चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
भक्तपुर-१ मा ३० हजार बढी मतान्तरले नेमकिपाका प्रेम सुवाल विजयी
भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उनी ४२ हजार सात सय ६१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताए । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार नौ सय ६८ मत ल्याएका छन् । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार सात सय ९३ को मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि प्रवेश गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन मत प्राप्त गर्नुभयो भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठे बासुले पाँच हजार दुई सय ८३ मत ल्याएका मुख्य निर्वाचनत अधिकृत बाँस्तोलाले जानकारी दिए । समानुपातिकतर्फको मतगणना भने जारी छ ।
आयातसँगै घट्यो निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) को तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ । तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवमा आयात १८ दशमलव ०८ र निर्यात ३३ दशमलव ३० प्रतिशतले कमी आएको हो । गत आवमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको आयात भएकोमा चालु आवमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो । यस्तैगरी, उक्त अबधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवमा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्यांक अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर रहेको छ । ५ खर्बको व्यापार घाटा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको करिब ५ खर्ब बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ पुगेको हो । उक्त अबधिमा नेपालले ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा हुँदा ७ अर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट तीन खर्ब २२ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात गरेको छ भने ३८ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश बढ्यो, कति घोषणा गर्याे ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबटा सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । यस अघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० मा कारोबार भएको सुन एक हजार रुपैयाँले बढेर ९७ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
तनहुँबाट वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी
तनहुँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदातामा ६६ हजार पाँच सय ८४ मत खसेको थियो । ६२ हजार पाँच सय ८४ मत सदर भएको छ भने चार हजार मत बदर भएको छ ।
काठमाडौं–५ प्रदेश (२) मा श्यामबहादुर कांग्रेसका खड्का निर्वाचित
काठमाडौं । काठमाडौं क्षेत्र नं ५ को प्रदेश ९२० मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले नौ हजार सात सय ३१ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत ऋतबहादुर पुलामीमगरले जानकारी दिए । निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दीपक निरौलाले आठ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । पराजित निरौला नेकपा एमाले काठमाडौंका जिल्ला अध्यक्ष एवं निवर्तमान बागमती प्रदेशका सदस्य छन् ।
सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले सुत्केरी भत्ताको दाबी ९० दिनभित्र गर्नुपर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले सुत्केरी भत्ताको लागि १ सय २० अर्थात ४ महिना भित्र दाबी गर्नुपर्ने कोषले जनाएको छ । सूचना जारी गर्दै कोषले पौष १ गतेबाट विभिन्न सुविधाहरुको समयावधी तोकिएको जनाएको छ । भर्ना भई गरेको उपचार, भर्ना नभइ गरेको उपचार, दुर्घटना, मातृत्व सुत्केरी हेरचाह र अस्थायी असक्षमता बापतको भत्ताको दाबी ९० दिनभित्र गर्नुपर्ने कोषले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै सुत्केरी भत्ता र बिमारी बिदा वापतको भत्ता भने १ सय २० दिनमा दाबी गर्नुपर्ने कोषले जनाएको छ । भौतिक रुपमा उपस्थित भएर दाबी माग गर्दा चालु आर्थिक वर्षको असार २५ गतेभित्र र आधिकारिक प्रणालीमार्फत दाबी गर्दा असार २८ गतेभित्र आवश्यक कागजात पेश गर्नुपर्ने कोषको सूचनामा उल्लेख गरिएको छ । कोषको सूचना :