमा १५ रुपैयाँ, मुस्याखान बैतडीमा १० रुपैयाँ, खोड्पे बैतडीमा १४ रुपैयाँ, अनारखोली डडेल्धुरामा १५ रुपैयाँ, धनगढीको दुवै हाटबजारमा ७० रुपैयाँ, सुर्खेतको पहाडी गाउँ हर्रेमा ९० रूपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो ‘ कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टले बताए । ‘म त अचम्ममा परेँ’, उनले भने, ‘मलाई लाग्यो कि हरेक ठाउँमा उत्पादन भइरहेको तरकारीबाट कृषकले मूल्य कति पाउने रहेछन् उपभोक्ताले कति पाए र विचौलियाले कति खाने रहेछन् भन्ने लाग्यो ।’ यही विषयमा बुझ्न खोज्दा एक पटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको सङ्केत गर्दै प्रमुख विष्टले भने, ‘हुनत तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले कालीमाटी कृषि बजारमा यही प्रसङ्गमा बुझ्न खोज्दा झण्डै हातपात भएन । सुरक्षा व्यवस्था कडा भएकै कारण त्यसबखत घटना बाहिर आएन । त्यसैले मैले पनि व्यापारीसँग थप बुझ्न चाहिन।’ व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले १३० देखि १४० रुपैयाँमा खरिद गरेको बताए । सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उनको भनाइ थियो । ‘कोहलपुरमा बेसिजनमा त यो मूल्य ठीकै हो । यसपटक भने निकै बढेको छ । कृषकले नै बढी लिएकोर , ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन् । हामीले पनि १०/१२ रुपैयाँ त नाफा खानु प¥यो ।’ व्यापारी जिसीले भने । अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य सय रुपैयाँको आसपास छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन । ‘अहिले बन्दाको थोक मूल्यसमेत ८०/९० रुपैयाँ छ ।’ अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ ।

अब लगानीकर्ताले प्रतिफल पाउँछन्, ५० करोडको सेयर जारी हुन्छ : सुद्युम्न उपाध्याय

साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड । बीमा क्षेत्रमा दोश्रो मर्जरको रुपमा कम्पनीले तोकेको समयमै मर्जर प्रकृया सकेर कात्तिक ७ गतेदेखि एकीकृत कारोबार गरिसकेको छ । यो अवधिमा मर्जको भोगाई कस्तो रह्यो ? कम्पनीलाई अगाडि बढाउन भावी दिनका योजनाहरु कस्ता छन् ? भविष्यमा आइपर्ने चुनौतिलाई कसरी सामना गर्दै छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रित भएर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायसँग विकासन्युजका लागि मञ्जरी पौडेलले गरेको विकास वहस । मर्जरको अनुभव कस्तो रह्यो ? पहिलो अनुभव हो, राम्रै रह्यो । मर्जरको लागि दुई कम्पनीको प्रारम्भिक सम्झौतामा जुन डेडलाइनमा मर्ज भइसक्ने भनेका थियौं । त्यो मीट गर्न सफल भयौं । मर्जरलाई सफल बनाउन के-के विषयमा ध्यान दिनुपर्छ ? मर्जर सफल पार्न डेडलाइन मीट गर्नैपर्छ । यदि डेडलाइन मीट भएन भने विभिन्न समस्याहरु आउने गर्छन् । जसले गर्दा मर्जर समयमा हुन सक्दैन । हामीले मर्ज गर्नुभन्दा अगाडि नै प्लान बनाएका हुन्छौं । त्यो प्लानअनुसार डेडलाईन अर्थात टाइमलाईन राखेका हुन्छौं । र, उक्त टाइमलाइनलाई मीट गर्दै त्योअनुसारको काम गरियो भने धेरै सजिलो हुने रहेछ भन्ने मेरो व्यक्तिगत धारणा छ । पोष्ट मर्जरको काम कति बाँकी छन् ? पोष्ट मर्जरको काम खासै बाँकी छैनन् । नियमित कामबाहेक पोष्ट मर्जरमा गर्नुपर्ने अन्य काम छैनन् । हामीले गरेका प्रि प्लानअनुसार नै काम भइरहेको छ । मर्जरपछि कर्मचारी व्यवस्थापन कसरी गर्नुभएको छ ? कुनै कम्पनीमा धेरै ठूलो साइजको कर्मचारी छन् भने मात्र सो कम्पनीमा कर्मचारीको व्यवस्थापन गर्न समस्या देखिन्छन् । तर हामी दुवै सानो आकारको कम्पनी हौं । र, कर्मचारी संख्या पनि हाम्रो सानै छ । त्यसैले कर्मचारी व्यवस्थापनमा समस्या हुने देखिँदैन । जुन साइजमा अन्य कम्पनीहरुको कर्मचारी छन्, हाम्रो दुई कम्पनीको जोड्दा पनि त्यही साइजमा हुन्छौं । त्यसैले ओभरस्टाफिङ्गको समस्या भएन । जसले गर्दा कर्मचारी व्यवस्थापनमा त्यति गाह्रो हुँदैन । जस्तै, एउटा कम्पनीले १०० करोड । अर्को कम्पनीले १०० करोड गर्दा २०० करोड व्यापार गर्ने कम्पनी अरु कम्पनीको जति कर्मचारी संख्या हुन्छ । हाम्रो त्यति नै बराबरको कर्मचारी संख्या छ । त्यसमा समस्या हुने कुरै भएन । हाल कूल ३८५ जना जति कर्मचारी हुनुहुन्छ । थप आवश्यक भएकाले हामीले भ्याकेन्सी पनि खुला गरिरहेका छौं । मर्जपछिको सिनर्जी कस्तो अपेक्षा गरिएको छ ? अहिले नै त्यस्तो कुनै अनुभूति भएको छ ? हामी त सकारात्मक मात्रै होइन, एकदमै उत्साहित समेत छौं । हामी मर्ज भएको धेरै दिन नै भएको छैन । कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको १४ गतेसम्म त बिदा नै थियो । त्यसपछि कारोबार शुरु गरेको १५ दिन भयो । त्यसैले यो १५ दिनको कारोबारले त भविष्य कस्तो ? आँकलन गर्न सकिँदैन । तर व्यवस्थापन टीमका सबै सदस्यहरु एकदमै उत्साहित हुनुहुन्छ । कर्मचारी साथीहरु पनि त्यस्तै । अब कम्पनीलाई हामीले सफल बनाएर लैजानुपर्छ, उदाहरणीय बन्नुपर्छ भन्ने विषयमा उहाँहरु उत्साहित हुनु भएकोले म एकदमै पोजेटिभ देख्छु । मर्जमा जाँदैमा १ करोडको बिजनेस गरिरहेकोले ११ करोडको बिजनेस गर्छ, १० करोडको नाफा गरेको कम्पनीले अब ५० करोडको नाफा गर्छ भन्ने पनि होइन । मर्जपछि कम्पनीले बजारमा राम्रो उपस्थिति देखाउन सक्नु सबैभन्दा ठूलो हो । र, सबै स्टकेहोल्डरहरुलाई ‘इक्विटेबल एक्स्पेक्टेड रिटर्न’ दिन सक्नु पर्यो । जस्तो सेयरधनीलाई उचित प्रतिफल, कर्मचारीलाई उचित सेवा सुविधा, विभिन्न निकायहरुको कम्प्लायन्सको अपेक्षा छ, त्यो पूरा गर्नुपर्यो । पुनर्बीमकको अपेक्षा हुनसक्छ, त्यो पनि पूरा गर्नुपर्यो । त्यसैले सबैलाई जस्टिफाई रिटर्न दिन सक्नुपर्छ, त्यो क्वान्टेटिभ (मात्रात्मक) मात्र नभई क्वालिटेटिभ (गुणात्मक) पनि हुन सक्छ । ह्वाट वी प्रमिस, वी ह्याभ टु डेलिभर । सानिमा जीआईसीका लगानीकर्ताले कहिलेदेखि प्रतिफल पाउँलान् ? साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्सले सेयरधनीलाई हालसम्म लाभांश वितरण गर्न पाएको थिएन । किनभने ४/५ वर्षसम्म एनएफआरएस र एनएएसको ब्यालेन्ससीट मिसम्याच हुने भएकोले र बिजनेसले एउटा आकार नलिएसम्म रिजर्भमा धेरै पैसा ट्रान्सफर गर्नुपर्ने हुन्छ । जसले गर्दा वितरणयोग्य नाफा हुँदैन । अब भने वितरणयोग्य नाफा आउँछ । फलस्वरुपः लगानीकर्ताले आगामी वर्षदेखि निश्चित प्रतिफल पाउने छन् । थप ५० करोड चुक्ता पुँजी कसरी पुर्याउने योजना छ ? हाल हाम्रो पुँजी २ अर्ब रुपैयाँ छ । नियामक निकायको निर्देशन अनुसारको न्यूनतम पुँजी पुर्याउन थप ५० करोड आवश्यक पर्छ । त्यसको लागि अहिलेको हाम्रो रिजर्भबाट पनि केही पैसा ट्रान्सफर गर्न सक्ने अवस्था पनि हुन सक्छ । त्योभन्दा बाहेक हकप्रद सेयर जारी नगर्नुको विकल्प नै छैन । प्राधिकरणको निर्देशन अनुसार कोभिड बीमाको २५ प्रतिशत रकम भुक्तानी गर्न सानिमा जीआईसी तयार हो ? यो विषयमा हामीले नेपाल बीमक संघसँग छलफल गरिरहेका छौं । नेपाल बीमा प्राधिकरणसँग पनि निरन्तर छलफल भइरहेको छ । छलफलको निचोड जे आउँछ, त्यो त कम्पनीले व्यहोर्नै पर्छ नि । यो व्यहोर्दा कम्पनीको नाफा र सेयरधनीले पाउने प्रतिफलमा ठ्याक्कै कति असर पर्ला ? त्यो मैले अहिले नै भन्ने अवस्था रहेन । किनभने यसको निर्णय के हुन्छ, कसरी अगाडि बढ्छ भन्ने विषयमा फाइनल फ्रेमवर्क (अन्तिम रूप) नै आइसकेको छैन । आजको दिनमा हामीले एक/दुई अर्बको दायित्व होइन, करिब ११ अर्बको दायित्व व्यवस्थापन गर्नुपर्ने छ । त्यो सबै दायित्वको उचित व्यवस्थापन गर्ने बेलामा के फाइनल निर्णय हुन्छ ? त्यसपछि कम्पनीको नाफा र कम्पनीले दिने प्रतिफलमा कस्तो असर गर्छ ? भन्ने बारेमा भन्न सकिन्छ । अहिले नै त भन्न सक्ने कुरा नै भएन । अबका दिनमा सानिमा जीआईसीलाई अगाडि बढाउने योजनाहरु के के छन् ? के लाई बढी प्राथमिकता दिनु भएको छ ? सानिमा जीआईसीले अब नयाँ इनोभेटिभ प्रडक्टहरु ल्याउँछ । डिजिटाइजेशनमा जोड दिन्छ । पहिलेदेखि नै क्वान्टिटीभन्दा क्वालिटीमा फोकस गर्दै आएको हामीले यसलाई निरन्तरता दिन्छौं । जुन चालु आवको पहिलो त्रैमासको रिपार्टले देखाएको छ । यो अवधिमा जुन ईपीएस आर्जन गर्न सफल भएका छौं । त्यो भनेको पुरानो स्थापित र हामीभन्दा धेरै ठूलो साइजको बिजनेस गर्ने कम्पनीहरुको जस्तै लेभलमा पुगेका छौं । यसको मतलब हामी छोटो समयमै कम्पनीलाई त्यो लेभलसम्म म्यानेज गर्न सक्ने अवस्थामा पुगेका छौं । यसलाई निरन्तरता दिँदै अगाडि बढ्दै जानेछौं । कम्पनीले अन्तर्राष्ट्रिय मान्यता अनुसार बीमा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता हो । यसलाई नै कन्टिन्यू गरे अगाडि बढ्छौं । नयाँ प्रोडक्टलाई फोकस गर्छौं भन्नुभयो ? कस्तो खालको ल्याउँदै हुनुहुन्छ ? हाल बजारमा नभएको प्रडक्ट भनेको ‘डाइरेक्टर एण्ड अफिस ल्यायबिलिटी’ हो । जस्तै, कम्पनीको सञ्चालक र कम्पनीको व्यवस्थापक टीमले आफैले गर्दा गर्दै कुनै काममा लापरवाही तथा गल्ती भयो र त्यसले ग्राहकलाई हानी नोक्सानी भयो भने उसले क्षतिपूर्तिको लागि दावी गर्न सक्छ । त्यस्तो दावीको बीमा नेपालमा प्रयोगमा छैन । त्यसैले हामीले त्यस्तो प्रडक्ट ल्याउने सोचिरहेका छौं । केही प्रडक्टहरु पाइपलाइनमा छन् त्यसलाई नि छिट्टै बजारमा ल्याउँछौं । र, बीमा प्राधिकरणले भनेको अनुसार नै नविनतम प्रडक्ट ल्याउनको लागि वर्कआउट गर्ने छौं । अबको एक वर्षमा सानिमा जीआईसीलाई कुन स्थानमा देख्न सकिन्छ ? अहिले नै भन्न सकिन्न । किनभने हामी भर्खर मर्ज भएका छौं । यदी तत्कालिन सानिमा जनरल इन्स्योरेन्सको मात्रै प्लानिङ भइदिएको भए त्यो अनुसार भन्न सकिन्थ्यो । तर अहिले त भर्खर मर्ज भएर १५ दिन मात्र भएकोले यी सम्पूर्ण काम अहिले सकिएको छैन । केही समयपछि यो भिजनमा अघि बढ्छौं भन्न सक्छौं । तर पनि हामी टप लाइनमा मात्रै फोकस भएर काम गर्दैनौं । हामीले सम्पूर्ण सरोकारवालाहरुलाई जस्टिफाई हुने गरेर काम गर्छौं । बजारमा हामीले तीन वटा प्यारामिटरमा टार्गेट गर्ने हो । टप टेन, टप फाइभ र टप थ्री । केही समयमा टप टेन कम्पनीमा पुग्ने हो । त्यसपछिको टार्गेट टप फाइभ अनि टप थ्री हो । अहिले टप फाइभ र टप टेनको बीचमा कम्पनी पुग्ने भन्ने हो । एक वर्षभित्रमा सानिमा जीआईसी टप टेनभित्र पर्छ । ग्राहकहरु सानिमा जीआईसीमै किन आउने ? हामीले ट्रष्ट (टीआरयूएसटी) को बिजनेस गरिरहेका छौं । जसको डेफिनेसन ट्रान्सप्यारेन्सी, रिलायबिलिटी, अनबायसड्, सर्भिस र टीमवर्क हो । यो मान्यतामा बसेर काम गर्ने भएकोले हामीले ग्राहकलाई एकदमै फेयर ट्रिटमेन्ट गर्छौं । चाहे त्यो सानो कस्टुमर होस् या ठूलो, यहाँ सबैलाई बराबर समान रुपमा हेरिन्छ भन्ने आश्वासनको आधारमा नै सानिमा जीआईसीलाई ग्राहकवर्गले रोज्नुहुन्छ जस्तो लाग्छ । दावी भुक्तानीमा पनि सानिमा जीआईसीमा समस्या छैन । दावी परेको संख्या हेर्ने हो भने एकदमै कम छ । परेको दावीलाई सकेसम्म छिटो भुक्तानी गर्ने भन्ने नै हाम्रो मूख्य प्राथमिकता हो । दावी भुक्तानीको लागि हामीले कस्टुमर सेल नै राखेर कस्टुमरलाई फलोअप गर्नेदेखि लिएर सबै कामहरु गरिरहेका हुन्छौं । त्यसैले पनि समस्या छैन । कम्पनीले दावीको लागि जुन कागजपत्रहरु माग गरेको हुन्छ, त्यो सम्पूर्ण पेश भएको अवस्थामा भुक्तानीमा ढिलाई हुँदैन । र, हाम्री जहिल्यै पनि बिजनेस गर्ने बेलामा नै सेलेक्टिभ हुन्छौं । भोलिका दिनमा यो बिजनेस गर्दा कस्तो खाले जोखिम आउँछ, त्यो न्यूनिकरण गर्न सकिन्छ भन्ने आधारमा मात्र व्यापार गर्नुपर्छ । यो भएपछि परेको दावी सजिलै दिन सकिन्छ । सानिमा जीआईसीले अबका दिनमा कस्ता चुनौतिहरु देखेको छ ? यसको सामाना गर्न कस्ता कस्ता रणनीति अपनाउँदै हुनुहुन्छ ? सानिमा जीआईसीले बजारको सामान्य चुनातिबाहेक अन्य कुनै चुनौति देखेको छैन । मर्ज हुँदैमा कम्पनीलाई विशेष चुनौति आउँछ भन्ने पनि होइन । अहिलेको बजारमा जुन अवस्था छ । त्यसले कम्पनीको प्रिमियमहरु बढ्न सकेको छैन । त्यसैले बजारको अवस्थाअनुसार आइपरेका चुनौतिलाई सामना गर्दै जानुपर्छ । यसले सानिमा जीआईसीलाई मात्रै होइन सबै कम्पनीहरुलाई असर पर्छ । यो भनेको समयको कुरा हो । अर्थतन्त्र सँधै एउटै लयमा जान्छ भन्ने पनि हुँदैन । तर विभिन्न समयमा विभिन्न चुनौतिहरु आउँछन् । ती चुनौतिलाई पार गर्दै अगाडि बढ्न सकिन्छ जस्तो लाग्छ । अर्थतन्त्रमा धेरै खाले समस्याहरु देखिएका छन् । यसले बीमा क्षेत्रमा कस्तो असर पर्ने देखिन्छ ? इन्स्योरेन्स जहिल्यै पनि अर्थतन्त्रसँग समानान्तर रुपमा जाने हो । जब अर्थतन्त्र अर्थात आर्थिक गतिविधिमा संकुचन आइरहेको छ भने त्यसले बीमा बजारमा असर पारि नै हाल्छ । नपार्ने होइन । यसले मानिसहरुको क्रयशक्ति पनि घटाइरहेको हुन्छ । र, बिजनेसहरु पनि बढीरहेको अवस्था हुँदैन । किनभने अर्थतन्त्रमा समस्या देखिनु भनेको इकोनोमिक एक्टिभिटी नहुनु हो । यो नभएपछि बीमा गर्नेहरु कम हुन्छन् । जस्तै नयाँ बिजनेस भएन भने बीमा हुँदैन । आयात नहुँदा बिजनेस घट्छ ।

‘मतगणना सुरु भएको ७ दिनमा नतिजा निकाल्न सक्छौं’

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्ध पक्ष र आम मतदाता जुटिरहेका छन् । निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको संवैधानिक जिम्मेवारी बोकेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल र उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ छन् । आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वासमा रहनुभएका नेपाल सरकारको सचिवको अनुभवप्राप्त प्रमुख आयुक्त थपलियासँग यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्र तयारी र व्यवस्थापनका सन्दर्भमा गरेकाे कुराकानीको सम्पादित अंश : मुलुक निर्वाचनको सम्मुखमा रहेकाबेला राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई के आह्वान गर्न चाहनुहुन्छ ? निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको र यही मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार रोकिइसकेको अवस्थामा सबै राजनीतिक दल, उम्मेदवार, मतदातासहित सबै सरोकारवाला मङ्सिर ४ गतेको मतदानको दिनलाई अर्जुनदृष्टि लगाएर बसिरहनुभएको छ । निर्वाचनमा निर्भिकतापूर्वक सबै मतदातालाई सहभागी हुन तथा राजनीतिक दल र उम्मेदवारले अहिलेसम्म अपनाउनुभएको संयमतालाई कायमै राखी साँच्ची नै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको आपसी साझेदारी, समन्वय सहकार्य र अन्तरसम्बन्धबाट आवश्यक छ, त्यही भएमा निर्वाचन शान्तिपूर्णरूपमा सम्भव छ भन्ने उदाहरण विश्वसमुदायलाई पनि प्रस्तुत गरिदिन म आग्रह गर्छु । निर्वाचनको तयारीका हिसाबले अघिल्ला निर्वाचनको तुलनामा यसपटक अनुपम र उदाहरणीय काम के कस्ता भएका छन् ? अहिले हाम्रो ध्यानदृष्टि भनेको छ महिनाअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जे जस्ता समस्या भोगिएको थियो वा कमजोरी भएको थियो, त्यो यस निर्वाचनमा आउन हुँदैन भन्नेतर्फ छ । विगतका निर्वाचनमा भन्दा यसमा मतदाता नामावलीको शुद्धतादेखि छिटो मतपरिणाम दिने तयारीसम्ममा केही न केही नयाँपन र गुणात्मक फड्को मार्ने गरी काम गर्ने प्रयत्न गरिएको छ । उदाहरणका लागि, मतदाता नामावलीमा दोहोरिएका र मृतकहरूको नाम आयोगलाई प्रक्रियागतरूपमा जानकारीमा आएसम्म हटाइएको छ । स्थानीय तहको निर्वाचनमा कतिपय मतदान स्थल र मतदान केन्द्र जो अलि पहुँचयोग्य भएनन् भन्ने गुनासो थियो । अहिले सकेसम्म सबै केन्द्र मतदाताको घरदैलो नजिक पु¥याउन प्रयत्न गरिएको छ । पहुँचयोग्य भनिएको छ । मतदान केन्द्र अपाङ्तामैत्री भएन भन्ने विगतका गुनासालाई कसरी सम्बोधन गरिएको छ ? यसतर्फ हामी सचेत र गम्भीर छौँ । मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपाङ्गतामैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आयोगले निर्देशन दिएको छ । साथै, करिब ३०० मतदान केन्द्रलाई सम्पूर्णरूपले अपाङ्तामैत्री कस्तो हुन्छ भनेर देखाउने गरी नमूना कार्य प्रारम्भ गरिएको छ । निर्वाचनमा आयोगबाट सामाजिक सञ्जाल नियमनको नयाँ केही कार्य प्रारम्भ गरिएको देखिएको छ, यसको कार्यान्वयनका चुनौती कस्ता छन् ? निर्वाचनका क्रममा पहिलो पटक सामाजिक सञ्जालको नियमनको कार्य हामीले प्रारम्भ गरेका छौँ । यसले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिले निर्वाचनलाई दूषित पार्ने कुनै पनि कार्य ग्राह्य हुँदैन भन्ने नयाँ मानक आचारसंहितामै स्थापित गरिएको छ । सडकका भित्ता रङ्गाएर होइन, फेसबुक र अरु सामाजिक सञ्चालका भित्तामा लेखेर पनि निर्वाचनको प्रचारप्रसार गर्न सकिन्छ भन्ने मूल्यमान्यता स्थापित गर्न पनि यो निर्वाचन सफल भएको छ । निर्वाचन प्रचारप्रसारको कार्य यसपटक साँच्ची नै वातावरणमैत्री छ भन्न सकिने अवस्था स्थापित गरिएको छ । मतदानका दिन यातायातका सवारी साधन सञ्चालनमा केही खुकुलो गर्न खोजिएको हो ? मतदानका दिन पनि बढीमात्रमा आमसञ्चारमा संलग्न पत्रकार तथा अन्य पेशा व्यवसायी र रोजगारमा रहेका व्यक्तिको आवागमनलाई जिल्लास्तरबाटै व्यवस्थित र सजिलो बनाऔँ भन्ने आयोगको धारणा हो । आवागमनलाई निर्वाचनको निष्पक्षतासँग जोडेर अघि बढाैँ भनेर यसको प्रक्रिया पनि प्रारम्भ गरिएको छ । अशक्त, ज्येष्ठ नागरिकजस्ता मतदाताका लागि मतदानस्थल र घरसम्म आउन जानका लागि पनि सवारीसाधनको सहजीकरण गर्न भनिएको छ । स्थानीय निर्वाचनमा ठूलो आकारको मतपत्रका कारण धेरै सङ्ख्यामा मत बदर भएको थियो, यस पटक त सुधार आउछ कि ? मतपत्रसम्बन्धी उठेको प्रश्नलाई यस निर्वाचनमा सम्बोधन गरिएको छ । अहिलेको मतपत्र धेरै सजिलो छ, सहज ढङ्गले मतदान गर्न सकिन्छ, बदर मत प्रतिशत घट्छ भन्ने विश्वास छ । दल र उम्मेदवारको निर्वाचन खर्चको अनुगमन कसरी भइरहेको छ ? निर्वाचन आचारसंहिता र खर्चको सीमाको विषय पनि राजनीतिक दल र सबै सरोकारवाला छलफल गरी सकेसम्म व्यवहारिक बनाउन प्रयत्न भएको छ । कुनै पनि निर्वाचन तडकभडक गरेर होइन, साँच्ची नै आफ्ना नीति, विचार, सिद्धान्त जनसमक्ष पु¥याएर सहज ढङ्गले निर्वाचनलाई अघि बढाउनुपर्छ भन्ने सैद्धान्तिक अवधारणा स्थापित भएको हुनुपर्छ । दल र उम्मेदवारको निर्वाचन खर्चको हद निर्धारण गरेर सबैलाई जानकारी गराइएको छ । त्यसको अनुगमनका लागि सुरक्षा निकायसमेतलाई आग्रह गरेका छौँ । निर्वाचनपछि दलहरूले बुझाउने खर्चको विवरणमा हामीले अवश्यकताअनुसार लेखापरीक्षण पनि गराउनेछौँ । निर्वाचन आचार सहिता पालनामा दल र उम्मेदवार यसपटक अलि बढी सकारात्मक देखिएका हुन् ? आचारसंहिता हामी आफैँले पालना गर्नुपर्छ भन्ने सन्देश यस निर्वाचनले दिएको छ । तुलनात्मकरूपले अबका कुनै पनि निर्वाचन पद, पहुँच, प्रतिष्ठा, प्रलोभन, पैसाजस्ता कुराले प्रभावित हुने छैनन् । त्याग, निष्ठा, सिद्धान्त, विचार, घोषणापत्र, कार्यक्रम, इमानजस्ता विषयले निर्वाचनलाई निर्धारण गर्नेछ भन्नेतर्फको मार्गदर्शन भएको अनुभव गरेका छौँ । हामीले पात्र मात्र परिवर्तन गर्ने होइन, अवस्था परिवर्तन गर्नेतर्फ पनि सोच्नुपर्छ भन्ने सोचाइ यस निर्वाचनले स्थापित गरेको छ । अर्काे विषय भनेको मुलुकमा आवधिक निर्वाचन तोकिएकै समयमा गरिनुपर्छ, अन्यथा मुलुक र जनताले त्यसको मूल्य थेग्न सक्दैनन् भन्ने मानक पनि कायम भएको छ । आयोगले निर्वाचनलाई व्यवस्थितरुपले अघि बढाउन राजनीतिक दल, सरकार र अन्तर्राष्ट्रिय जगतबाट कस्तो किसिमको सहयोग पाएको छ ? सबैभन्दा पहिला नेपाल सरकारबाट निर्वाचनको मिति तोक्नेदेखि आयोगका निम्ति आवश्यक पर्ने नीति, नियम, पद्धति, प्रक्रिया व्यवस्थित गर्नाका साथै आवश्यक पर्ने वित्तीय श्रोत, जनशक्ति र सुरक्षा व्यवस्थापनलगायतका सवालमा आयोगले माग गरेकै ढङ्गमा सहयोग प्राप्त भएको छ । यो पटक नेपाल सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय तहको पनि संलग्नता र सहयोग महत्वपूर्ण र अवीस्मरणीय छ । अब आयोगले निर्वाचनसम्बन्धी काम विकेन्द्रित गरेर स्थानीय र प्रदेशसँग सहकार्य र साझेदारी प्रारम्भ गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतसँग पनि हाम्रो अत्यन्त राम्रो सम्बन्ध छ । अन्तर्राष्ट्रिय जगतले हाम्रो निर्वाचनलाई नजिकबाट हेरिरहेको छ । दुई वटा अन्तर्राष्ट्रिय सङ्घसंस्था र काठमाडौँस्थित १८ वटा कुटनीतिक नियोगका प्रतिनिधि, चार देशका प्रमुख निर्वाचन आयुक्त तथा केही आयुक्तको टोली निर्वाचनको अवलोकन गर्न आइरहेको छ । मतदाता शिक्षालगायतका काममा निरन्तररूपमा युएसआइडी, युएनडिपी इएसपी, आइपफिएसलगायतबाट सहयोग भएको छ । भारत सरकारबाट यसपटक ८० वटा सवारीसाधन प्राप्त भएको छ । अरुले पनि निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि कहाँ सहयोग गर्न सक्छौँ भन्नुभएको छ । सञ्चार र नागरिक समाजबाट पनि निर्वाचनका लागि पर्याप्त सहयोग मिलेको छ । सबैबाट प्राप्त सहयोगबाट निर्वाचनप्रतिको निष्ठा कायम रहेको भन्ने पुष्टि भएको छ । निर्वाचन प्रचारप्रसारका बारेमा राजनीतिक दल र उम्मेदवारबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? यसमा मैले दुई किसिमका प्रवृत्ति र पृष्ठपोषण पाएँ । प्रचारप्रसारका निम्ति १५ दिनअघि मात्रै आमसभालगायतका क्रियाकलाप गर्दा उम्मेदवारका लागि त ठिकै हो र राजनीतिक दललाई भने समानुपातिकतर्फको प्रचारप्रसार गर्न देशैभरि केन्द्रीय नेतृत्व पुग्नुपर्ने भएकाले समय अपर्याप्त भएको भन्ने आएको छ । अलि व्यावहारिक गर्ने कि भन्ने सुझाव प्राप्त भएको छ । अर्काे निर्वाचनको समयमा यसलाई सम्बोधन गर्न सकिनेछ । आमसभाका लागि मञ्चको व्यवस्थापन, प्रचारप्रसारमा जाने सङ्ख्या, झण्डा र चिह्न व्यवस्थित गर्ने विषयमा पनि कुरा उठेको छ । तथापि, राजनीतिक दलको विचार र सिद्धान्तलाई तडक-भडकपूर्ण प्रचारले विस्थापित गर्न सक्दैन । दलीय व्यवस्था भएकाले नीति, विचार, सङ्गठन र कार्यकतालाई परिचालन गरी अहिलेको अवस्थालाई सहजरुपमा लिनुपर्छ भनिएकामा सकारात्मक नै जवाफ प्राप्त भएको छ । मतदाता शिक्षा र निर्वाचन वातावरणबारे कतिपय प्रश्न पनि उठेका छन् नि ? निर्वाचनको वातावरणको मापन विगतमा कत्रा जुलुस आए, कति मान्छे जम्मा भए, कति झण्डा बोकका थिए, कस्तो प्रकृतिको पोष्टर टाँसे भनेर निर्वाचनको वातावरणको आँकलन गरिन्थ्यो । अहिले त्यो समय फेरिएको छ, आचारसंहितामार्फत प्रबन्ध फेरिएको छ । हामी निर्वाचनको निष्ठा जोगाउन प्रयत्नशील भएका छौँ । अहिले विगतको त्यो कुरा नहुँदैमा निर्वाचन शिक्षा पनि पुगेन, वातावरण पनि बनेन भन्ने तर्क गर्न हुन्न । त्यो क्रम विद्युतीय माध्यमतिर स¥यो । हामीले डिजिटल प्लेटफर्मलाई निर्वाचन प्रचारप्रसारको माध्यम बनायौँ । निर्वाचन प्रचारप्रसारको रूप परिवर्तन भएको हो, वातावरण नबनेको होइन भन्ने आयोगको भनाइ छ । मतदातासँग सबै उम्मेदवार र राजनीतिक दल पुगिरहनुभएको छ । भित्रभित्रै राम्रो वातावरण बनिसकेको छ । आम मतदाताले मङ्सिर ४ गतेको सहभागिताबाट निर्वाचनको वातावरण कसरी बनेको रहेछ भन्ने देखाइदिनु हुनेछ । पछिल्ला दिनमा भएका छिटपुट घटनाले निर्वाचन सुरक्षाको संवेदनशीलता बढाएको हो ? यसमा आयोगले कस्तो कदम चालेको छ ? स्थानीय तहको निर्वाचन प्रारम्भ गर्दै गर्दा एकै चरणमा गरौँभन्दा केही समूहबाट बहिष्कार गर्नेलगायत असजिलो हुन्छ कि भन्ने प्रश्न उठेको थियो । राजनीतिक वातावरण बनाउने काम सराकारको हो एकै चरणमा गरौँ भनियो । निर्वाचन सफल पनि भयो । कुनै समूहबाट पनि निर्वाचनलाई लक्षित गरी अप्ठ्यारो पार्ने काम भएन । यसमा म सबै दलप्रति धन्यवाद पनि दिन चाहन्छु । अहिले कुनै पनि राजनीतिक दल वा समूहबाट निर्वाचनमा खटिएको कर्मचारी, सुरक्षाकर्मी, मतदाता र निर्वाचनको वातावरण बनाउन लागेका नागरिक समाज र सञ्चारकर्मीलगायतका व्यक्तिप्रति असहजता र अप्ठ्यारो आउँदैन भन्ने हामी ढुक्क छाैँ । असहजता आउने स्थिति भएमा कानुनबमोजिम कारवाही गर्न सुरक्षा व्यवस्था चुस्त र दुरूस्त तुल्याइएकाले मतदताले ढुक्क भएर मतदान गर्ने वातावरण बन्नेछ । राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको छ । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न म आग्रह गर्दछु । कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको पनि अवगत गराउन चाहान्छु । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । मतदान शुरू हुने दिनभन्दा ४८ घण्टा अघिदेखि अर्थात आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसार-पसार तथा सेवन गर्ने/गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । मतगणनामा हुने गरेको ढिलाइको गुनासोबाट आयोग यस पटक मुक्त हुन सक्ला ? हामी चौबिसै घण्टा मतगणनासम्बन्धी मुद्दाको सम्बोधन गर्न तम्तयार हुन्छौँ । यो पटक नयाँ रणनीतिका साथ मतगणना गराउन सबै निर्वाचन अधिकृतलाई भनेका छौँ । मतदान सकिएर मतपेटिका प्राप्त हुनासाथ समन्वय कामय गरी तत्कालै मतगणनाको कार्य प्रारम्भ गरौँ भन्ने हो । गणना गर्दा सानातिना समस्या र विवादलाई लामो समयसम्म समाधान नगरी नराखौँ । आपसी सहमति कायम गरी तत्कालै छिनोफानो गरौँ । कुनै समस्या भएमा आयोगले तत्कालै समाधानका लागि न्यायोचित निर्णय गर्छ । हामी तपाईलाई आवश्यक पर्ने सम्पूर्ण स्रोत, साधन र जनशक्ति उपलब्ध गराउँछौँ, धेरै टिम परिचान गर्नुस् भनेपछि लम्याइरहनुको कुनै अर्थ हुन्न । यो ढङ्गले मतगणना गर्नुस् भनेका छौँ । यसपटक जनशक्तिलाई आर्थिक प्रोत्साहनको पाटो राम्रो छ । मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्न सक्छौँ भन्ने विश्वास हो । राजनीतिक दलले समानुपातिको विवरण दिएको दुई दिनभित्र सम्पूर्ण काम गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन दिन सक्छौ । त्यसरी जाँदा मङ्सिरका २२ गते भन्दा लाग्दैन । आलोच्य नहुने गरी छिटो छरितो ढङ्गले निर्वाचनको काम सक्छौँ । मतगणनाको सूचना छिटो प्राप्त गर्ने केही त्यस्तो संरचना बनेको छ त ? हामीले आयोगमा स्थापित प्रेस अफिस र सामाजिक सञ्जालमार्फत आयोगका हरेक निर्णय र अभिव्यक्तिलाई समयमै सञ्चार माध्यमलाई सहजरुपमा उपलब्ध गराउँदै आएका छौँ । त्यसैगरी मतगणनाको नतिजा दिनको निम्ति त्यस्तै पद्धति अवलम्बन गरेर हाम्रो सूचना प्रणालीमा आउनासाथ सञ्चारमाध्यमले पाउने प्रणाली विकास गरेर जाने तयारीमा छौँ । सबै मतदान केन्द्रमा एउटा सूचना एकाइ राखेर एक एक घण्टामा गतिविधि पठाउन प्रेरित गर्दैछौँ । यस्तो भएपछि विगतमा लाग्ने आरोप पनि निस्तेज हुनेछ । साच्चै सूचनामा सहजता पनि हुनेछ । विगतमा कतिपय केन्द्रमा मतदाताभन्दा बढी वा शतप्रतिशत मत खसेर अस्वाभाविक मतदान भएका भन्ने प्रश्न पनि आएको थियो ? यसपटक शुद्ध मतदान गराउने सवालमा के रणनीति अपनाइएको छ ? कुनै पनि मतदान केन्द्रमा अश्वभाविक ढङ्गले निर्वाचन भयो वा मतदानको शुद्धतामा प्रश्न आएमा मतदान अधिकृतले नै पुनःमतदान गराउन सक्छन् । त्यस्तो अवस्थामा त्यहाँबाट निर्णय गर्नुअघि आयोगले त्यसको पुष्टयाईं गर्छ । शतप्रतिशत मतदान हुनु सुन्दा राम्रो देखिएता पनि निर्वाचनको तथ्याङ्क विश्लेषणले त्यसलाई आत्मसात गर्न अप्ठ्यारो पर्ने पनि देखिएको छ । त्यहाँ खटिने कर्मचारीले यो अवस्था आउन यसपटक दिनुहुने छैन ।

मकै र कोदो फल्ने बारीमा किवी खेती, वार्षिक दुई लाखभन्दा बढी आम्दानी

म्याग्दी । म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याउनु भयो । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गरेका उनले अहिले यसबाट राम्रो आम्दानी गर्न थालेका छन् । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उनले ३५ वटा बोटबाट किवी खेती सुरु गरेका थिए । ‘वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ’, उनले भने, ‘धेरै दुःख गर्न पनि नपर्ने र गाउँबाटै बिक्री हुने भएकाले कोदो, मकै लगाउन छाडेर किवी खेतीमा सुरु गरेको हुँ ।’ पुनले चार वर्षअघि कोदो र मकै नरोपी बारीमा थप ४० बोट किवी लगाएको छ । जसले यसै वर्षदेखि प्रतिफल दिन थालेको छ । पुनले यसवर्ष समग्रमा दुई लाख रुपैयाँ बराबरको छ सय किलो किवी फलेको बताए । अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले यहाँका भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती बढिरहेको छ । आयआर्जनको राम्रो सम्भावना भएकाले किवी खेतीतर्फ आकर्षण बढेको कृषक खिम पुनको भनाइ छ । आठ रोपनी बारीमा चार वर्षअघि पुनले लगाएको किवीले उत्पादन दिन थालेको छ । ‘हाम्रो वडामा करिब ४० जनाले व्यक्तिगत र सामूहिकरुपमा किवी खेती गरेका छन्’, पुनले भने, ‘२० हजार बोटमध्ये हाल पाँच हजार बोट फलेका छन् ।’ छापटोलका बासिन्दाले बारीमा अन्य बालीको विकल्पमा गत वर्ष एक हजार किवीका बिरुवा रोपेर सामूहिक खेती सुरु गरेका थिए । गत वर्ष एक सय किलो किवी बिक्री गरेका लालबहादुर पुनले यसपटक तीन सय किलो उत्पादन भएको बताए । ‘पोखराका व्यापारीसँग प्रतिकिलो दुई सय ५० रुपैयाँका दरले किवी बेच्ने सहमति भएको छ’, उनले भने, ‘अहिलेसम्मका लागि किवी बेच्न बजारको समस्या छैन ।’ पुनको बगैँचाका एक सय ३५ किवीका बोट फलेका छन् । गत वर्ष २५ वटा नयाँ बिरुवा लगाएका पुनले यसपटक २० रोपनीमा किवी खेती विस्तार गर्ने योजना बनाएका छन् । मडकेनाका खिमबहादुर घर्तीले पनि परम्परागत खाद्यबालीको विकल्पमा किवी खेती गरेका छन् । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार चार वर्षअघि ४२ जना कृषकलाई आठ सय १५ वटा किवीका बिरुवा अनुदानमा वितरण गरिएको थियो । तल्लो क्षेत्रमा सुन्तला र माथिल्लो क्षेत्रमा किवी खेतीमा जोड दिइएको उनले बताए । धेरै पौष्टिकतत्व पाइने किवीको बजारमा माग र खपत पनि दुबै राम्रो छ । खेती गर्न सुरु गरेको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म किवी फल्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो । न्युजिल्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा एक सय रुपैयाँ पर्छ । निजी नर्सरीबाट तीन सय रुपैयाँ सम्ममा बिक्री हुन्छ । प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो । रासस